
२०८२ भदौ महिना धेरै कुराले चर्चित भयो। पहिलो त, विश्वको कुनै मुलुकमा हत्तपत्त सम्भव हुन नसक्ने घटना भयो; दुई दिनको आन्दोलनले तीसौं वर्षसम्म रजगज गरिआएको सत्ता पल्टियो। भदौको २३ र २४ गते ‘जेनजी’को नाममा भएको आन्दोलनले देशलाई सोच्दै नसोचेको ऐतिहासिक मोडमा ल्याएर खडा गरिदियो।
आन्दोलनमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नवयुवाहरूमध्ये तत्कालीन सरकारले एकैदिनमा १९ जनाको निर्मम हत्या गर्यो; जसमध्ये केही स्कूलको युनिफर्ममा उपस्थित थिए र त्यसपछि पनि आन्दोलनका कारणले ज्यान गुमाउनेको कुल संख्या, समाचार अनुसार हालसम्म ७२ पुगेको छ।
दोस्रो घटना पनि देश र देशलाई जुरुक्क उचालेको अनि मान्छेलाई आफू जस्तै मान्छेहरूसँग (नेताहरू होइन) जोडेको सन्दर्भ थियो; त्यो चर्चित गीत थियो। भदौ महिनाको पहिलो हप्ता ‘सिस्नोपानी नेपाल’ले काठमाडौं प्रज्ञा भवनको हलमा गरेको ‘जुरुक्क कर्णाली’ शीर्षकको कार्यक्रममा प्रदर्शन गरिएको गीतले, ‘जेनजी आन्दोलन’ हुनुभन्दा अगाडिसम्म सामाजिक सञ्जालदेखि लिएर व्यक्ति-व्यक्तिको भेटमा समेत चर्चा पाइरहेको थियो।
सो गीतलाई ‘प्रदर्शन’ भन्नुको कारण चाहिं, त्यहाँ गीत मात्रै गाइएको थिएन, गायकहरूको प्रस्तुतिमा बेजोडको भाव थियो; कण्ठप्रिय लय थियो; जोश थियो; परिवेश थियो र साथमा नृत्य समेत प्रदर्शन गरिएको थियो।
गीतको चर्चा चुलिएसँगै, मैले उक्त गीतका संगीतकार धीरेन्द्र प्रेमर्षिसँग केही जिज्ञासा राखेकी थिएँ; तर, भदौ २३ र २४ को आन्दोलनले बनाएको शोकाकूल स्थितिले त्यो बारे लेख्ने मन नै भएन। भदौ २३ गतेको त्यो औडाहा छुट्ने घटनाले पूरै हप्ता मन र मस्तिष्क ट्रमामा गएको स्थिति थियो; त्यतिबेला गीतको कुरा कसरी लेख्नु !
उक्त गीतले यति धेरै सफलता हासिल गरेको थियो कि, कार्यक्रम पश्चात्, हास्य/व्यंग्य कलाकार मनोज गजुरेलले फेसबुकमा गीत अपलोड गरेको तीन दिनमै ४० लाखभन्दा बढी भ्युज पाएको थियो। हठात्, देशको राजनैतिक कायापलट पश्चात् उक्त गीतको चर्चा त्यति सुनिएको छैन।

किनकि, देशले ७२ जनाको ज्यानको आहुति लियो। मुलुक शोकमा डुब्यो। देशका सार्वजनिक महत्वका संरचनाहरू साथै थुप्रै निजी सम्पत्ति खरानी पारिए। त्यस्तो समयमा गीतले प्राथमिकता पाउने मौका कम पायो।
अब भने देश केही लयमा फर्किएको छ। सुरक्षाको अनुभूति भएको छ। भ्रष्ट र घुसपैठियाले टाउको उठाउने आँट नगर्लान् भन्ने आशा जुर्मुराएको छ; त्यसैले गीतले न्याय पाउनुपर्छ भन्ने सोच पलाएको छ।
यति धेरै भूमिका बाँधिएको उक्त चर्चित गीतका शब्दहरू कस्ता थिए त ? त्यो जान्न यहाँ पूरै गीत राखिएको छः
“माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु
छ आँत तप्त अग्नि झैं म अग्नि भर्भराउँछु
अनन्त अन्धकारमा अबोध त्यो प्रवाहमा
अमोक्षमा जुनी–जुनी बिते नि दुष्ट राजमा
