
२० असोज, काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशभर एकै चरणमा सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
निर्वाचनको तयारी र त्यसका चुनौतीबारे आन्तरिक रुपमा अध्ययन गरेको आयोगले दुई चरणमा निर्वाचन गर्नुपर्ने अवस्था भए कयौं जटिलताहरु थपिने भन्दै एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने निष्कर्ष सहितको ब्रिफिङ नोट तयार गरेको हो ।
आयोग स्रोतका अनुसार, १३ बुँदामा तयार पारिएको ब्रिफिङ नोटमा दुई चरणमा निर्वाचन गर्दा कयौं जटिलता र समस्या आउने भन्दै एकै चरणमा नै निर्वाचन गर्नुपर्ने सुझाव पेश भएको हो ।
आयोग सचिवालय स्रोतले भन्यो, ‘विगतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समेत एकै चरणमा सम्पन्न भएको थियो । योपटक प्रतिनिधिसभा मात्रै भएकाले एकै चरणमा नै निर्वाचन गर्नुपर्ने र अरु अलमलमा लाग्न नहुने सुझाव आएको हो ।’
दुई चरणका जटिलता के-के हुन् ?
आयोगले तयार पारेको ब्रिफिङ अनुसार, निर्धारित समयमा निर्वाचन हुनेमै शंका बढ्नसक्ने भएकाले दुई चरणको छलफल र बहस नै अघि बढाउन हुँदैन भन्ने उक्त नोटमा उल्लेख छ ।
दुई चरणमा निर्वाचन गर्दा मतदान हुने ठाँउमा अन्य क्षेत्रका मतदाता आई बुथ क्याप्चर गर्ने र सुरक्षा चुनौती बढ्ने जोखिम हुनसक्छ ।
फरक–फरक निर्वाचन तालिकाका कारण कुनै ठाँउमा प्रचार प्रसारमा कम अवधि र कुनैमा बढी अवधि पाएर मतदातामा असमान व्यवहार हुने भएकाले एकै चरणको सुझाव आएको हो ।
निर्वाचनका कर्मचारीहरुलाई दुई पटकको तालिमको झन्झट हुने, अलग-अलग निर्वाचन प्रचार प्रसारको समय हुँदा दलहरुको निर्वाचन खर्च बढ्नसक्ने भनी विश्लेषण भएको छ ।
‘दुवै चरणको मतदान सकिएपछि मात्रै मतगणना हुने भएकाले निर्वाचनको अन्तिम परिणाममा ढिलाई हुने र त्यसमा कतिपयले शंका गर्ने ठाँउ रहने भयो, विगतमा पनि यस्तो बेलामा विश्वसनीयताको प्रश्न थियो’ ब्रिफिङ नोट उदृत गर्दै आयोग स्रोतले भन्यो, ‘पहिलो निर्वाचनपछि कतिपय अवस्थाले दोस्रो चरणको निर्वाचनमा प्रतिकूल प्रभाव पर्ने भएकाले एकै चरणको निर्वाचनको सुझाव पेश भएको हो ।’
निर्वाचन सम्बन्धी उजुरी र कानुनी कारबाही तथा म्याद र हदम्यादको समस्या हुने, पहिलो चरणको निर्वाचनपछि दोस्रोमा सामाजिक सञ्जालको चरम दुरुपयोग हुनसक्ने अनि पहिलो चरणको मतपेटिका सुरक्षामा गम्भीर चुनौती आउनसक्ने भनी विश्लेषण भएको हो ।
आयोगसम्बद्ध स्रोतले भन्यो, ‘आयोग एकै चरणमा निर्वाचन गराउन तयार छ, तर पनि त्यसका विभिन्न पक्षहरु केलाएर छलफल गर्ने क्रममा दुई चरणका बेफाइदाबारे ब्रिफिङ नोट तयार भएको हो । आयोगका पदाधिकारीहरुको बैठकमा पनि यसवारेमा छलफल र समीक्षा हुनेछ ।’
दुई चरणमा निर्वाचन गर्दा सुरक्षा चुनौती थपिने र निर्वाचन खर्चमा वृद्धि, सामाजिक चुनौती बढ्ने, तह-तहको समन्वयमा थप जटिलता आउनसक्ने अनि निर्वाचन व्यवस्थापन र पर्यवेक्षणमा समस्या हुने र खर्च पनि बढ्नसक्ने भन्दै ब्रिफिङ नोटमा एकै चरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने सुझाव छ ।
प्रतिक्रिया 4