
News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का जन्मजात दृष्टिविहीन रामा र सुदामा रानाले छिमेकीको सहयोगमा सानो घरमा बसोबास गरिरहेका छन्।
- दृष्टिविहीन दम्पतीले वडा कार्यालयबाट नीलो कार्डमार्फत भत्ता पाउँछन् र झारफुकको कामबाट सानो आम्दानी गर्छन्।
- दुवै जनाको जीवनप्रतिको सकारात्मक सोचले गाउँका अरूलाई पनि प्रेरणा दिएको स्थानीय नवराज पन्तले बताए।
२२ असोज, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका रामा राना र सुदामा राना जन्मजात दृष्टिविहीन दम्पती हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् ।
विसं २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाधिएका हुन् । दृष्टिविहीन भएकाले दुवैको सहारा उनका छिमेकी रहेका छन् । अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्दै आएका छन् ।
त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन् । ‘आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नको लागि छ–सात धुर जग्गा मात्रै छ त्यसमै असल छिमेकीले घर बनाई दिँदा बस्न पाएका छौँ’, रामाले भनिन् ।
दुवै जनाले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित रूपमा भत्ता पाउँछन् । यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो । ‘त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं’, सुदामा बताउँछन् ।
छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्नेलगायत दैनिक कार्यमा सहयोग गर्छन् ।
सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र स–साना घरायसी काम आफैँ गर्न प्रयास गर्छिन् । ‘सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्’, रानाले भने । दुवै जनाको सन्तान भने छैनन् ।
रामाले झारफुकको काम पनि गर्छन् । उनका अनुसार बाल्यकालदेखि नै यो सीप सिकेका हुन् ।
‘झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ’, उनले भनिन् । यही सानो आम्दानीले पनि घरखर्चमा केही राहत पुग्ने गरेको उनी बताउँछन् ।
‘आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन”, सुदामा मुस्कुराउँदै भन्छन् । रामा र सुदामाको जीवन जिउने सकारात्मक सोचले जीवनलाई दृढ बनाएको स्थानीय नवराज पन्तले बताए ।
‘दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन’, उनले भने, ‘कठिनाइका बीच पनि दुवै जना कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ ।’
गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रुपमा बर्णन गर्छन । जीवनमा दृष्टि नभए पनि उनीहरूले एकअर्कामा उज्यालो पाएका छन् ।
अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा राना ।
प्रतिक्रिया 4