
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
- आयोगले हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन आग्रह गर्दै सामाजिक सद्भाव र विधिको शासन कायम राख्न भनेको छ।
- आयोगले आगामी प्रदर्शनलाई मर्यादित बनाउन र स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत निकास खोज्न सबै राजनीतिक दल र समूहलाई आग्रह गरेको छ।
२२ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन आग्रह गरेको हो ।
‘हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ,’ आयोगले भनेको छ ।
आयोगले भनेको छ, ‘सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जान्छ ।’
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले गत भाद्र २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई आयोगले तीव्रता दिइरहेको बताए । ‘विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण सङ्कलन गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको छ,’ उनले भने ।
‘विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरू चाल्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ आयोगले भनेको छ ।
विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल र समूहलाई आयोगले आग्रह गरेको छ ।
प्रतिक्रिया 4