+
+
Shares
कथा :

सन् दुई हजार पचास

पछि थाहा भयो उनी त पार्टीको भूमिगत कार्यकर्ता रहेछन् । सन्तराम पनि पहिलेदेखि नै पार्टीमा लागेको रहेछ ।

झलक सुवेदी झलक सुवेदी
२०८२ असोज १६ गते १०:४४

नोभेम्बरको तेस्रो साता भएपनि मौसममा अझै चिसोपना आइसकेको थिएन । तुँवालोले ढाकेको वायुमण्डल छिचोलेर हेर्दा अन्नपूर्ण र माछापुच्छ्रे धमिला र कालाकाला देखिन्थे । माछापुच्छ्रे त आफ्नो सदावहार सेतो मर्दानी मिल्काएर नग्न उभिएको बुढो मान्छेजस्तो लाग्थ्यो । फेवा बाँधभन्दा ठिक्क पश्चिम–उत्तरतिर तालको साँघुरो घाँटीमा त्यही धमिलो हिमालको छायाँ छचल्किइरहेको थियो ।

पुरानो नहरको डिलमा असरल्ल बढेका सिसौका रूखबाट सुकेका पातहरू अल्छी मान्दै झरिरहेका थिए । रानीवन घना र हरियो नै थियो । रूख र विद्युतका पोलहरूबाट कागको कर्कश आवाज आइरहेको थियो । आवाजले बिहानको हिँडाइमा निस्केका वृद्धहरूको उदास अनुहार थप विरक्त बनाउन मद्दत गरिरहेझैँ लाग्थ्यो ।

त्यहीँ ड्यामसाइडमा रहेको जर्मन बेकरीको पहिलो तलामा मैले पहिलो पटक थमनसिंह काकालाई अभिवादन गरेको थिएँ । उनले आशीर्वाद दिएजस्तो गरेर मेरो निधारमा हात राखेका थिए । उनलाई भेट्न मैले एक महिनादेखि प्रयास गर्नुपरेको थियो । मेरा हजुरबा कृष्णप्रसादको नाम सुनेपछि मात्र मसँग कुरा गर्न तयार भएका थिए । उनैले यहाँ भेट्न बोलाएका थिए ।

उनले चर्चित शेर्पा ब्रान्डको हरियो रङको ट्रयाक सुट लगाएका थिए । टाउकोमा एभरेस्ट ब्रान्डको सेतो ह्याट थियो । ह्याटको थाप्लोमा गुच्चाजस्तो कुनै चम्किलो वस्तु अँधेरी रातमा तारा टिलपिल गरेजस्तो रहस्यपूर्ण रूपमा चम्चमाइरहेको देखिन्थ्यो ।

काकाका आँखामा बुढ्यौलीको बादल लागेको थियो । चेप्टो अनुहारमा कताकति फुलेका पातला दाह्रीजुँगा थिए । देब्रेतिरको कुकुर दाँतमा सुनको तार बेरिएको थियो ।

काका एन्जाइटीले दुःखी भएको मानिसजस्तो चञ्चल देखिन्थे । घरीघरी ह्याट झिकेर टेबलमा राख्थे र केके सम्झेझैँ फेरि टाउकैमा फर्काउँथे । त्यतिबेला उनको खुइलिँदै गएको टाउकोको चिल्लो निधारजस्तो भाग टुप्पीसम्मै देखिन्थ्यो । आँखाको चिमचिम र नाकका ठुल्ठुला पोराको फुलाइले उनी भित्रको बेचैनीलाई अनुहारमा ल्याइदिन्थ्यो ।

चौंडा काँध र अझै पनि गठिलो शरीरले उनी आफ्नो बेला बैँसमा खेलाडी या सेनामा काम गरिसकेका लडाकु पो थिए कि भनेर अनुमान लगाउन सकिन्थ्यो । यिनी थिए थमनसिंह, वर्ष अठासी । ड्यामसाइड, पोखरा यिनको हालको ठेगाना थियो ।

अठासी वर्षका यी वृद्धलाई मैले भेट्नु पर्नाको कारण बताइहालूँ । म दशवर्षको हुँदैदेखि क्यानडामा पढेहुर्केको हुँ । हामी हुर्किरहँदा आमा र हामीलाई लिएर मेरा बाबु चालिस वर्षको उमेरमा उता हानिएका थिए । विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर्स गरिसकेपछि मलाई चीन र दक्षिण एशियाको सम्बन्धका विषयमा अध्ययन गर्न मन लाग्यो । त्यसैले बेइजिङस्थित सिन्ह्वा विश्वविद्यालययमा रहेको साउथ एशिया डिपार्टमेन्टमा भर्ना भएँ ।

विभागीय प्रमुख प्रोफेसर वाङ होचो कदका, कपाल पूरै फुलेका, सज्जन थिए । म उनैको सल्लाहमा दक्षिण एशियालाई नजिकबाट हेर्न भनेर ढाका हुँदै काठमाडौँ आएको थिएँ । चीन र भारतका बिचको तनाव हिमालय सीमा वारपारबाट तन्केर समुद्र र अन्तरिक्षमा पुगेको बेला थियो ।

काठमाडौँमा मलाई यहाँको पार्टी राजनीति बुझ्ने लालसा जागेको थियो । केही पुराना दल र नेताहरूको नाम लिएर मैले विश्वविद्यालयको राजनीतिशास्त्र विभागका विद्यार्थीहरूसँग प्रतिक्रिया लिने प्रयास गरेको थिएँ । नयाँ पुस्तामा पुराना दल र नेताप्रतिको अविश्वास बलशाली थियो । एकजना त्यस्तै विद्यार्थीले यसरी घृणा ओकलेको थियोः

मेरा हजुरबाको समयदेखि राजनीति गरेकै नेताहरू यो देशलाई नेतृत्व गर्छु भनेर हिँडिरहेका छन् । कम्तीमा साठीवर्ष देखि यिनीहरू बुढो गोरुले कोरली ओगटेझैँ देशको सत्ता र शक्ति ओगटेर बसेका छन् अनि देश कसरी बन्छ ?

उसले भनेको बुढो गोरु र कोरलीको बिम्बबारे मलाई अर्को विद्यार्थीले बुझाउनु परेको थियो ।

पार्टी राजनीतिबारे थप अध्ययन गर्न म यो दलको सम्पर्कमा गएको थिएँ । त्यहाँ प्रचार विभागमा इन्टर्नका रूपमा प्रवेश पाएको थिएँ । पार्टी प्रचारलाई प्रभावकारी बनाउन यस्ता इन्टर्नहरू लिएर काममा लगाउने नीति पार्टीले लिएको रहेछ ।

पार्टीको प्रभाव देशैभर घट्दै गएको थियो । त्यसैले पार्टीलाई आफ्नो पुरानो सम्पर्क फेरि खोजेर गति दिने योजना बनेको रहेछ । त्यस क्रममा देशभरका पुराना क्रान्तिकारीहरूका अनुभव अभिलिखित गर्ने र डकुमेन्ट्री तयार पार्ने योजना पार्टीले बनाएको थियो । यही कामका लागि मलाई पनि टिममा सामेल गरिएको थियो । मैले डकुमेन्ट्री बनाउने काममा पार्टी प्रचार विभागको गण्डकी ब्युरो इन्चार्ज महेशलाई सहयोग गर्नु थियो ।

हजुरबा म जन्मनुअघि नै बितेका थिए । त्यसैले मलाई उनका बारेमा खासै केही थाहा थिएन । बा पनि आफ्ना बाबुका बारेमा कहिल्यै हामीसँग खुलेर कुरा गर्दैनथे । उनलाई आफ्ना बाबुप्रति एक प्रकारको घृणा थियो कि जस्तो लाग्थ्यो । हजुरबाको समकालीन, ९५ वर्षीय नेता जे.बी. अर्थात् जितविक्रम पार्टी अध्यक्ष थियो । अध्यक्षले हजुरबाका बारेमा प्रशंसा गर्दै मलाई भेट्न पाएकोमा खुसी व्यक्त गरेको थियो ।

त्यही योजनाअनुसार म यी वृद्धलाई भेट्न पुगेको थिएँ ।

महेश कुराकानीलाई भिडियोमा रेकर्ड गर्थ्यो । यस्तो रेकर्ड लाइभमा पार्टी प्रचार विभागमा पुग्थ्यो । त्यहाँको टिमले त्यसलाई तात्तातो सम्पादन गरेर डकुमेन्ट्री बनाउने काम गरिरहेको हुन्थ्यो ।

थमनसिंह काका घरीघरी विस्मृतिमा पुग्थे । कहिले सुरका कुरा गर्थे, कहिले बेसुराजस्तो लाग्थे । सुरका कुरा गर्दा उनी बनावटी लाग्थे । वास्तवमा भन्न चाहेका कुराचाहिँ बेसुर अवस्थामा भन्थे ।

उनीसँगको पहिलो भेट त्यति उत्साहप्रद रहेन । उनले मेरा हजुरबाको कुरा अलिकति गरे । अलिकति आफ्नै कुरा गरे । हजुरबाका बारेमा कुरा गर्दा उनले पुरानो आत्मीय साथीजस्तो भन्दा अलि वितृष्णायुक्त भावमा बोलेका थिए।

‘हेर बाबु, म अहिले एक्लो छु । एउटा छोरा जापान गएर उतै बसी गो । उसको तिरका नातिनातिना पनि उतै छन् । कहिलेकसो भेट्न आउँछन् । एउटी छोरी थिई, ऊ पनि ब्रिटिस आर्मीसँग बिहे भएर गएपछि लन्डनतिरै बसेकी छ । बुढी पनि पन्ध्र वर्षअघि नै मलाई एक्लै पारेर मरिहालिन् । म बुढोलाई कतै जान मन लाग्दैन । एक्लै बसेर काल पर्खिराखेको छु।

पुराना साथीहरू पनि अब त धेरै बाँकी छैनन् । कोही आफ्ना सन्तानहरूसँग विदेश गए, कोही यो संसारै छोडेर गए ।

एकथरी साथीहरू राजनीतिमा माथिमाथि पुगे । हामी भुइँका मान्छेलाई उनीहरू मतलब राख्दैनन् । साँच्चै भनूँ भने मलाईपनि उनीहरूसँग भेट्न मन लाग्दैन ।

आजकालका केटाकेटी हाम्रा कुरा र कालबेला बुझ्दैनन् । यही ड्यामसाइड आयो, कहिलेकहिले उता बसुन्धरा पार्कसम्म पुग्यो । फेरि घरमा आयो । पुरानो कुरा सम्झ्यो र उग्रायो । घरमा बैनीतिरको एउटा नाति केटो र उसको जहान बसेका छन् । पकाएर खान दिन्छन् । घरमा खान मन नलागे यताहुँदी आएर अलिअलि खायो, गएर सुत्यो । आधा रात त ननिदाएरै जान्छ।’

यसो भनिरहँदा अलि पर हेरेर टोलाएका थिए । उनको आँखाका कोश रसाएका थिए । उनले ह्याट झिकेर टेबलमा राखे।

म के सोधूँ र कहाँबाट कुरा सुरू गरुँ भनेर अलमलिएको बेला काका अचानक उठे, ‘हैन बाबु, तिमी को हो अरे ? म त भुली पो हाल्छु हत्तेरी कस्तो बेसुरा भैसकियो भने ? यो कुन ठाउँ हो साँच्चै बाबु ? म त आफैँलाई पो बिर्सन थालेँ ।’

‘ड्यामसाइडको बेकरी क्याफे हो काका यो ठाउँ । तपाई सधैँजसो यहाँ आएर बस्नुहुन्छ भन्ने सुनेको थिएँ त, बिर्सनु भयो ?’ मैले बसेको ठाउँबाट नउठी भनेँ ।

एकजना तिब्बतियन अनुहार भएकी हिस्सी परेकी युवतीले मेनु ल्याएर मेरो अगाडि राखेर गइन् । मेनुमा बाहिरपट्टि लेखिएको थियो – ‘तिब्बतो–बर्मन कफी एन्ड बेकरी’ ।

म फेरि छक्क परेको थिएँ र उठेर बाहिर गैकन बेकरीको बोर्ड नियालेको थिएँ । अर्डर लिन आइपुगेकी केटीलाई मैले सोधेँ, ‘यो ठाउँमा त पहिले जर्मन बेकरी थियो हैन र ? मैले बर्मनलाई जर्मन भनेर पो पढेको रहेछु कि ?’

केटीले हाँस्दै भनेकी थिइन्, ‘हाम्रो साहु तिब्बतको सिगात्से पुगेर बेकरी तालिम लिएर आउनुभएको हो । हामी वेटर र कुकहरू पनि उतै तालिम लिएर आएको हो सर । नेपालीले बोल्ने केही भाषालाई तिब्बतो–बर्मन भन्छन् । तिब्बतमा तालिम लिएर आएको साउले यसको नाम नै तिब्बतो–बर्मन राखेको हो । यसलाई सबैले अनौठो मान्छन् ।’

इतिहास चेत र सेन्स अफ ह्युमर भएको साहु रहेछजस्तो लाग्यो । तर उसँग भेट्ने अवसर भने मिलेन ।

बुढा आफ्नो कुर्सीमा बसेर उँघ्न थालिसकेका थिए ।

वेटर केटीले थपेकी थिइन्, ‘यी बाजे सधैँ यहाँ आउँछन् र कालो चिया खान्छन् । कहिलेकाहीँ क्रोसन र आलु खान्छन् । यसरी नै उँघ्छन् अनि अचानक उठेर जान्छन् ।’

म मेनु हेरेर के मगाऊँ के नमगाऊँ भइरहेको बेला अचानक बुढाले ह्याट टेबलबाट उठाए र टाउकोमा राखे अनि झल्याँस्स ब्युँझेको जस्तो गर्दै भने, ‘हैन, यो बाबु त मलाई पर्खिरहेको पो रैछ। हेर न बाबु मलाई डिमेन्सिया भएको धेरै भयो । सबै कुरा भुल्न थालेको छु । लन्डनबाट आएको बेला छोरीले अस्पताल लगेर ब्रेनमा एउटा चिप्स राखी मागेकी थिई । यो ह्याट लगायो भने चिप्स आफैं सक्रिय हुन्छ र म धेरैजसो कुरा सम्झन्छु । ह्याट झिक्यो भने चैँ उही हो सब कुरा भुलिजान्छु । मैले त नातिलाई धेरै कुराएँ कि के हो ? दुःख गाह्रो नमान्नु है ।’

मलाई त्यो ब्रेनमा राख्ने चिप्सबारे खासै जानकारी थिएन । विज्ञान र प्रविधिमा मान्छेले गरेको प्रगति अनन्त छ । मानिसलाई त्यसले सजिलो पनि बनाएको छ। मान्छेले प्रकृतिमाथि विजय पाउँदै जाँदा कतै ऊ सुखी र सहज भएको छ । कतै दुःखी र असहज पनि । यी वृद्धको जीवनलाई आधुनिक मेडिकल साइन्सले यो उमेरसम्म ल्याउन सहयोग गरेको छ । उनी अहिले खुसी छन् कि यो लामो आयुका लागि दुःखी छन् भनेर ठम्याउनचाहिँ गाह्रो छ।

