+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
दशैं साहित्य :

युनान, तिम्रो शालीनता

पाँच दिन अघि देश छोडेर जाँदा यो बीचमा सामाजिक सञ्जाल बन्द हुनु र यसैको निहुँमा जेनजीहरूको शान्तिपूर्ण र्‍याली भड्किएर हिंसामा परिणत हुनु आश्चर्यजनक रह्यो । तर यो त्रासदीको बीच पनि युनान तिम्रो शहरको शीतलता र भव्यतालाई सम्झिरहें।

बिमला तुम्खेवा बिमला तुम्खेवा
२०८२ असोज १५ गते ९:५२

चिलगाडी चढेर काठमाडौंबाट चीनको खुनमिङ विमानस्थल झर्दा शहर बिजुली बत्तीले झलमल्ल थियो । बाहिर निस्कँदा हामीलाई विमानस्थलमा स्वागत गर्न आएकी जेसीले पर्खिरहेकी थिइन्, मीठो मुस्कानको साथ । यसो हेर्दा ठ्याक्कै ओख्रेको लिम्बूूनी जस्तो । विमानस्थलबाट हिंडेपछि चीनका फराकिला र उज्याला सडकबाट करिब एकघण्टा पछि होटल सांग्रिला पुगेपछि गाडी रोकियो ।

मनमनै सोचें आकाश छुन्छु झैं गरेर उभिएको यो होटलको कुन चाहिं तलामा मेरो कोठा होला ! मान्छेका दु:ख पनि अनेक छन्, भुईंचालो पछि अग्लो घरदेखि पनि त्यस्तै फोबिया भएको छ मलाई । अरूले थाहा पाए पागल भन्न बेर लगाउँदैनन् । चुपचाप कोठाको चाबी लिएर सत्रौं तलाको १७१९ मा पुगें । झ्याल पनि स्विच थिचेपछि आफैं उघ्रने, झ्यालबाट बाहिर हेरेको अमेरिकाको न्यूयोर्कमा अवस्थित ट्वीन टावर जस्तै गगनचुम्बी घर रातको शून्यतामा एक्लै मुस्कुराइरहेको देखें ।  ढोकामा ठकठक आवाज आएपछि खोलेर हेरें आजको निम्ति चिनियाँ सुप आएको रहेछ । चिनियाँहरू खानेकुरामा पनि आर्ट पर्फमेन्स गर्छन् भन्ने सुनेकी थिएँ हो रहेछ । र त मैदाको म:म पनि फूूल मुस्कुराए झैं देखिन्छ ।

भोलिपल्ट श्रीरामजीले कल गरेपछि थाहा भयो, ढिला हुनै लागेको रहेछ । डर पनि एउटा मात्रै छ र, प्लेनमा चढ्नु भनेपछि म जस्तो डरपोक कोही छैन । जित्नै लागेको थिएँ यो डरलाई तर सकिनँ । रोहित दाहालजीले भन्नुभयो, यसरी त कसरी हुन्छ त तुम्खेवाजी ? मनमनै सोच्छु । हो त यसरी त कसरी चल्छ त ? तर पनि अमेरिका, हङकङ थाइल्याण्ड र भारत पुगेर आएँ । मान्छे चन्द्रमा पुगेर आइसके ।

हलमा पुग्दा सबै अतिथि आइसकेका थिए । साउथ एशियाली देशभरिका पत्रकार, सञ्चारमन्त्री, सञ्चार सम्बन्धी विज्ञ सबैको उपस्थितिमा कार्यक्रम भव्य थियो । यसो सम्झिएँ मेरो देशमा कार्यक्रम हुँदा मञ्चमा थेगी नसक्नु अतिथि हुन्छन्, फूलमाला खादा अबिर । तर यहाँ फरक देखें ।

त्यो दिन खाना खाएपछि आराम गरियो । तर साँझपख हाम्रो चीन यात्राकी सहयात्री मध्येकी रामकला खड्काजी र म बाहिर निस्कियौं । फराकिलो सफा सडक, अनुशासित मानिसहरू, ढकमक्क फुलेको फूूल, कहींकतै चर्को स्वर सुनिंदैन, खोकेको, थुकेको सुनिंदैन । यहाँका मानिसहरू खोक्दैनन् कि क्या हो ? अलिक पर पुुगेपछि मानिसहरू पार्कमा जुम्बा नृत्य गरिरहेको देखियो । जता हेरे पनि चिनियाँ लिपि । अंग्रेजी भाषा जानेर पनि चिनियाँहरू बोल्दा रहेनछन् । उनीहरूको अनुहारमा अनुशासन देखिन्छ, उन्माद होइन !

