News Summary
Generated by OK AI. Editorially reviewed.- कप्तान रोहित पौडेलले भने, 'नेपाल तेस्रो पटक टी-२० विश्वकपमा पुग्ने राम्रो अवसर छ' र खेलाडीहरूले राम्रो प्रदर्शन गर्नुपर्ने बताए।
- टी-२० विश्वकप छनोटमा नेपाल समूह बी मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दै सुपर सिक्समा पुग्न कम्तीमा एक खेल जित्नुपर्नेछ।
- सुपर सिक्समा ६ टिमले चार खेल खेल्नेछन् र शीर्ष तीनमा रहेर नेपालले टी-२० विश्वकपमा छनोट हुनुपर्नेछ।
२१ असोज, काठमाडौं । कप्तान रोहित पौडेलको भनाई सापटी लिने हो भने नेपाल तेस्रो पटक टी-२० विश्वकपमा पुग्ने राम्रो अवसर छ । त्यसका लागि पहिलो कुरा खेलाडीहरूले राम्रो प्रदर्शन गर्नुपर्छ ।
रोहितले नेपाली टिम पनि अहिले राम्रो माइन्डसेटमा रहेको र वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी-२० सिरिज जितेपछि टिममा कन्फिडेन्स पनि बढेको बताएका छन् ।
यस्तै नेपालले आफ्नो ब्राण्ड अनुसारको क्रिकेट खेल्ने हो भने नेपाल विश्वकपमा छनोट हुने रोहितको दाबी छ । रोहितको कप्तानीमा ओमान पुगेका १५ सदस्यीय नेपाली टोली सन्तुलित छ । अलराउण्डरहरूले भरिएकोले टोलीमा सबै पोजिसनमा राम्रा खेलाडीहरू छन् । जुन नेपालको लागि प्लस प्वाइन्ट पनि हो ।
तर ओमानी भूमिमा नेपालको विगत त्यति सुखद छैन । यसअघि टी-२० विश्वकप छनोट र एसिया कप छनोट खेल्दा नेपालले छनोट चरण पार गर्न सकेन ।
यस्तै यस पटक टी-२० विश्वकप छनोटको फर्म्याटमा पनि केही फरक छ । त्यसैले छनोटमा हरेक टिमसँगको खेल महत्वपूर्ण हुनेछ र कुनै पनि टिमलाई कमजोर आँक्न मिल्ने अवस्था छैन ।
दुई पटक विश्वकप खेलिसकेको नेपाली टोली लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।
सन् २०२६ को टी-२० विश्वकप छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुँदैछ । त्यसैले पनि नेपालका लागि विश्वकपमा छनोट हुनु महत्वपूर्ण छ । यस पटक हेर्दा नेपालको लागि सहज अवस्था देखिएपनि सोचे जस्तै सहज भने छैन । यस पटकको छनोट ‘ट्रिकी’ खालको छ ।
सुरुमा छनोटका खेलहरू कसरी हुन्छ त्यसको बारेमा चर्चा गरौं ।
यस पटक टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट संरचना केही फरक छ । एसिया मात्र नभएर इस्ट एसिया पेसिफिक (इएपी) समेत समावेश गरेर टी-२० विश्वकप एसिया एण्ड इएपी छनोटको नाममा आयोजना हुँदैछ ।
एसियाबाट ६ (ओमान, नेपाल, युएई, मलेसिया, कुवेत, कतार) र इएपीबाट ३ (पपुवा न्यु गिनी, समाओ र जापान) गरी कूल ९ टिमले यस छनोटमा प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा तीन-तीन टोली छन् । समूह ए युएई, मलेसिया र कतार छन् भने नेपाल, कुवेत र जापान समूह बी मा छन् ।
घरेलु टोली ओमानसहित पपुवा न्यु गिनी र सामोआ समूह सी मा छन् । समूह ए मा मात्र एसियाका तीन टोली छन् ।
हरेक समूहको सिंगल राउण्ड रोविनका आधारमा खेल खेलाइनेछ । यसको अर्थ समूहमा एक टिमले दुई खेल खेल्नेछ ।
समूह चरणको खेल समाप्तिपछि हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन् । समूह ए मा तीनवटै एसियन राष्ट्र भएकोले एसियाकै दुई टोली सुपर सिक्समा पुग्नेछन् ।
यस्तै समूह सी मा इएपीका दुई टोली रहेकोले कम्तीमा एक टोली इएपीबाट सुपर सिक्समा पुग्नेछ ।
एक समूहमा तीन टिम रहेकोले अघिल्लो चरण पुग्न आफ्नो समूहमा कम्तीमा पनि एक खेल जित्नुपर्नेछ ।
सुपर सिक्समा कसरी हुन्छ खेल
समूह चरणको खेलपछि ६ टिम सहितको सुपर सिक्स चरणका खेल हुनेछ । जहाँ हरेक टिमले आफ्नो समूह बाहेकका अन्य दुई समूहका दुई-दुई टिमसँग खेल्नेछन । अर्थात सुपर सिक्समा एक टिमले चार खेल खेल्नेछन् ।
जस्तै समूह ए बाट युएई र मलेसिया सुपर सिक्समा पुगेमा यी दुई टोलीबीच सुपर सिक्समा कुनै खेल हुने छैन । यी दुईले समूह बी र समूह सी का शीर्ष दुई टोलीसँग मात्र खेल्नेछन् ।
सुपर सिक्समा पनि समूह चरणको अंक भने गणना हुनेछ । तर कुन तरिकाले अंक गणना हुने भन्ने विषय आइसीसीले सार्वजनिक गरेको छैन ।
सुपर सिक्सको खेलहरू पछि शीर्ष तीनमा रहने टिमले टी-२० विश्वकपमा स्थान बनाउनेछ ।
नेपालको सम्भावना कति ?