काका कुर्सीबाट उठे । उनको हातबाट ए.आई. जडित लट्ठी बिस्तारै भुँइसम्म गएर टेकियो । बिदा माग्ने सुरले काकाले भने, ‘अब म घरमा जान्छु बाबु, भोलि पनि यही बेला आउनू, म घरमा भनिराखेर आउँछु । कुरा त मसँग के पो छ र अब त सबै भुलीपनि सकियो । मन पनि लाग्दैन उहिलेको कुरा कोट्याउन । आफ्नै मन अमिलो भएर आउँछ । अब उहिलेको साथीको नातिले सोधखोज गरेपछि केही त भन्नु पर्ला । भोलि नै आऊ है बाबु । बरु च्या कफी केही पिएर जाऊ है । म पैसा भनिराखुम्ला ।’

उनलाई देखेर म अचम्म मानिरहेको थिएँ । बुढा मान्छेको कुरामा असहमति जनाएर तनाव दिनुपनि थिएन । म होटलतिर हिँडे । मसँगै महेश पनि बस्थे । काम मलाई जिम्मा दिइएको थियो तर मेरो कमान्ड भने महेशले गरिरहन्थे । लाग्थ्यो, पार्टीले उनलाई मेरो पिछा गर्न लगाएको छ ।

भोलिपल्ट मौसम एकाएक बदलियो । तलतल झुन्डिएको थियो कालोनिलो बादल । सिमसिम पानी परिरहेको थियो । बिहानै बाथरुममा दिइने मौसमी जानकारीमा जलवायु परिवर्तनका कारण मौसमको भविष्यवाणी गर्न मुस्किल पर्दैगएको बताइएको थियो । बिहानी वाकमा निस्कनेहरू कोही पनि देखिएका थिएनन् । वृद्धहरूले व्यायाम गर्ने ड्यामसाइडको बगैँचा रित्तो थियो ।

म धेरैबेर तिब्बतो–बर्मन क्याफेमा थमनसिंह काकालाई कुरेर बसेको थिएँ । क्याफेको वालमा मोबाइलबाट दृश्य पठाएर म एलन मस्कले चन्द्रमा पुगेर त्यहाँको चिनियाँ क्याफेमा खाना खाइरहेको लाइभ दृश्य हेरिरहेको थिएँ । सय वर्ष पुग्न लागेको मस्क आफ्नै कम्पनीको एक्सएयरबाट हिजोमात्र परिवारसहित घुम्न निस्केको थियो । केही दिन चन्द्रमामा बिताएर फर्कने भन्दै थियो । चन्द्रमाकै प्रयोगशालामा नेपालबाट लगिएको अर्ग्यानिक हिमालयन कफीको स्वादको प्रशंसा गरिरहेको थियो ।

दुई घण्टा कुर्दा पनि थमन काका आएनन् । म सिमसिमे पानीको आनन्द लिँदै लेकसाइडतिर फर्केको थिएँ ।

अर्कोदिन पनि म उही समयमा पुगेँ । आज भने काका अघि नै आएर मेरो बाटो हेरिबसेका रहेछन् । अघिल्लो दिन बिहान उठ्दा उनको ह्याटमा रहेको चिप्सको रिमोट खसेर बिस्ताराकै एउटा कुनामा अल्झेछ । उनलाई आफ्नो सुद्धीले सहयोग गर्न छोड्यो । उनी भनेको समयमा आउन सकेनन् । पछि नातिले खोज्दै गएर भेटाइदिएछ । आज भने बुढा अलि फुर्तीसहित आएका थिए ।

मैले हाम्रा लागि लमतरी अर्गानिक फर्ममा उत्पादित च्याउको सुप र काकाका लागि कालो चिया मगाएँ । महेशलाई तयार हुन भनेँ । बुढा पनि आँखामा चमक ल्याउँदै वार्ताका लागि तयार भए ।

‘ल त काका, अब हामीलाई आफ्नो समयको कहानी सुनाउनोस् । कहिले कता जन्मनुभयो, कहाँ पढ्नुभयो, राजनीतिमा कहिले किन लाग्नुभयो ? आफूले सङ्गठन गर्दाको समय र अहिलेको समय कस्तो लाग्छ ? हामी यस्तै कुरा सुन्न आएको तपार्इँबाट । तपार्इँले आफ्नो कुरा भन्नु भएन भने हामी नयाँ मान्छेलाई कसरी था हुन्छ त तपार्इँहरूका समयका कुरा ?’

मैले बुढालाई हाम्रो मुख्य चासोका सबै कुरा एकैपटक सोधेको थिएँ ।

बाहिर झरी नपरेपनि घाम लागेको थिएन । अघिल्लो दिनदेखि मौसम अलि चिसो थियो । बुढाले एकछिन आफ्ना चिम्सा आँखा बन्द गरे, लामो सास ताने र दाहिने हातले बिस्तारै चियाको कप समातेर ओठसम्म लगे । अनि देब्रे हातले च्युँडामा भएका पातला दाह्री मुसार्दै घाँटी सफा गरे । क्याफेको यस कुनामा अरू ग्राहक थिएनन् ।

काका र म टेबलमा विपरीत दिशातिर फर्केर बसेका थियौँ । दक्षिणतिरको कर्नरमा क्यामरा अड्याएर काकातिर फर्काइएको थियो । महेश, काकालाई फ्रेमभित्र पारेर रेडी पोजिसनमा थियो र मलाई कुरा थाल्न सङ्केत गरिरहेको थियो । अचानक बुढाले ह्याट झिकेर टेबलमा राखे । आफू पूर्वतिर फर्के । अब कुरा थाल्न कतिबेलासम्म कुर्नुपर्ने हो भन्ने सम्झेर म तर्सिइरहेको थिएँ । उनका सबै क्रियाकलाप क्यामरामा कैद गर्न सङ्केत गरेर म पर्खिन थालेँ ।

अचानक बुढाले आफ्नो अगाडि रहेको कुर्सीतिर हेरेर कसैलाई सम्बोधन गरे, ‘यार कृष्णप्रसाद, धेरैपछि पो भेट भयो त तिमीसँग । हैन तिमी पहिले नै मरिसकेको भन्या हैन ? जिउँदै रहेछौ त ! मलाई कसैले नभको कुरा सुनाइदियो होला ।’

हँ ? हो त तिमी जीवितै भएको भए अवश्य भेट हुँदो हो । नभए कहिलेकहीँ त फोन गर्दो हौं । हुन त तिमी ठुलो मान्छे भै गयौ । कतिपटक त मन्त्री पनि भयौ क्यारे । मलाई के सम्झन्थ्यौ ?’

बुढा दोहोरो संवाद गरिरहेजस्ता थिए । अहिले बेसुरा थिए । बुढा बोल्दै गए । घरीघरी उनको ओठबाट र्‍याल चुहेको देखिन्थ्यो। त्यही बेला आइपुगेकी वेटरलाई मैले आँखा सन्काएर नबोल्न भनेँ । महेश उदेक मानेर बुढालाई हेरिरहेको थियो ।

‘पोहोर परार कहिले हो तिम्रो नाति मलाई भेट्न भनेर आएको थियो । नातिलाई देखेपछि मलाई तिम्रो सम्झना आइरहन्छ । सम्झ त कृष्णप्रसाद, हामी कसरी आन्दोलनमा हुरूक्कै भएर लागेका थियौँ । मई दिवसको दिन हामी प्रहरीसँग कसरी भिडेको थियौँ हगि ? तिमीले भाषण गर्दागर्दै प्रहरीले हस्तक्षेप गरेको थियो । यता हामीले प्रतिरोधको तयारी गरेका थियौँ । पर्खालभित्र र बाहिर दोहोरो हानाहान । अश्रुग्याँस, लाठी प्रहार र पानीको फोहरा प्रयोग गरेर प्रहरीले हामीलाई गलाउन खोजेको थियो । तर आखिरीमा हाम्रो जित भएको थियो । तिम्रो दाहिने कुहिनो ठनक्कै भाँच्चिएको थियो । केही साथीको टाउकोमा गम्भीर चोट लागेको थियो । हामीले मई दिवस कार्यक्रम सफल पारेका थियौँ र मजदुर मुक्तिको नारा घन्काएका थियौँ । युवायुवतीको त्यो समवेत स्वरमा घन्केको स्वतन्त्रताको आवाज सम्झँदा अहिले पनि मेरा रौँ ठाडा हुन्छन्।

प्रहरीले तिमीलाई अस्पतालबाटै पक्रेको थियो र नौ महिना तिमीले कारागारमा बिताएका थियौ । तिमी छुट्न नपाउँदै मलाई नमिता सुनिता हत्याकाण्डविरोधी आन्दोलनबाटै प्रहरीले पक्राउ गरेर एक महिना कस्टडीमा राखेर छोडेको थियो । कम्ता त पिटेन पुलिसले । त्यतिबेलाको पिटाइबाट अहिले पनि ढाड र खुट्टा करकरी खाने गरेको छ।

कस्टडीबाट निस्केपछि मलाई पार्टीले भूमिगत पेसेवर बनाएर जनविश्वविद्यालयमा अर्थात् जनताका माझमा खटाएको थियो । तर तीन महिनापछि नै मजदुर फाँटको काम गर्न भन्दै मलाई फिर्ता बोलाइएको थियो । त्यहीँ काम गर्दागर्दै पिस्कर हत्याकाण्डविरोधी आन्दोलनका बेला मलाई पक्राउ गर्‍यो । जेलमै त हो हामीले झापाली बन्दीहरू र अरू वामपन्थी नेताहरूलाई भेटेको ।

मानिसहरूलाई अहिले भन्यो भने हाँसोमा उडाउँछन् । मलाई आफ्ना कुरा भनेर आफैँ हलुका हुन मन लाग्दैन । त्यही भएर आजकलका केटाकेटीसँग म धेरै कुरा गर्दिनँ । देश लुट्न पाइएला भनेर क्रान्तिमा लागेका रहेछौ, जनतालाई फास्स न फुस्स, भनेर उडाउँछन् ।

कम्ती गाह्रो त थिएन भूमिगत पेसेवर हुने कुरा । कति दिन भोकै बस्नुपर्थ्यो । खल्तीमा पैसा हुँदैनथ्यो । किनेर खान पनि पार्टीको पैसा खर्च हुन्छ । जनताले दिएको लेवीको दुरूपयोग हुन्छ भनेर फुकीफुकी खर्च गरिन्थ्यो ।

आश्रयदाताहरू दिनभर श्रम गरेर ल्याएको ज्यालाबाट आफ्ना परिवारलाई बनाएको गाँस काटेर हामीलाई दिन्थे । एकपटक केही दिन एउटा परिवारमा आश्रय लिनुपर्ने भयो । घरमा पाँच सन्तान र अधबैँसे उमेरका आमाबाबु थिए । आमाबाबु नै पार्टीलाई माया गर्थे । आफू नखाएर पनि हामीलाई दिन्थे । हाम्रो सुरक्षा गर्थे।

एकरात त्यस परिवारमा खानेकुरा सकिएछ । घरकी महिलाले कतैबाट अलिकति सिस्नु ल्याइन् । केही रहलपहल पिठोबाट खोले बनाइन् । त्यो पनि पातलो थियो । बाँढेर खाँदा कसैको पनि आँत भरिन्नथ्यो । केटाकेटीलाई अलिअलि दिएर मेरो कचौरामा अलि धेरै राखिदिइन् । मैले उनीहरूको गाँस काटेर निल्न सकिनँ । त्यो बाँढेर खान उनीहरूले मानेनन् । बडो सकस पर्‍यो । आखिर घरका बुढाबुढीले एकएक चम्चा जति खाए र सुत्ने तरखरमा लागे । मेरा आँखाबाट झरेको आँसु लुकाउन मुस्किल परेको थियो । सुत्ने भनेको पनि फ्याङ्लो गुन्द्रीमा जे जस्तो लगाएको छ, त्यसैमा लहरै पल्टनु र रात कटाउनु हुन्थ्यो ।

उनीहरूमा पार्टीप्रति रहेको आशा र भरोसाले मलाई क्रान्तिका काममा लाग्न थप प्रेरित गरेको थियो ।

राजनीति भन्ने कुरा पनि शक्ति हुँदा र नहुँदा फरक हुने रैच । पार्टी सरकारमा गएपछि त्यो वर्गसँगको सम्बन्ध पनि टुट्यो । मलाई त त्यस्तो लाग्छ है कृष्ण । खै त तिमी केही बोल्दैनौ त किन हो ?’

काका त्यसपछि टेबुलतिर फर्के। आफ्नो ओठको कोशबाट निस्केको र्‍याल पुछे अनि अचम्म मानेझैँ यताउता हेरे । हाम्रो उपस्थितिबोध गरेको जस्तो देखिएनन् । फेरि आफ्नै लयमा बरबराउन थाले ।

‘यो मुला कृष्णप्रसाद पनि महा फटाहा छ । आफूलाई चाइयो भने मलाई ‘ए थमन कमरेड’ भन्दै बोलाउन आउँछ । ऐले म बोलुम् भनेर कुरा गरिरको बेला भने जान्छु पनि नभनी हिँडेछ । हुन त विद्यार्थी नेता हुँदादेखि नै बेइमान थियो । पूरै डबल स्टान्डर थियो साले ।’

उनी आँखा चिम्लिरहेका थिए। निदाएका हुन् कि गम खाएका हुन् थाहा हुँदैनथ्यो । बर्बराउन छोडेका थिएनन् ।

बिजुली चम्केजस्तो केही झिलिक्क गर्‍यो ।

अचानक काकाले आफ्नो टाउको उठाए र आँखा खोले । उनी भित्तातिर फर्केर भाषणको शैलीमा कसैसँग बोल्न लागे । मैले अनुभव गरेँ हामी बसिरहेको कोठा अब तिब्बतो–बर्मन क्याफेको रूपमा थिएन । यो त बाराही मन्दिरलाई उत्तर पारेर फेवाको पानीमा तैरिरहेको एककोठे स्टिमरजस्तो थियो । बाराही मन्दिरमा बिहानको पूजा गरिरहेका भक्तजनले बजाएका ठुलो घण्टीको आवाज आइरहेको थियो । सानासाना उडनट्याक्सीहरू सराङकोट र पुम्दी टाकुराको शिवमन्दिर ओहोरदोहोर गरिरहेका थिए।

थमनसिंह काकाले घोषणाको शैलीमा थपे, ‘वास्तवमा हामी त्यतिबेला एकैपटक दुईथरी शक्तिसँग लडिरहेका थियौँ । एउटा भगवानको सत्तासँग । अर्को राजाको सत्तासँग । मलाईचाहिँ यिनीहरू एकै सिक्काका दुईपाटाजस्ता लाग्छन् ।

मलाई भगवान हाम्रो स्वतन्त्रताका विरुद्ध छ भन्ने लाग्थ्यो । अबोधगम्य ईश्वरका नाममा गरिब र श्रमजीवीहरू आफूलाई शोषण गर्नेहरूलाई नै भगवान मान्थे । उनीहरूका विरुद्ध आन्दोलनको झन्डा उठाउनुलाई पाप सम्झन्थे । शासकहरू यस्ता श्रमिक र हेपिएकाहरूले आफ्नो अवस्थालाई पूर्व जन्मको कर्मको फल ठानेर पसिना बगाइरहून् र आफू अँध्यारोमा जीवन बिताइरहून् भन्ने चाहन्थे ।

