
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको इतिहासदेखि आजसम्म काटमार र सत्ता संघर्षले राजधानीको सुरक्षा र शान्ति कायम हुन सकेको छैन।
- जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च र संसद् भवन जलेर देशको प्रमुख अंगहरू क्षतिग्रस्त भएका छन्।
- शक्तिसंघर्ष र राजनीतिक द्वन्द्वले काठमाडौंमा शान्ति र समृद्धि नआएको विषयमा गम्भीर प्रश्नहरू उठेका छन्।
देशसँगै
जलेको छ मन
ढलेको छ स्वाभिमान
किन पटक-पटक देश जल्छ
किन पटक-पटक स्वाभिमान ढल्छ।
कतै अँध्यारोमा उज्यालो
कतै उज्यालोमा अँध्यारो
किन ?
पटक-पटक प्रश्न उठ्छन्
किन उत्तर भेटिंदैनन्
आक्षेप अनेक छन्
किन समाधान भेटिंदैनन्।
काठमाडौंको खबरसँग बेखबर छु, कसरी भनौं। जेन–जी आन्दोलनमा के भयो के भएन? भन्नै परेन। घरदेश जलेको देख्दा परदेशमा मन झन् जल्दो रहेछ। पीडाले इन्तु न चिन्तु बनाएको छ। आँसु रोकिएका छैनन्। जति गर्दा पनि मन पोल्न छाड्दैन। मारिएका कलिला बालबालिका अनुहार आँखामा नाचिरहन्छन्। युट्युब र सोसल मिडियामा जल्दै गरेको सिंहदरबार, सर्वोच्च र संसद् देख्दा रिंगटा चल्छ। सोसल मिडिया र युट्युब हेर्न पटक्कै मन लाग्दैन।
काठमाडौंको छातीमा किन सधैं काटमार मात्र हुन्छ ? के काठमाडौं काटमारमा रमाउँछ? प्रश्न अनगिन्ती छन्। तर उत्तर कही छैनन्। इतिहासदेखि वर्तमानसम्म कति काटमार भए? त्यसको हिसाबकिताब होला कि नहोला। फेरि त्यही हिसाबकिताब होला भनेर सिंहदरबार र सर्वोच्च खरानी बनाइएको होला।
पृथ्वीनारायण शाहको मृत्युपछि काठमाडौंको छातीमा शुरु भएको काटमारको शृङ्खला आजसम्म रोकिएको छैन। प्रतापसिंहको मृत्युपछि रानी राजेन्द्रलक्ष्मी र बहादुर शाहको शक्तिसंघर्ष हुन्छ। त्यही शक्तिसंघर्षपछि शुरु भएको काटमारको लामो शृङ्खलामा मारिएका भाइभारदार र सेनाको खुनले काठमाडौंको माटो रंगिएको छ। पाँडे, थापा र बस्नेत जस्ता शक्तिशाली भारदारहरू बीचको शक्ति–संघर्षमा कसले कसलाई कतिखेर काट्छ, मार्छ। को कतिखेर जेल जान्छ। कसैले भन्न सक्दैनथ्यो। जसरी जेनजी आन्दोलनका कसैले भन्न सकेन।
