+
नेपाली क्रिकेट :

तेस्रोपटक टी-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

२०८२ असोज  २१ गते ११:२९ २०८२ असोज २१ गते ११:२९

ओमानमा छनोटको खुड्किलो पार गर्न सके नेपालले लगातार दोस्रो पटक अनि समग्रमा तेस्रोपटक आईसीसी टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

तेस्रोपटक टी-२० विश्वकपमा छनोट हुने नेपालको लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोली सन् २०२६ को टी-२० विश्वकप छनोटका लागि ओमान पुगेको छ र त्यहाँ दुई अभ्यास खेलमा जित हात पारेको छ।
  • कप्तान रोहित कुमार पौडेलले टिमले पछिल्लो दुई वर्षदेखि सँगै खेलिरहेको र तेस्रो पटक विश्वकपमा छनोट हुनेमा विश्वस्त रहेको बताए।
  • टी-२० विश्वकप छनोटमा नेपाल समूह बी मा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दै सुपर सिक्समा शीर्ष तीनमा पर्न प्रयास गर्नेछ।

२१ असोज, काठमाडौं । सन् २०२६ मा छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० मेन्स विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान पुगिसकेको छ ।

युएईको शारजाहमा वेस्ट इन्डिज विरुद्धको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिज आफ्नो पक्षमा पार्दै ओमान पुगेको नेपालले त्यहाँ विश्वकपअघि दुई अभ्यास खेलमा पनि जित हात पारेको छ ।

नेपाली क्रिकेट टोलीको अहिलेको एक मात्र लक्ष्य भनेको तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुने रहेको छ । ओमानमा छनोटको खुड्किलो पार गर्न सके नेपालले लगातार दोस्रो पटक टी-२० विश्वकपमा स्थान बनाउनेछ ।

सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले दोस्रो पटक विश्वकप खेल्न दश वर्ष कुर्नुपरेको थियो । तर यस पटक भने नेपाली खेलाडीको आत्मविश्वास, टोलीको लय, राम्रो तयारी र उच्च आत्मविश्वासका कारण नेपाली टोली लगातार टी-२० विश्वकपमा छनोट हुने लक्ष्यमा छ ।

वेस्ट इन्डिजसँग खेलेर तयारी

नेपाली क्रिकेट टोलीले पछिल्लो पटक अष्ट्रेलियामा टप एण्ड कप, सारजहामा वेस्ट इन्डिजसँग टी-२० सिरिज खेलेर विश्वकप छनोटका लागि तयारी गरेको छ ।

यस्तै विश्वकप छनोट अघि अभ्यास खेलमा पनि नेपालले राम्रो प्रदर्शन गरेको छ । विशेषगरी वेस्ट इन्डिजसँगको तीन खेलको टी-२०आई सिरिज नेपालको लागि विश्वकप छनोटअघि राम्रो तयारी भएको छ ।

कप्तान रोहित कुमार पौडेलले वेस्ट इन्डिज विरुद्धको सिरिजले नेपाली टिमलाई राम्रो फाइदा पुगेको बताएका छन् ।

‘समग्रमा राम्रो तयारी भएको छ । सबै जना राम्रो सेपमा छन् । सबैजना तयार छन् । वेस्ट इन्डिज सिरिजले कन्फिडेन्स दिएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा रोहितले भनेका छन्, ‘तर त्यो विगत भइसक्यो । हामीले विश्वकप छनोटमा फेरि सुरुदेखि नै सुरुवात गर्नुपर्छ । त्यो सबैलाई थाहा छ । हामीले जुन ब्राण्डको क्रिकेट खेल्यौं त्यसले कन्फिडेन्स दिएको छ । मुख्य टुर्नामेन्ट अब सुरु हुन्छ।’

कप्तान रोहितले वर्ल्ड क्रिकेटमा अब नेपाल क्रिकेटको पनि चर्चा सुरु भइसकेको बताए ।

टेस्ट राष्ट्रसँगको ऐतिहासिक सिरिज जित्दै नयाँ अध्यायको सुरुवात गरेको नेपाली टोली अहिले आत्मविश्वासले भरिएको छ ।

कप्तान रोहित कुमार पौडेलले पनि बारम्बार त्यही भन्दै आएका छन् । उनले युएई जानुअघि वेस्ट इन्डिजलाई पराजित गर्छौं भनेर जुन आत्मविश्वासका साथ भनेका थिए नेपाली टिमले त्यो पूरा गरेर देखाइसकेको छ ।

अहिले फेरी नेपाल अर्को महत्वपूर्ण मोडमा आइपुगेको छ र त्यसमा पनि कप्तान रोहित सहित नेपाली टिमको आत्मविश्वास उस्तै छ ।

सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी-२० विश्वकपमा दक्षिण अफ्रिका जस्तो टिमसँग जितनजिक पुगेर १ रनले चुक्दा नेपाली क्रिकेटमा ठूलो चर्चा कमाएको थियो ।

एक वर्षपछि नेपालले अर्को टेस्ट राष्ट्र वेस्ट इन्डिज विरुद्ध ऐतिहासिक सिरिज मात्र खेलेन पहिलो पटक टेष्ट मान्यता प्राप्त टिमविरुद्ध सिरिज नै जितेपछि अहिले फेरि नेपाली क्रिकेटको चर्चा बढ्न थालेको छ ।

लगातार दोस्रोपटक विश्वकपमा पुग्ने लक्ष्य

सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेपछि नेपालले अब लगातार विश्वकप खेल्छ भन्ने सबैको अपेक्षा थियो । तर त्यसपछि नेपाल टी-२० विश्वकप छनोटमा लगातार असफल हुँदा फेरि अर्को विश्वकप पुग्न दश वर्ष नै लाग्यो ।

विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगिता खेल्न आफैँमा चानचुने कुरा होइन । त्यसैले नेपालले दश वर्षपछि फेरि टी-२० विश्वकपमा छनोट हुँदा यसको महत्व अझ धेरै बुझ्यो ।

अहिले भने नेपाली टोली विगतमा जस्तो धेरै समय कुर्न चाँहदैन । त्यसैले यस पटक ओमानमा छनोटको शीर्ष तीनमा रहेर टी-२० विश्वकपमा पुग्न चाहन्छ ।

अहिलेसम्म नेपालले दुई पटक टी-२० विश्वकप खेलिसकेको छ । अब नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा छ ।

सन् २०२६ को टी-२० विश्वकप छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुने भएकोले पनि नेपालको लागि यसपटक छनोट भएमा अझ धेरै राम्रो अवसर हुनेछ । किनभने भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) जस्तो विश्वकै चर्चित लिग हुँदैछ । यदि नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा छनोट हुन सके खेलाडीहरूको लागि आइपीएलको फ्रेन्चाइज टिमलाई प्रभावित पार्ने अवसर हुनेछ । यस्तै नेपाली टिमलाई पनि भारत लगायत टेष्ट राष्ट्रहरूसँग द्विपक्षीय सिरिज खेल्ने बाटो अल्न सक्छ ।

अहिले टोलीमा रहेका खेलाडीले लगातार सँगै खेलिरहेकोले यस पटक नेपाली टिमले विश्वकपमा स्थान बनाउनेमा कप्तान रोहित पौडेल पनि विश्वस्त देखिएका छन् । ‘यो टिमले पछिल्लो २-२ वर्षदेखि सँगै खेलिरहेका छौं । जुन ब्राण्डको क्रिकेट खेलिराछौं म एकदम कन्फिडेन्ट छु विश्वकपमा छनोट हुन्छौं भनेर’ रोहितले भने, ‘तेस्रो पटक विश्वकप पुग्ने चान्स छ । सबैले राम्रोसँग खेले मलाई लाग्छ हामी छनोट हुन्छौं । पोजिटिभ माइन्डसेट छ । तेस्रो पटक विश्वकप सबै जनाको फोकस छ।’

टिमभित्र प्रतिस्पर्धा

नेपालले पछिल्लो पटक सन् २०२२ मा ओमानमा टी-२० विश्वकप छनोट खेल्दा केही मुख्य खेलाडीहरू अनुपस्थित थिए । जसले गर्दा महत्वपूर्ण समयमा नेपालले दबाब झेल्न सकेन ।

तर यस पटक भने नेपाली टिम लयमा मात्र छैन खेलाडीहरू पनि लयमा छन् । पहिलो रोजाईँमा पर्नका लागि पनि टिमभित्रै तिव्र प्रतिस्पर्धा छ । जसले गर्दा कुनै पनि खेलाडीले राम्रो प्रदर्शन नगरे खेल्न पाउँदिन कि भन्ने डर हुन सक्छ ।

अझ टी-२० का लागि आवश्यक अलराउण्डर नेपाली टिममा धेरै छन् । अझ भन्ने हो भने विकेटकिपर बाहेक लगभग सबै खेलाडीले बलिङ गर्न सक्छन् । अनि आवश्यक परेको खण्डमा एकाध खेलाडी छाडेर सबैले ब्याट पनि चलाउन सक्छन् । जुन नेपाली टिमका लागि राम्रो पक्ष हो ।