तथापि ज्यूँछु जिन्दगी म हौसला हुँ जोस हुँ
शिखर म चुम्छु दुर्गको म पाइला हुँ खोज हुँ
नमेटिने ननाशिने अभेद्य हुँ अजेय हुँ
अपाडराज भूमि हुँ सपादलक्ष कर्नाली
अदम्य आँट–ओज ली जुरुक्क उठ्छ कर्नाली
सहस्र अश्वमा चढी म बन्छु विश्वगामिनी
पुगें गया पुगें गुगे कुमाउँदेखि त्रिशूली
डटें खटें लडें जितें सुकीर्ति फर्फराउँथ्यो
अपार आँटिलो थिएँ र वैरी थर्थराउँथ्यो
बतास बाज वेगमा खसानको कुना कुना
हिमालमा पहाडमा र भोटमा जहाँ तहाँ
म दुन्दुभि हुँ गुञ्जिने र मेघ हुँ म बर्सिने
म वीर पैकलो थलो सपादलक्ष कर्नाली
अदम्य आँट ओज ली जुरुक्क उठ्छ कर्नाली”
गीत, कर्णालीलाई सरकार र राजधानीमा बस्नेले गरेको उपेक्षाबारे छ। गीतका रचनाकार तथा कर्णालीका विभिन्न पक्षका अध्येता माधव चौलागाईंले कार्यक्रममा नै भन्नुभएको थियो, कर्णाली २१औं शताब्दीमा पनि १५औं शताब्दीको जस्तो छ। त्यसैले पनि होला, उहाँले गीतका शब्द र भावबाट कर्णालीका ‘माण्ठ'(मानिस)हरूलाई जगाउन खोज्नुभएको। तर, त्यसमा उहाँको मात्र भूमिका थिएन।
गायक आस्था राउतको अनुहारको भाव भङ्गिमाले शब्दहरूमा यति ऊर्जा थप्यो कि, मानिसहरूले दशौं पटक त्यो अनुहारको भावले दिएको ऊर्जा; त्यसमा आफ्नो आत्मा डुबाएर आत्मसात् गरे। आस्थाको त्यो ऊर्जालाई स्मारिका फुयाँलले पनि साथ दिनुभएको थियो।
कर्णालीको माटोमै जन्मिएका माधव चौलागाईंले लिपिबद्ध गरेको गीतमा कर्णालीको ऐतिहासिक र शक्तिशाली पक्षमाथि गरिएको उपेक्षालाई किटानका साथ औंल्याइएको छ।
गीत कसरी छानियो त ?
त्यसको पनि लामै कथा रहेछ। अझ भन्नुपर्दा उक्त लिपिबद्ध भावनालाई गीतको रूप दिन संयोजन गर्ने, गायक खोज्ने, संगीत भर्ने काम गीतकार तथा संस्कृतिविद् धीरेन्द्र प्रेमर्षि तथा सिस्नोपानी टीमले गरेको रहेछ। यो आलेख तयार पार्दासम्म गीत आधिकारिक रूपमा रेकर्ड भएको सुनिएको छैन ।
उक्त गीतको छनोट कसरी भयो भनेर यो पंक्तिकारले, संगीतकार धीरेन्द्र प्रेमर्षिलाई प्रश्न राखेकी थिएँ। प्रेमर्षिका अनुसार, गत जेठमा ‘कर्नालीमा सिस्नुपानी’ कार्यक्रमको कर्णाली प्रदेशका ६ ठाउँमा प्रस्तुतिहरू दिएर फर्कने क्रममा हामीले विचार गर्यौं– कर्णालीको प्रत्यक्ष स्पर्शबाट प्राप्त भावलाई एउटा ठोस आकार दिन हामीले सङ्घीय राजधानीमा एउटा विशेष आयोजना गर्नुपर्छ। फलस्वरूप फर्कंदा बाटैमा कार्यक्रमको नाम जुर्यो– ‘जुरुक्क कर्नाली’ र, काठमाडौं आइपुग्नासाथ हामी कार्यक्रमको तयारीमा डुब्यौं।
जुरुक्क कर्णाली कार्यक्रमको सम्पूर्ण तयारी भइसक्दा पनि केही नपुगे जस्तो लागिरहेको थियो। त्यो नपुग पाटो थियो महिला सहभागिताको। अनि एउटा यस्तो नृत्य समावेश गर्ने निर्क्योलमा हामी पुग्यौं, जसमा महिला कलाकारहरूको सहभागिता होस्।