काजी कीर्तिमान बस्नेत मारिएपछि दरबारको आडमा पाँडे, थापा र बस्नेत बीचको शक्तिसंघर्षले चरम रूप लिन्छ। उनीहरू बीच एकआपसमा काटामार हुन्छ। पाँडे शक्तिमा आउँदा थापालाई सह्य हुँदैन। थापा शक्तिमा आउँदा पाँडेलाई हुँदैन। त्यही क्रममा दामोदर पाँडे काजी बनेर शक्तिमा आए। थापालाई सह्य भएन।
बनारसमा पलायन भएका राजा रणबहादुरलाई काठमाडौं फिरेर सत्ता हातमा लिन भीमसेन थापाले उकासे। दलबल सहित काठमाडौं खाल्डो फिरेका राजा रणबहादुरलाई कैद गर्न थानकोट पुगेका दामोदर पाँडे त्यहीं काटिन्छन्। फेरि भीमसेन थापा शक्तिमा आउँछन्। देशको नक्शा ठूलो बनाउने अभियानमा लाग्दा उनकै पालामा अंग्रेजसँगको सुगौली सन्धिले देश काटिएर नक्शा सानो भयो।
शक्तिविहीन भएर कमजोर भएका पाँडे र बस्नेतहरूलाई शक्ति संचय गर्न समय लागे पनि पुनः उनीहरू शक्तिमा फर्कन्छन्। रणजंग पाँडे मुख्तियार बनेपछि भीमसेन थापा जेल पुग्छन्। जेलमा आफैंले आफ्नो घाँटी रेटेर मर्छन्।
काटमारको शृङ्खला रोकिंदैन। फेरि भीमसेन थापाका छोरा माथवरसिंह शक्तिमा आउँछन्। त्यो शृङ्खलामा गगनसिंह र जङ्गबहादुरबाट माथवरसिंहको हत्या हुन्छ। फेरि गगनसिंहको हत्या भएपछि हत्यारा पत्ता लगाउने नाममा कोत पर्व हुन्छ। कोत पर्वमा जंगबहादुरले थापा, पाँडे, बस्नेत र शाह लगायत सबै भाइभारदारलाई एकै चिहान बनाउँछन्।
भीमसेन थापासँग सुगौली सन्धि गरेर नेपालको ठूलो हिस्सा लिइसकेका अंग्रेज पनि काटमारको शृङ्खलाबाट वाक्कदिक्क भएका थिए होलान्। त्यसैले अंग्रेजको समर्थनमा जंगबहादुरले कोत पर्व गरे भन्ने भनाइ इतिहासकारको छ।
पृथ्वीनारायण शाहदेखि जंगबहादुर राणाको उदयसम्मको त्रिहत्तर वर्षको काटमारको अवधिमा कति डर, त्रास र भय थियो होला ? कति इमान्दार र क्षमतावान् योद्धा अकालमा कालको मुखमा पुगे होलान् ? कति क्षमतावान् र होनहार सपुत मारिए होलान् ? कालिगडहरू मरे मारिए होलान्। ती कालिगड त्यतिखेरका प्राविधिज्ञ हुन्, आविष्कारक हुन्। त्यही समयमा युरोपका कालिगडहरू नयाँ परीक्षण र आविष्कार गरिरहेका थिए।
श्री ३ जंगबहादुरका पालापछि पनि राणाहरू बीच काटमार हुने क्रम रोकिएन। रणोदीपलाई मारेर धीरशमशेरका सन्तान वीरशमशेरले सत्ता कब्जा गरेर श्री ३ बने। जंगबहादुरका सन्तान सखाप पारिए। जस्तो बीउ रोप्यो उस्तै फल फल्छ। विष रोपेर अमृत फल्ने दुनियाँ कहाँ होला र !