कप्तान रोहित पौडेलले पनि अलराउण्डरहरू धेरै हुनु राम्रो भएको बताए । साथै उनले नेपालको बलियो पक्ष फिल्डिङ भएको र ब्याटिङमा अझै केही सुधार गर्न सकिने बताए ।

‘हाम्रो बलियो पक्ष फिल्डिङ हो । हाम्रो अलराउण्ड एबिलिटी छ । जसले बलिङ, ब्याटिङ, फिल्डिङ गर्न सक्छ । अलराउण्डर भएपछि सबै डिपार्टमेन्टमा कभर गर्नुहुन्छ र त्यसले गर्दा टिमलाई फाइदा हुन्छ । धेरै जसो एरिया कभर भइसक्यो । ब्याटिङमा अझ राम्रो बिल्ड गर्न सक्छौं’ रोहितले क्यानसँगको कुराकानीमा भनेका छन्, ‘टिम ब्यालेन्स छ र सबैजना उत्साहित छौं।’

विपक्षीलाई कमजोर आँक्न मिल्दैन

यस पटक टी-२० विश्वकप छनोटको संरचना फरक छ । एसिया र इस्ट एसिया पेसिफिक (इएपी) दुवै क्षेत्रलाई गाभेर छनोट खेलाइँदैछ । जसले गर्दा एसिया र इएफी क्षेत्रका टिमहरूले एउटै छनोटमा खेल्नेछन् ।

एसियाका ६ (ओमान, नेपाल, युएई, मलेसिया, कुवेत, कतार) र इएपीका ३ (पपुवा न्यु गिनी, सामोआ र जापान) गरी कूल ९ टिमले यस छनोटमा प्रतिस्पर्धा गर्दैछन् । ९ टिमलाई ३ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहमा तीन-तीन टोली छन् । नेपाल रहेको समूह बी मा कुवेत र जापान छन् । यस्तै समूह ए युएई, मलेसिया र कतार छन् भने ओमान, पपुवा न्यु गिनी र सामोआ समूह सी मा छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । समूह चरण पार गर्न कम्तीमा पनि एक खेल जित्नैपर्नेछ ।

नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ । कुवेतसँग नेपालले विभिन्न प्रतियोगितामा खेलिसकेको छ र कुवेतले नेपाललाई स्तब्ध पनि बनाएको छ । जापानसँग भने नेपालको पहिलो भेट हुनेछ ।

समूह चरणपछि सुपर सिक्समा ६ टिम हुनेछन् । जहाँ हरेक टिमले अन्य दुई समूहका दुई-दुई टिमसँग खेल्नेछन । सुपर सिक्समा शीर्ष तीनमा रहने टिमले टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।

नेपालले समूह चरण पार गरेर सुपर सिक्स पुगेमा सम्भावित विपक्षीमा घरेलु टोली ओमानसहित यूएई, मलेसिया, पपुवा न्युगिनी हुनेछन् ।

कप्तान रोहितले यस पटकको छनोट संरचनाले गर्दा कुनै पनि टिमलाई कमजोर लिन नमिल्ने बताएका छन् । ‘सबै टिम ब्यालेन्स छ । कुनै पनि टिमलाई हल्का लिन मिल्दैन । वेस्ट इन्डिज पनि हामी भन्दा बेटर थियो । हामीले हरायौं । यो टुर्नामेन्टको स्ट्रक्चरले गर्दा पनि कुनै टिमलाई हल्का लिन मिल्दैन । आफ्नो बेस्ट खेल्नुपर्छ’ रोहितले विपक्षी टिमबारे भने ।

एसिया र इस्ट एसिया पेसिफिक दुवै क्षेत्रमा उत्कृष्ट बनेर ९ टिम एसियाको फाइनल राउण्ड छनोट खेल्न ओमान पुगेका हुन् । त्यसैले पनि हरेक खेल महत्वपूर्ण हुन्छ ।

कप्तान रोहितले वेस्ट इन्डिजसँग शारजाहमा खेल्न जानुअघि यस पटक हरेक खेल महत्वपूर्ण हुने बताएका थिए । ‘यो पटक अलिकति फरक फर्म्याट छ । हरेक खेल एकदम एकदमै महत्वपूर्ण छ । कुनै पनि गेमलाई हल्का लिन मिल्दैन किनभने प्वाइन्ट पनि क्यारी हुन्छ । हरेक गेम हाम्रो लागि महत्वपूर्ण छ र त्यही हिसाबले सबै जना तयार पनि छन्’ उनको भनाइ थियो ।

***

विश्वकप छनोटको पहिलो खेलमा नेपालले बुधबार कुवेतसँग खेल्दैछ भने शुक्रबार जापानसँग खेल्नेछ ।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी

नेपाली क्रिकेट टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय