
१७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनका चालकहरुलाई ट्राफिक प्रहरीले सुरक्षालाई प्राथमिकता दिएर यात्रा गर्न अनुरोध गरेको छ । काठमाडौंको प्रमुख नाका नागढुंगामा प्रहरीले माइकिङ गर्दै अत्यधिक वर्षाको प्रक्षेपण भएकाले यात्रामा सावधानी अपनाउन भनेको हो ।
वर्षा र बाढी पहिरोका कारण यात्रामा जोखिम हुने भएकाले सुरक्षालाई ख्याल गर्न कुनै खतरा महसुस भए नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको हटलाइन सम्पर्क नम्बर १०० मा फोन गर्न ट्राफिक प्रहरीले भनेको छ ।
प्रहरीले चालक र सहचालकको मोबाइल नम्बर समेत संकलन गरेको छ । विपद परेका बेला यात्रुहरु सुरक्षित छन् कि छैनन् भनेर जानकारी लिन पनि मोबाइल नम्बर नोट गरेको नागढुंगा प्रहरीले जनाएको छ ।
प्रहरीले लामो दुरीका सवारी साधनलाई दुई चालक अनिवार्य रुपमा राख्न, लेन अनुशासन पालना गरेर मात्रै यात्रा गर्न प्रहरीले भनेको छ ।
आज बेलुका नागढुंगा हुँदै एक सय सवारी साधनमा ४ हजार २५७ यात्रुहरु बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ । ती सबै सवारी चालक तथा यात्रुहरुलाई सम्भावित जोखिम तथा सुरक्षित यात्राका लागि सुसूचित गराइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ती सबै सवारी साधनको प्रवेश दर्ता गरी चालकको नाम र सम्पर्क नम्बरसमेत राखिएको हो ।
प्रतिक्रिया 4