दुई वर्षअघि अचानक भेटिनुभएका माधव चौलागाईंसँग साढे तीन दशकअघि मेरो कर्णालीसँग गाँसिएको आत्मीयताका कारण निकटता बढ्यो। यस कार्यक्रमका विभिन्न चरणमा उहाँलाई जोड्दै जाँदा उहाँको पुस्तक सपादलक्ष कर्णालीकै थिममा लेखिएको गीतको सम्झना भयो।
साथीहरूले यसलाई ताण्डव शैलीमा लैजाने विचार दिए। गीतको स्वभाव वीर रसको भएकोले अरूतिर जाने गुञ्जायस पनि थिएन। अनि गायनमा जे-जसो गरे पनि नृत्यमा चाहिं दर्शना लगायतका नानीहरूको कला उपयोग गर्ने कुरा आयो।

मलाई भने विशेषगरी कर्णालीका सन्दर्भमा कुनै नारी कण्ठबाट आफूलाई ‘माण्ठ हुँ’ (मानिस हुँ) भन्ने उद्घोष शब्दले सार्थकता पाउला जस्तो लागिरहेको थियो। त्यसैले ओजिलो नारी स्वरतर्फ नजर डुलाउन थालें। एकैचोटि हाम्रो स्मृतिपटलमा आस्था राउतको नाम आयो। तर विगतमा हाम्रो केही सेलिब्रिटी कलाकारसँगको सहकार्य त्यति सहज र उपलब्धिपूर्ण नरहेकोले बाटो मोड्ने निष्कर्षमा पुग्यौं।
त्यसपछि केही समयअघि मात्र दीपक रौनियार भाइको बहुचर्चित फिल्म ‘राजागंज’का लागि चर्चित संगीतकार भाइ प्रवेश मल्लिकको संगीतमा मेरा शब्दहरूले स्मारिका फुयाँलको स्वर पाएको गीत ‘इन्द्रेणी’ साथीहरूलाई सुनाएँ। सबैले एकस्वरमा सहमति जनाए।
गायनमा जे-जसो भए पनि संगीत गर्ने जिम्मा भने साथीहरूले कोही सेलिब्रिटी संगीतकारलाई नै देलान् भन्ने मलाई आशङ्का थियो। तर यस गीतसँग मैले नै यथोचित न्याय गर्न सक्छु भन्ने मेरो विश्वास थियो। त्यसैले हतार-हतार आफ्नै शैलीमा धुन बनाएँ।
वाद्यवादन र अन्य प्रस्तुतिहरूमा समेत साथ दिन हामीसँग जोडिएको ‘जदौ हजुर’ ब्याण्डका संगीत संयोजक रोमी बस्नेत र गायक रतन देवकोटाले यसलाई राम्रो भन्दै सुन्दर वाद्य-संयोजन समेत गरिदिएपछि गीतले आकार लियो र साथीहरूले मेरै संगीतलाई समर्थन पनि गरियो। पछि कुरैकुरामा आस्थालाई पनि अनुरोध गरिहेरौं भनेर हाम्रा महासचिव तथा कार्यक्रम-संयोजक टङ्क आचार्यले फोन गरिहाल्नुभएछ। आस्था केहीबेरमै आइपुगिन्।
शुरूमा सेलिब्रिटी भनिनेहरू प्रतिको पूर्वाग्रहभावमा खुम्चेका हामी उनको केही बेरकै बोली, वचन, व्यवहारले सहज हुन पुग्यौं। त्यसपछि लगभग एक हप्तासम्म हामी सबै एउटै परिवारको सदस्य झैं भएर जुरुक्क कर्नाली सहित चारवटा गीतको अभ्यास गरिरह्यौं।
हामी भाव र समर्पणका थोपा-थोपा बन्दै कर्णाली बग्न थाल्यौं। गीतमा माधवजीलाई जहाँ-जहाँ जे-जसो सुधार गर्न भन्यौं वा हामीले सुधार्यौं त्यसलाई सहर्ष आत्मसात् गर्न उहाँ सतत: तयार रहनुभयो। हाम्रा मित्र शिशिर योगी जस्ता संगीत मनीषीले खास-खास ठाउँमा आफ्नो सुझाव र सल्लाह दिएर गीतलाई अझ जीवन्त बनाइदिनुभयो। आस्थाले हाम्रो हृदयमा बनाएको आत्मीयताको स्थानले हामीलाई थप हौस्यायो। र हामीले यसमा नृत्यका लागि जीवन्त अभिनय र नृत्यकी प्रतिमूर्ति प्राज्ञ मिथिला शर्मालाई आग्रह गर्ने आँट गर्यौं। उहाँले हाम्रो आग्रहलाई सहर्ष स्वीकार गरी अझ सहज र विनम्रतापूर्वक हाम्रो सहकार्यलाई विशिष्टता प्रदान गर्नुभयो।
