+
+
Shares
विचार :

परिवर्तनलाई संस्थागत गर्ने उपाय

सबै सार्वजनिक निकायमा खुल्ला योग्यता परीक्षाको माध्यमबाट नियुक्ति माग गर्दै दबाब सिर्जना गरौं, त्यसले जेनजी पुस्ताले मागेको परिवर्तनलाई सहज बनाउन मद्दत गर्नेछ।

डा. लोक भट्टराई डा. लोक भट्टराई
२०८२ असोज २३ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा भदौ महिनामा जेनजी विद्रोहको मुख्य कारण भ्रष्टाचार र पाको पुस्ताको नेतृत्वमा असन्तोष रहेको छ।
  • पुरानो पुस्ताले परिवार र पार्टी नेतृत्वमा प्रभुत्व जमाएकोले नयाँ पुस्तामा असन्तोष बढेको छ।
  • नयाँ पुस्ताले पूरै पुरानो पुस्तालाई अयोग्य ठान्नु गलत भएको र योग्यता अनुसार मूल्याङ्कन गर्नुपर्ने डा. भट्टराईले बताउनुभयो।

भदौ महिनामा नेपालमा भड्किएको जेनजी विद्रोहको मुख्य दुईवटा आयाम थियो- भ्रष्टाचार र पाको पुस्ताको हालीमुहाली। यो लेख त्यसमध्ये पछिल्लो विषयमा केन्द्रित छ। वर्तमान समयमा नेपाली जनताको र खासगरी युवा वर्गको दैनिक जीवनको भोगाइ सन्तोषजनक छैन।

के कारणले भनेर खोज्दै जाँदा देश चलाउने नेतृत्वदायी भूमिकामा प्राय: बुढा अनुहार नै देखिएको यथार्थ हो। तसर्थ नयाँ पुस्ताले आफ्नो वा आफ्नो पुस्ताको दु:खका लागि पुरानो पुस्ताको नेतृत्वकर्ता नै जिम्मेवार हुन् भनेर बुझ्नु अस्वाभाविक देखिन्न।

यसमा अर्को पक्ष पनि छ- घर वा समाजमा विद्यमान पुस्ताहरू बीचको फरक। नयाँ पुस्ताले घरमा बाबुआमाको पुस्ता वा नजिकको छिमेक वा समग्र समाजमा समेत पाको पुस्ताको शैली पुरानै, सोच पुरानै, तरिका पुरानै भएको भेट्छन्। तर अर्कोतिर नयाँ पुस्ताको लागि दैनिक जीवनका मूल्य र मान्यता पनि बदलिंदै गएको छ र खासगरी डिजिटल संसारमा त झन् दुई पुस्ताका बीच ठूलै डिभाइड देखिन्छ।

नयाँ र पुरानो पुस्ता बीचको त्यो फरक देखेपछि कतिपय युवा वर्गलाई पूरै पुरानो पुस्ता नै अयोग्य वा ‘आउटडेटेड’ भन्ने परेको हुन सक्छ। र भ्रष्ट भनेर भनिएका पुरानो पुस्ताको नेताहरूको हालीमुहाली कायम राख्न आफ्नो बाबुआमा पुस्ताको सोच र शैलीकै हात रहेको भनेर जेनजी पुस्ताले निर्क्योल निकाल्नुमा तादात्म्य देखिन्छ।

नेपालमा परिवारको स्रोतसाधनमा बाबुआमाको नियन्त्रण हुने परिपाटी छ, जसले गर्दा नयाँ पुस्ताले चाहेजसो गरी पारिवारिक स्रोतसाधनको पनि उपयोग गर्न नपाएको हुन सक्छ र त्यसले पारिवारिक तहमा असन्तोष जन्माउने सम्भावना प्रबल रहन्छ। र, राष्ट्रिय मनोविज्ञानको दृष्टिले हेर्ने हो भने त्यो पारिवारिक असन्तोष एकीकृत हुँदै पुस्तान्तरको राष्ट्रिय असन्तोष बन्न जान्छ। यी विषयलाई पिंधमा पुगेर बुझ्नका लागि थप मसिनो विश्लेषण आवश्यक हुन सक्छ।

पहिला- माथि उठाइएको पहिलो विषय माथि विचार गरौं। दैनिक जीवनको भोगाइ सन्तोषजनक नभएपछि राष्ट्रको नेतृत्व गर्ने प्रति प्रश्न उठ्नु स्वाभाविक छ। निर्वाचनको समयमा नेताले गरेका हावादारी प्रमिसको याद आउनु त अपेक्षित नै हो।