देश त्यसै कहाँ बन्छ र ? देश बन्नलाई  नेतृत्व र जनताको उत्तिकै दायित्व हुनेरहेछ । मनमनै सोचें मेरो देशले कहिले लोभबाट मुक्त नेतृत्व पाउँछ होला ?

रामकलाजी र मैले सल्लाह गर्‍यौं– सीधै जाने, सीधै आउने । सडकपेटीमा लहरै राखिएको साइकल सुशासनको प्रतीक थिए । खै किन हो जति जति यी गल्लीहरूमा मेरा पाइला अगाडि बढ्दैथिए त्यति म अमेरिकालाई पनि सम्झँदै थिएँ । हामी निकै पर पुगेर रोकियौं ट्राफिक पोइन्टमा ।  हङकङलाई पनि सम्झँदै थिएँ । देश त्यसै कहाँ बन्छ र ? देश बन्नलाई  नेतृत्व र जनताको उत्तिकै दायित्व हुनेरहेछ । मनमनै सोचें मेरो देशले कहिले लोभबाट मुक्त नेतृत्व पाउँछ होला ?

खाना खाँदा भेट भयो हाम्रो टोली, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, पत्रकार रोहित दाहाल र श्रीधर न्यौपानेसँग । खाना खाइसकेर लिफ्टबाट उक्लँदै गर्दा सोचें देश बनाउनलाई अङ्ग्रेजी जरूरी  छैन रहेछ त । देशलाई माया गर्ने भावनाको जरुरी हुँदोरहेछ । रामकलाजी र मसँगै रोबोट पनि लिफ्टमा उक्लिएको आठौं तलामा निस्क्यो । यही बेला मन हुत्तिएर सुर्खेत पुग्यो । धेरै वर्षअघि भेटिएकी ती महिला जसले मेरो अनुहारमा हेर्दै पूर्वको मान्छे त बूढो हुँदैनरहेछ नि ! भनेको शब्द कानमा फेरि एकपल्ट गुन्जियो । हातमा स्वेटर, काखमा दुधे बच्चा र घाँसको भारी बोकेर आएकी ती महिलासँग झोलुङ्गे पुल कट्ने बित्तिकै बिसौनीमा भेट भएथ्यो । उनको दु:ख सम्झिएँ, साँच्चै के गर्दै होलिन् उनी । तर चीनका मान्छेले आफ्ना आधा दु:ख त रोबोटलाई जिम्मा लगाइदिए । रामकलाजी र म भोलिपल्ट भेट्ने सल्लाह अनुरुप छुट्टियौं ।

काठमाडौंसँगै मिल्दोजुल्दो मौसम । रातको शूून्यतामा पनि  अनुशासन र इमानदारिताले उभिए झैं लाग्ने यहाँका अग्ला भवनहरू । एकपल्ट चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सम्झिएँ ।  मेरो देशमा पनि यस्तै नेता भैदिए. । देश बन्न नेता र जनता दुवै उत्तिकै इमानदार हुन जरुरी हुँदोरहेछ । मन हुत्तिएर फेरि अमेरिका  पुग्यो । २०२२ मा अमेरिका पुग्दा न्युयोर्क शहरको बीचमै रहेको सेन्टर पार्क सम्झिएँ । ठूला–ठूला देशहरूले आफ्नो पुरातात्विक महत्वको संरचनाहरूलाई संरक्षण गरेर राख्दोरहेछ । अनि आफैंले भोगी ल्याएको दृश्य बहुदल आएपछि रातारात काटिएको सयौं वर्ष पुरानो सालका रूखहरूलाई सम्झिएँ । देश कहाँ त्यसै बन्छ थोपा–थोपा गरेर जमेको पानी झैं सबैको उत्तिकै जिम्मेवारी र देशप्रति माया हुन जरूरी छ ।

यात्राभरि देखिएका हरेक दृश्य कुनै जादुमय सौन्दर्य भन्दा कम थिएनन् । चाहे त्यो सडक किनारामा लहरै फुलिरहेका फूूलका बोटहरू होउन् । अथवा यहाँका भव्य सपिङ मलहरू । यी सबले भनिरहेका थिए, तुम्खेवा तिम्रो देश कहिले हाम्रो जस्तो हुने ।

आजको दिनमा चीनले जसरी आफूलाई आर्थिक लगायत समग्र दृष्टिकोणले विश्वमै शक्तिशाली रूपमा उभ्याइरहेछ । यसबाट हामीले सिक्न जरूरी छ । यात्राभरि देखिएका हरेक दृश्य कुनै जादुमय सौन्दर्य भन्दा कम थिएनन् । चाहे त्यो सडक किनारामा लहरै फुलिरहेका फूूलका बोटहरू होउन् । अथवा यहाँका भव्य सपिङ मलहरू । यी सबले भनिरहेका थिए, तुम्खेवा तिम्रो देश कहिले हाम्रो जस्तो हुने । मनमनै भनें मेरो देशले पनि कम गरेको छैन । गृहयुद्धबाट आफूलाई निकाल्यो । यसले लोकतान्त्रिक गणतान्त्रिक संविधानको निर्माण गर्‍यो । गाह्रो–साह्रो भए पनि मिलेर बसेका छौं । जेसुकै होस् दिल खोलेर बोल्ने छुट छ । रक्सीले मातेर भक्कुमार देशको प्रधानमन्त्रीलाई गाली गर्ने छुट छ । ११२ भन्दा बढी भाषा र संस्कृति अझै जीवित छन् । संस्कृति, भाषा, सम्प्रदाय, नदी, नाला, झरना र वनजंगल यी सबै हाम्रो शिर हो । चीन र भारत जस्तो दुई ठूला सामरिक देशहरूको बीचमा हाम्रो सगरमाथा र कालापानीलाई जोगाउनु कम गाह्रो छ त ?

 चिनियाँहरू खान साह्रै सौखिन । फेरि खाने बेला भइहाल्यो । लञ्च त्यस्तै चारैतिरको दृश्य देखिने ठाउँमा व्यवस्था रहेछ । घामको उज्यालोमा पर हेरें, काठमाडौं जस्तै वरिपरि उभिएको पहाडहरूले घरको तिर्सना मेटाइदियो । तर एक आमालाई स्वर्गमै लगे पनि सन्तानको सम्झनाले न्यास्रो बनाउँदोरहेछ । खाना खाँदै गर्दा छोरी सम्झिएँ । उसको मुस्कान  सम्झिएँ । नेपालमा सामाजिक सञ्जाल चल्दैन । चीनमा पुुगेपछि एउटा भाइबर मात्र चल्यो । त्यो पनि आज पठाएको म्यासेजको जवाफ भोलिपल्ट आउँछ । पर्सि त यसै उडिजानु छ मोहनी लगाउने तिम्रो शहरबाट ।

भरत शर्मा साह्रै सहयोगीे । सन् २०१९ देखि युनान विश्वविद्यालयमा नेपाली भाषा, नेपाली संस्कृति र नेपाल अध्यापन गर्दै आएका । चीन पुुगेको दिनदेखि उहाँको आत्मीय व्यवहार र हँसीमजाक गर्ने शैली त्यसमा अझै रोहितजीको शान्त तर नहाँसी अरूलाई मूर्छा परुन्जेल हँसाउने शैलीले यो यात्रालाई साँच्चिकै सुन्दर बनाएको थियो । हामीलाई  मिलाएरै पठाएको रहेछ पत्रकार किशोर श्रेष्ठले । नत्र यात्रा कति बोर हुनेथियो होला ?

शर्मा हामी नेपाल छँदा २०६२/६३ को जनआन्दोलनमा दिनहुँ अनामनगरतिर भेट हुने कवि । २०५८ सालमा हुनुपर्छ माओवादीको बन्दुकको नालमा कविता सुनाएको नुवाकोटमा । अचानक यहाँ भेट हँुदा चीनमा होइन अनामनगरमामै  भए झंै लाग्यो । मैले फेरि नेट नचलेको गनगन गरें, भरतजीले भन्नुभयो “चल्न त सबै चल्छ तर चाइनिजहरूले अलि अलि दिन्छन् जब मन जित्छन् फेरि मासु काटेर दिएको पत्तै पाउँदैनन् ।” मनमनै सोचें लिम्बुकै जस्तो पो हुँदोरहेछ चिनियाँहरूको बानी त ।

नयाँ सृजना गर्नु भनेको पुरानो ध्वस्त गर्नुपर्छ भन्ने मान्यतादेखि माथि उठेर उनीहरूले आफ्नो हरेक सम्पदाहरूलाई गज्जबले सम्हालेका रहेछन् ।

त्यो रात हाम्रो निम्ति चिनियाँ सरकारले भव्य साँस्कृतिक समारोह आयोजना गरेको थियो,  खुलामञ्च जस्तो स्थानमा, भव्य महल, स्थानीय उत्पादनदेखि सांस्कृतिक नृत्यसम्म जसले  त्यो रातलाई अझै रोमाञ्चमय बनायो, संस्कृतिले देशलाई कति सुन्दर बनाउँछ भन्ने यी नृत्यहरूले देखाइरहेको छ ।

बिजुलीको लाइटमा चिनियाँ युवतीहरू नाँचिरहँदा मैले चण्डी नाच, पालम र हाक्पारेलाई सम्झिएँ । चिया किन्नै परेन । ग्रीन टी र चिनियाँ युवतीहरूको मदहोश मुस्कान । मैले नै कतिपल्ट खाएँ खाएँ जबकि त्यति चिया नखाने मान्छे । दुई घण्टा पछि होटल फर्कंदा थाकेर लखतरान भएका थियौं सबै ।

चिनियाँहरू समयको पनि पक्का हुँदारहेछन् एकै मिनेट पनि ढिला भयो भने उनीहरूको बुझाइ नै फरक हुँदोरहेछ । भोलिपल्ट सार्क देशहरूमा नयाँ प्रविधि र मिडियाको कन्टेन्ट कसरी आइरहेछ भन्ने विषयमा सेसन सकिएपछि हतारमै त्यहाँको प्राचीन संग्रहालय युनान डेलीको कार्यालय र चीनको पुरातात्विक महत्वका घरहरू अवलोकन गर्न गयौं । चन्द्रमामा गएको स्याटलाइटको जेरोक्स रहेछ, चिनियाँ भाषाका लिपि र अभिलेखहरू, युनान आर्ट ग्यालरी, आर्ट एक्जिविसन र आर्टिस यी सबैले एक नयाँ ऊर्जा बोध भयो । नयाँ सृजना गर्नु भनेको पुरानो ध्वस्त गर्नुपर्छ भन्ने मान्यतादेखि माथि उठेर उनीहरूले आफ्नो हरेक सम्पदाहरूलाई गज्जबले सम्हालेका रहेछन् ।

मनमा सोचें हाम्रो  देश । संरक्षणको अभावमा जीर्ण भएका मठ–मन्दिर, धारा र दिवालहरू । पुराना सबै कुरा भत्काउनु मात्रै विकास होइन । नयाँ  र पुराना वस्तुहरूलाई समान रूपमा संरक्षण गर्नु नै विकास रहेछ भन्ने बोध भइरह्यो यात्राभरि ।

लहरै मिलेर बसेका यी घरहरू साँच्चिकै सुन्दर र भव्य देखिन्थे जसले चीनको सांस्कृतिक विशालतालाई झल्काउँदै थियो । भरतजीले यात्राको क्रममा हामीलाई भन्दै हुनुहुन्थ्यो, “यहाँको मौसमको कारण चीनका धनी मानिसहरू सबैको घर छ यो शहरमा ।” यो शहरमा घर हुनु समृद्धिको संकेत रहेछ । ठ्याक्कै काठमाडौं जस्तै । चिलगाडी चढ्न नपरे फेरि आउँथे म तिमीलाई भेट्न ।

