
News Summary
Generated by OK AI. Editorially reviewed.- परदेशमा रहेका नेपालीहरू साथीभाइसँगै जमरा राखेर, टीका लगाएर दशैं मनाउने परम्परा बसालिरहेका छन्।
- विद्यार्थी बिना भुसालले ८ वर्षदेखि घर फर्केर दशैं मनाउन नपाएको बताइन्।
- खाडी मुलुकमा काम गर्ने नेपालीहरूले काम र आर्थिक समस्याका कारण दशैंमा घर फर्कन नसक्ने बताए।
१४ असोज, काठमाडौं । दशैं आउँदा नेपालका गाउँ–सहर सजिन्छन्, घरमा चहलपहल बढ्छ, परिवारभित्रको आत्मीयता झनै प्रगाढ हुन्छ । तर लाखौं नेपालीहरू परदेशमा रहेका कारण उनीहरूलाई त्यस्तो माहोलसँगै घर परिवारसँगै दशैं मनाउने अवसर मिल्दैन ।
वैदेशिक रोजगारी, अध्ययन वा अन्य कारणले विदेशमा रहेका नेपालीहरू भने साथीभाइसँगै मिलेर परदेशमै दशैं मनाउने परम्परा बसालिरहेका छन् ।
दशैं केवल धार्मिक पर्व मात्रै होइन, परिवारबीचको भेटघाट, आत्मीयता र एकताको पर्व हो। तर, परदेशमा रहेका नेपालीहरूलाई पर्व नै सबैभन्दा पीडाको क्षण बन्छन् ।
उनीहरू कसैले साथीहरूसँग कोठामा जमरा राख्छन्, कसैले नेपाली संघ–संस्थाले आयोजना गर्ने सामूहिक पूजामा सहभागी हुन्छन्, त कसैले कामको व्यस्तताबीच मोबाइलमा परिवारसँग भिडियो कल गरेर टीका ग्रहण गर्छन् ।
८ वर्षदेखि घर फर्कन नपाएकी बिना भुसाल
पढाइका लागि अष्ट्रेलिया गएकी दाङकी बिना भुसालले घर परिवारसँग दशैं मनाउन नपाएको ८ वर्ष भयो। परदेशका अनेकन बाध्यताका अगाडि उनले दशैं तिहार जस्ता चाडपर्व फिक्का हुन पुगेका छन् ।
घर परिवारसँग दशैं मनाउन नपाएकी उनी परदेशमा भएका साथीभाइसँगै मनाउँछिन् । र घर परिवार तथा पर्वको न्यास्रो मेट्छिन् ।
‘दशैंमा घर जान मन त धेरै गर्छ, तर विद्यार्थी भएकाले ठूलो रकम खर्च गरेर जान सकिँदैन । पढाइ, काम, अनि टिकटको मूल्य सबै समस्यामा पर्छन्,’ उनले भनिन् ।
नेपाल आउन महंगो टिकट तथा कलेजको पढाई खर्च व्यवस्थापन गर्नुपर्दा आफूले चाहेको समयमा नेपाल आउन नसकिने उनको भनाइ छ ।
अष्ट्रेलियाबाट नेपाल आउन–जान गर्न मात्र दुई लाख रुपैयाँ भन्दा बढी हवाइ भाडा नै पर्छ । ‘त्यो पैसा त हामीले यहाँ दुई–तीन महिनाको भाडा र फिस तिर्न सक्थ्यौं । त्यसैले दशैंमा नेपाल जाने सोचै छोड्नुपर्छ,’ उनी भन्छिन् ।
जमरा, टीका र साथीहरूको आत्मीयता– अष्ट्रेलियामा राजेश खाती
राजेश खाती पनि अष्ट्रेलियामा दशैं मनाउँदै आएका नेपालीमध्ये एक हुन् । उनले साथीहरूसँगै जमरा राख्ने, टीका लगाउने, मिठो–मसिनो पकाउने परम्परा कायम राखेका छन् ।
उनले पनि नेपालमा परिवारसँग दशैं मनाउन नपाएको ४ वर्ष भइसकेको छ । परदेशमै भएपनि आफ्नो धर्म संस्कृति छोड्नुहुन्न भन्दै उनी साथीभाइसँगै दशैंको जमरा लगाउने गर्छन् ।
‘नेपाली पसलमै जमराको बिउ पाइन्छ। हामी माटो किनेर घरमै उमारेका छौं । घटस्थापनाको दिन सानो पूजा गरेर जमरा राख्छौं,’ उनले सुनाए।