यस यात्रामा हामी सबै कर्णालीका लागि नभएर स्वयं कर्णाली भएर कार्यक्रममा संलिप्त भयौं। जुरुक्क कर्नालीका सम्पूर्ण प्रस्तुतिमा हामी सबै कवि-कलाकारको त्यही भाव यहाँहरूले पाउनुभएको होला। यसको परिणामस्वरूप सपादलक्ष कर्नाली गीत, जो रेकर्ड नभइकनै पहिलो पटक यसै कार्यक्रममा प्रस्तुत भयो, त्यसलाई भावकहरूबाट प्राप्त अपार मायाले हामी सबै अभिभूत भएका छौं।
व्यक्तिगत रूपमा मैले यसलाई मेरो जन्मदिन भदौ १८ गतेको पूर्वसन्ध्यामा प्राप्त अमूल्य उपहार मानेको छु। यसका लागि सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यहाँहरू समक्ष एकपटक मै पनि पस्कँदै छु– थोरै फरक भिजुअलका साथ ‘जुरुक्क कर्नाली’।
कर्णालीसँग धीरेन्द्र प्रेमर्षिको सम्बन्ध उहाँले माथि उल्लेख गर्नुभए अनुसार तीन दशकको रहेछ भन्ने सन्दर्भले फेरि कौतूहल जगायो। तराईमा जन्मिएको मानिस कसरी त्यहाँ जोडिन पुग्नुभयो त ? भन्ने प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ, ‘मेरो सृजनात्मक/सार्थक लेखनको सुरुआत नै कर्णालीबाट भएको हो।’
म १९ वर्षकै हुँदा जागिर खान हुम्ला पुगेको थिएँ। आईएस्सी एजीको पढाइ सकिने बित्तिकै सुर्खेतबाट एउटा विज्ञापन निस्कियो, त्यसमा जाँच दिएर पास भएँ; मलाई हुम्ला पठाइदियो। घरबाट त्यस्तो हुम्ला, जुम्ला जान हुँदैन भन्ने कुरा आयो। तर, मेरो नेपालगञ्ज बस्ने दाजुले हौस्याउनुभो र म आफैंलाई पनि किन जान नहुने रहेछ भन्ने कौतूहल जाग्यो।
त्यसैको फलस्वरूप २०४३ साल पुस २३ गते बाजुराको कोल्टी विमानस्थल हुँदै सिमकोट हुम्ला पुगें। म, सिरहा वस्तीपुरको मान्छे, अलिअलि सृजनात्मक कार्यमा लागिसकेको सिकारू समय थियो; हुम्लाको गरिबी, प्राकृतिक सुन्दरता र अभावग्रस्त जीवनले मलाई कलातर्फ उत्प्रेरित गरिरहेको थियो।
म, २०४६ साल भदौसम्म सिमकोट र दारमा बसें। त्यसको १५ वर्षपछि म फेरि हुम्ला पुगें; त्यतिखेरसम्म कुनै यातायातको साधन थिएन। यसपालि हामी कर्णालीको हुम्ला र डोल्पाबाहेक, ६ ठाउँमा चारपाङ्ग्रे सवारी साधनमा पुग्दा, म आफैंलाई पनि खुशी लाग्यो। त्यसरी मेरो कर्णालीसँगको आत्मीय सम्बन्ध जोडिएको छ।
यी त भए संगीतकारका कुरा; गीतकारसँग पनि केही जिज्ञासा त थियो नै; हुनत। गीत चर्चित भएसँगै सञ्चारमाध्यमहरूले सबैभन्दा बढी कुराकानी गीतकारसँगै गरेको देखिन्थ्यो। तर, त्यहाँनिर कसैले के कुरामा हेक्का राखेन भने, गीत सर्वाधिक लोकप्रिय हुनुमा जति शब्दहरूलाई श्रेय जान्छ; त्यत्तिकै श्रेय संगीतकारलाई पनि जानुपर्ने हो।

गीतकार माधव चौलागाईंसँग मेरो प्रश्न थियो, तपाईंलाई यो गीत प्रस्तुत गर्ने प्रस्ताव आउँदा गीतले यति धेरै लोकप्रियता पाउँछ भन्ने अनुमान गर्नुभएको थियो ?