र, राष्ट्रिय राजनीतिमा रहेका विभिन्न पार्टीमध्ये कुनै कुनै चाहिं एकदम फरक र युवा नेतृत्वको भएको भए, यो मुद्दा शायद यसैगरी उठ्दैनथ्यो। त्यति मात्र हैन संघ–संगठन वा प्राय: सबै राष्ट्रिय जीवनका महत्वपूर्ण निकायमा समेत नेतृत्वदायी भूमिकामा पनि सबैतिर पाको पुस्ता देखेपछि यो नयाँ पुस्ताको चेतनामा उमेरको विषय नै प्रधान हो भन्ने लाग्नु अस्वाभाविक हैन।

अर्को विषय- कि नयाँ पुस्ता सत्ता वरिपरि रहेका पार्टीप्रति खनिएका हुन् कि ती पार्टीका पाको नेताप्रति मात्र खनिएका हुन् कि दुवैतिर खनिएका हुन् भन्नेमा सबैको बुझाइ समान छैन। डेलिभरी दिन नसक्ने, आफन्तवादमा रमाउने, र भ्रष्टाचारमा लिप्त भनेर व्यापक बुझाइरहेको कारण ठूला पार्टीका पाको पुस्ताको नेतृत्वप्रति त असन्तोष प्रकट गरेकै हो।

तर यदि ती मुख्य पार्टीहरू पारदर्शी हुन्थे भने, पार्टी प्रवेश र नेतृत्व विकासको लागि ती पार्टीहरू खुला वा प्रजातान्त्रिक हुन्थे भने, र ती पार्टीहरूका हरेक मुख्य निर्णयहरू न्यायको प्रत्याभूति हुने गरी हुने गरेको भए समाजमा यी पार्टीप्रति यस्तो घृणा उत्पन्न हुन्नथ्यो।

सम्भवत: त्यो अवस्थामा यी पुरानै पार्टीहरूमा पनि प्रशस्त नयाँ पुस्ताका मान्छेहरू नेतृत्वमा पुगेका हुन्थे। त्यो अवस्थामा नयाँ र पुरानो पुस्ता भन्ने डिभाइड कम हुन सक्थ्यो। यस्तै विद्रोह उठे पनि मुद्दाको केन्द्रमा अरू नै विषय हुन्थ्यो, उमेरको विषय प्रमुख नहुन सक्थ्यो। यहाँ त कस्तो भयो भने पुराना पार्टीहरू सीमित परिवारको पेवा जस्तै बन्न थाले।
मुख्य नेताले नेतृत्व हस्तान्तरण आफ्नै श्रीमती वा छोराछोरीलाई नै गर्ने गरी प्रबन्ध मिलाउन थाले। कांग्रेसमा त यो रोग छँदैथियो- यो विस्तारै एमाले वा माओवादी जस्ता क्रान्तिकारी भनाउँदा पार्टीहरूमा समेत गहिरो गरी झांगिन थाल्यो। नत्र भने एमालेले राष्ट्रपति पदमा विद्या भण्डारीलाई उनको योगदान र योग्यताको कारण मात्रै पठाएको त पक्कै हैन। उसले त्यही पारिवारिक विरासतलाई पार्टीको आदर्श र पहिचानको विषय बनायो।

उसले पोखराका रवीन्द्र अधिकारीको मृत्युपछि उनैकी श्रीमतीलाई र सुवास नेम्वाङको निधनपछि उनैको छोरालाई चुनावमा टिकट दिएर त्यो प्रमाणित गर्‍यो। प्रचण्डले छोरी रेणु दाहाललाई र डा. बाबुराम भट्टराईले छोरी मानुषी भट्टराईलाई स्थापित गराउन गरेको मिहिनेत र नेपोटिज्म कसैको अघि छिपेको विषय छैन र फलत: त्यसैकारण यसपालि ‘नेपो बेबी’ ले ह्याट्रिक गर्‍यो भन्दा हुन्छ।

अर्कोतर्फ, नयाँ पुस्ताको पनि केही गलतफहमी देखिन्छ। पूरै पुस्तालाई अयोग्य वा आउट-डेटेड ठान्ने कुरामा। डिजिटल प्रविधिमा सामान्यत: अघिल्लो पुस्ता अलि कम जानकार भएको कुरा चाहिं आंशिक सत्य हो।

तर सबैको हकमा यो पनि लागू हुन्न। इञ्जिनियरिङ, चिकित्सा, सूचनाप्रविधि आदि पढ्ने, पढाउने स्कूल वा कलेजमा अहिले पनि पुरानो पुस्ताको कमसेकम पनि ३५-४० माथिको मान्छेको नै बाहुल्य छ। कोही कसैको आफ्नै बाबुआमा प्रविधिको कुरामा जानकार छैनन् भन्दैमा पूरै पुस्ताले विज्ञान, प्रविधि र परिवर्तनको कुरा जान्दैन भन्न मिल्दैन।

नेपालको आधुनिकीकरणको इतिहास त्यति लामो छैन। प्रविधिजन्य कुराको आवश्यकता र समग्र उपयोग नेपाली समाजमा अरू देशमा भन्दा निकैपछि शुरु भएको हो। यौटा रेडियो वा घरमा बाल्ने बिजुलीको चिम नै केही वर्ष अघिसम्म नेपाली गाउँघरका लागि प्रविधिको विषय हुने गर्थ्यो।

त्यसो भएकाले पुरानो पुस्ता प्रविधिमा कम अभ्यस्त हुनु कुनै अनौठो कुरा हैन तसर्थ त्यसकै आधारमा पूरै पुस्तालाई अयोग्य भनेर ट्याग लगाउनु उपयुक्त हुन्न। त्यसैले कुरा व्यक्ति व्यक्तिको क्षमता र योग्यताको हुनुपर्छ, पूरै पुस्तालाई अभिशप्त गरिनुहुन्न। त्यसो गरियो भने यो भ्रमपूर्ण ढोंग हुन जान्छ।

अझ अर्को कुरा त के भने प्रविधि ज्ञानको विषयलाई नयाँ पुस्ताले ‘योग्यताको मार्कर’ मान्नु कदापि सही हैन। किनभने व्यक्तित्वको विकासको कुरा होस्, वा रोजगारी, उद्यम वा विकासको काममा नेतृत्व गर्ने वा राजनीतिमा नै किन नहोस्- व्यक्तिको प्रविधि सम्बन्धी जानकारी त्यति धेरै निर्णायक इन्डिकेटर हैन।

सबै व्यक्तिमा आधारभूत प्रविधिको जानकारी हुनु राम्रै कुरा हो। तर माथि भने जस्तो वैयक्तिक जीवनमा सफलता, व्यवसायमा सफलता वा राजनीति वा सार्वजनिक नेतृत्व लगायत कार्यका लागि सामान्य प्रविधि सम्बन्धी लिटरेसी मात्रै सबै थोक हैन। देश विकासकै नेतृत्व दिने व्यक्तिमा पनि बेसिक टेक्नोलोजीको ज्ञान भन्दा अरू अनेकानेक विषयको ज्ञानको बढी महत्व हुन्छ। कुनै खास प्रविधिजन्य विषय त सजिलै बजारबाट प्राप्त गर्न सकिन्छ, तर अरू अनेक विषयमा त्यो सम्भव नै हुँदैन।

तसर्थ, अब नेपालमा उमेर सम्बन्धी पूर्वाग्रह अति भयो, अति भएपछि खति हुन्छ भन्ने उखानबाट चेतेर अब यो विषयमा नयाँ न्यारेटिभ अपरिहार्य भएको छ। अन्यथा, अहिले जेनजीले गरे जस्तै विद्रोह अरू पुस्ताले गरे भने त्यसको परिणाम के होला? तसर्थ आइन्दा पूरै पुस्तालाई लाञ्छित नगरौं, योग्यता, क्षमता र भिजनको कुरामा व्यक्ति-व्यक्तिलाई जाँच्ने गरौं- पूरै पुस्तालाई हैन।

बरु माग नै राख्ने भए मेरिटोक्रेसीको माग राखौं, सबै सार्वजनिक निकायको प्रमुखमा नियुक्ति गर्दा खुला योग्यता परीक्षाको माध्यमबाट नियुक्ति हुनुपर्ने माग गर्दै दबाब सिर्जना गरौं; त्यसले चाहिं जेनजी पुस्ताले मागेको परिवर्तनलाई सहज बनाउन निश्चित रूपले मद्दत गर्नेछ।

(विकासविद् डा. भट्टराई उच्च शिक्षा एव् उद्यमशीलता प्रवर्धनको क्षेत्रमा क्रियाशील छन्।)

लेखक
डा. लोक भट्टराई

(विकासविद् डा. भट्टराई उच्च शिक्षा एव् उद्यमशीलता प्रवर्धनको क्षेत्रमा क्रियाशील छन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?