सिधा हेर्दा यस पटक नेपालको सम्भावना राम्रो छ । पछिल्ला खेलहरूमा नेपालले गरेको प्रदर्शन र लयलाई आधार मान्ने हो भने नेपाल शीर्ष तीनमा रहेर टी-२० विश्वकप छनोट हुन लायक टोली हो ।
तर यो टी-२० फर्म्याटको खेल भएकोले यसै भन्न सकिन्न । खेलको दिन कुन टिमले कसलाई हराउँछ भन्न सकिन्न । यसबारे नेपाली क्रिकेट टिम पनि राम्रोसँग जानकार छ ।
अझ यसअघि खेलाडीको रूपमा टी-२० विश्वकपनै खेलिसकेको र पछिल्लो पटक ओमानमै भएको टी-२० विश्वकप छनोट नै खेलेका ज्ञानेन्द्र मल्ल नेपाली टिमको सहायक प्रशिक्षक छन् ।
टी-२० विश्वकपमा छनोट हुने फर्मुला भने सिम्पल नै छ । नेपालले छनोट समूह चरणमा कम्तीमा पनि एक खेल जितेर सुपर सिक्समा स्थान बनाउनुपर्नेछ । त्यसपछि सुपर सिक्समा ६ टिम मध्ये शीर्ष तीन स्थानमा रहनुपर्नेछ ।
समूह चरणमा नेपालले तुलनात्मक रुपमा कमजोर टिमसँगै खेल्नेछ । कुवेतसँग नेपालले यसअघि पनि विभिन्न प्रतियोगितामा खेल्दै आएको छ र नेपाललाई कुवेतले हराएको पनि छ । ठूला टिमलाई पनि स्तब्ध पार्न सक्ने टिमको रुपमा कुवेत रहेको छ ।
यस्तै इएपीबाट आएको जापानसँग भन्ने नेपालले पहिलो पटक खेल्दैछ । यस समूहबाट नेपाल समूह विजेता बन्ने प्रबल सम्भावना छ । त्यसो हुन नसकेपनि नेपाल कम्तीमा उपविजेता बनेरै भएपनि सुपर सिक्स पुग्न सक्छ ।
तर सुपर सिक्स चरण अलि फरक हुनेछ । जहाँ अन्य दुई समूहमा दुई-दुई गरी कूल चार टिमसँग खेल्नुपर्नेछ हुन्छ । यहाँ भने हरेक खेल महत्वपूर्ण हुनेछ । तीन टिम छनोट हुने हुँदा सम्भावना बढी देखिएपनि कुनै पनि खेलमा हार्ने छुट हुने छैन । त्यसैले हरेक खेल नै फाइनल जस्तै बन्न सक्छ ।
नेपालले समूह चरण पार गरेमा सुपर सिक्समा बलिया प्रतिद्वन्दी विरुद्ध खेल्नुपर्ने अवस्था हुन्छ । नेपालको सम्भावित प्रतिस्पर्धीमा युएई, मलेसिया, ओमान र पपुवा न्यु गिनी नै देखिएका छन् । यी चार टिमसँग नेपालले धेरै खेल खेलिसकेको छ । जित हार दुवै नतिजा पनि आत्मसाथ गरेको छ । त्यसैले नेपालले शीर्ष तीनमा रहन बलिया टिमहरूलाई हराउनुपर्नेछ । युएई र ओमान भर्खरै एसिया कप खेलेर आएकोले राम्रो एक्सपोजर समेत पाएका छन् ।
ओमान घरेलु मैदानमा खेल्दैछ र उसलाई मैदान र त्यहाँको कन्डिसन बारे राम्रो जानकारी छ । युएई नेपालका लागि महत्वपूर्ण खेलहरूमा तगारो बन्दै आएको छ । ओमानमै भएको यसअघिको टी-२० विश्वकप छनोट र एसिया कप छनोटमा नेपाल युएईसँग नेपालमै पराजित हुँदै बाहिरिएको थियो । त्यसैले पनि नेपाल सजग हुनु जरुरी छ । यस्तै मलेसिया र पपुवा न्यु गिनी पनि नेपालका लागि परिचित प्रतिद्वन्दी नै हो ।
नेपालका कप्तान रोहित पौडेलले यस पटकको टी-२० विश्वकप छनोट संचरना फरक रहेकोले हरेक खेल महत्वपूर्ण हुने बताएका छन् । ‘यो पटक अलि फरक फर्म्याट छ । हरेक खेल एकदम एकदमै महत्वपूर्ण छ । कुनै पनि गेमलाई हल्का लिन मिल्दैन किनभने प्वाइन्ट पनि क्यारी हुन्छ । हरेक गेम हाम्रो लागि महत्वपूर्ण छ र त्यही हिसाबले सबै जना तयार पनि छन्’ कप्तान रोहितले वेस्ट इन्डिजसँग शारजाहमा ऐतिहासिक सिरिज खेल्न जानुअघि कीर्तिपुरमा भएको बिदाइ कार्यक्रममा भनेका थिए ।
यस्तै उनले कुनै पनि टिमलाई कमजोर लिन नमिल्ने बताएका छन् । ‘सबै टिम ब्यालेन्स छ । कुनै पनि टिमलाई हल्का लिन मिल्दैन । वेस्ट इन्डिज पनि हामी भन्दा बेटर थियो, हामीले हरायौं । यो टुर्नामेन्टको स्ट्रक्चरले गर्दा पनि कुनै टिमलाई हल्का लिन मिल्दैन । आफ्नो बेस्ट खेल्नुपर्छ’ रोहितले क्यानको युट्युब च्यानलसँगको कुराकानीमा विपक्षी टिमहरू बारे भनेका छन् ।
प्रतिक्रिया 4