भगवान भने जहिले पनि धनीका पक्षमा आएजस्तो, हाम्रो घरमा जस्तै बाउहरूको पक्षमा आएजस्तो, साहुहरूको पक्षमा आएजस्तो देखिन्थ्यो । मलाई भगवानको सत्ताप्रति घृणा लाग्न थालेको थियो ।

खासगरी आमाले पाएका दुःख नदेख्ने भगवान्प्रति मेरो तीव्र रोष थियो ।

मलाई आफ्नी आमाको सम्झना आउँछ । ती सज्जन प्राणी थिइन् । पन्ध्र वर्षकी हुँदा मेरा बाउले उनलाई फकाएर घर भित्र्याएका थिए रे ! बाउ भरखर भारतीय फौजबाट नाम काटेर फर्केका थिए ।

जतिबेला आमालाई भरखर जीवनको बोध हुन थालेको थियो, त्यतिबेला नै उनको सारा अस्तित्व मेरा बाउको कठोर शासनमा कैद हुनपुगेको थियो । ती हरदम पसिना बगाउँथिन्, बिहान चार घडी रात छँदा तिनले उठ्नुपर्थ्यो । ढिकीजाँतो गर्नुपर्थ्यो । दैलो-पोतो, पानी-पँधेरो । पँधेरो पनि टाढाको थियो र धारो तिरतिरे थियो । मेलापात, घाँसपात, भकारो र अरू धन्दाफन्दा आमाका नियमित चर्यामा पर्थे । उनी अधबैँसे उमेर नआउँदै वृद्ध देखिन थालेकी थिइन् । ती सारा दुःख उनी भगवानको इच्छा मानेर सहन्थिन् ।

तिनलाई भगवानमा औधी विश्वास थियो। बिहान सूर्यदर्शन गर्थिन् । जता जाँदा पनि देउरालीमा फूल चढाउन बिर्सन्नथिन् । व्रत बस्थिन् । भगवतीलाई भाले चढाउँथिन् ।

बाउ दिनभर तास खेल्थे र साँझ रक्सी धोकेर घरमा आउँथे । हामी हुर्कन लाग्दा पनि उनको बानी उस्तै थियो । साँझ आमालाई कुट्न उनले केही न केही निहुँ पाइरहन्थे । हामी कहालिएर रुन थाल्दा उनी हामीलाई लात्तीले हानेर पन्छाउँथे । हामी एक दर्जन सन्तानले आमाको कोखबाट झरेदेखि किशोर अवस्थामा घर छोडेर नहिँडुञ्जेल संसारलाई यसरी नै चिनेका थियौँ ।

जे भएपनि हामी भन्टाङभुन्टुङ आमाको काखमा हुर्कँदै थियौँ । आमा आफूले जति दुःख र कष्ट सहन परेपनि हामीलाई औधी माया गर्थिन् । सबै सन्तानलाई बराबर । उनको काख हाम्रा लागि सबैभन्दा सुरक्षित ठाउँ थियो । आमा भने बिस्तारै गलित र थकित हुँदै गएकी थिइन् ।

त्यस्तैमा एकदिन बिहान झुल्केघाममा आमा चिच्याएको सुनेर हामी अलि हुर्केकाहरू ब्युँझेका थियौँ । आमा अँगेनापारिको सधैँ सुत्ने गरेको ओछ्यानमा पल्टेर भगवान पुकारिरहेकी थिइन् ।

बाउ कक्कड सल्काएर सर्को तान्दै आँगनको डिलमा घोसेमुन्टो लगाएर बसिरहका थिए । छिमेककी काकीले आमालाई साथ दिइरहेकी थिइन् । एकैछिनमा आमाले भगवान पुकारिन्, ‘म त अब बाँच्दिनँ क्यारे हे भगवान्, मेरा बाबु नानीलाई टुहुरा नबनाऊ ।’

त्यही नै आमाको अन्तिम वचन बन्यो । जन्मन नसकेको सन्तानसहित आमाको दाहसंस्कार भयो ।

यसरी आमाले सधैँ पुज्ने गरेको भगवानले आमालाई नै धोका दिएको थियो । तीनजना कलिला भाइ र बहिनीहरू सुकेनास र पखालाले मर्दा पनि आमा भगवानलाई नै सम्झिरहेकी हुन्थिन् । मलाई आमाका भगवानप्रति यहीँबाट विश्वास उठेको थियो ।

आमाले अन्तिम सास फेरेको केही दिनसम्म बाउ भगवानकै नाम लिएर बर्बराउँथे । हामी बाह्र थान सन्तान र परिवार कसरी बाँचेका छौँ भन्नेसम्म ज्ञान नभएको सिल्पट बाउलाई अब के गर्ने भन्ने भेउ थिएन । उनी पनि भगवानसँगै गुहार मागिरहेका थिए । सज्जन आमाको भगवान र यो सिल्पट बाउको भगवान एउटै हो भन्ने थाहा पाउँदा मलाई भाउन्न हुन्थ्यो । बाउ अब झन बढी रक्सी धोक्ने हुँदै गए ।

आमा बितेको छ महिनामा नै पन्ध्र वर्षमुनिका तीनजना भाइहरू अलगअलग समयमा घरबाट निस्केर गए । कहाँ गए भन्ने अहिलेसम्म थाहा पाइएन । म जीवितै हुँदा तिनीहरू पनि पो कतै जीवितै छन् कि भन्ने आशा लाग्छ । न उनीहरू आए न हामीले खोज्न सक्यौँ । दुइटी बैनी एक–एकजना फुपूले आफ्ना घरमा लगे र हुर्काए । तिनैले तिनको बिहे पनि गराइदिए ।

त्यसपछि हामी बाह्र दाजु बहिनी सबै एकैठाउँमा कहिल्यै भेट भएनौँ । हाम्रो परिवार सिमलको भुवाजस्तै दिशाहीन र गन्तव्यहीन भएर चार दिशामा छरियो ।

आमा बितेको छ महिनापछिको कुरो हो । एकदिन बाउ राति निकै अबेर जाँड धोकेर हल्लिँदै घरमा आए । म छोराहरूमा जेठो थिएँ । एसएलसी सकेर बसेको थिएँ । बैनीले केही पिँडालु उसिनेर सबैलाई खान दिई । म पनि खाइवरी सुत्ने तरखरमा थिएँ । बाउ आएर एक्कासि बैनीको कपाल जगल्ट्याएर कुट्दै ‘भात अझै पकाएकी छैनस्’ भन्दै गाली गर्न थाले । उठेर एउटा चिलाउनेको चिर्पट समातेर बाउको थाप्लोमा बजारेँ । पिट्दै गएँ । भाइबहिनीहरूले नै आएर कतिबेला छुट्याए थाहा पाइनँ ।

केहीबेरमा गाउँलेहरूले बाउलाई डोकोमा बोकेर अस्पतालतिर लगे । मलाई घरमा बस्न मन लागेन । एकोजोर कपडा झोलामा राखेर राति नै भागेँ ।

मलाई आफूले गल्ती गरेँजस्तो पनि लागेको थिएन । तर गाउँलेहरूले थमनेले बाउलाई झन्डै मारेको भनेर मलाई गलत देखाऊलान्, उनीहरूका अघि कसरी मुख देखाउनु भन्ने तर्कले जहिले पनि जितिरह्यो । सहरमा पनि कुनै गाउँले पो भेटिन्छ कि भनेर धेरै वर्ष सतर्क भएर हिँड्थेँ ।

‘एसएलसीको परिणाम हेर्न मन लागेको थियो, सिम्बोल नम्बर नभएर हेर्न पाइनँ । स्कुलसम्म जान पनि मन लागेन । यतै जे पायो त्यै काम गरेर जीवन घिसार्दै लगेँ । गाउँको सम्झना आउँथ्यो, उकाली ओरालीको, पाखा र वनको, खेत र बेसीको, खोला र पौडीको । गोठालो खेतालो जाँदा र वनमा घाँस दाउरा गर्न जाँदाका सम्झनाले हिरिक्कै हुन्थेँ । खोलामा दुवाली थुनेर माछा मार्न जान मनलाग्थ्यो । काफल ऐँसेलु खान पाएहुन्थ्यो, न्याउली कराएको गाउँकै भाका सुन्न पाएहुन्थ्यो भन्ने लाग्थ्यो तर जान सकिन ।

धेरै त आमाको सम्झनाले र बाउको व्यवहारका कुराले झस्काउँथ्यो । मैले अहिलेसम्म पनि अन्तिम सास फेर्ने बेला मेरो टाउकोमा हात राखेर आँसु बगाएकी आमालाई बिर्सेको छैन । बाउको व्यवहारलाई भुलेको छैन । अहिले पनि म सपनामा आमालाई देखेर झस्किन्छु । बाउलाई देखेर ऐँठन महसुस गर्छु ।

एउटा राम्रो कुरा भएको थियो हाम्रो जीवनमा । बाउ र आमा दुवै हामीलाई पढेको हेर्न चाहन्थे । फुर्सद हुँदा स्कुल पठाउँथे । दर्जन भरमध्ये एउटी बैनी र मैले स्कुले शिक्षा पूरा गरेका थियौँ ।

बाउलाई घाइते बनाएर सहर पसेको म काम खोज्दै भौँतारिएको थिएँ । कैयन् रात भोकै सुतेको थिएँ । कुल्ली, होटलको भाँडा माझ्ने केटो, भरिया, घर बनाउने ठाउँमा सिमेन्ट मुछ्ने, ढुङ्गा बोक्ने, नदीबाट बालुवा ओसार्ने, बसको खलाँसी हुने आदि काम गरेँ ।

काम पाएपछि दिइने अलिकति ज्यालालाई साहुहरू भगवानको कृपा भनेर अर्थ्याउँथे । दया गरिदिएका छौँ र बिहान बेलुका खान पाएको छस् भन्ने भाव तिनमा झल्किन्थ्यो । भन्ने बेलामा चाहिँ भगवानलाई धन्यवाद दे भन्थे । मलाई कताकता यो संसारको दुःख नै भगवानले गर्दा सिर्जेको हो जस्तो लाग्न थालेको थियो ।

आमाले मानेको भगवान, बाउले पुकार्ने भगवान र साहुले भन्ने गरेको भगवानले मलाई ईश्वरका प्रति भयानक घृणा जगाइदिएको थियो । सम्भवतः म आफ्ना जीवनका कठोर अनुभवले विद्रोही बन्दै गएको थिएँ ।

यता सहरमा पाएको राजनीतिक सङ्गतले मलाई थप पढ्नका लागि कलेज जान उक्साएको थियो । त्यही पढाइले मलाई आमाले बेहोरेका दुःख केवल आमाका थिएनन्, हामीले खेपेको भोक हाम्रोमात्र नियति थिएन भनेर बुझ्न सिकाएको थियो । भित्रभित्र बलिरहेको आक्रोशको आगोले दन्किने र दुनियाँ चियाउने निकास पाएको थियो ।

यसरी मेरो क्रान्तिको जग भगवानका विपक्षमा, मान्छेका पक्षमा बनेको थियो । भगवानको शासन रहित स्वतन्त्र मान्छेको परिकल्पना गर्थें म ।

म विस्तारै विश्वस्त हुँदै गएँ कि दुनियाँलाई बिगार्न मान्छेको आत्मामा थोपरिएको भगवानको जस्तो भूमिका छ देश चलाउँछु भन्ने सरकारको पनि भूमिका छ । यी दुवैका बीच गजबको साँठगाँठ छ । यस्तो लाग्थ्यो राजा भगवानको सत्तालाई जोगाउन फैलाउन भरथेग गर्छन् । आममान्छेका मनमा राजाका प्रति भक्ति बढाउन भगवानले प्रेरित गर्छन्।

सरकार र सत्ताका विषयमा घोत्लिँदा मलाई गाउँको प्रधानको याद आउँथ्यो । ऊ हामीले स्कुल पढ्दा राजाको जन्मदिनमा या वार्षिकोत्सवमा दौरा सुरूवाल र कोटमा ठाँटिएर स्कुलमा जान्थ्यो । हामीलाई अगाडि राखेर राजाको गुनगान गर्थ्यो ।

छेप्पन काकाको घर मेरो छिमेकमा थियो । काकाले दश वर्ष पहिले प्रधानसँग काकी सुत्केरी हुनेबेला स्याहार गर्न सय रुपैयाँ ऋण लिएका रहेछन् । खै कसरी हो त्यो सय बढेर दश वर्षमा तीन हजार भएछ । छेप्पनको छोरा र म मिल्ने साथी थियौँ । एकदिन हामी साथीहरू छेप्पनको खेतको गरोमा डन्डीबियो खेलिरहेका थियौँ ।

मकै छर्ने बेला आएको थियो । खेतमा अचानक प्रधानको मान्छे हल नार्न आइपुग्यो । पछिपछि प्रधान पनि खेत देखाउँदै आयो । छेप्पन काकासँगै थिए । उनले प्रधानको खुट्टा समातेर ढेगे । अनेक याचना गरे । उसलाई भगवान भने । खेत नखोस, म कसैगरी तिम्रो पैसा तिरुँला, बरू तिम्रोमा गोठालो बसूँला भनेर फकाउन खोजे ।

भगवान भनेर पुकारिएको प्रधानले छेप्पन काकालाई लात्ताले हानेर धकेल्यो । पैसो चुक्ता नगरी यहाँ नटेक भनेर धम्क्यायो । मेरो साथी रून थाल्यो । मलाई औडाह भयो र मनभरि रिस पालेर घरतिर हिँडेँ । मलाई यस घटनापछि भगवानप्रति थप अनास्था लाग्न थालेको थियो ।

पार्टीवालाहरूसँगको सङ्गतले मलाई दुनियाँमा थितिहरू फरक छन्, कतै न्यायपूर्ण समाज छ, कतै अन्याय भरिभराउ छ, भगवान र राजाका सत्ता दुवै स्थायी हैनन् भन्नेजस्ता कुराहरू बुझाएको थियो । मेरो आकाश खुलेको थियो । यही भावले म भित्र नयाँ ऊर्जा दिएको थियो ।’

यति भनेर थमनसिंह काका टेबलमा घोप्टो परेर घुर्न थाले।

यसअघि भगवानका बारेमा मैले यस्तो कठोर वचन र आलोचना पढेको भएपनि सुनेको थिइनँ । म उनको अन्तरमनमा रहेको तीव्र असन्तोष र सबै खाले सत्ताका विपक्षमा रहेको उनको विचारले प्रभावित हुन थालेको थिएँ । एक प्रकारको उज्यालोले मनमा प्रवेश गरेको अनुभूति भयो । त्यही बेला भित्ताहरूमा उनले भनेका देवताहरू र राजाहरूको कालो छायाँ यताउता गरिरहेको देखियो । मैले आँखा मिचेँ । महेशलाई पनि त्यस्तै भ्रम भएको रहेछ ।

मलाई हामी वार्ता गरिरहेको तालको बीचबाट कसरी बाहिरिने होला भन्ने पिरलो भइरहेको थियो । खासगरी थमनसिंह काकालाई त्यहाँबाट बाहिर निकाल्नु थियो । त्यही बेला तालबाराहीको मन्दिरनिरबाट पचासौँ डुङ्गाहरू एकैपटक पश्चिमतिर हानिए । डुङ्गामा साहारा क्षेत्रका पर्यटकहरूमात्रै देखिन्थे । माझीहरू रत्नमन्दिरको अगाडि बनेको क्याफेमा कफी खाँदै रिमोट कन्ट्रोलको सहयोगमा डुङ्गा चलाइरहेका थिए ।

अचानक बिजुली चम्केजस्तो भयो । अब हामी तिब्बतो–बर्मन क्याफेको उही कोठामा, उस्तै अवस्थामा रहेका थियौँ । उही वेटर हाम्रो अगाडि उभिएकी थिइन् । मैले आफू जिल परेको र के भएको हो भन्ने नै थाहा नपाएको भन्दै जिज्ञासा राखेँ । उनले हाँस्दै भनिन्, ‘जो पनि पहिलो पटक यस्तै अनुभव गर्छन् सर । गेस्टहरूलाई यहाँ बस्दाबस्दै फेवामा गएको अनुभूति होस् भनेर यसको भित्तामा आर्टिफिसियल रियालिटिका दृश्यहरू राखिएका हुन्छन् जसलाई हामी अवस्था अनुसार सक्रिय बनाउँछौँ ।’

छक्क पर्ने र हाँस्ने पालो मेरो थियो ।

काका ब्युँझे र झल्याँस्स भएर उठे । उनको हातले स्वचालित जस्तोगरी ह्याट टाउकोमा लग्यो । हातको लट्ठी उसैगरी स्वचालित रूपमा भुँइ टेक्न झर्‍यो । आफ्ना लागि कालो चिया अर्डर गरे र धरखराउँदै वासरुमतिर गए ।

मलाई त्यस दिन थप कुरा गरिरहन मन लागेन । हामीले मौकाको फाइदा लिऊँ न भनेर ढुङ्ग्रोमा मथेको नुन हालेको तिब्बतियन चिया मगायौँ र धित मर्नेगरी पियौँ ।

तर

विद्रोही सपनाको आफ्नै नियम हुन्छ

फूलजत्तिकै कोमल

र ढुङ्गाझैँ कडा पनि

अनि समग्रतामा

एउटा पहाडसरह

दृढ एवम् अविचल

हो, जस्तो कुनै सहिदको

वजनदार सपना

 

यस्तो भारयुक्त

सपना हेर्न निद्राबाट

ब्युँझन तयार छौं ?