‘मलाई यस्तो रूपमा जान्छ भन्ने पटक्कै थिएन नि! यो पञ्चमार छन्दमा छ। गीतका शब्दहरू कोर्दै छन्द गुनगुनाउँदै गर्दा यो सृजना शक्तिशाली हुने आकलन त थियो। मैले सिधै वाचन गर्दा पनि केही साथीहरूले तारिफ गरेका थिए; तर, त्यो सानो र सीमित परिवेश थियो।’
यहाँनिर स्मरणीय के छ भने, जतिसुकै कुशल सर्जक भए पनि त्यसमा संगीत उपयुक्त भएन भने गीत त्यति लोकप्रिय नहुन पनि सक्छ।
गीतमा संगीतकारको भूमिकाले कति धेरै महत्व राख्दछ भन्ने उदाहरण, नेपाली कालजयी गीतका संगीतकार गोपाल योञ्जनको उदाहरण लिन सकिन्छ। नेपाली गीतको स्वर्णिम युग मानिने नारायणगोपालको गायकी तथा गोपाल योञ्जनको संगीत सृजनाले त्यो समय पार गरेर अहिलेको तेस्रो पुस्ता आइपुग्दासम्म पनि उत्तिकै लोकप्रियता हासिल गरेको उदाहरण हामी उनीहरूका थुप्रै गीतमा सुन्न र देख्न सक्छौं।
यसै सन्दर्भमा, ‘म मान्ठा हुँ’ गीतका संगीतकार प्रेमर्षिलाई, गीत चर्चित हुन संगीतकारको के-कस्तो भूमिका हुन्छ भन्ने प्रश्न राख्दा, उहाँले संगीतकारको भूमिकालाई लुगा सिउने सूचीकारको कलासँग दाँज्दै भन्नुभयो, ‘संगीतकार भनेको एउटा सूचीकार जस्तो हो।’
संगीतकारको प्रत्यक्ष देखिने ठाउँ त कहीं पनि हुँदैन। मानौं, एउटा कपडाको कुरा गरौं, दामी एउटा वस्त्र छ रे, त्यो वस्त्रको क्वालिटी एकातिर हुन्छ; लगाउने मान्छेको व्यक्तित्व एकातिर झल्किन्छ। तर, त्यो वस्त्र त्यतिकै लपेटेर हुन्न। त्यसरी त न त्यसले मान्छेको सौन्दर्य बढाउन सक्छ; न त्यसले कपडाको खुबी देखाउन सक्छ।
हो, त्यसलाई आवश्यक काँटछाँट, सिलाइ, डिजाइन इत्यादि गर्ने काम सूचीकारको हो। त्यसले गर्दा वाहवाही त हुन्छ, क्या दामी कपडा हुन्छ; ओहो, कस्तो राम्रो सुहाएको भनेर व्यक्तित्वको कुरा आउँछ तर, सूचीकारको त्यति चर्चा हुँदैन हाम्रो समाजमा, तर विस्तारै त्यसका मर्मज्ञहरूले बुझ्न सक्छन्।
मैले, हामी सबैले, यो मेरो हो, मेरो चर्चा होस् भनेर होइन, यो कर्णालीको लागि समर्पित थियो। सिस्नुपानी नेपाल जुनसुकै काम पनि समर्पित भावले गर्छ र त्यो सिस्नुपानी नेपालको संस्थापक सदस्य र अहिले पनि सक्रिय व्यक्ति, उपाध्यक्षको नाताले त्यतिकै एफोर्ट मैले लाएको थिएँ।
यो धुनहरू बनाउने, मैथिलीमा पनि थुप्रै गरेको छु; चर्चा पनि पाएका छन्, मान्छेहरूको मनमा ठाउँ पनि पाएका छन्, त्यही हिसाबले यो कर्णालीप्रतिको अपनत्व, आत्मीयता छ त्यसलाई यस मार्फत प्रस्तुत गर्न पाएँ। कर्णालीको आजभन्दा चार दशकअगाडि नुन खाएको थिएँ, त्यो नुनको थोरै अंश तिर्ने मौका पाएँ; त्यसको लागि म धन्य छु।’
