News Summary
Generated by OK AI. Editorially reviewed.- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट मैदान निर्माण नेपाल प्रिमियर लिग अघि नै पूरा हुने बताए।
- मन्त्री घिसिङले रंगशाला निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने उल्लेख गरे।
- नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलले देशभित्र र अन्तर्राष्ट्रिय रूपमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।
२३ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले कीर्तिपुर क्रिकेट मैदान निर्माणको काम नेपाल प्रिमियर लिग (एनपीएल) अघि नै पूरा हुने बताएका छन् ।
बिहीबार कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अनुगमन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । मन्त्री घिसिङ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, आयोजना प्रमुख चक्रवर्ती कण्ठसहित टोलीले स्थलगत निरीक्षण गरेको हो ।
निरीक्षण क्रममा निर्माण व्यवसायी, नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिसिङले आगामी मंसिरदेखि एनपीएलभन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
रंगशाला निर्माण गुरुयोजना बमोजिम भइरहेकाले निर्माण कार्यलाई राष्ट्रिय प्राथमिकतामा राखी बजेट अभाव नहुने गरी विस्तारको दोस्रो चरण अगाडि बढाइने उनले बताए । सरकार परिवर्तन हुँदैमा निर्माण प्रभावित नहुने समेत उनले प्रष्ट पारे ।
क्यानका सचिव पारस खड्काले हालको नेपालको संवेदनशील अवस्थामा हुन लागेको एनपीएलले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा पनि सकारात्मक सन्देश प्रवाह हुने बताए ।
उनले मैदान तयारी अवस्थामा रहेको, फ्लड लाइड जडान र प्यारापिट निर्माण कार्य एनपीएल अगाडि नै निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गरे ।
रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लडलाइट जडान कार्यको प्रगति ६० प्रतिशत छ । रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान भइरहेको छ । ६ मध्ये २ वटा लाइट टावर ठड्याउने काम सम्पन्न भइसकेको छ । बाँकी उपकरण आपूर्ति समेत भइसकेको छ ।
प्रतिक्रिया 4