(विमल निभा, डेगेन्द्र राजवंशीको आत्महत्या)

भोलिपल्ट बिहान परैबाट काका क्याफेतिर गइरहेको देखेपछि महेशलाई काकासँग चिया खाँदै गर्न लगाएर म सुटुक्क काकाको घरमा पुगेको थिएँ । मुस्ताङ चोक र ड्यामसाइडको बीचमा पूर्व मोहडाको एउटा भव्य घर थियो । उहिलेको एयरपोर्टतिर मोहडा गरेको । गेट स्वचालित यन्त्रबाट बन्द हुने र खुल्ने रहेछ । गेटमा मान्छे पुग्नासाथ गेटमा सटेको काँचको पर्दामा स्वचालित भिडियोबाट एउटा भव्य कुकुर भुक्न थल्यो ।

म त्यहाँ पुगेपछि भित्रबाट एकजना युवक बाहिर निस्केँ र मेरो सोधखोज गरे । मैले सङ्क्षिप्तमा आफ्नो परिचय दिएँ र काकालाई भेट्न आएको बताएँ ।

‘बाजे बाहिर जानुभएको छ । कतिबेला फर्कनुहुन्छ थाहा हुन्न । तैपनि बस्दै गर्नुस् न म बोलाएर ल्याउँला ।’

युवाले मलाई जवाफ दिँदै मेरो शिरदेखि पाउसम्म हेर्‍यो । मानौं मेरो परीक्षण गरिरहेको होस् । मलाई काकाको घर हेर्नु थियो ।

उनले गेट खोले । भित्र बगैँचा र स्विमिङपुल । छेउमा लालुपाते फुलेको थियो । बेलौँती, एभोकाडो र लिचीका बोटहरू थिए । आँगनमा चौतारी रहेछ । यी युवक काकाका नाति रहेछन् । के गरौँ, कसो गरौँ भएर उनले चिया खाएर जानुस् न भनेका थिए । उनी एकजना महिलासँग लिभिङ टुगेदरमा बस्ने गरेका रहेछन् ।

चियाको तरखर गर्न थालेपछि म उनीसँग अनुमति लिएर काकाको बैठक कोठामा प्रवेश गरेको थिएँ । सिङ्गमरमरको भुइँ र सिलिङमा झाडफानुस लगाएको बैठक कोठा भव्य थियो । ढोकाहरू स्वचालित थिए । मानिस बस्ने सोफा र मेच, चिया टेबलहरू पनि आवश्यकता हेरेर आफैँ टक्रिने र पन्छिने रहेछन् ।

तीनतला भएको घरको भुइँतलामा किचन, बैठक कोठा र त्यससँगै जोडिएको सानो लाइब्रेरी थियो । लाइब्रेरीतिरको भित्तामा लहरै मार्क्स, एङ्गेल्स, लेनिन, गोर्की, लु सुन, गोकुल जोशी, रत्नकुमार वान्तबा र बब मार्लेका फोटाहरू थिए । चे ग्वेभारा, फिडेल क्यास्ट्रो र माओका तस्विर एउटै फ्रेममा राखिएका थिए ।

एउटा लहरमा गितार, सारङ्गी, हार्मोनियम, मादल र बाँसुरी राखिएको थियो । पश्चिमतिरको भित्तो पूरै ढाकेर बसेको बुक र्‍याकमा पुस्तकहरू थिए । लेनिनका सङ्कलित रचना, माओका सैन्य रचनाहरू, चे ग्वेभाराको मोटरसाइकल डायरी एक लहरमा थिए ।

अर्को लहरमा गोर्की, लु सुन, राहुल साङ्कृत्यायन, मिखाइल सोलोखोभ र हावर्ड फास्टका रचनाहरू थिए । पुस्तकमा धुलोको पत्र जमेको थियो । सायद वर्षौंदेखि पुस्तकमा कसैले हात लगेको थिएन । भित्ताका तस्विर र वाद्यवादनका सामान सफा थिए । म पुस्तकमा भुलिरहेको बेला उही युवकले चिया आएको सङ्केत गरे ।

उनीतिर फर्केर मैले प्रश्न मिसिएको स्वरमा सोधेँ, ‘काकाले त भव्य घर बनाउनु भएको रैछ त ?’

युवकले व्यङ्ग्य मिसिएको शैलीमा भने, ‘के को काकाले बनाउने ? यो सबै उनको छोराले जापानबाट आएर बनाएको हो । बाजे त पक्का सुकुम्बासी भैगो नि । एकपटक सांसद त भएको हो, तर कमाएको भए पो । अरूअरूले कति कमाएर केके गरिसके, हाम्रो बाजेको ताल जोगीको जस्तो छ । छोरा नातिहरूले उताबाट बुढालाई पैसा पठाउँछन्, कपडाहरू पठाउँछन् यता बुढा भने कोही दुःखी आयो भने पैसा, कपडा जे छ दिएर पठाउँछन् । पस्केको भात पनि अर्कोलाई भोको देख्यो भने उसैलाई दिने मान्छे हो बाजे । यस्तो मान्छेले पनि के राजनीति गरिराको होला व्यर्थैमा ?’

युवकसँग सँगै बस्ने गरेकी उनकी साथी हाम्रो गफमा सहभागी हुन आइपुगी । उसले थपी, ‘मान्छे त यो बाजे असल हो । आजको जमानामा असल मान्छेको के काम ? कसले खान पाउँछ असल भएर ?’

युवकले थप्दै गए, ‘बाजेको सम्पत्ति भनेका तिनै किताब र फोटोहरू हुन् । किताब त बुढाले पनि नपढेको वर्षौं भइसक्यो । अरू कसैले पढ्न पनि माग्दैन, बुढाले अरूलाई छुन पनि दिने हैन । अब बुढा बितेपछि यी पुस्तक पनि के गर्ने हो थाहा छैन । फोटोहरू भने सातामा एकपटक झिकेर सफा गरिराख्छन् । बाजेले सुरमा हो कि बेसुरमा हो आफू बितेपछि पुस्तक र फोटोहरू घाटमा लगेर जलाइदिनू भनिराखेका छन् ।

म नभए त बुढा मरेको पनि कसैले था पाउन्न । जीवनभरि पार्टीको काम भनेर हिँड्यो, जेलनेल खायो, ऐले पार्टीकोहरू बुढालाई देख्यो भने तर्किन्छन् । नेताहरूले नै उनको पछाडि खुस्केट बुढो भनेको मैले सुनेको छु ।’

काकाका नातिको कुरा सुनेपछि मलाई त्यहाँ धेरैबेर बसिरहन मन लागेन । उनीसँग बिदा भएर सिधै तिब्बतो–बर्मन बेकरी क्याफेतिर लम्केँ जुन उनको घरबाट सय मिटर दक्षिणतिरको दूरीमा थियो ।

‘अनि यो पार्टीसार्टीको चक्करमा कसरी पुग्नुभयो त, काका ? पहिलेका कुरा बताउनुस् न त हामीलाई ?’ मैले काकाको ध्यान आफूतिर आएको मौका पारेर सोधेँ ।

बुढाले आँखाबाट चस्मा झिके । कोशमा लागेको अलिअलि चिप्रा टिस्यु पेपरले पुछे र चस्मा पनि सफा पारे । उनका ठूला ओठ अलि लत्रेका जस्ता लाग्थे । कानका लोती तलसम्म झरेका थिए । निधारमा एउटा लामो खत थियो । अनुहारमा बुढ्यौली झल्कने केही फोकाफोकी थिए । उनलाई पहिलोपटक देख्नेले यी मान्छेको आयु अब धेरै छैन भन्ने लख काट्न सक्थ्यो ।

बुढाले आज सहजभावमा उत्तर दिन थाले, ‘म एउटा स्कुलको भवन बनाउने ठाउँमा ज्यामी काम गर्थेँ । हामी ज्यालादारी काम गर्नेहरू चारपाँच जना मिलेर एउटै कोठामा बस्थ्यौँ । सुत्ने खाट पनि थिएन । एउटा गुन्द्री ओछ्यायो, त्यसैमाथि पल्ट्यो । ओढ्ने एउटा पातलो दोलाइँ थियो । जाडो राम्ररी छेक्दैनथ्यो । गर्मीमा लामखुट्टेले सुत्न दिँदैनथ्यो । तर हामीसँग विकल्प पनि थिएन ।

हाम्रो ज्यामी नाइके थियो दाङतिरको सन्तराम भन्ने । ठेकेदारहरू उसलाई चौधरी भनेर बोलाउँथे । हेर्दा अलि सोझो र एकदम कम बोल्ने सन्तराम मनको चलाख थियो । रक्सी पनि खाँदैनथ्यो। अरूसँग राम्रो बोल्थ्यो । हामीलाई काम सिक्न र मेहनत गर्न अर्ती दिन्थ्यो । ठेकेदारसँग ज्याला माग्न र बढाउन कुरा उठाइरहन्थ्यो । किन हो ठेकेदार पनि ऊसँग अलि नम्र भएर बोल्थ्यो ।

एकसाँझ हामी टिनको टहरोमुनि रहेको कोठामा खाना बनाउने तरखर गरिरहेको बेला सन्तरामले भन्यो ‘आज एकजनालाई थपेर खाना बनाऊ है, मेरो एकजना साथी आउँदै छ ।’

हामीमध्येमा एकजना तराईतिरको थियो रामचलित्तर । धेरै बिँडी खान्थ्यो, थोरै बोल्थ्यो । मनमा केके पिरले थिचिएको जस्तो लाग्थ्यो । पहिले कवाडीमा काम गर्दोरहेछ । ठेकेदारसँग ठाकठुक परेपछि यताको काममा हात हालेको रहेछ ।

दुईजना धादिङतिरका थिए रिञ्जिन र छिरिङ । मादल बजाउन खुब सिपालु थिए । साँझ एकपटक नाचगान गरेरमात्र खाना खान्थे । एकजना बागलुङको साथी थियो गुर्जमान । ऊ मुरली बजाउँथ्यो । शुकबहादुर, मङ्गलमान पनि थिए । खुब बलिया थिए । रमाइलो गर्नुपर्ने । नाच्न मन पराउँथे । गरुङ्गो काम जति तिनैले गर्थे । एकप्रकारको नेपाल थियो हाम्रो टोली । सबै गरिब । सबै पसिना बगाएर खाने । को सानो, को ठुलो भन्ने नै नहुने रहेछ सँगै काम गरेपछि ।

खाना पाकेपछि हामी नखाईकनै सन्तरामको साथीलाई पर्खेर बस्यौँ । कोही तास खेल्न थाले । कोही मादल बजाएर गीत गाउन थाले । म एउटा कुनामा बसेर सारङ्गी बजाउन सिक्दै थिएँ । त्यही बेला एकजना पातलोपातलो तर सफा र मिलेका लुगा लगाएका मान्छे आए । सन्तरामले उठेर उनलाई स्वागत गर्‍यो । तिनीहरूले हात मिलाए र मुट्ठी उठाएर सलाम गरे । हामी सबै ट्वाल्ल परेका थियौँ ।

मलाई यस्तो सुकिलो मान्छे कसरी हामीसँग बसेर भात खालान् भन्ने लागेको थियो । सन्तरामको गाउँतिरका होलान्, व्यवहारका केही कुरा भएर आएका होलान् जस्तो लाग्यो । उनी त हामीसँग पनि हात मिलाउन अघिसरे । त्यसअघि मसँग कसैले हात मिलाएको थिएन । म एकछिन अकमक्क परेँ । त्यो देखेर सन्तरामले भन्यो, ‘यो सर हामी सबैको साथी हो, उठ हात मिलाऊ ।’

त्यसपछि उनी पनि हामीसँगै थचक्क भुइँमा बसे । हामी भोक र थकाइले लखतरान थियौं । दिनभरको थकाइले कतिबेला ढाड तेर्स्याएर सुतौँजस्तो भएको थियो । मलाई अब यी मान्छेले हामीले पकाएको रूखोसुखो कसरी खालान् जस्तो लाग्यो । मैले सन्तरामतिर हेरेँ । उसले भात पस्कन सङ्केत गरेको थियो । हाम्रो खाना भन्नु उही त हो, मोटा चामलको अलिअलि गन्हाएको भात, मुसुराको रातो दाल र अलिकति तारेको आलु ।

नयाँ मान्छेले त खुर्सानी टोकेर भकाभक हामीसँगै भात खाए । आफूले खाएको थाल पनि आफैँ माझे ।

भान्छाको काम सकेपछि हामी पल्टने तरखरमा रहेको बेला सन्तरामले हामी सबैलाई एकछिन बस्न भन्यो । हामी गोलो भएर बसिसकेपछि नयाँ साथीले हामी सबैलाई सम्बोधन गर्दै कुरा गर्न थाले । पहिले त उनले हामी सबैका घरपरिवार, आर्थिक अवस्था, यता गरिरहेको कामका बारेमा चाखपूर्वक कुरा सोधे ।