चन्द्रशमशेरले देवशमशेरलाई लखेटेर शक्तिशाली श्री ३ बन्छन्। उनीहरू बीच पनि षड्यन्त्र भइरहन्छ। श्री ३ हुने पालो एउटाको हुन्छ, अर्कैले पालो खोसिदिन्छ। त्यो क्रम सात सालसम्म चलिरहन्छ।
सातसालमा राणाशासन अन्त्य भयो। तर काठमाडौंमा काटमार रोकिएन। बीपीलाई मार्न गोरखादल उनकै निवासमा पुग्छ। फेरि सत्र सालमा पञ्चायत आउँछ। तर पञ्चहरूका पनि गुट उपगुट बन्छन्। पञ्चले देशलाई बिसन्चो बनाए भनेर सत्चालीस सालमा बहुदल आउँछ। पार्टीहरू मारामार गर्छन्। एउटै पार्टी भित्र गुट–उपगुट हुन्छन्।
मदन भण्डारी मारिन्छन्। राजा वीरेन्द्र र उनका सबै सन्तान त्यत्रो कडा सुरक्षा भएको उनकै दरबारमा मारिन्छन्। न त मदन भण्डारीको हत्यारा पत्ता लाग्छ, न राजा वीरन्द्रको नै।
लौ राजतन्त्रले देशको भलो भएन भनेर गणतन्त्र आयो। सत्र हजारको रगतको मूल्यमा आएको गणतन्त्रले धेरै देख्न र जीवन भोग्न बाँकी रहेका सत्तरी भन्दा बढी जेनजीको ज्यान खायो। ज्यान जाने उनीहरूको एउटै अपराध थियो– सुशासनको माग।
जेनजीको आन्दोलन मात्र होइन, सात सालदेखिका हरेक आन्दोलनमा नयाँ–नयाँ नारा घन्किन्छन्। नारा घन्काउनेका नाइकेहरू रातारात देउता बन्छन्। उनको भजनकीर्तन हुन्छ। फेरि ती देउताहरू एकाएक राक्षस बन्छन्, बनाइन्छन्।
काठमाडौंले कतिखेर कसलाई राम बनाउँछ। उही रामलाई कतिखेर रावण बनाइदिन्छ। सपुतलाई कपुत भनेर मार्छ। कपुतलाई सपुत भनेर विभूति बनाउँछ। यो क्रम नेपालको एकीकरणदेखि आजसम्म चलिरहेको छ।
काठमाडौंको माटोमा के छ ? काठमाडौंको पानीमा के छ ? काठमाडौंको हावामा के छ ? जेलाई अमृत भन्यो, त्यो विष बन्छ। स्वाभिमानी भन्यो, अभिमानी बन्छ। इमानी भन्यो बेइमानी बन्छ। राष्ट्रवादी राष्ट्रघाती हुन्छ। काठमाडौंमा के छ त्यस्तो ? जो पनि त्यो दुश्चक्रमा फस्छ।
काठमाडौं प्रयोगशाला हो। दुनियाँका थरीथरी परीक्षण हुन्छन्। पटक–पटक हुन्छन्। नयाँ नयाँ रिपोट बन्छन्। सात सालमा बन्यो, तर त्यो रिपोर्टले काम गरेन। सत्र सालमा बन्यो, त्यसले पनि काम गरेन। सत्चालीस सालको रिपोर्ट गलत भयो भनेर फेरि त्रिसठ्ठीदेखि बहत्तर सालसम्मको लामो रस्साकसी पछि अर्को रिपोर्ट बन्यो, त्यो पनि गलत भयो भनेर फेरि नयाँ रिपोर्टको माग भइरहेछ।
रिपोर्ट बन्दा हरेक पटक संसारको उत्कृष्ट भनेर आरती गाइन्छ। अनि तिनै आरती गाउनेहरू फेरि काटमार गर्छन् र नयाँ रिपोर्टको माग गर्छन्। किन ?
जसरी इतिहासमा पाँडे, थापा र बस्नेत बीच त्रिपक्षीय सत्ता–संघर्ष हुन्थ्यो, त्यसरी नै सत्चालीस सालदेखि कुनै न कुनै रूपमा सत्ताको भोगविलास गर्दै आएका कांग्रेस, एमाले र माओवादी बीच त्रिपक्षीय सत्ता–संघर्ष भइरह्यो। सुशासनको मागमा भएको जेनजी आन्दोलनमा काठमाडौंले देशको राष्ट्रपति भवन जोगाउन सकेन। कार्यकारी शक्ति भएको सिंहदरबार जोगाउन सकेन। सर्वोच्च न्यायालय जोगाउन सकेन। संसद् भवन जोगाउन सकेन। एकदिनमै खरानी भयो। आखिर देश भनेको नै यही त हो ?
दुई सय वर्षभन्दा लामो इतिहास भएको देशको राजधानी काठमाडौंले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जस्ता राज्यका प्रमुख अंग जोगाउन सक्दैन। त्यसले देश र जनता जोगाउँला ? पूरै देश खरानी हुनबाट जोगाउन नसके पनि राज्यका प्रमुख अंग जोगाउन नसक्ने कस्तो सुरक्षा निकाय? कस्तो सेना? प्रश्न अनगिन्ती छन्।
हरेक मान्छेको मस्तिष्कको संरचना उस्तै हुन्छ भनेर अध्ययनहरूले भनेका छन्। अनुभव, पर्यावरण, आमाबुबा वा पुर्खाको गुण, स्वभाव र व्यक्तिको स्वास्थ्यले सोच, व्यबहार र क्षमतामा भिन्नता ल्याउँछ भन्ने अध्ययनहरूको निष्कर्ष छ। सामाजिक अन्तरक्रिया, शिक्षा र सांस्कृतिक प्रभावहरूले पनि मस्तिष्कको संरचना र कार्यमा परिवर्तन ल्याउने तथ्य अध्ययनले देखाएको छ। सकारात्मक वातावरणले मान्छेमा सकारात्मक सोच, दया, माया, करुणा र आत्मविश्वास दिन्छ। तर नकारात्मक वातारवरणले डर, त्रास, आक्रोश, हिंसा, तनाव र असुरक्षा पैदा गर्छ।
एक अध्ययनले मान्छेको मस्तिष्क केवल बच्चामा मात्र होइन, जीवनभर बदलिन्छ भनेको छ। अभ्यास र अनुभवले नयाँ न्युरल कनेक्शन बनाउन सक्छ र पुरानो मस्तिष्क पनि बदलिन सक्छ। ध्यान, संगीत, कला, भाषा सिकाइ र खेलकुदले मस्तिष्कको क्षमता बढाउँछ। सकारात्मक वातावरणले न्युरोन बलियो बनाउँछ। तर हिंसा, डर र उपेक्षाले न्युरोन कमजोर बनाउँछ, जसले गर्दा आक्रोश र नकारात्मक सोच पैदा गराउँछ। अध्ययनको निष्कर्ष छ।
बुद्धको देश भनेर काठमाडौं कहिल्यै थाक्दैन। जुन देशमा अशान्ति छ, हिंसा छ, काटमार छ। त्यो कसरी बुद्धको देश हुन सक्छ ? बुद्ध जन्मँदैमा त्यो बुद्धको देश हुन सक्छ ? सक्दैन। बुद्धको देश हुन शान्ति हुनुपर्दछ। करुणा हुनुपर्छ। क्षमा हुनुपर्छ। मूलतः अनुयायी हुनुपर्छ। जुन देशमा बुद्ध दर्शन पढाइँदैन। बुद्धका आदर्श पालन गरिंदैन, त्यो देशमा बुद्धका अनुयायी खोज्नु हँसिमजाक हो। बुद्धको अपमान हो। त्यो अपमान काठमाडौं सधैं गरिरहन्छ।
काठमाडौं आफ्नै भूमिमा जन्मिएका बुद्ध पढाउँदैन। विदेशमा जन्मिएका माओ, मार्क्स, लेनिन र लिंकन पढाउँछ। फेरि उही विदेशी हस्तक्षेपको नारा लगाउँछ। तर ऊ आफैं विदेशीको बुई चढ्छ।
माओ, लेनिन र लिंकन जनताका नेता थिए। उनीहरूमा आदर्श थियो, त्याग थियो। तर काठमाडौं त्यो सिकाउँदैन। काठमाडौंमा जनताका नेता होइन, नवाव छन्। कतै कथा पढेको थिएँ– नवावको दरबारमा शत्रुले आक्रमण गरेछ। नवाव जुत्ता लगाइदिने मान्छेको पर्खाइमा बस्छ। भाग्दैन। अनि त्यहीं मारिन्छ।
