+
+
Shares
महोत्तरीमा बाढी र डुबान :

राहतको पर्खाइमा डुबान पीडित, तथ्यांक संकलनमै सीमित सरकार

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवारका सदस्यहरु विस्थापित भएको तथ्यांक छ । तर उनीहरुले सरकारबाट राहत नपाएको गुनासो गरेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ असोज २२ गते ११:०५

२२ असोज, जनकपुरधाम । असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाले महोत्तरीको जलेश्वर नगरपालिका–१ का सन्तोष पासवानको घर पनि डुबानमा पर्‍यो । घरभित्रको अन्नपात, लत्ताकपडा र अन्य सामग्री बगे । सन्तोष परिवारका सदस्य र केही सामानसहित भाग्ने क्रममा खुट्टामा गम्भीर चोट लाग्यो, जसका कारण अहिले हिँडडुल गर्न समेत उनलाई समस्या छ ।

‘जसै बाढी पस्यो, हामी भाग्यौं । केही पनि बचाउन सकिएन । हिँडडुल गर्न सक्दिनँ । आजसम्म कसैले राहत लिएर आएका पनि छैनन्,’ थातथलोबाट विस्थापित भएका सन्तोषले सोमबार अनलाइनखबरसँग दु:ख बाँडे ।

महोत्तरीकै एकडारा गाउँपालिका–६ बहेडाकी स्मृति मण्डलको परिवार पनि बाढीले प्रभावित भएको छ । घर डुबानमा परेपछि स्थानीयबासीले उद्धार गरी उनीसहित परिवारलाई छिमेकीको घरमा राखिदिएको छ । दशैंका लागि घर आएकी स्मृतिसहित चार छोरी र नातिनातिनासहित १३ जना परिवार अहिले छिमेकीको आश्रयमा छन् । उनीहरू छिमेकीले दिएको अन्नबाट जेनतेन गुजारा गरिरहेका छन् । ‘छिमेकिले दिएको अन्नबाट बालबालिकासहित खाइरहेका छौं । आफ्नो घर र अर्काको घरमा बस्दा अप्ठ्यारो पर्छ,’ उनले भनिन् ।

एकडारा–६ की सरिता देवी मण्डलको परिवारको अवस्था पनि त्यस्तै छ । घरमा बाढी पस्नासाथ उनीहरू ज्यान जोगाएर बाहिर भागे तर केही पनि बचाउन सकेनन् । अहिले उनी पनि छिमेकीकै घरमा शरण लिएर बसिरहेकी छन् ।

‘पानी यति छिटो आयो कि केही पनि निकाल्न पाइएन । अहिले अर्काको घरमा बसेका छौं । घरमा अझै पनि पानी छ, निकै समस्या भोगिरहेका छौं,’ उनले दु:खेसो पोखिन् ।

जलेश्वर नगरपालिका–१ का सन्तोष पासवान

उनीहरुजस्तै जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाका सयौं परिवार डुबानको पीडामा छन् । रातु नदीको बाढी पस्दा जलेश्वर जलमग्न बनेको थियो । अझै पनि केही स्थानमा डुबान छँदैछ ।

एकडारा गाउँपालिका–६ मा मात्रै करिब १२ परिवार बाढीको कारण विस्थापित भएका छन् । उनीहरू छिमेकीका घरमा आश्रय लिएर राहतको प्रतीक्षामा छन् । अहिलेसम्म सरकारी निकायबाट कुनै पनि सहयोग वा राहत वितरणको पहल भएको छैन ।

जलेश्वर नगरपालिकाका मेयर सुरेश प्रसाद साह सोनारले जलेश्वरका डुबान पीडितको विवरण संकलनको काम भइरहेको बताए । त्यसपछि मात्र राहत बाँड्ने उनको भनाइ छ । ‘हजारौं घरमा पानी पसेर डुबानमा छ । एउटा–दुईटा घर पनि बाँकी छैन । एकजनालाई दिने र अरुलाई दिएन भने समस्या जटिल हुन्छ,’ उनले भने, ‘विभिन्न दातृनिकायले विवरण संकलन गरिरहेको छ । हामीले पनि विवरण संकलन गरेर राहतको विषयमा काम गर्छौं ।’