अष्ट्रेलियामा नेपाली पसलहरूमा जमरा बेच्नका लागि राख्छन् । कतिपयले त्यही पसलबाट किनेर जमरा लगाउँछन। भने कतिपयले आफ्नो कोठामा भएपनि जमरा उमारेर राख्छन् ।
सामान्य पूजापाठ गरेर कोठामै जमरा राख्छन् । त्यही उमारेको जमरा दशैंको टीकाको दिन लगाउँछन्। नेपाली पसलमा मिक्स गरेर राखिएको जमराको बिउ बेच्छन् । बोर्निङ्स भन्ने हुन्छ, त्यहाँबाट माटो किन्ने र त्यसमा राखेर घरमै उमार्ने गरिन्छ। र दशैंका टीकाको दिन लगाउने ।
अर्को भनेको नेपाली पसलमा पनि जमरा पाइन्छ, त्यहीबाट किनेर पनि लगाउँछन् ।
‘हामीले माटो, जमराको बिउहरू, जौ, मकैसमेत किनेर आफ्नै घरमा उमारेका छौं । घटस्थापनाको दिन सामान्य पुजा गरेर जमरा राखेका थियौ,’ खातीले भने, धार्मिक विधि भन्नाले नि अब सानोतिनो पूजा गर्ने, घटस्थापनाको दिनभन्दा एक दिन अगाडि भिजाउने । अनि घटस्थापनाको दिन साँझपख जमरा राख्ने । घरमा सानो कुनामा । आफ्नै रूममा सानो कुनामा चोखो–मिठो ठाउँ राख्ने ।’
साथीभाइ मिलेर परदेशमा सकेसम्म रमाइलो गर्ने गरिएको उनको भनाइ छ ।
दशैंको समय अष्ट्रेलियामा नेपाली समुदायबीच विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुन्छन् । ‘आज मेरो घरमा बस्ने, भोलि अर्काको घरमा बस्ने, खाना पकाउने र गीत गाउने चलन बसेको छ । परिवारसँगै जेस्तो आत्मीयता त हुँदैन तर साथीभाइबीच त्यही भाव पुन: सिर्जना गर्छौं,’ खाती भन्छन् ।
यो वर्ष दशैंको टीकाको दिन बिहीबार परेका छ । जसले गर्दा धेरै जसो काम गर्ने भएकाले टीकाको साइतमा लगाउन नपाइने देखिएका छन् । शनिबार र आइतबार विदाको दिन परेको भए अधिकांशको विदा हुने र लगाउन सजिलो हुने तर, यो पटक बिहीबार टीकाको साइत परेकाले बिहान बेलुकाको समय मिलाएर लगाउनुपर्ने खातीको भनाइ छ ।
खाडी मुलुकमा दशैं : काम र सम्झनाको संघर्ष
साउदी अरब, कतार, युएई, कुवेत जस्ता खाडी मुलुकमा काम गर्ने नेपालीहरूको दशैं अझै फरक हुन्छ । त्यहाँ छुट्टी पाउन झन् कठिन हुन्छ । कतिपय कम्पनीहरूले धार्मिक पर्वका लागि छुट्टी दिन्नन् ।
कतारमा निर्माण कम्पनीमा काम गर्ने भीम परियार भन्छन्, ‘दशैं आउँदा नेपाल सम्झेर मन भक्कानिन्छ । बिहान १० मिनेट समय निकालेर कोठामा साथीले राखेको जमरा अगाडि टीका लगाइदिन्छौं। त्यसपछि फेरि काममै लाग्छौं ।’
कतिपय नेपालीहरू मलेसिया लगायतका खाडी मुलुकहरूबाट घर आउने गरेका छन् । विशेषगरी धेरै वर्ष विदेशमै काम गर्दैै आएका तथा राम्रो आम्दानी हुनेहरू दशैं तिहारमा घर आउने गरेको परियारको भनाइ छ ।
साउदीमा काम गर्दै आएका झापाका विपुल हुमागाईं साउदीमा खासै राम्रोसँग दशैं मनाउन नपाइने बताए । दिनभर ड्युटीमा गएर बेलुका कोठामा आएर साथीभाइबीच शुभकामना आदानप्रदान गरेर दशैं मनाइने गरिएको उनको भनाइ छ ।
‘बिहान काममा जाने । बेलुका फर्किनुपर्छ । दिनभर काम गरेर बेलुका रुममा आयो, मासु ल्यायो । पकायो । खायो । साथीभाइबीच ह्याप्पी दशै भनेर मनाउने हो । अरु त खासै केही हुदैन,’ हुमागाईंले भने ।
