+
+
Shares
स्थलगत :

‘मेरो श्रीमानले देशका लागि ज्यान दिनुभो, सरकारले छोराछोरी पढाइदिन सक्दैन ?’

छिमेकीहरू दशैं मनाउन व्यस्त छन्, शहीद परिवार बज्रपात मत्थर गर्न

आन्दोलनमा निस्किनुअघि सन्तोषले श्रीमतीलाई ३ हजार रुपैयाँ दिए– चामल र तरकारी किन्न । त्यसपछि जुत्तामोजा लगाएर बाहिर निस्किए ।  यसपटक उनीहरूले भव्य दशैं मनाउने योजना पनि बुनेका थिए । तर देशको राजनीतिक परिवर्तनका खातिर आन्दोलनमा निस्किएका सन्तोष शहीद भए ।

सापेक्ष सापेक्ष
२०८२ असोज १४ गते २०:३४

१४ असोज, उदयपुर । गाउँघरतिर दशैं छपक्कै लागिसकेको छ । घरमा पाहुना बढिरहेका छन् । फूलपातीका दिन काटेको मासुको सुकुटी प्राय: घरबाहिर झुन्डाइएको देखिन्छ । तर, जेनजी आन्दोलनका क्रममा २३ भदौमा सदाहत प्राप्त गरेका सन्तोष विकको घरमा पुग्दा त्यस्तो माहोल केही देखिन्न ।

सन्तोषको घर पुग्न उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नम्बर ४ मा अवस्थित लाल बजार पुग्नुपर्छ । उनको घर भएको ठाउँलाई डाँडाबारी भनिन्छ । जुन ठाउँ लाल बजारलाई छोएको मदन भण्डारी भित्री तराईं राजमार्ग छाडेर ३ किलोमिटर उत्तर कच्ची बाटो छिर्नुपर्छ ।

लाल बजारमा चर्को घामसँगै दशैं पनि चर्कै लागेको देखिन्छ । दशैं बजार लाग्ने दिन, घर बाहिर चहलपहल राम्रै देखिन्थ्यो । तर सन्तोषको घर करिब सुनसान छ । संयोग भनौं, उनको घर टोलको सबैभन्दा अन्तिममा पर्ने रहेछ । त्यसपछि अन्य कुनै घर छैन । त्यसपछि सिधैं सिसुवा खोला आउँछ ।

त्यो अनकन्टार लाग्ने ठाउँमा रहेको सन्तोषको टारे घर छ । टिनको सानो लगाइएको छ । रातो र सेतो कमेरोले भित्ता र भुइँ लिपपोत गरिएको छ । जुन पुरानै देखिन्छ । घर नजिकैको बारीमा कोदोमा लगाइएको छ ।

यता घरमा भने एउटा राष्ट्रिय झन्डा झुन्डाइएको छ । मुल ढोकाबाहिर विभिन्न संघसंस्था तथा व्यक्तिहरूले दिएका श्रद्धाञ्जलीका फोटाहरू लस्करै राखिएका छन् ।

मूल घरको तल्लोपट्टी भान्सा घर छ । त्यससँगै जोडिएको छ गोठ । त्यही गोठमा केही समयअघि मात्रै सन्तोषका बुबा पर्वबहादुर विश्वकर्मा (७६)ले खसी र राँगा निकेका थिए– छोराबुहारी दशैंमा आउँछन् भनेर ।

हामी घर पुग्दा उनी वस्तु चराउन खोलातिर गएका थिए ।

*****

काठमाडौंमा सन्तोष बस्न थालेकै १२ वर्ष बढी भइसकेको थियो । परिवार चलाउन उनी सानोतिनो काम गर्थे । कोठामा भने उनी आफ्नो परिवारसँगै जेठु दिनेश गजमेरसँगै बस्थे ।

२३ भदौमा पनि सन्तोष आफ्नै जेठुसँग आन्दोलनमा गएका थिए ।

‘हाम्रो काम पनि छैन । देशमा परिवर्तन हुन्छ भने सबैजना सँगै जाउँ’ भनेर सन्तोषले नै आन्दोलनमा जान जेठुलाई उक्साएका थिए । त्यसपछि उनीहरू दिउँसो १२ बजे आसपास कोठाबाट निस्केका थिए । तर, उनीहरू नयाँ बानेश्वरमा अवस्थित संसद भवन नपुग्दै गोलाबारी सुरु भइसकेको थियो ।

उनीहरूमध्ये सन्तोष भिडको अघि गए । राजनीतिमा पनि अलिअलि चासो दिने उनी अलि जोसिला र फुर्तिला थिए । त्यही क्रममा उनी जेठुहरूभन्दा केही अघि पर्न गए । ठीक, त्यतिबेलै सन्तोषलाई प्रहरीले चलाएको गोली लाग्यो । लगत्तै त्यहाँको भिडले सन्तोषलाई अस्पताल दौडायो ।

दिनेशका अनुसार उनीहरूले आन्दोलनमा गएको भिडियो बनाउने र फर्किहाल्ने योजना बुनेका थिए । तर त्यसो गर्न नपाउँदै सन्तोषलाई ढाँड पछाडि गोली लाग्न पुग्यो । अवस्था यस्तो भयो भने दिनेश ज्वाइँलाई उठाउने ठाउँसम्म पुग्न सकेनन् ।