गीतकार तथा संगीतकार दुवैका अनुसार, गीतलाई कर्णप्रिय तथा सरल बनाउन माधव चौलागाईंको मौलिक रचनामा केही शब्दहरू माझ्ने वा फेरिने काम पनि भएको रहेछ। यसबारेमा चौलागाईं भन्नुहुन्छ, ‘हो, केही विकल्प शब्द वा समानार्थी शब्द चयन, छन्दको नियममा बाँध्न त्यो माझ्ने प्रक्रिया सहयोगी बन्यो। यद्यपि ठेट शब्द र विकल्प नपाइएको/नहुने शब्दलाई गायनको बेलामा पनि मिलाइएको छ। त्यसले गीतलाई झन् सशक्त बनायो। यो सम्पूर्ण सृजना सहभागितामूलक प्रक्रिया थियो।’
लैंगिक दृष्टिकोणबाट हेर्दा गीत पूरै पुरुषहरूको गाथामा आधारित जस्तो देखिन्छ भन्ने जिज्ञासामा चौलागाईंको स्पष्टीकरण थियो, ‘यो सत्य होइन। यसमा समस्त कर्नालीजन (पुरुष,महिला) सबैको पक्ष समेटिएको हो। ‘माण्ठ’ आफैं दुई लिङ्गी मान्छे जनाउने शब्द हो – स्हःईनीमाण्ठ (नारी), लोग्नेमाण्ठ (पुरुष) भनिन्छ। अनि इतिहासबोधमा वा वर्तमानको समाज, संस्कृति र परम्परा जनाउने प्रसंगमा जो जो सहभागी भए उनीहरू बुझिए। गीतको पछिल्लो अंश त झन् बढी महिलाहरूको पक्ष उजागर हुने सन्दर्भ हो झैं लाग्छ मलाई। त्यसमाथि यो गीतमा महिला स्वर र नृत्यमा सृजना/मञ्चन हुँदा झन् सशक्त बन्यो। तापनि, श्रोताले कसरी बुझ्छन्, त्यो भने हेर्नैपर्छ।’
गीतबारे, संगीतकार र गीतकारको यति धेरै कुरा सुनिसकेपछि, गायकको विचार त छुट्नै भएन।
चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा
पखेरीमा घाँस काट्न जान्या छैन भन्दैमा
मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ ?
म त नेपालको माया गर्ने छोरी,
मलाई म जस्तै माया चाहिन्छ….
गाएर चर्चा बटुलिसकेकी वजनदार स्वरकी धनी आस्था राउतको गायकीलाई ‘माण्ठ हुँ म माण्ठ हुँ म माण्ठ जुर्मुराउँछु’ साँच्चै नै जुर्मुराउन बाध्य नै पारेर छाड्यो। उहाँ यस गीतसँग कसरी जोडिनुभो भन्नेबारेमा माथि उल्लेख भइसकेको छ; त्यसलाई नदोहोर्याऊ।
आस्थाका अनुसार, गीतको प्राक्टिस दुई तीन दिन मात्रै गरियो। धेरै दिन गर्दा आवाज भास्सिने डर हुन्थ्यो।
उहाँ भन्नुहुन्छ, ‘मैले अभिनय गरेको भन्दा पनि म गीत भित्रको भावमा डुब्छु। म जुनसुकै गीत पनि शब्दमा डुबेर न्याय गर्छु। कि म गीतै लिन्न, लिएपछि म पूरै न्याय दिन्छु। म माण्ठा हुँ। पश्चिमतिर यसलाई कसरी लिइन्छ थाहा छैन; तर, मलाई हामी महिला पनि कम छैनौं भन्ने लाग्छ। मैले आफ्नो गीतको माध्यमबाट देशभित्रको विसंगति र विकृति विरुद्ध आवाज उठाउन खोजेकी हुँ। मेरो गायकीको बारेमा जति पनि मलाई सिरिंग भयो या कति सशक्त भनेर प्रतिक्रिया आइरहेछ, मैले गीत भाइरल होला भनेर गाएको होइन। यो गीत मेरो कर्णालीप्रतिको समर्पण, निस्वार्थ भाव हो। म नेपालको छोरी हो; कर्णालीमा म जन्मिन होला तर, म कर्णालीको पनि छोरी हो। म, विश्वभरिका नेपालीहरूकी छोरी हुँ। मैले त्यहाँ भएका माण्ठहरूलाई जगाउन खोजेकी हुँ; जुरुक्क उठाउन खोजेकी हुँ। मैले महसुस गराउनै खोजेकी हुँ।’