दशैंको दिन बिहानै उठेर ड्युटी जानुपर्ने र राति अवेर कोठामा आइने उनको भनाइ छ । परदेशमा गाउँ घरकै जसरी दशैं मनाउन नपाएपछि कोठामा बस्ने साथीभाइहरूबीच सामान्य तरिकाले शुभकामना आदान प्रदान गरिने बताए ।
विगत दुई दशकदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्दै आएका रामप्रसाद ढकालले समेत परदेशमै दशैं मनाउने गरेका छन्। प्रवास नेपाली एकता समाज यूएईका सचिव समेत रहेका ढकालले यूएईमै विभिन्न कार्यक्रम गरेर नेपाली साथीभाइहरू भेला भएर एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिएको बताए ।
दशैंका अवसर पारेर यूएईमा नवरात्री पुजा कार्यक्रमको आयोजना गरिएको छ । उनी अचेल त्यही पूजामा व्यस्त रहने गरेका छन् । श्रीवैष्णव परिषद् युएईले दुबईमा नवरात्री र विजया दशमीको दुर्गा सप्तशती पाठ पारायण एवंम कथा वाचनगरी नवदुर्गा पुजाको विशेष कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
विदेशमा दशैं मनाउनेहरूको साझा अनुभव एउटै छ,– साथीभाइबीच रमाइलो भए पनि परिवारको सम्झना बढी हुन्छ । कोही वर्षौंदेखि बाबुआमा, दिदीबहिनी वा श्रीमान्–श्रीमतीलाई टीका लगाउन नपाएको गुनासो गर्छन् ।
खाती भन्छन्, ‘मेरो बहिनीलाई टीका नलगाएको ८ वर्ष भइसक्यो । फोनमा कुरा गर्दा आँसु रोक्न सकिन्न ।’
परदेशमा दशैं मनाउँदा सबैभन्दा ठूलो चुनौती भनेकै आर्थिक समस्या हो। टिकट महँगो, साथमा भाडा, पढाइ वा कामको दवाबले गर्दा धेरैलाई दशैंमा घर फर्कन असम्भव हुन्छ ।
‘यदि टिकट ५० हजारको मात्र भए हामी सजिलै घर आउन सक्थ्यौं । तर दुई लाख रुपैयाँ खर्च गरेर १० दिन नेपाल गएर आउनु सम्भव हुँदैन,’ खातीले भने ।
साथै, विदेशमा काम गर्नेहरूलाई नेपाल फर्कँदा पनि थप समस्या हुन्छ । फर्केर आएपछि फेरि नयाँ काम खोज्नुपर्ने, अतिरिक्त खर्च बेहोर्नुपर्ने बाध्यता हुन्छ ।
संस्कृतिसँगै आत्मीयता जोगाउने प्रयास
चुनौतीकै बीच पनि परदेशमा दशैं मनाउने नेपालीहरूको उत्साह भने कम देखिएको छैन । जे जसरी सकिन्छ साथीभाइ मिलेर, सानो कोठाभित्रै भए पनि, दशैंलाई आत्मसात गर्ने प्रयास गर्दै आएका छन् ।
नेपालमा आमाले राखिदिएको टीका र बाबाले दिएको आशीर्वाद नपाए पनि साथीभाइबीच आत्मीयताको आदान–प्रदान हुने गरेको छ । दशैं केवल पर्व मात्र नभई नेपालीहरूको संस्कार र पहिचान भएको बताउँदै उनीहरू समेत आफ्नो संस्कृतिको जगेर्ना गर्नुका साथै आत्मीयता बढाउन मनाउने गरेका छन् ।
विदेशमा दशैं मनाउने अनुभवले एकातिर नेपालप्रतिको मोह बढाउँछ, अर्कोतिर साथीभाइबीचको सम्बन्ध अझ प्रगाढ बनाउँछ । घर–परिवारसँगै दशैं मनाउने दिन कहिले आउला भन्ने आशा बोकेर, परदेशमा रहेका नेपालीहरूले हरेक वर्ष साथीभाइसँग मिलेर दशैं मनाइरहेका छन् ।
प्रतिक्रिया 4