+
+
Shares

जेनजीलाई अर्थपूर्ण सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्छौं : प्रधानमन्त्री (भिडियो)

पुराना दलहरूलाई भनिन्- सुधार्न आवश्यक छ

उनले भनेकी छिन्, ‘यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते २२:४०

२३ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बिहीबार जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न पनि अपिल गरेकी छिन् ।

‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’

उनले आफू नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र प्रतिबद्ध पनि रहेको बताएकी छिन् ।

‘हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।

प्रधानमन्त्रीको सम्बोधन-

आदरणीय दिदीबहिनी, दाजुभाई ।

नेपालका जेनजी युवाहरूले सुरु गरेको राजनीतिक आन्दोलन आज एक महिना पुगेको छ । यस आन्दोलनका क्रममा धेरै युवा शहीद हुनुभएको छ । सयौं युवा घाइते हुनुभएको छ । म सबैलाई सम्झन चाहन्छु । यो घटना अत्यन्त पीडादायी क्षणको रुपमा सधैंभर रहनेछ । युवाहरूले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ । देशमा न्याय, विधिको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथिति उन्मुलन भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ । एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्क्रट प्रेम । उनीहरूको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन् । उनीहरूको माग सुन्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ । यसका लागि हामी सबै युवा सचेत हुन जरुरी छ भने राजनीतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरुरी छ ।

हामीले पीडित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम अघि ल्याएका छौं । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौं । भ्रष्टाचार, बेराजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न हामी राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।

भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु । यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।

मलाई आशा छ, यो वर्तमान सरकार र निर्वाचनपछि आउने नयाँ सरकार दुवैले युवाहरूको सपना साकार पार्न, समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन् । अन्तिममा दोहोर्‍याउन चाहन्छु, हामी शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्नेछौं । मलाई आशा छ, संकटको यो घडीमा हामी सबै एक भएर अघि बढ्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?