त्यसपछि क्रमशः समाजमा रहेको शोषण, राज्यसत्ता, वर्ग र असमानताका कारणहरू बताउन थाले । हामीले केही बुझ्यौँ, केही बुझेनौँ । कसैलाई छिटै निद्राले छोप्यो । दिनभर काम गरेको थकाइ थियो ।

उनले हाम्रो पढाइबारे सोधे । मैले पहिले कहिल्यै यहाँका साथीहरूसँग नभनेको कुरा खोलेँ र पढाइबारे बताएँ ।

उनले मलाई ‘चिनियाँ समाजमा वर्गविश्लेशण’ र ‘हुनान किसान आन्दोलनको जाँचपडताल’ बारे भन्ने पुस्तक पढ्न भनेर दिए । आफू एकहप्तामा फेरि भेट्न आउने र त्यतिबेला पुस्तकका विषयमा कुरा गर्ने भने । उनी हामीसँगै त्यो भुइँमा मज्जाले सुते । बिहान म उठ्नुअघि नै हिँडिसकेका रहेछन् । उनले आफूलाई हामीसँग तोरण नामबाट मात्र चिनाएका थिए ।

पछि थाहा भयो उनी त पार्टीको भूमिगत कार्यकर्ता रहेछन् । सन्तराम पनि पहिलेदेखि नै पार्टीमा लागेको रहेछ ।

त्यसपछि उनीसँग भेट हुने क्रम दोहोरिँदै गयो । उनले मलाई ‘आमा’ र ‘अग्निदीक्षा’ उपन्यास पढ्न दिए । यी दुवै पुस्तक मैले कम्तीमा पाँच–पाँच पटक दोहोर्‍याएर पढेँ हुँला । प्रेमचन्दका केही कथाहरू पनि दिएर गएका थिए । म पढ्दै र नयाँ दुनियाँसँग परिचित हुँदैगएँ । पछि त म क्याम्पसको पुस्तकालयबाट पुस्तक ल्याएर पढ्ने र आफूले पार्टी काम गरेको ठाउँमा पुस्तकालय खोल्दै हिँड्ने गर्थेँ ।

मेरो मनोरञ्जन, मेरो दुःखसुखका साथी, मेरो आत्मसम्मानका स्रोत सबै पुस्तकहरू नै त थिए । पुस्तकको पनि आयु हुँदो रहेछ कि ? हाम्रो समयमा धेरै पढिने पुस्तकप्रति नयाँ पुस्ताले गरेको बेवास्ता देख्दा मन यसै दुखेर आउँछ ।

उनी आइरहे । म उनका कुरा ध्यान दिएर सुन्दै गएँ । केही महिनापछि उनले मलाई मजदुर सङ्गठन र पार्टीमा काम गर्ने प्रस्ताव गरे । म अलिअलि भय र रोमाञ्चको अनुभूति गर्दै तयार भएँ ।

त्यसरी म पार्टीसँग जोडिन पुगेको थिएँ । यहीँबाट मेरो जीवनले एउटा मोड लियो ।

कमरेड तोरणले नै स्कुलको हेडसरसँग सम्पर्क गरेर मेरा चारित्रिक प्रमाणपत्र र एसएलसीको मार्कसिट मगाइदिए । ती हेडसर पनि पार्टी सम्पर्कमा रहेछन् । यो कुरा सुन्दा म अलिअलि नर्भस र आशावादी भएको थिएँ ।

केही महिनापछि सन्तराम गाउँतिर जान्छु भनेर गयो र कहिल्यै फर्केर आएन । अहिलेसम्म पनि ऊसँग मेरो भेट भएको छैन ।

मलाई पार्टीमा काम गर्न प्रेरित गर्ने कमरेड तोरण एक वर्षपछि पेसेवर राजनीति छोडेर गाउँमा गएर शिक्षक बने । त्यसपछि उनी कहिल्यै हाम्रो पार्टीको राजनीतिमा सक्रिय भएनन् । पार्टीको विरूद्ध पनि गएनन् ।

पछि थाहा पाएको थिएँ उनी माओवादी युद्धमा सामेल भएर मारिएछन् । मान्छे असल थिए । हाम्रो पार्टीको भूमिगत जीवन बिताउन नसकेका मान्छे माओवादीको युद्धमा के साहसले सामेल भए होला भन्ने कुराको उत्तर मैले कहिल्यै पाइनँ ।

तोरणको हत्या भएको सुनेपछि मलाई एउटा शङ्का लागिरह्यो – सन्तराम पनि माओवादी युद्धमा नै मारियो कि, बेपत्ता पो पारियो ? सन्तराम र तोरण दुवै क्रान्तिकारी थिए । साधुजस्ता लोभमोह नभएका असल प्राणी थिए । क्रान्तिपछिको अवस्था देखेर मजस्तै हतास हुनुभन्दा उनीहरू मरेर ठिकै भो कि भन्ने पनि लागिरहन्छ कहिलेकाहीँ । तर ती दुवैले मेरो जीवनमा लगाएको गुन भने म मर्ने बेलासम्म पनि भुल्दिनँ।’

काका आज खुलेर बोलिरहेका थिए । हामीले रोक्ने कुरै थिएन । याकको मासु मिसाएको तिब्बतियन चाउमिन मगाएर खाँदै हामीले उनका कुरा सुनिरह्यौँ ।

‘तोरणले मलाई मजदुर फाँटमा काम गर्ने र क्याम्पसको पढाइ पनि जारी राख्ने सल्लाह दिए । यो पार्टीको निर्णय थियो । कहाँ घरबाट भागेको भगौडा र आवाराजस्तो जीवन बिताइरहेको म, कहाँ क्याम्पसको विद्यार्थी र पार्टीको कमरेड ! जीवनले पूरै कोल्टो फेरेको थियो । मभित्र मरिसकेको आत्मसम्मान जागेको थियो । म पनि जीवनका नयाँ–नयाँ सपना देख्नथालेको थिएँ । मेरो यौवनवय फर्केर आएको थियो । म अब पार्टीको मान्छे भएर नयाँ यात्रामा हिँड्न थालेँ ।

पहिले आफूसँग काम गर्ने गरेका सिकर्मी, डकर्मी र मजस्तै सानोतिनो काम गर्ने मजदुरहरूका बीचमा सङ्गठनको काम गर्न थालेँ । उनीहरूसँगै मजदुरी पनि गर्दै थिएँ । कोही छिटै सक्रिय हुन्थे । कोही तर्किन्थे । कोही विरोध गर्थे । तर सङ्गठनमा जोडिने, आन्दोलनमा भाग लिनेहरू धेरै भए । उनीहरूकै ज्याला बढाउने आन्दोलन गरेर सफल भएपछि सङ्गठन विस्तार गर्न सहज भयो ।

‘मुख्य कुरा विचार हो, विचार सही भए बाँकी ठिक हुँदै जान्छ । यसरी रक्सी नखाऊ, बरू आन्दोलनतिर लागौँ ।’

केही महिनापछि मलाई पार्टीले सहरबाहिरका गाउँमा पार्टी काम गर्नेगरी भूमिगत हुन निर्देशन दियो । गाउँमा यो मेरा लागि नयाँ अनुभव थियो । कसरी काम गर्ने, कसलाई भेट्ने, कहाँ खाना खाने र बस्ने भन्ने कुनै सम्पर्क सूत्र थिएन ।

मैले चिनेको एउटा बस ड्राइभर थियो । पहिले मैले खलाँसी भएर काम गर्दा ऊ पनि अर्को बसमा खलाँसी गर्थ्यो ।

म ऊसँग सहयोग माग्न गएँ । उसको आफ्नै समस्या थियो । उसले आफ्नै घरमा बालीघरेका रूपमा काम गर्ने सुनारकी छोरीसँग प्रेम विवाह गरेको थियो । त्यसपछि उसको घरको बाटो दुवैका लागि बन्द भएको थियो । महिलाको माइती उही गाउँमा थियो ।

पहिला निकै हँसिलो र ठट्यौलो यो ड्राइभरको स्वभावमा निकै फेरबदल आएछ । बेलुका रक्सी निकै खाने । पत्नीसँग झगडा गर्ने । पिटपाट पनि पारिहाल्ने । झोक्राएर बस्ने । धेरै नबोल्ने … ।

मैले पहिलो काम यही मजदुरलाई राजनीति बुझाउनु हो भन्ने निष्कर्ष निकालेँ । म आफ्नो परीक्षण पनि गर्दै थिएँ । ऊसँग खलाँसी बनेर पोखरा–भैरहवाको बसमा जान थालेँ । बेलुका बास बसेपछि ऊ भट्टीतिर जाने र पिउने गर्दो रहेछ । मैले कहिल्यै पिएको थिइनँ । तर ऊसँगै बस्दै बिस्तारै उसको मनभित्रका कुरा खोतल्न थालेँ ।

ऊ आफ्नो विवाहले जीवनमा ल्याएको समस्या र परिवारसँग टुटेको सम्बन्धको कुरा गर्दै रून थाल्यो । म पहिले नै राजनीतिक कुरा गरेर उसलाई तर्साउन चाहन्नथेँ । बिस्तारै जात व्यवस्थाका कुराबाट आफ्नो कुरा राखेँ । मान्छे समान हुन् भन्ने सुनाएँ । कसरी मानिस–मानिसलाई ठुलो सानो बनाउने चलन आयो र कसरी यो हटाउन सकिन्छ भन्ने कुरा गर्दै गएँ ।

निकै दिनपछि उसले मेरो कुरामा ध्यान दिन थाल्यो । बिस्तारै मैले वर्ग र राजनीतिको कुरा गरेँ । पार्टी र क्रान्तिको कुरा गरेँ । रूस र चीनका कुरा गरेँ र उसलाई राजनीतिप्रति आकर्षित गरेँ । उसले मेरा कुरामा ध्यान दिन थालेपछि बिस्तारै भनेँ, ‘हेर तिम्रो समस्या तिम्रा आमाबाउ हैनन्, यो समाज र यहाँको व्यवस्था हो । यो बदलिएपछि अरू कुरा बदलिन्छन् । आमाबाउलाई पनि दोष नदेऊ । तिमी र तिम्री श्रीमतीको पनि कुनै दोष छैन ।’

‘मुख्य कुरा विचार हो, विचार सही भए बाँकी ठिक हुँदै जान्छ । यसरी रक्सी नखाऊ, बरू आन्दोलनतिर लागौँ ।’

उसमा बिस्तारै परिवर्तनहरू देखिन थाले । घरमा जाँदा रक्सी खान छाड्यो । उसकी पत्नी पनि खुसी हुन थालिन् । यो परिवर्तन मेरो कारणले भएको हो भन्ने उनलाई परेको थियो । मलाई सम्मान पनि गर्न थालिन् । म उनीहरू बसेकै कोठा नजिक अस्थायी कोठा लिएर बस्न थालेँ । उनीहरूसँगै खाना खान थालेँ ।

अब उसकी श्रीमतीलाई पनि राजनीति सिकाउनु थियो । उनी मेरै कारणले लोग्नेले रक्सी छाडेको र बानी सप्रिँदै गएको भनेर विश्वस्त थिइन् । मैले राजनीति, महिला–पुरूष समानता, जाति व्यवस्था र त्यसका कारणबारे बताउँदै गएँ । उनी आफैँ गरिब वर्ग र दबिएको जातिका दुःख बेहोरेर आएकी थिइन् । उनलाई नयाँ कुराले जीवनप्रति सकारात्मक धारणा बनाउन प्रेरित गर्‍यो ।

यिनी असल मन भएकी थिइन् । कल्सौंदो वर्णकी, खाइलाग्दी राम्री पनि । हामी अब दिदी–भाइ भयौँ । यो सम्बन्ध कहिल्यै तलमाथि भएन । उनले मलाई भाइजस्तै माया गरिन् । म आफ्ना हरेक दुःख र समस्या उनीसँग पोख्न पाउँदा खुसी हुनथालेँ । आमाको मृत्युपछि कसैले मलाई यस्तो माया दिएको थिएन । मलाई यी महिला आफ्नी दिदि, बहिनी र आमा सबैको प्रतिरूपजस्ती लाग्न थालिन् । खाना मिठो बनाउँथिन् ।

बिस्तारै उनी आफ्नो माइतीघरसम्म मलाई लान र गाउँमा आफ्ना साथीहरूको सम्पर्क दिन तयार भइन् । गाउँमा सेल्टर पाउन र काम गर्न म सफल भएँ ।

पार्टीमा लागेपछि उनले आफ्नो सम्पर्कमा भएका महिलाहरूको एउटा सङ्गठन बनाइन् । हरेक जुलुस र सभामा उनी पुग्न थालिन् । एकपटक त डेढवर्षकी छोरी लिएर एक महिना पुलिस कस्टडीमा पनि बसिन् । यातना खाइन् । तर गोपनीयता खोलिनन् । पार्टीप्रतिको उनको निष्ठा बलवान बन्यो ।

पछि उनीसँग भेटघाट पातलो हुँदै गयो । उही तिज र तिहारमा मात्रै भेट हुन्थ्यो । भिनाजु पनि असमयमा बिते । सम्पत्ति धेरै नभएको परिवारको फेरि दुःखका दिन सुरू भए ।

भाञ्जाहरू हुर्केपछि दिदीलाई थोरै होलो भयो । भाञ्जाभाञ्जी हुर्काउन तिनले गरेको सङ्घर्ष देख्दा मलाई जहिले पनि घाँटीमा केहीले अँठ्याएजस्तो हुन्थ्यो । आखिर तिनले पनि केही वर्ष पहिले बिदा लिइन् ।

कहिले गाउँमा काम गर्ने, कहिले सहरमा मजदुरका बीचमा काम गर्ने । कहिले भूमिगत हुने, कहिले जेल जाने–आउने । कहिले अर्ध भूमिगत रूपमा काम गर्ने । यसरी नै वर्षहरू बित्दै गए ।

तनाव थियो । कहिले–कहिले हतोत्साही हुन पुगिन्थ्यो । कहिले प्रशासनको दमनबाट सङ्गठन जोगाउन गाह्रो पर्थ्यो । कोही जेल पर्थे । कोही काम गर्दागर्दै पलायन हुन्थे । कोही शत्रु कित्तामा पुगेर सेल्टर र साथीहरूलाई चिनाइदिन्थे । त्यस्तो बेला साथीको कार्यक्षेत्र र सेल्टर बदल्दै हिँड्नुपर्थ्यो ।

त्यसो त पार्टी काममा दुःखमात्र थिएन । सङ्गठनको सञ्जाल बिस्तार भएको थियो । सेल्टरको समस्या हुन छोडेको थियो । चाडवाडमा कहिलेकाहीँ मिठो मसिनो पनि खान पाइने भएको थियो । त्यसैभित्र रमाइलो र खुसी खोज्न सिकिएको थियो । नहर बनाउन आएका चिनियाहरूको क्याम्पमा काम गर्ने साथीहरूले भिडियो ल्याउँथे र क्रान्तिकारी सिनेमा हेरिन्थ्यो ।

आन्दोलनभित्रै साथीहरू एकअर्कालाई मन पराउँथे । सानोसानो जमघट गरेर बिहे गराइन्थ्यो । नाचगान चल्थ्यो । समाजका हामीले गर्न नहुने ठानिएका संस्कृति फाल्दै गएका थियौँ । तोड्दै गएका थियौँ । नयाँ संस्कृति र नयाँ मान्छे बन्ने बनाउने सिलसिला चलेको थियो । आन्दोलनबाट कोही थाकेर पन्छिन्थे । नयाँ साथीहरू आन्दोलनका लागि बलिदान हुन तयार हुन्थे ।