त्यसमाथि अर्को पीर, त्यो दिन साँझ कुन अस्पतालमा ज्वाइँलाई लगेको छ भन्ने समेत दिनेशलाई थाहा पाउन हम्मेहम्मे भयो । उनको फोन स्विस्ड अफ भइसकेको थियो । नजिकैको सिभिल अस्पताल पुग्दा त्यहाँबाट सन्तोष नराखिएको थाहा भयो ।

त्यसपछि उनीहरूले काठमाडौंमा घाइते राखिएका अन्य अस्पतालहरूमा खोजी गरे । अन्त्यमा, साँझ ९ बजेतिर मृत्यु भइसकेको अवस्थामा ट्रमा सेन्टरमा दिनेशले ज्वाइँलाई भेटे ।

*****

घरमा सन्तोषहरू जम्मा पाँच भाइ छोरा र एक बहिनी छोरी हुन् । उनीहरूमध्ये सन्तोषको माइला दाइ आजभन्दा ठीक ५ वर्षअघि तिहारको मुखैमा खसेका थिए । भाइटीकाको अघिल्लो दिन दाइको लास उठाइएको थियो ।

भारतमा काम गर्न गएका उनी उस्तै अस्ताएका थिए । यसपटक फेरि कान्छो भाइ सन्तोष पनि मुख्य चाडबाडकै मुखअघि आकस्मिक रूपमा अस्ताउन पुगे ।

यस्तो कठिन समय भोगिरहेकी सन्तोषकी आमा धनमाया विश्वकर्मा (७०) आफूहरूलाई भगवानले नै यस्तो भाग्य दिएको बताउँछिन् । ‘यसपटक झन् रमाइलो गर्ने भन्दाभन्दै पहिला जस्तै परिवारमा बज्रपात पर्यो,’ उनले भनिन् ।

सन्तोषका अन्य दाइहरूमध्ये साइलो काठमाडौं छन् । काइलो वैदेशिक रोजगारीको सिलसिलामा साइप्रसमा छन् । उनी घरको कान्छो हुन् । दिदी गङ्गा विश्वकर्मा यतै घरमा छिन् ।

अब बुहारी र छोराछोरीहरूको भविष्य सुरक्षित बनाउन लाग्ने उनको लक्ष्य छ ।

*****

अमिका विश्वकर्मा (३०) आफ्नो श्रीमानले देशका लागि बलिदानी दिएकोमा गर्व गर्छिन् । तर उनलाई आफ्नो कोख रित्तिएको र बालखैमा रहेको सन्तानको धेरै चिन्ता छ ।

सन्तोष-अमिकाको दुई छोराछोरी छन्- उज्जवल र सोनिया । उनीहरू क्रमश: ३ र २ कक्षामा मध्यबानेश्वरमा अवस्थित रत्नराज्य माध्यमिक विद्यालयमा पढ्छन् ।

सन्तोष-अमिकाले यसै वर्षको अन्त्यदेखि छोराछोरीलाई नयाँ विद्यालयमा भर्ना गर्ने योजना बुनेका थिए । अमिकाका अनुसार दुवै छोराछोरी पढ्न माहिर छन् । तर अब पढाउने मान्छे नै भए पछि त्यसको जिम्मा पनि सरकारले लिनु पर्ने अमिकाको भनाइ छ ।

‘मेरो श्रीमानले देशका लागि आफ्नो ज्यान नै दिनुभयो भने त्यति छोराछोरी सरकारले पढाउन सक्दैन र ?’ अमिका प्रश्न गर्छिन् ।

आजको दिनसम्म अमिका गृहस्थी जीवनमै व्यस्त थिइन् । कमाउने काम श्रीमानले गर्ने, उनलाई कमाउनेबारे खासै थाहा छैन । अब आफ्नो जीवनसाथी नै गुमाएपछि कसरी कमाउने, कसरी छोराछोरी हुर्काउने उनलाई बढो तनाव छ ।

‘शहीद नभएको नभए भाइले छोराछोरीलाई राम्रै स्कुलमा पढाउँथ्यो होला । अब त कमाउने मान्छे नै छैन,’ बुहारीको कुरामा सहमत जनाउँदै दिदी गङ्गा भन्छिन्, ‘अब सरकारले बालखाहरूको शिक्षादीक्षाबारे पनि सरकारले जिम्मा लिनुपर्छ । भविष्यमा त उनीहरूले आफैंले गरिखालान् ।’

*****

आन्दोलनमा निस्किनुअघि उनले श्रीमतीलाई ३ हजार रुपैयाँ दिए– चामल र तरकारी किन्न । त्यसपछि जुत्तामोजा लगाएर बाहिर निस्किए ।  यसपटक उनीहरूले भव्य दशैं मनाउने योजना बुनेका थिए ।

तर देशको राजनीतिक परिवर्तनका खातिर आफ्नी श्रीमतीलाई चामल किन्न पैसा दिएका सन्तोष शहीद भए । अहिले छिमेकीहरू दशैं मनाउने तयारीमा लाग्दा सन्तोषको  परिवारका सदस्य बज्रपात मत्थर गर्ने प्रयासमा छन् ।

तस्वीरहरू : निनाम राई

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?