+
+
Shares

जेनजीले मागे अख्तियार प्रमुख राईको राजीनामा, ठूला भ्रष्टाचारमा जोडिएको आरोप

राजीनामा नगरे अख्तियार घेराउ गर्ने चेतावनी

आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते १६:४६

२० असोज, काठमाडौं । विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।

जेनजी आन्दोलन भ्रष्ट्रचारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको हो ।

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ ।

जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ ।

अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी उल्लेख भएपछि उनीहरूको राजीनामा माग झनै बलियो बनेको समूहको तर्क छ ।

विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू पनि समेटिएका छन् । तीमध्ये नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिने माग गरिएको छ ।

थप पढ्नुहोस्– प्रेम राईलाई अख्तियारमा भित्र्याउन डेढ अर्ब घोटालाको फाइल सधैंका लागि बन्द

समूहले भनेको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अत: तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुन:स्थापना गर्ने बाटो हो ।’

विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ ।

‘नयाँ नियुक्तिहरू पहुँचवालाको बन्द सूचीबाट होइन, सबै योग्य र सक्षम नागरिकको खुला प्रतिस्पर्धाबाट हुनुपर्छ,’ विज्ञपतिमा भनिएको छ ।

जेनजी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।

यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ ।

‘यसबाहेक प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई पनि ईमेल गरेका छौँ । यदि उहाँ आफैँले मार्गप्रशस्त नगरे अख्तियार कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन थाल्ने तयारी पनि हाम्रो छ,’ यसमा अगुवामध्येका एक अमित खनालले अनलाइनखबरलाई बताए ।

जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह रहेका छन् ।

राईलाई गरिएको मेल :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?