आस्थाको विचारमा देश भयावह स्थितिमा छ। कर्णालीलाई गरेको राज्यको व्यवहार ठिक छैन। भ्रष्टाचार व्याप्त छ। सोसल मिडियाहरू बन्द गरिएको छ, यसमा त कानून नै बनेको छैन। (यो कुराकानी गर्दा राज्यले सोसल मिडियामा बन्देज लगाएको थियो, उहाँको भनाइ त्यसैसँग सम्बन्धित थियो)।
गीतलाई हिट गराउने श्रेय सबैभन्दा बढी आस्थालाई जान्छ भन्दा अत्युक्ति नहोला। गीतको बारेमा आस्थालाई आएको प्रतिक्रियामा, यो गीतले मानिसहरूलाई मनोपरामर्शको खुराक दिएको छ, मेन्टल हेल्थले कमजोर बनाएको व्यक्तिलाई ऊर्जा दिइएको पनि भनिएको रहेछ। त्यसको मतलब, कमजोर मनस्थितिमा बसिरहेको व्यक्तिलाई जुरुक्क उठाउने काम गर्यो भन्ने रहेछ।
शायद, त्यतिबेला सोसल मिडिया निषेध नगरिएको भए वा जेनजी आन्दोलन नभएको भए, उक्त गीत अझ कति चर्चाको शिखरमा पुग्थ्यो होला, अनुमान मात्रैमा रह्यो। आस्थालाई गीतमा साथ दिने अर्की गायक स्मारिका फुँयालको प्रतिक्रिया लिन फोन गर्दा सम्पर्क हुन सकेन।
गीतलाई अर्को सशक्त पाटोले पनि साथ दिएको थियो, त्यो हो नेपालकी ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्मा तथा उहाँको टीमको नृत्य। उहाँको देशभक्तिले ओतप्रोत नृत्य कलाले गीतमा थप चारचाँद लगाइदियो।
उक्त गीतमा उहाँको प्रस्तुति राख्न सिस्नुपानी नेपालका टंक आचार्य मार्फत उहाँलाई प्रस्ताव आएको रहेछ। उहाँले कविता हेरेर मात्रै निर्णय गर्ने जवाफ दिनुभएछ। तुरुन्तै प्राप्त भएको कविता पढेपछि, गीतको तयारीको लागि काम भइरहेको ‘पाठशाला’ स्कूल पुगेर छलफल गरिएछ।
‘धीरेन्द्र प्रेमर्षिले गीतको संगीत गर्दैछु भन्नुभयो। त्यतिबेला पनि यसमा आस्था राउतको स्वर चाहिन्छ भन्ने कुरा भयो। केही दिनपछि, आस्था र स्मारिकाले गाएको रफ रेकर्डिङ पठाउनुभयो। उहाँहरूले मलाई, यो प्रस्तुति माधव चौलागाईंको कवितामा ताण्डव शैलीमा गर्ने सोच छ भन्नुभएको थियो ।
मैले, बिना केसी, जलमाया गुरुङ र कमला श्रेष्ठ बहिनीहरूलाई बोलाएर सिकाएँ। अनि टंक भाइले एक जना राम्रो नाच्ने छोरी पनि राखौं भन्नुभयो। पछि, सानो कथा बनाएँ अनि सबिता र उसलाई राखेर पूरा नृत्यको तयारी भयो। तीन दिन गीत, संगीत र नृत्यको सँगै अभ्यास गरियो’, मिथिला शर्मा भन्नुहुन्छ।
यसरी सबै मिलेर कर्णालीलाई जुरुक्क उठाए; कर्णालीले देशभरका ‘माण्ठ’ उठायो। तर, सोसल मिडियामा तत्कालीन ओली सरकारले लगाएको निषेधले र उक्त निषेधसँगै उठेको भ्रष्टाचार र बेथिति विरुद्धको आक्रोशले ‘म माण्ठ हुँ…’ लाई छायाँमा पारिदियो।
यति धेरै चर्चा र लोकप्रियताको बावजुद, गीतमाथि आरोप पनि लागेको छ। त्यो आरोप पनि सामाजिक सञ्जालमै आएको थियो। त्यो के भने, जुरुक्क कर्णाली भन्ने गीत सुन्दा, कान्तिपुर एफएममा बिहान साढे पाँच बजे बज्ने, ‘कान्तिपुर गाथा’को झल्को दिन्छ।
