
१७ असोज, काभ्रेपलाञ्चोक। जल तथा मौसम विज्ञान विभागले यहि २०८२ असोज १७ देखी २० गते सम्म सिन्धुपाल्चोक सहित नेपालको धेरै भूभागमा भारी देखी अति भारीसम्म बर्षा हुन सक्ने भनी मौसम बुलेटिन प्रकाशित गरेको हुँदा उक्त अवधिमा स्थानीय प्रशासनले रातको समय सवारी चलाउन रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाढी, पहिरो, डुवान, चट्याङ लगायतको उच्च जोखिम भएकोले पूर्वतयारी तथा प्रतिकार्यको लागि असोज १७ गते बाट २० गतेसम्म अरनिको राजमार्गलगायत जिल्ला भित्रका सबै मूख्य र सहायक राजमार्ग हरुमा रातको ७:०० बजेबाट विहान ५:०० वजे सम्म सबै प्रकारका सवारी (दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक वाहेक) साधन संचालनमा रोक लगाउने निर्णय भएको हो ।
उक्त अवधिभर बर्षाको मात्रा, क्षति र अन्य जोखीमको अवस्था विश्लेशण गरी सुरक्षा निकायले अन्य समयमा पनि राजमार्ग आकस्मिक बन्द गर्न सक्ने जनाएको छ ।
बैठकले नदी किनारा र अत्यन्त जोखीम युक्त स्थानमा बसोबास गर्ने व्यक्तिहरुलाई सुरक्षित स्थानमा अस्थायी रुपमा सार्ने व्यवस्थाको लागि नजिकको सुरक्षा युनिटहरुले स्थानीय तह र अन्य सरोकारवालाहरु सँग समन्वय गर्न निर्देशन दिएको छ ।
बैठकले नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय सिन्धुपाल्चोकले आफ्ना सबै शाखा, उपशाखा र सदस्य/स्वयमसेवकहरुलाई पूर्णरुपमा परिचालन गर्ने गराउने, साथै कुनै घटना घट्नासाथ तत्काल उद्धार राहतको लागी तयारी अवस्थामा रहने, उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले आफ्ना सबै सदस्य, संघ सस्था र इकाईहरुलाई पूर्णरुपमा परिचालन गराउने, तत्काल उद्धार राहतको लागी अत्यावश्यक राहत सामग्री जुटाउन आवश्यक समन्वय गर्ने, चौतारा अस्पतालले मौसम जन्य विपदबाट कुनै घटना घट्न पुगेमा तत्काल उद्धार र स्वास्थ्य उपचारको लागि आफ्ना सबै मानवीय र अन्य स्रोत साधन तयारी हालतमा राख्ने, जिल्लाभित्र मानवीय सेवामा क्रियाशिल सबै संघ संस्थाहरुलाई मौसमजन्य विपद पूर्वतयारी तथा प्रतिकार्यमा उपलब्ध स्रोत साधनको शिघ्र र एकद्वार मार्फत परिचालन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने, राजमार्ग र सहायक मार्गहरु अवरुद्ध हुनपुगेमा नजिकका सुरक्षा इकाइहरुले सडक डिभिजन, पूर्वाधार कार्यालय स्थानीय तहहरु र निजी क्षेत्रसँग उपलब्ध हेभी इक्वीपमेन्टहरु तत्काल परिचालन गरी सडक सुचारु हुने व्यवस्था मिलाउने निर्णय गरेको सशस्त्र प्रहरी सिन्धुपालचोकका प्रमुख प्रहरी उपरीक्षक अच्युत मजगैयाले जानकारी दिए ।
बैठकले जिल्लामा उपलब्ध दमकल, एम्बुलेन्स र हेभी इक्वीपमेन्टहरुलाई चालकसहित २४ सै घण्टा तयारी अवस्थामा राखे व्यवस्थाका लागि सबैसँग समन्वय गर्ने।
विपतजन्य घटनाको पूर्वतयारी तथा प्रतिकार्यमा स्थानीय तहहरुको सबैभन्दा महत्वपूर्ण भूमिका रहने हुँदा मौसम बुलेटिन र जोखिम सम्बन्धी सूचनाहरुको प्रभावकारी संचार, स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र (LEOC) को पुर्ण परिचालन, नजिकको सुरक्षा युनिटहरुसँग समन्वय, स्थानीय स्वयमसेवकहरु परिचालन र तत्काल उद्धार र राहतका लागी स्रोत साधन सहित पूर्णरुपमा क्रियाशील हुन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया 4