
१३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको टिप्पणी गरेका छन् । साथै, उनले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसकिएको समेत स्वीकार गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले नव युवाहरूको विश्वास जित्न नसकेको पनि बताएका छन् । जेनजी आन्दोलनपछि सत्ताबाट उनको दल नेकपा एमाले बाहिरनुपरेको थियो ।
उनले ढिलो चाँडो मुलुक लोकतन्त्रको बाटोमा फर्कने र फर्काउने पनि बताएका छन् ।
‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्यो । राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौं । हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो,’ पोखरेलले भनेका छन्, ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौं । उनीहरूको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं ।’
आफ्नो दल राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।
‘यसको अर्थ नेपाललाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन,’ उनले भने, ‘ढिलोचाँडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ । नेकपा (एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध छ र रहनेछ ।’
प्रतिक्रिया 4