सङ्गठन बलियो बन्दै गयो । राजाको शासन ढल्यो । हामीले जित्यौँ ।

त्यसपछि बल्ल म गाउँ गएँ । बीचमा एकजना भाइ र तीनजना बहिनीहरूलाई सहरमा बोलाएर भेटेको थिएँ । आफ्नो जीवनको उद्देश्य बताएको थिएँ । घर त चौध वर्षपछि मात्र फर्केको थिएँ । बाबु बितिसकेका थिए । एउटा भाइले घर सम्हाल्दै थियो । बहिनीहरूको बिहे भइसकेको थियो । अरू भाइहरू कोही भारततिर, कोही नेपालकै विभिन्न सहरतिर छरिएछन् । घर बस्ने साइँलो भाइले निकै गुनासो गरेको थियो घरको वास्ता गरिनस् भनेर ।

आमा नभएको घर मलाई उराठ लाग्यो । केही कुराले पनि आकर्षित गरेन । आफू पढेको विद्यालय, आफूले खनजोत गरेको खेतबारी, खेलेका चौर र खेतका गराहरू, वस्तु चराएका वन, माछा मारेका खोलाहरू जता पनि म आमाको अनुहार देख्न थालेँ । मलाई केही दिन बस्दा नै उकुसमुकुस हुन थाल्यो । डिप्रेसन होलाजस्तो भयो ।

गाउँमा भने मलाई नेताका रूपमा निकै सम्मान गरियो । विद्यालयका शिक्षकहरू र युवाहरूले मेरो सम्मानमा एउटा कार्यक्रम गरे । केही दिन गाउँमा बसेपछि मेरो मन यता बस्न मानेन । भाइलाई सम्झाएँ । आमाको तस्रिमा एक झुप्पा फुल चढाएँ र सहर फर्केँ । नयाँ परिवेशमा नयाँ जिम्मेवारी आइरहन्थे । जीवन गतिशील थियो ।

त्यही वर्ष उनै दिदीले चाउचाउ उद्योगमा काम गर्ने एकजना युवती खोजेर मेरो बिहे गरिदिइन् । राजनीति नबुझेकी नयाँ पत्नी र राजनीतिबाहेक केही नजानेको मेराबीचमा ठाकठुक परिरहन्थ्यो । नमिलेको जस्तो यो सम्बन्ध अघि बढ्दै गयो र आदतमा परिवर्तन भयो । पछि उनैले घर सम्हालिन् । छोराछोरी हुर्काइन् । मलाई राजनीतिमा लागिरहन सहयोग गरिन् । साह्रै सज्जन थिइन् । आमाको न्यास्रो अलिकति मेटाइदिइन् । जीवनलाई अलिकति भरिलो बनाइन् ।

उनको र मेरो सम्बन्ध र मेरा आमाबाउको सम्बन्धको समय फेरिएको थियो । हामीले नै त्यसलाई भत्काएका थियौँ ।

यता राजनीति नयाँ बाटोमा हिँडिरहेको थियो । नयाँ–नयाँ मान्छेहरू पार्टीमा सक्रिय हुन थालेका थिए । अवसर पाउने र नपाउनेका बिच पार्टीभित्रै नयाँ वर्ग बनिरहेको थियो । म दोस्रो दर्जामा परेँ र पार्टीको सोपानमा पछि छाडिदै गएँ ।

म निराश भएपनि काम गर्न छोडेको थिइन । त्यहीबिचमा एकपटक समानुपातिक तर्फबाट संसदमा पठायो पार्टीले । मैले पाएको अवसर त्यही हो । तर त्यो अवधिभरि मलाई उकुसमुकुस भइरह्यो । सिंहदरबार मलाई आफ्नो थलोजस्तो कहिल्यै लागेन । बरू त्यहाँको गेटभित्र पस्नासाथ आफ्नो स्वतन्त्रता गुमाएको जस्तो, एक प्रकारको बन्दीजस्तो अनुभूति हुन्थ्यो ।

फर्केर हेरेँ । मेरो भाइ किसान थियो । उसको जीवनमा केही परिवर्तन आएको थिएन । मेरी लाहुरेनी बहिनीको बरू अवस्था राम्रो छ । जो कृषिमा रहे तिनको अवस्था सुधार भएन । मजदुरी गर्न सहर झरेकाहरू जीवन धान्नमात्र सकिरहेका छन् । तिनको जीवनमा कुनै परिवर्तन आएन ।

हाम्रा बाजे बराजु लाहुर गएर जीवन धाने । हाम्रा सन्तानहरू पनि लाहुरै गइरहेका छन् । हेर्दै जान्छु त भगवान्को सत्ता झन बलियो भएको छ । पहिले–पहिले त गाउँका पण्डित झाँक्री र मन्दिरहरू देवताका प्रतिनिधि थिए । अहिले झन अनेकथरी जटाधारीहरू देवताका वारेस भएर आएका छन् । मानिसहरू तिनका पछि लागेका छन् । कोही यताका भगवान छोडेर नयाँ भगवान्को शरणमा पुगेका छन् ।

मलाई चित्त बुझ्दैनथ्यो । मैले देखेको सपना र यो विपनामा र्‍याङठ्याङ कतै मिलेको देखिन्नथ्यो । त्यस्तो मलाई मात्र हुन्थ्यो कि अरूलाई पनि भन्ने खोज्नतिर पनि लागिनँ । मुस्किलले चार वर्ष बिताएँ ।

उमेर पनि खस्किँदै गएको थियो । पार्टीमा आइरहेको नयाँपुस्ता हामीलाई रूचाउँदैनथ्यो । म थाकिसकेको थिएँ । बिस्तारै किनारातिर सरेँ ।

केही वर्ष बुढीसँग दुःखसुख जीवन चलाउँदै थिएँ । पन्ध्रवर्ष अघि क्यान्सर लागेर अचानक बुढी मरिहालिन् । अन्तिम अवस्थामा थाहा पाइयो । उपचार गर्न पनि पाइएन । जसरी उहिले घरबाट भाग्दा म एक्लो थिएँ, बुढी मरेपछि पनि म त्यस्तै भएँ ।’

काकाका आँखाबाट खसेका दुई थोपा आँसु गालाको बाटो हुँदै टेबलमा खसे । बुढाले पुछ्ने प्रयास पनि गरेनन् । एकछिन भित्तातिर हेरेर टोलाए ।

थमनसिंह काकाका कुरा सुनेको राति मलाई राम्ररी निद्रा परेन । मानिस गजबको प्राणी हो । कुनै कुरामा विश्वास लागेपछि त्यस्तो विश्वासका लागि आफैँलाई बलिदान दिने जात हो मान्छे । धर्म, देश, जात, राजनीति जे ले पनि मानिसलाई एकोहोर्‍याउन सकिन्छ ।

विज्ञान र प्रविधिको यो चकाचौँध उपलब्धि मान्छेले गरेको हो । मान्छे नै त्यसको स्रष्टा, द्रष्टा र उपभोक्ता हो । तर धेरैले आफ्ना अगाडिको दुनिया चिन्दैनन् । नदेखेको र नबुझेको कुराको भने छिटोछिटो पछि लाग्छन् । काम, क्रोध, लोभ र मोहले मानिसलाई अहिलेसम्म छोडेको छैन । वर्गहित र सामूहिक हित आफ्ना स्वार्थ मिल्दासम्मका कुरा हुन् । स्वार्थ बदलिएपछि मान्छे आफ्नै इतिहास दुत्कारेर हिँड्दो रहेछ ।

१०

क्याफेबाट निस्केपछि महेश र म प्रदेश पार्टी कार्यालयतिर गएका थियौँ । बाटोमा विशाल जुलुस नारा लगाउँदै अघि बढिरहेको भेटियो । मजदुर सङ्घर्ष समितिको नाममा ब्यानरमा लेखिएका थिए – ज्याला वृद्धिको माग, महँगी घटाउने माग, कार्यदिन घटाउनु पर्ने माग, महिला र पुरूषलाई समान कामका लागि समान ज्यालाको माग,भ्रष्टाचारीलाई कार्बाही गर्नुपर्ने माग र सुपर धनीहरूलाई धेरै ट्याक्स लगाऊ भन्ने माग । जुलुसका कारण निकैबेर सडक जाम हुने देखेर ट्याक्सीवालाले हामीलाई भित्री बाटोबाट पार्टी कार्यालय पुर्‍याएको थियो ।

प्रदेश सचिव कमरेड संस्कृतले नाक खुम्च्याउँदै भने, ‘तपाई गलत ठाउँमा पुग्नुभएछ । हुन त तपाइँ क्यानडाको मान्छेलाई यताको कुरा थाहा नहुनपनि सक्छ । बुढा आधा खुस्किसकेका छन् ।

‘अब सरहरूलाई त के लाग्छ कुन्नि तर हाम्रो देश त राजनीति गर्नेहरूले खोक्रो बनायो सर । नेता, कर्मचारी, सेना, व्यापारी मिलेर ठुलो उद्योग र व्यापार कब्जा गरेको छ । धन थुपारेको छ । बाहिरबाट हेर्दा विकास भएको देखिन्छ । भित्रभित्र मान्छेहरूको जीवन धानिनसक्नु भएको छ । गतिलो रोजगारी छैन । हाम्रो बाउपुस्ता विदेश गएर कमाएर खान्थ्यो । अहिले हामीलाई विदेशमा पनि काम पाउँदैन । यता पनि रोजगारीको समस्या छ । यस्तो जुलुस त यता निस्किराख्छ सर । तर जनताले भनेको कसले सुन्छ र ?’

उसले आफ्ना मनका कुराहरू सुनायो ।

केही दिनको पोखरा बसाइमा थाहा भएको थियो – पोखराको पर्यटन व्यवसायमा चिनियाँहरूको र उद्योग व्यापारमा भारतीयहरूको नियन्त्रण थियो । आएको पैसा घुमाइफिराइ उनीहरूकै देशमा फर्कन्थ्यो । नेपालीहरूको हातमा त्यसको केही प्रतिशतमात्र आउँथ्यो । त्यसमा पनि सीमित मानिसको नियन्त्रण थियो ।

पर्यटन व्यवसाय बढाउन भन्दै पोखराको उत्तरतिर पहाडको फेदीमा यौन व्यवसाय र गाँजा फ्री गरिएको थियो । गरिब परिवारका किशोरी र युवतीहरू यौन धन्दामा जान्थे । युवाहरू गाँजाको कुलतमा फसेका थिए ।

यता पार्टी कार्यालय भने भव्य थियो । गेटबाट प्रवेश गर्नासाथ पानीको फोहरा थियो । गाडीका लागि अलग र पार्टी एलिटहरूका स्काई ट्याक्सीका लागि अलग पार्किङ व्यवस्था गरिएको थियो । हरेक कोठा वातानुकूलित थिए ।

मैले पार्टीको प्रदेश प्रचार विभागको अध्यक्षलाई सम्पर्क गरेँ । उनैले प्रदेश सचिवसँग भेट गराउन लगे । मैले सामान्य भलाकुसारीपछि आफूलाई नेपालको राजनीतिबारे थाह नभएको र त्यसबारे जान्न चाहेको बताएँ । थमनसिंह काकासँग भिडियो वार्ता गरिरहेको बताउन पनि भुलिनँ ।

प्रदेश सचिव कमरेड संस्कृतले नाक खुम्च्याउँदै भने, ‘तपाई गलत ठाउँमा पुग्नुभएछ । हुन त तपाइँ क्यानडाको मान्छेलाई यताको कुरा थाहा नहुनपनि सक्छ । बुढा आधा खुस्किसकेका छन् । हामीलाई चिनेको नचिन्यै गर्छन् । खालि वर्गसङ्घर्षका कुरा, मजदुर किसानको हितको कुरा, समाजवादी क्रान्तिको कुरा गर्छन् । यता दुनिया कहाँ पुगिसक्यो बुढा भने पचासवर्ष बासी विचारका छन् ।

उनको समयामा नेपालमा गरिबी थियो । वर्गविभाजन चर्को थियो । शोषण थियो । त्यतिबेला वर्गसङ्घर्षका कुरा र क्रान्तिका कुरा गर्नु स्वाभाविक थियो होला । तर अहिले त हेर्नुस् त नेपालको विकास कसरी भएको छ ? अब यहाँ गरिब को छ ? शोषण कहाँ छ ? महिलाहरूमाथिको विभेद र दलितमाथि विभेद मेटिएको जुग भइसक्यो । अब ती सब बासी कुरा भए । उनीसँग भेट्नु समयको बर्बादीबाहेक केही हैन ।

बरू भोलि पञ्चासेतिर जाऊँ । पामेबाटै त्यहाँसम्म जाने केवलकार छ । म तपार्इँलाई नेपाली राजनीतिका विषयमा बताउँला । साँझ हाम्रो प्रदेश सचिवालयको बैठक नै पञ्चासे अष्टतारे होटलमा छ । मेरो उतै बसाइ हुन्छ । तपार्इँ फर्कनुहोला ।’

उनका कुराले म अलि अलमलमा परेँ र हुन्छ–हुन्नको जवाफ नदिइ फर्कें ।

११

‘आफ्ना कुरा त भन्नुभयो । मलाई मेरा हजुरबा कृष्णप्रसादको बारेमा पनि खासै थाहा छैन । तपार्इँहरू साथी हुनुहुँदो रहेछ । हजुरबाको राजनीतिक जीवनबारे केही बताइदिनुस् त । यो अफ दि रेकर्ड रहने छ । त्यसैले भन्न मनलागेका कुरा खुलेर बोले हुन्छ,’ मैले काकासँग भेट्ने बित्तिकै आग्रह गरेँ ।

हाम्रो भेटको आज अन्तिम शृङ्खला हुनेवाला थियो । मलाई अरू पनि पुराना पुस्ताका नेताहरू भेट्नु भन्ने निर्देशन थियो । त्यसैले मैले आफ्नो जिज्ञासा शान्त पार्न थमनसिंह काकालाई हजुरबाको बारेमा केही बताउन अनुरोध गरेको थिएँ ।

ठिक त्यसैबेला आकाशमा कालोनिलो बादल लाग्यो र वरपर अँध्यारो हुनथाल्यो । चट्याङ् र हावाहुरीसहित असिना पर्न थाल्यो । नोभेम्बरको यो समय पोखरा वरपरका किसानले जेठो बुढोबाट हाइब्रिड गरेर लुम्ले कृषि केन्द्रले विकास गरेको बाजेबज्यै धान थन्क्याउने बेला परेको रहेछ ।

असिनाले धेरै धान नोक्सान गरेको भनेर हाम्रो टेबलमा रहेको साइडस्क्रिनमा समाचार आइरहेको थियो । अँध्यारो नरोकिएपछि वेटरले हामीलाई तल बेसमेन्टमा रहेको कोठामा जान भने । हामी काकालाई लिफ्टबाट ओर्लन मद्दत गर्दै बेसमेन्टमा रहेको भव्य कोठामा झर्‍यौं ।