काठमाडौंले कुरा सिकाउँछ। काम सिकाउँदैन। कुराले चिउरा भिज्दैन। चिउरा भिजाउन दही नै चाहिन्छ। दहीको लागि दूध चाहिन्छ। दूधको लागि गाई पाल्नुपर्छ। गाई पाल्न त काम गर्नुपर्छ। खेतबारी जानुपर्छ। घाँस काट्नुपर्छ। अल्छे तिघ्रो स्वादे जिब्रो भएर कहाँबाट दूध पाइन्छ? दूध पानी झैं त्यसै आकाशबाट बर्सिंदैन।
झन् आधुनिक काठमाडौंले धर्तीमा सपना देखाउँदैन। आकाशमा देखाउँछ। तर आकाशमा जति उडे पनि फेरि बास बस्न त धर्तीमै फिर्नुपर्छ, काठमाडौंले त्यो सिकाउँदैन। आकाशको जतिसुकै माथि पुगे पनि आखिर चराले आफ्नै गुँडमा फिर्नुपर्छ। गुँड राम्रो भएन भनेर आकाशमै बस्न मिल्दैन।
आधुनिक काठमाडौं आकाशमा उड्न भन्छ, तर उडेपछि धर्तीमा कसरी फिर्ने ? त्यो सिकाउँदैन। उडेर धर्तीमा फिर्न नसिकाएपछि मर्ने भन्दा उपाय हुँदैन। प्लेन उडाउन जति सजिलो छ, बसाउन त्यति सजिलो छैन। सिकारु पाइलट भयो वा जान्नेको पनि अलिकति भाँती पुगेन भने पाइलट आफू पनि मर्छ र अरूलाई पनि मार्छ।
काठमाडौं हावामा उड्छ, तर धर्तीमा फिर्न जान्दैन। सपना देख्छ, तर त्यो सपना पूरा गर्न काम गर्दैन। काठमाडौंको डीएनएमा करुणा छैन, कुण्ठा र प्रतिशोध छ। त्यही प्रतिशोध साध्न काटमार गर्छ।
इतिहास र कर्म हेर्दा यो काठमाडौं होइन, काटमाडौं हो जस्तो लाग्छ। चरित्र, व्यवहार र मनोविज्ञानसँग पनि काठमाडौं नाम पटक्कै मिल्दैन, काटमाडौं मिल्छ।
काष्ठमण्डपबाट काठमाडौंको नाम रहन गएको जनश्रुति छ। काष्ठमण्डपको शाब्दिक अर्थ खोज्ने हो भने काष्ठ भनेको काठ र मण्डप भनेको शुभकार्य गर्नको लागि बनाएको मठ वा मन्दिर हो। यदि त्यसो हो भने त्यो पवित्र स्थल हो। पवित्र स्थलमा शुभकार्य मात्र हुनुपर्ने हो। काटमार अवश्य शुभकार्य होइन।
१२औं शताब्दीमा एउटै रूखबाट बनेको त्यति ठूलो मठमन्दिर आफैंमा सानो सृजना होइन। त्यतिखेर संसारमा के नै सृजना भएको थियो हाला र ! संसारलाई उपनिवेश बनाउने युरोपमा नै के पो सिर्जना भएको थियो होला ? आखिर संसारमा कति नै देश थिए होलान्! संसारको शक्तिशाली देश अमेरिकाको भूमि पनि त्यतिखेर युरोपियनलाई थाहा थिएन होला। सृजनाको कुरा परको भयो।
मन्जुश्रीले चोभार डाँडो काटेर काठमाडौंको उत्पत्ति भएको भनेर पौराणिक कथाले भन्छ। उत्पत्ति नै काटेर भएकोले काठमाडौंको माटो, हावा र पानीमा काटमारको तत्व भएको हो कि? शंका लाग्न थालेको छ। नत्र कर्म, चरित्र र मनोदशा किन काटमारको हुन्थ्यो?
निरन्तरको काटमार र हिंसाको शृङ्खला छिमेकीको लागि पनि खतरा हो। उत्तर र दक्षिणका छिमेकी छिमेकी मात्र होइनन्, विश्वका शक्तिशाली मुलुक पनि हुन्। दुवै छिमेकीले खतरा महसुस गरेर कालापानीमा जस्तै सहमति गरे भने के होला ? “नेपाली हामी रहौंला कहाँ नेपालै नरहे!”
भ्यान्कुभर, क्यानडा
प्रतिक्रिया 4