एकडाडा गाउँपालिकाका उपप्रमुख महजवी खातुनले पनि तत्काल खाद्यान्न राहत दिनेबारे मंगलबार निर्णय भएको र अब किनेर वितरण गरिने बताइन् । ‘हिजै विस्थापित भएकाहरुलाई खाद्यान्न राहत दिने निर्णय भएको छ । पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बाहिर हुँदा राहत वितरणमा ढिलाइ भयो । अब चाँडै राहत वितरण हुन्छ’ उनले भनिन् ।

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवार सदस्य विस्थापित

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवारका सदस्यहरु विस्थापित भएको तथ्यांक छ । सबभन्दा बढी महोत्तरी गाउँपालिकाको वडा नम्बर ६ गोनरपुरकाका ७० परिवार विस्थापित भएका छन् । महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डेले डुबानमा परेर विस्थापित भएका परिवारहरु पानी सुकेपछि घर फर्किन थालेको बताए ।

बलवा नगरपालिका ६ तिलगढका २६ परिवार, औरही गाउँपालिका २ का २० परिवार, रामगोपालपुर नगरपालिकाको विभिन्न वडाको ७८ परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

उनीहरु कोही छिमेक, कोही विद्यालय र सार्वजनिक दलानमा आश्रय लिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।

असोज १९ गते महोत्तरीमा रातु नदीमा आएको बाढीले बाँध भत्कार बस्ती पस्दा जलेश्वर नगरपालिका, एकडाडा गाउँपालिका, महोत्तरी गाउँपालिका, बलवा नगरपालिका र मनरा सिसवा नगरपालिका डुबानमा परेका थिए । यसका अलावा पानीको भेलले औरही नगरपालिका, रामगोपाल नगरपालिका, भंगहा नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिकाका केही ठाउँहरु पनि डुबान र बाढीबाट अछुतो रहन सकेनन् । जसको कारण जिल्ला भरिका सयौं घरपरिवार विस्थापित हुन पुगे । कतिपयको फुसको घर भत्किएको छ । अन्नपात डुब्दा र बग्दा जनजीवन कष्टकर बनेको छ ।

एकडारा गाउँपालिका–६ की सरिता मण्डल

जलेश्वर कारागरमा अहिले पनि पानी जमेकै छ । त्यसदिन प्रहरीले बाढी र डुबानमा फसेका २२ घरपरिवारका १२२ जनालाई उद्धार गरेका थिए ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिजाल कतिपय ठाउँमा पानी सुक्न थालेपछि विस्थापित भएका परिवार घर फर्किन थालेको बताउँछन् ।

‘डुबानको कारण विस्थापित भएको अवस्था थियो । डुबान घटेसँगै विस्तारै विस्थापितहरु आफ्नो घरमा फर्किनु भएको छ धेरै ठाउँमा’ सिडिओ रिजालले भने ‘बाँकी विस्थापितहरुको स्थानीयतहसँगै समन्वय गरेर गैर सरकारी संस्थाहरु खानेकुराको व्यवस्थापन गरिरहेका छन् । जलेश्वरमा अहिलेसम्म डुबान छ ।’

तत्कालीन रुपमा उद्धार गरेर प्रहरीले सुरक्षित स्थलमा सारे पनि विस्थापित भएका वा पूर्णरुपमा अन्नपात गुमाएका परिवारको राहतमा सम्बन्धित निकायले तदारुक नदेखाएको गुनासो छ । कतिपय विवरण संकलनकै काममा खटिरहेको अवस्था छ ।

सिडिओ रिजालले क्षतिको विवरण संकलन गरिरहेका बताउँदै पूर्णरुपमा घरमा क्षति पुगेकाहरुको आवास पुनर्निर्माण स्थानीय तहसँग समन्वय गरेर गर्ने बताए ।

‘तथ्यांकहरु संकलन भइरहेको छ । जसको घर सुरक्षित छ फर्किनु हुन्छ, भत्केको छ भने त्यसको स्थानीय पालिकासँग समन्वय गरेर पुनर्निर्माण गर्छौं ।’

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?