ओर्लनासाथ एउटा कालो बिरालो हाम्रो स्वागतमा उभियो । उसले एक–एकवटा कमलको फूल हामीलाई दिँदै तीन पटक आफ्नो टाउको छातीसम्म लगेर निहुरियो । म र महेश एकछिन अलमलियौँ । उसले थमनसिंह काकालाई गोडा समातेर ढोग्यो र एकछिन पुच्छर हल्लाउँदै लुटुपुटु गर्‍यो । काका उसलाई काखमा लिएर एउटा टेबलतिर अघि बढे ।

कोठामा बत्तीको हैन जूनको जस्तो उज्यालो थियो । सिलिङ जून र ताराले झलमल्ल थियो । झ्यालबाहिर समुद्रको छाल सुसाउँदै सिसामा आएर धक्का दिइरहेको थियो । डल्फिनहरू झ्यालको सिसाबाट भित्र चियाइरहेका थिए ।

विस्तारै दृश्य खुल्दै गयो । पर कुनामा रहेको डेस्कमा एउटा खैरो स्याल गजक्क बसेर पामटपमा केही लेखिरहेको थियो । ऊ यो क्याफेको म्यानेजरजस्तो लाग्थ्यो ।

एकछेउमा उभिइरहेका तीनवटा कुकुरहरू देखापरे । कालो, खैरो र रातो रङका यी कुकुरहरू पनि वेटरको ड्रेसमा थिए । हामी अलमलमा परिरहेको बेला काकाले बस्न इसारा गरे । हामी डल्फिन देखापरेको झ्यालसँगैको टेबलमा गएर बस्यौँ ।

एक प्रकारको भय र कौतूहलताले उकुसमुकुस बनाइरहेको बेला तीनवटै कुकुर आएर हामीलाई नमस्ते गरे । एकैछिनमा पानी भरिएको हीरा जडित ग्लास हाम्रो टेबलमा देखापरे । खैरो र कालो कुकुर एकछिनमा साइड लागे । काकाले मायालु पारामा रातो कुकुरको टाउको मुसारे ।

कोरीडाँडाको उचाइमा फलेको किवीको जुस मागे । आफूलाई भने कालो चिया मागे । रातो कुकुर अर्डर लिएर काउन्टरतिर गयो । म छक्क परेर हेरिरहेको थिएँ । एउटा स्वचालित रोबोटले जुसका एक–एक गिलास महेश र मेरो अगाडि राखेर गयो । अर्को रोबोट आयो र कालो चिया बुढाको हातमै राखेर गयो ।

काका हामीतिर फर्केर बोल्नथाले, ‘मलाई यहाँ आउँदा जहिले पनि यो रातो कुकुरले स्वागत गरेको मनपर्छ । मलाई कालो र खैरो कुकुर भने पटक्कै मनपर्दैनन् । दोष रङको पनि हुँदैन । कुकुरको त झन् के दोष, कालो रातो जे भएपनि । यो रातोचाहिँ मलाई माया गर्छ र म पनि यसलाई मन पराउँछु ।’

काकाको कुरा सुनिरहेको स्याल काउन्टरबाट अट्टहास गरेर हाँस्यो र काकालाई व्यङ्ग्य कस्दै भन्यो – ‘यी बुढालाई चिहानमा जाने बेलासम्म पनि क्रान्तिकै सपनाले नछोड्ने भयो ।’

परपरबाट थुप्रै स्यालहरू काउन्टरको स्याललाई पछ्याउँदै अट्टहास गरेको विरक्तलाग्दो आवाज हलभरि गुञ्जियो । काकाले मुख कुच्याएर र स्याल भएतिर धारेहात लगाए ।

कोठामा प्रकाशको रङ बदलिरहन्थ्यो । घरी मैनबत्ती बालेको जस्तो र घरी झाडफानुसको झिलिमिली जस्तो । कहिले चाहिँ रङ्गमञ्चमा नाटकका दृश्य प्रभावित गरिरहेको फ्लडलाइटजस्तो ।

अचानक एकैछिनका लागि काका चौतारोमा उभिएर ठुलो जनसमूहलाई सम्बोधन गरिरहेको जस्तो दृश्य भित्तामा देखापर्‍यो । एकदम जवान देखिएका उनले जनसमूहलाई शोषण र विभेदरहित समाज बनाउन र सबैखाले सत्ताको अन्त्यका लागि सङ्गठित हुन अपिल गरिरहेका थिए ।

उनी जोड दिएर चोर औँलो ठड्याउँदै भनिरहेका थिए – ‘म हरेक सत्ताको विपक्षमा छु । म सबैखाले पुरूष सत्ताको विपक्षमा छु । मान्छेले मान्छेलाई विभेद गर्ने जातसत्ताको विरूद्धमा छु । मानवीय श्रमको किनबेच गर्ने वर्गसत्ताको विपक्षमा छु । शक्ति सम्भ्रान्त र साधारण मानिसमा समाजलाई विभाजन गर्ने राज्यसत्ताको पनि विपक्षमा छु। मान्छेले नै बनाएको तर मान्छेलाई नै कमजोर बनाइरहेको ईश्वरको सत्ताको पनि विरूद्धमा छु ।

लरक्क परेको कालो कपाल, गठिलो ज्यान र बलिष्ठ पाखुरा भएका काका घरी आक्रोशयुक्त तमतम्याइलो अनुहार बनाउँथे, घरी दयालु र मानवीय भावनाले ओतप्रोत साधुको जस्तो अनुहार बनाउँथे ।

अचानक उक्त दृश्यमा भाषण गरिरहेका मेरा हजुरबा कृष्णप्रसाद देखापरे। लोकप्रिय सर्च इन्जिन ‘बाज’ मा खोजीगर्दा मैले हजुरबाको तस्बिर भेटेको थिएँ, जुन अहिले भाषण गरिरहेको युवासँग मिल्थ्यो ।

अलिकति उत्तेजित हुँदै मैले काकालाई प्रश्न गरिहालेँ, ‘यिनै हैनन् त मेरा हजुरबा ?’

मैले सोधेको मात्र के थिएँ, भित्तामा आइरहेको उक्त दृश्य अचानक गायब भयो । काकाको छेउमा पुच्छर हल्लाउँदै बसेको रातो कुकुर बेस्सरी भुक्यो ।

त्यसपछि कोठाको उज्यालो बिस्तारै मधुरो हुँदैगयो र जिरोवाटको बत्ती भएको कोठाजस्तो बन्यो । अब नजिकको दृश्यमात्र देखिन्थ्यो ।

काकाले आफ्नो ह्याट झिकेर टेबलमा राखे र समुद्रको सानो–सानो छालले हानिरहेको देखिने झ्यालमा एकोहोरो हेर्न थाले । महेशले ट्राइपोडमा दुईवटा भिन्न एङ्गलमा क्यामेरा अड्याएको थियो र समुद्रको दृश्यसहित कोठाको भव्यताको फुटेज लिएर काकातिर सोझ्याएको थियो। यो केवल फुटेजका लागि थियो । कुरा अफ दि रेकर्ड नै हुँदैथियो ।

कृष्णप्रसादले राम्रो सर्टपेन्टमा चाइनिज पान्डा जुत्ता लगाएको थियो । अग्लो र सुइँखुट्टे पातलो भएपनि उसको जोस लोभलाग्दो थियो ।

देखिँदै गरेको समुद्रको भव्य दृश्य हिन्द–चीन सागरमा पर्ने कुनै एउटा टापुको किनारमा रहेको मुक्त मानव क्याफेको थियो र भिआरबाट हामीलाई समुद्री किनारको क्याफेमा रहेको अनुभूति दिलाइरहेको थियो ।

समुद्रको छालले हानिरहेको सिसाका झ्यालबाट अलि ठुलो सुसाइको आवाज आइरहेको थियो । त्यता एकटकले हेर्दै काका बोल्नथाले । उनी अब बेसुरा थमनसिंह बनेका थिए या हामीलाई त्यस्तो भ्रम दिएका थिए थाह पाउन मुस्किल पथ्र्यो ।

‘अब म तिम्रो हजुरबाका विषयमा कुरा गर्छु । बुढो भएकोले के कति सम्झन्छु थाहा छैन । कुरा र समय उल्टोपाल्टो पनि हुनसक्छ ।

कृष्णप्रसाद मेरो कुनै बेलाको मिल्ने साथी थियो । एउटा कुनै मे दिवसमा हाम्रो पहिलो भेट भएको थियो । मे दिवसका अवसरमा एउटा जुलुसले महेन्द्रपुल, नयाँ बजार घुमेर पोखराको बसपार्कनिर सभा आयोजना गरेको थियो । त्यो जुलुसको अग्रभागमा नारा लगाउनेहरूमा म मजदुरका रूपमा थिएँ र कृष्णप्रसाद विद्यार्थी नेताका रूपमा सहाभागी थियो । हामी सबैको नेतृत्व भने मजदुर नेता काले नेपालले गरिरहेको थियो ।

कृष्णप्रसादले राम्रो सर्टपेन्टमा चाइनिज पान्डा जुत्ता लगाएको थियो । अग्लो र सुइँखुट्टे पातलो भएपनि उसको जोस लोभलाग्दो थियो । आमसभाको वक्तामा कृष्णप्रसाद पनि थियो । कार्यक्रम आधाउधी नहुँदै प्रहरीले हस्तक्षेप गरेको थियो । हामीले केहीबेर प्रहरीसँग पङ्गा लिएका थियौँ । पछि केही गिरफ्तार भए । गिरफ्तारीमा पर्नेमा कृष्णप्रसाद पनि थियो । तर सात दिनपछि नै ऊ रिहा भयो ।

त्यसपछि त हाम्रो नियमित भेट भइरहन्थ्यो । पछि हामी एउटै कोठामा बस्न थाल्यौँ । ऊ दिनभर विद्यार्थीसँग काम गरेर आउँथ्यो । म मजदुर फाँटमा काम गर्थें र राति बैठकहरू सकेरमात्र कोठामा फर्कन्थेँ । हामी पुस्तक आलोपालो पढ्थ्यौँ र पढेका पुस्तकबारे कुरा पनि गर्थ्यौं ।

हामीलाई गोर्कीका रचनाहरू, निकोलाई आस्त्रोव्स्कीको उपन्यास अग्निदीक्षा, चेखब, दोस्तोव्स्की, तुर्गेनेवले लोभ्याउँथे । एउटा फरक थियो । मलाई ‘आमा’ उपन्यासको पावेल, उक्राइनी र आमा मन पर्थे । उसलाई ‘अग्निदीक्षा’ को पावेल र तोन्या ।

‘आमा’ उपन्यासकी आमा पढ्दा कहिलेकाहीँ म आफ्नी आमा सम्झेर उदास हुन्थेँ र एक्लै आँसु खसाल्थेँ । आफ्नी आमालाई पनि क्रान्तिका बारेमा सिकाएको र सँगै आन्दोलनमा ल्याएको सपना धेरैपटक देखेको छु मैले ।

हाम्रा सपना उस्तै थिए – क्रान्ति सम्पन्न गर्नु । क्रान्तिपछि मलाई विश्वविद्यालयमा पढ्ने रहर थियो । ऊ नेता हुन चाहन्थ्यो । छिप्पिँदा चिसा रातमा पातलो ओढ्ने ओढेर हामी साथीहरूका कुरा काट्थ्यौँ । केहीबेर म सारङ्गी बजाउँथे या बाँसुरी फुक्थेँ । ऊ त्यतिबेला पनि पढिबस्थ्यो । यस्तो थियो हाम्रो मित्रता । उसैको प्रेरणाले म बिस्तारै क्याम्पसमा हुने विद्यार्थी गतिविधि र बौद्धिक विमर्शहरूमा सहभागी हुन थालेको थिएँ । मेरो कामको मुख्य क्षेत्र भने मजदुरका बिचमा थियो ।

ऊ विद्यार्थी नेतामात्र थिएन, पार्टीको नगर कमिटीको सचिव पनि थियो । माथिल्लो तहका नेताहरूसँग उसको सम्पर्क हुन्थ्यो । कतिपटक पार्टीको केन्द्रीय कमिटिको भूमिगत बैठकमा उसले ठुलै नेताहरूसँग कुरा गरेको देखेको थिएँ । मेरो जिम्मेवारी सुरक्षा प्रबन्धको हुन्थ्यो । व्यक्तिगत रूपमा नेताहरूसँग हाम्रो भेटघाट खासै हुँदैनथ्यो ।

पार्टी र विद्यार्थी दुवैतिरको नेता र भाषणकलामा निपुण भएकोले उसको प्रभाव समाजमा पनि बिस्तारै बढ्दै गएको थियो । यसरी अर्जित प्रभावलाई उसले विभिन्न ढङ्गले प्रयोग गर्न थाल्यो ।

मैले त धेरैपछि थाहा पाएँ उसको पारिवारिक आर्थिक अवस्था धनि किसानसरहको थियो । ऊ पेसेवर रूपमा राजनीतिमा सक्रिय हुँदा पनि आर्थिक रूपमा पार्टीमा भरपर्नु पर्दैनथ्यो ।

एकपटक ऊ नौ महिनाजति जेलमा बसेर आएको थियो । जेलमा पार्टीका वर्तमान र भाविष्यका केही नेताहरू थिए । त्यहाँबाट छुटेर आएपछि कृष्णप्रसादको स्वभावमा नजानिदो परिवर्तन आएको थियो । एकरात म निकै ढिलोगरी कोठामा आएको थिएँ । कोठाभित्रबाट लक थियो । मैले ऊ निदायो होला भनेर निकैबेर ढोका ढक्ढक्याएँ । केहीबेरपछि ढोका खोल्दा कोठामा ऊसँगै विद्यार्थी फाँटकी एकजना भरखर सक्रिय भएकी कार्यकर्ता पनि थिइन् । उनीहरूको त्यो उपस्थितिले सङ्गठनको कामभन्दा फरक केही अर्थ दिइरहेको थियो ।

‘ओ हो थमन कमरेड, ल तपाईं त ढिलो पो आउनु भयो, मेरो अर्को मिटिङमा जानु छ, अहिले हामी निस्क्यौँ ।’ यति भनेर ऊ ती महिला कार्यकर्तासँगै बाहिर निस्क्यो ।

हामीलाई पार्टीले हिन्दी सिनेमा हेर्नु त्यति राम्रो हैन भन्थ्यो । प्रेमसम्बन्ध पनि पार्टीलाई जानकारी दिएरमात्र अघि बढाउनुपर्ने ।

त्यसरात मलाई आफ्नो विस्ताराले सकसक बनाएको थियो र निद हराएको थियो ।

रातो कुकुर एकपटक हामीतिर हेरेर झस्काउने गरी भुक्यो र छिटै शान्त भयो ।

१२

‘केही महिनापछि । एकसाँझ म पार्टीका एकजना नेतालाई भेटेर नालामुख हुँदै महेन्द्रपुलतिर आउँदै थिएँ । कल्पना सिनेमाहलबाट कृष्णप्रसाद र उनै महिला हात समातेर सिनेमा हेरेर निस्किरहेका देखिए । अँध्यारोमा छेलिएर उनीहरू नालामुखतिर गएको हेरेँ र महेन्द्रपुलतिर झरेँ । मलाई तिनीहरू प्रेमसम्बन्धमा छन् भन्ने विश्वास भयो ।