मनमा सोचें हाम्रो  देश । संरक्षणको अभावमा जीर्ण भएका मठ–मन्दिर, धारा र दिवालहरू । चिनियाँहरूले एउटै रूख किन नहोस् त्यो रूखलाई जोगाउन गरेको प्रयत्न सुन्न र हेर्न लायक छ । साँच्चै भन्नु पर्दा सिक्न जरूरी रहेछ । पुराना सबै कुरा भत्काउनु मात्रै विकास होइन । नयाँ  र पुराना वस्तुहरूलाई समान रूपमा संरक्षण गर्नु नै विकास रहेछ भन्ने बोध भइरह्यो यात्राभरि । शहरको बीचमै यसरी उभिएका सयौं वर्ष पुराना यी घरहरूले भनिरहेका थिए हामी कति भाग्यमानी । कविले लेखेको सुन्दर कविता जस्तो यी घरहरूलाई हेर्न दिनमा हजारौं पर्यटकहरू आउँछन् र यहाँको स्मृतिलाई मुटुमै राखेर जान्छन् ।

भोलिपल्ट बिहान घाम झलल्ल लागेको थियो । यो पल्ट जेसी होइन मिस्टर जु र जेरी थिए हाम्रो साथमा । निकै शान्त र साधारण । उसलाई  देख्दा लागेकै थिएन, ऊ को हो । तर पछि थाहा भयो ऊ दक्षिण एशियाली कम्युनिकेसन सेन्टरका प्रमुख रहेछन् । जेरी चाहिं विश्वमा आइरहेको प्रविधि सम्बन्धी विज्ञ । विभिन्न पुरातात्विक स्थानहरू घुम्दै यहाँबाट निस्कने युनान डेलीको कार्यालय पुगियो । काठमाडौंको सिंहदरबार जत्रो उसको कार्यालय, समाचार कक्ष र सजावट वास्तवमै सिक्न लायक थियो । संस्कृति, कला र साहित्यलाई चिनियाँहरूले असाध्यै सम्मान गर्छन् भनेको हो रहेछ । यो प्रान्तको आर्ट ग्यालरी पुग्दा यस्तै महसुुस भयो । त्यसपछि मोडिएको हाम्रो बस ढुङ्गाहरूको जंगल सिलिङ, जो विश्वमा प्रसिद्ध छ पुगेर विश्राम लिंदा अचम्मै लाग्दो प्रकृतिको अनुपम दृश्य । त्यसमा विज्ञानले बनाएको तलाउ र फुलिरहेको रङ्गीविरङ्गी कमलको फूूल । अनुशासनमा बस्यो भने हुनेरहेछ त भन्ने ज्वलन्त उदाहरण । त्यहाँको आदिम जनजातिहरूको बस्ती पनि सँगै । यसले अझ भव्य अनुभूत गरिरहेको थियो । रोहितजीको बीच–बीचमा जोक, अनि श्रीधरजीको क्यामरा बराबर चलिनै रहेको थियो । म भने मेरो देशको सगरमाथालाई सम्झिरहेकी थिएँ ।

भन्दाभन्दै आज त हिंड्ने दिन जाँदा एउटा झोला लिएर गएको मान्छे । आउँदा योनछेनलाई केही लुगाहरू ल्याइदिने रहर जाग्यो त्यो अड्को पनि भरतजीले पार लगाइदिनुभयो । हामी युनानको सांग्रिला होटलबाट निस्किएर विमानस्थल पुग्दासम्म भरतजी र जेसीले गरेको प्रेम र सत्कार साँच्चिकै यादगारमय छ । पाँच दिन अघि देश छोडेर जाँदा यो बीचमा सामाजिक सञ्जाल बन्द हुनु र यसैको निहुँमा जेनजीहरूको शान्तिपूर्ण र्‍याली भड्किएर हिंसामा परिणत हुनु आश्चर्यजनक रह्यो । तर यो त्रासदीको बीच पनि युनान तिम्रो शहरको शीतलता र भव्यतालाई सम्झिरहें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?