+
+
Shares

सिरहामा प्रहरीकै अगाडि ५ दलित समुदायको घर भत्काएर लुटपाट

घर तोड्न आउन लागेको सुँइको पाएर दलित समुदायले प्रहरी गुहारेका थिए । प्रहरी चौकी कल्याणपुरका ४ जना प्रहरी टोली उपस्थित थिए । उनीहरूको डरले प्रहरी मुकदर्शक बनेको पीडितहरूको आरोप छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज १८ गते २१:४८

१८ असोज, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका– ८ अरङ गाउँका पाँच दलित परिवारको घर प्रहरीकै अगाडि भत्काएर लुटपाट भएको छ । अरङको ठुलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको हो ।

स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको हो । पीडित राजकुमार पासवानका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयतले घरतोडफोड तथा लुटपाट गरेका हुन् ।

‘राजकुमार र प्रभाष सिंहले आफन्तसहित बाहिरबाट २०/२५ जनाको गुण्डा बोलाएर हाम्रो घर भत्काइदियो, लुटपाट गरे । घरमा रहेका अन्नपात फालिदिए,’ पीडित राजकुमारले भने ।

घर तोड्न आउन लागेको सुँइको पाएर दलित समुदायले प्रहरी गुहारेका थिए । प्रहरी चौकी कल्याणपुरका ४ जना प्रहरी टोली उपस्थित थिए । उनीहरूको डरले प्रहरी मुकदर्शक बनेको पीडितहरूको आरोप छ ।

राजकुमारका अनुसार, सुन चाँदी गरगहना लुटेर लगेका छन् भने वस्तीमा रहेको खानेपानीको दुईवटा हाते कल भाँचेका छन् । आँगनमा रहेको केरा, कागती, आँपका बिरुवा भाँचेका छन् ।

गत असोज १ गते अरङ् बजारमा विश्वकर्मा मेलामा आरकेस्ट्रा स्थलमा विवादको थियो । राजकुमारका अनुसार आफूलाई प्रभाषले मादक पदार्थ सेवान गरि कुटपिटको प्रयास गर्दा विवाद भएको थियो । त्यसपछि दलित समुदाय प्रहरी चौकी कल्याणपुरमा शान्ति सुरक्षा र उनीहरूमाथि कारबाहीको माग गर्दै निवेदन दिएका थिए ।पछि प्रभाष पक्षले पनि निवेदन दिए ।

असोज १२ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा छलफल राखिएको थियो । त्यस दिन छलफलमा दलितहरुलाई जानबाट तर्साउन  प्रभाष तरवार लिएर टोलमा घुम्दै जानेलाई र लैजाने रिक्सा वा मोटरसाइकलबालालाई समेत नछाड्ने धम्की दिएका थिए । उनी यसअघि पनि अपराधीक क्रियाकलापमा संलग्न रहेको स्थानीयको भनाइ छ ।

यद्यपि दलित समुदायको पक्षबाट थोरै मान्छेहरू सहभागी भएका थिए । त्यस दिन छलफल हुन सकेन आगामी असोज २१ गतेको लागि छलफल सारिएको थियो । दलित समुदायले प्रहरीमा दिएको निवेदनलाई लिएर राजपूतहरू रुष्ट थिए ।

शुक्रबार राजपूतहरू गाउँमै बैठक गरेर दलितहरुलाई उठिबास गराइदिने छलफल गरेका थिए । त्यहाँबाट आएर उनीहरूले दलितहरूको घरमा तोडफोड सुरु गरेका थिए ।

थोरै प्रहरी पुगेको कारण उनीहरू मुखदर्शक बने । पछि इलाका प्रहरी कार्यालय मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए । सिराहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार घटनाका बेला उपस्थित प्रहरीहरूले तोडफोड नगर्न चेतावनी दिएका थिए ।

‘तपाईँहरू यसरी तोडफोड नगर्नुस् भनेर रोक्ने प्रयास गरे । नभए गोली चलाउँछौं  भनेर चेतावनी पनि प्रहरीले दिएका थिए,’ शर्माले भने ।

घटनापछि संलग्नहरू फरार छन् । जसमध्ये एक जनालाई प्रहरीले हिजो साँझ नै पक्राउ गरिसकेको एसपी शर्माले बताए । अरङ पोखरीको तीनतिर डिलमा लदलितसहित विभिन्न समुदायको बास रहेको छ । दलित समुदाय सुकुम्बासी हुन् ।

घर भत्काएपछि र अन्नपात लुटेपछि पाँच दलित परिवार विस्थापित भएका छन् । आज सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त हधिकारी, प्रहरी उपरीक्षक अनन्तराम शर्मासहितको टोलि पुगेर घटनास्थलको निरीक्षण गरेको छ । तत्कालका लागि पीडितहरूलाई त्रिपाल उपलब्ध गराइएको र नगरपालिकाबाट खाद्यान्नको व्यवस्था गर्न आग्रह गरिएको एसपी शर्माले बताए ।

एसपी शर्माका अनुसार आज निरीक्षण गर्न गएको बेला प्रभासको घर ताल्चा फुटाएर खानतलासी गरिएको छ । तर उनीहरु फरार छन् । दलित समुदायको घर भत्काउने सबैको खोजी कार्य जारी रहेको र पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउने एसपी शर्माले बताए ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?