हामीलाई पार्टीले हिन्दी सिनेमा हेर्नु त्यति राम्रो हैन भन्थ्यो । प्रेमसम्बन्ध पनि पार्टीलाई जानकारी दिएरमात्र अघि बढाउनुपर्ने । एकजनाभन्दा बढी महिला या पुरूषसँग सम्बन्धमा रहन हुन्न भन्नेमा निकै कडा अनुशासन थियो । यो कृष्णप्रसादको अर्को एकजना महिलासँग सम्बन्ध छ भन्ने उसैले मलाई सुनाएको थियो । तर उही समयमा अर्को प्रेममा पर्नु या परेको देखिनु सामान्य कुरा थिएन ।

ती महिला कार्यकर्ता अचानक पार्टी सम्पर्कबाट हराइन्।

केही महिनापछिको कुरा होला । एकदिन उसलाई मण्डलेले बेहोस् हुनेगरी कुटे भन्ने हल्ला आयो । हामी अस्पताल पुग्यौँ । उसको शरीरका दुईतीन ठाउँमा छुरी हानिएको रहेछ । प्रशासन हाम्रा विरुद्ध आक्रामक भएर दमनमा उत्रेको समय थियो । केही साथीहरू जेलमा थिए । यो पनि सरकारकै राजनीतिक दमन होला भन्ने निष्कर्षमा पुगेर हामीले एकदिन सहर बन्दको आह्वानसमेत गरेका थियौं । ऊ बिस्तारै सञ्चो हुँदै गयो र फेरि पार्टी काममा सक्रिय भयो ।

धेरै वर्षपछि थाहा भयो उसले प्रेम गरेकी महिला कार्यकर्ताले धोका पाएपछि सङ्गठनकै अर्को साथीलाई लगाएर कृष्णप्रसादमाथि आक्रमण गराएकी रहिछन् । आक्रमण गर्ने मान्छे आफैँ पनि कृष्णप्रसादको उपचार गर्ने र आन्दोलन गर्ने काममा हामीसँगै हिँडेको रहेछ । सङ्गठनमा यस्ता घटना बिरलै हुन्थे ।

यस्ता केही पक्ष थिए उसको व्यक्तित्वका । तर दिनदिनै कृष्णप्रसादको व्यक्तित्व पार्टीका लागि महत्वपूर्ण हुँदै गएको थियो । ऊ भाषणमा मात्र सिपालु थिएन, सङ्गठन बनाउन, योजना बनाउन पनि निपूर्ण थियो । वैचारिक रूपमा पनि अध्ययनशील थियो । सङ्गठनको सिँढी चढ्दै गएर ऊ विद्यार्थी सङ्गठनको केन्द्रीय तहमा पुग्यो ।

सन् नब्बेको आन्दोलनपछि पार्टीको सम्पूर्ण शक्ति खुला हुँदै थियो । पार्टीका नेताहरू सरकारमा गएका थिए । पार्टीले देशभर सङ्गठन विस्तारका लागि नयाँ कार्ययोजना अगाडि सारेको थियो । कृष्णप्रसादलाई पार्टीले उसको गृहजिल्लाको नेतृत्व गर्न पठायो ।

पहिलो आमनिर्वाचनमा संसदको उम्मेदवार बन्यो र पराजित भयो । तर उसले राजनीतिमा पछि फर्केर झोक्राउनु परेन ।

चुनावअघि नै उसले बिहे गरेको थियो । मलाई उसैले भेटेर बिहेमा आउन निम्तो दिएको थियो । बिहेमा पुग्दा पो थाहा भयो- उसको बिहे पहिलेका कुनै पनि प्रेमिकासँग भएको थिएन । पञ्चायतकालमा ठूलै पदमा पुगेर पेन्सनमा बसेको हाकिमकी छोरीसँग उसको बिहे भएको रहेछ ।

निर्वाचनमा पराजित भएको केही महिनामा उसले सदरमुकाममा एउटा घर किनेको मैले सुनेको थिएँ ।

एकपटक पार्टी कामकै सिलसिलामा उसको घर पुगेको थिएँ, बास बस्नेगरी । बैठक कोठाको सजावट भव्य थियो । बैठक कोठासँगै जोडिएको गोप्य भेटघाट गर्ने कोठा । घरधन्दाका लागि महिला सहयोगी । पार्टीका अध्यक्ष र महासचिवहरू उसको घरमा आएको बेला खाना खाँदै गरेको समयका तस्बिरहरू बैठक कोठामा सजाइएका । उसको घरमा प्रयोग हुने भाषा पनि बदलिएको थियो ।

मलाई उसको अचानकको त्यो उन्नति देखेर अलिकति डाह पनि लाग्यो । अलिकति चिसो पनि पसेको थियो । जसको विरूद्ध क्रान्तिको झन्डा उठायो, उसैको सेवा गर्न र नक्कल गर्न हिँडेजस्तो । यसो भनौँ कोतपर्वजस्तो एउटालाई विस्थापित गर्‍यो र उसको शक्ति अनि सम्पत्ति हत्यायो, मोज गर्‍यो ।

उसको घरको सम्पत्तिले मात्र यो सब सम्भव थिएन । उसको अरू कमाइ पनि थिएन । मेरो मनमा यस प्रश्नले च्वास्स घोचेको थियो । म उसको घरमा एक साँझ र एक बिहान बिताएर फर्केको थिएँ ।

म त्यहाँ हुँदा पार्टीमा नभएका केही व्यक्तिहरू उसलाई भेट्न आएका थिए । एकैछिन गोप्य कोठामा उसलाई भेटेर फर्किहाल्थे । पछि उसले मलाई चिनाउँथ्यो, ‘त्यो खैरो ट्रयाक सुटवाला जिल्लाको सी.डी.ओ. । ऊभन्दा पछि एउटा झोला लिएर आउने चाहिँ एस.पी. हो । साले प्रमोसन गर्न सहयोग चाहियो भन्दै आएको थियो । अलिकति मृगको मासु ल्याएको रहेछ । खाएर जानु नि । त्यो भन्दापछि आउने मालपोतको हाकिम हो । मसँग राम्रो छ । जिल्लामा सरूवा मिलाइदिनुपर्‍यो भन्न धाएको धायै छ । अनि अर्कोचाहिँलाई तिम्ले पनि चिन्नुपर्ने । हामीसँग जुलुसमा पनि हिँड्थ्यो नि पहिले, त्यो केरे रेवती भन्ने, अहिले ए क्लासको ठेकेदार भएको छ । त्यही त हो । पुलको ठेक्का मिलाउनुपर्‍यो भन्दै आएको । हेर न यस्ताहरूले समय खाएर अचेल पार्टीको काममा समेत लाग्न भ्याउँदिन भन्या । यो सत्ता भन्ने कुरो नै यस्तै रैछ । तिमी यस्तो बुझ्दैनौ र मात्रै हो ।’

उसका कुरा सुनिसक्दा मलाई भित्रैदेखि औडाह भएर आएको थियो । म कुनै प्रतिक्रिया नजनाईकनै एउटा निराशा बोकेर फर्केको थिएँ ।

ठिक यही बेला कालो र खैरो कुकुर झम्टेर काका नजिक आए र चर्को स्वरमा हप्काएझैँ भुक्न थाले । काउन्टरको स्यालसँगै नेपथ्यका स्यालहरूको चर्को अट्टहास सुनियो । झ्यालबाट डल्फिनले एकछिन चियाएर गयो । समुद्री किनारको अलिपर सार्कको परिवार घुमिरहेको थियो ।

१३

काकाले आफ्ना कुरा जारी राखे ।

‘अर्कोपटकको निर्वाचन कृष्णप्रसादले जितेको थियो । त्यससँगै ऊ पार्टीको केन्द्रीय नेतामा मनोनीत भएको थियो । एकदुई वर्षपछि काठमाडौँमा नै घर बनाएर सरेको थियो ।

त्यसको दुई वर्षजति पछि एकदिन तिम्री हजुरआमा मलाई खोज्दै आइन् । म पार्टी कार्यालयमै थिएँ । उनले म एक्लै भएको समय पारेर भनिन् – तपार्इँको साथीले अर्की केटी राखेको छ रे उतै काठमाडौँमा । सम्बन्ध विच्छेद गरौँ भन्छ । यी साना छोराछोरी कसरी हुर्काउनु ? यो उमेरमै एक्लो जीवन कसरी बिताउनु ? ल न दाइ तपार्इँले भनेको मान्छ कि सम्झाइदिनुस् एक पटक ।

कृष्णप्रसादको विगत थाहा थियो । उसको शक्ति पनि थाहा थियो । उसले चाह्यो भने आफ्नी पत्नीसँग आफूले कहिल्यै बिहे नगरेको भनेर अदालतबाटै प्रमाणित गरिदिन सक्थ्यो । मैले उनलाई गर्नसक्ने सहयोग केही थिएन, सान्त्वना दिनुबाहेक ।

केही महिनापछि उनीहरूको सम्बन्धविच्छेद भएको थाहा पाएको थिएँ । तिम्रो बाउ त्यतिबेला दश–बाह्र वर्षका हुँदा हुन् ।

बिस्तारै कृष्णप्रसादसँगको भेट औपचारिकतामा सीमित हुँदैगयो । यसो भनौँ म नै ऊसँग भेट नभए हुन्थ्यो भनेर तर्कदै गएँ । ऊ पार्टीको पदाधिकारी चुनिएको थियो । तीन पटक त मन्त्री पनि भएको थियो । भेट हुँदा उसले मलाई जहिले पनि यत्रो अवसर आउँदा पनि केही बन्दोबस्त गर्न नसकेको भनेर आक्षेपको स्वरमा हप्काइरहन्थ्यो । अव्यावहारिक, सिद्धान्तको पछि लागेको भन्दै खिस्याउने गर्थ्यो ।

अहिलेका पार्टी अध्यक्ष कमरेड जेबीको उत्थानमा कृष्णप्रसादको निकै ठुलो सहयोग रहेको मैले सुनेको थिएँ । एउटा दुर्घटनामा परेर उसको निधन भयो । त्यो पनि धेरै वर्ष त भएको छैन । ऊ असी वर्षको भएको हुँदो हो । तिम्रो बाबु क्यानडा गइसकेको थियो । आफ्नो बाबु मर्दा अन्तिम संस्कार गर्न पनि आएन भन्ने सुनेको थिएँ । सज्जन थियो तिम्रो बाउ । कृष्णप्रसादजस्तो थिएन । अब तिमीहरूको घरभित्रको कुरा मैले धेरै बोल्न पनि भएन ।

हजुरबाउलाई यसो भन्यो भनेर दुःख गाह्रो नमान है ।

समयको चक्र यसरी घुम्यो कि सब उल्टोपाल्टो हुनथाल्यो । विस्तारै म पार्टीमा, परिवारमा र समाजमा तिरस्कृतिजस्तो भएँ । हेलाँ र दयाको पात्र बन्न थालेको थिएँ । मलाई भने आफूले ठिकै गरिहेको छु भन्ने लागिरह्यो । दुनियाँले मलाई उल्लु सावित गर्न कुनै कसर बाँकी राखेन ।’

काउन्टरको स्याल फेरि अट्टहास गरेर हाँस्यो । कालो र खैरो कुकुर चर्को स्वरमा भुक्न थाले र काकालाई लक्षित गरेर गुर्राउन थाले । रातो कुकुर काकाको काखमै आएर लुट्पुटियो ।

बाहिर समुद्रमा चर्को छाल आइरहेको थियो । झ्यालका सिसा फुटाउलाझैँ गरी छालले हानिरहेको थियो । छालको चर्को सुसाइ र कोलाहल सुनिएको थियो ।

काकासँगको काम अब सकिएको थियो ।

मलाई भने कृष्णप्रसाद नामका मेरा हजुरबा, पार्टी अध्यक्ष जेबी र यी काकाका सम्बन्धहरू केलाउन र पार्टी राजनीतिको भेउ पाउन थप जटिल लागेको थियो ।

महेशले काउन्टरमै गएर हिसाब मिलाएको थियो । हामीले क्याफेको ढोकाबाहिर थमनसिंह काकालाई नमस्कार गरेर बिदा लिएका थियौँ ।

१४

चीनको अध्ययन सकेर फर्केपछि मैले नेपाल आएर क्यानडा फर्कने योजना बनाएँ ।

बेइजिङबाट छुटेको बुलेट रेल कोरला पास हुँदै पोखरासम्म आउँथ्यो । म चीनका गाउँ, सहर, हरिया र खैरा भूभाग हेर्दै दुई दिनमा पोखरा आइपुगेको थिएँ । पोखरा झर्नुअगाडि मुस्ताङको विकास देखेर चकित भएको थिएँ । तर त्यो विकास चीनका पुँजीपति र केही नेपालका राजनीतिक नेताको संयुक्त लगानीका फर्महरूका कारण देखिएको रहेछ । थाकखोलाका थकाली र उपल्लो मुस्ताङका रैथानेहरू विस्थापित भइसकेका रहेछन् ।

पोखरा आएको भोलिपल्ट बिहानै म तिब्बतो–बर्मन क्याफेमा पुगेको थिएँ । काकालाई भेटेर भरखरै उत्तर कोरीयाली वैज्ञानिकहरूले विकास गरेको एउटा यन्त्र दिन चाहन्थेँ जसले काकालाई अरू बिस वर्षका लागि विस्मृतिलोकबाट फर्काएर जीवित राख्न सक्थ्यो ।

मलाई उनका पुस्तकहरूबाट केही मागेर लान मन थियो । ती पुस्तक, जसबाट काकाको समयका युवायुवतीको आक्रोश, तिनले बगाएको रगत, आँसु, तिनको हाँसो र खुसी, पसिना र सपनाको बास्ना आइरहन्थ्यो ।

क्याफेमा उही तिब्बतियन अनुहारकी वेटर भेटिइन् । मैले उभिएरै उनीसँग काकाको बारेमा सोधेको थिएँ ।

उनले अनुहार अलि मलिनो र अँध्यारो बनाएर भनेकी थिइन्, ‘थमन बाजे त बेपत्ता हुनुभयो नि सर !’

‘किन, के भयो र ?’ झसङ्ग भएर मैले सोधेको थिएँ ।

तुँवालोले ढाकेको आकाशतिर हेर्दै उनले जवाफ दिएकी थिइन्, ‘एकदिन यही क्याफेमा आएर चिया मगाउनुभयो । चिया लिएर आउँदा बाजे हुनुहुन्नथ्यो । बाजेको ह्याट भने यहीँ थियो । ह्याट छाडेर निस्कनु भएछ ।

उहाँका नाति र उहाँलाई मनपराउने केही रातापैह्राका सकुम्बासीहरू मिलेर सारा पोखराभरि खोजे तर भेटिनु भएन । सेतीको खोंच, फेवा ताल, रामघाट, पाताले छाँगो र त्यसका ओढार सबै खोज्दा पनि उहाँको सास–लास केही भेटिएन ।

उहाँका छोराछोरी पनि आउनुभएको थियो । सबै निराश भएर फर्कनु भयो ।

थाहै नपाई मेरा आँखाबाट आँसु खसेछन् ।

१५

साँच्चै थमनसिंह काका कहाँ गए होलान् ?

बेसुरमा क्रान्तिको गीत गाउँदै र नारा लगाउँदै धेरै टाढा पो पुगे कि ?

०००

मे १, २०२४

अमरावती, काठमाडौँ

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?