प्राध्यापक शिव गोपाल रिसालको शब्द, दीपक जङ्गमको संगीत र सुनिता सुब्बा, लोचन भट्टराई, दीपक खरेल लगायतको आवाजमा घन्किने ‘प्रभात भार रात गा उठ्या जुरुक्क कान्तिपुर। श्री शम्भुमा स्वयम्भूमा झलल्ल हुन्छ कान्तिपुर। यी शङ्ख–घण्ट नादले रनन्न बज्छ कान्तिपुर। सनातनी छ संस्कृतिमा कर्मयोग कान्तिपुर’ गीतको झल्को आयो भनिएको छ।
यसबारेमा, ‘माण्ठा….’ का रचयिता माधव चौलागाईंसँग प्रश्न राख्दा, उहाँको जवाफ थियो, ‘यो ‘जुरुक्क’ शब्द मिलेको यौटा संयोग मात्रै हो। त्यो पनि सिस्नुपानीको थिम नै जुरुक्क कर्नाली थियो। त्यसैले पछि गीत तयारीको बेला थप्यौं। वास्तवमा मैले पनि यतैकतै कमेण्ट पढेर थाहा पाएको थिएँ जुरुक्क कान्तिपुर भन्ने गीतबारे।’
यो प्रश्न संगीतकार प्रेमर्षिसँग पनि राखेकी थिएँ; उहाँको जवाफ थियो, ‘त्यो शब्दमा मात्रै भएको हो, शंख ध्वनि आदि इत्यादि कतै दिमागमा थिएन। यद्यपि, माधवजीको कवितामा पनि शुरुमा थिएन; मिलाउँदै जाँदा रामप्रसाद सरले पनि केही मिलाउनु भा’छ। जुरुक्क उठ्छ कर्णालीचाहिं हामीले गाउनुभन्दा तीन चार दिनअगाडि मात्रै राखेका हौं। यद्यपि, शीर्षक चाहिं जुरुक्क उठ्छ कर्णाली भनेर जेठमै तय भएको थियो।
त्यो कुनै गीतको लागि भनेर तय भएको थिएन; केहीको लागि थिएन। कर्णालीलाई एउटा ऊर्जा दिने सन्दर्भमा यो शीर्षक बनेको थियो। त्यो शीर्षक चाहिं त्यो गीतमा पनि आउनुपर्यो भन्ने हिसाबले राखियो; नभए त सपालदक्ष कर्णाली भन्नेमै सकिएको थियो। अरू त्यसमा केही पनि छैन र, दुइटा गीतको भाव नै फरक छ।
कान्तिपुरले जगाउने भाव जुन छ, त्यो कान्तिपुरको जुरुक्क उठ्ने कुरा बिहानीको उठाइ हो। बरु म त्यहाँ भन्छु, बिहान मानिसले जुरुक्क उठ्ने काम गर्दैनन्; जुरुक्क उठ्ने अवस्था अलिकति फरक सन्दर्भमा हुन्छ। मानौं, जोचाहिं पत्याइएको हुँदैन, जसको ऊर्जा निस्तेज हुन्छ; त्यो ऊर्जाको, त्यो स्थितिको बोध गराइदिएपछि जुरुक्क उठ्छ, कर्णालीको सन्दर्भमा बढी उपयुक्त हुन्छ।
कान्तिपुर त काठमाण्डु उठेकै हो नि! जागेकै हो नि! सुतेकोबाट विस्तारै उठ्ने हो, जाग्ने हो ठिक छ। यसले चाहिं कर्णालीको सन्दर्भमा अझ बढी सार्थकता दिएको छ र, यदि कसैलाई लाग्छ कि, होइन त्यसबाट प्रभावित छ भने अवचेतनमा प्रभावित भएका होलान् कोही; हामी जानाजान त्यसो गर्दैनौं, नयाँ नै गर्ने कोशिश गर्छौं। यदि, पहिले नै यसको जानकारी भएको भए, हामी त्यो गर्दैनथ्यौं होला।’
अन्त्यमा, यसलाई रेकर्ड गर्ने विचार छ त ?
‘श्रोता/दर्शकले यतिको स्नेह दिएपछि रेकर्डिङ पनि गराउनै पर्ला; तर, सञ्जालहरूका माध्यमबाट श्रोता-दर्शकका विचार संकलन गरेर’, संगीतकार प्रेमर्षिले भने।
प्रतिक्रिया 4