+
+
Shares

सुनको दैनिक आयात कोटा २५ किलो पुर्‍याइयो, रेमिट्यान्स सीमा २५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा २० किलोबाट २५ किलो पुर्‍याएको छ।
  • सानिमा बैंकले बुधबार ५० किलो सुन आयात गरिसकेको छ भने लक्ष्मी सनराइज बैंकले शुक्रबार ५० किलो सुन आयात गर्नेछ।
  • केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने रेमिट्यान्सको सीमा २० लाखबाट २५ लाख रुपैयाँ पुर्‍याएको छ।

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ । केन्द्रीय बैंकले २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्‍याएको हो ।

अब देखि दैनिक २० किलो सुन आयात गर्दै आएका वाणिज्य बैंकहरुले २५ किलो आयात गर्नेछन् । बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरेर सर्वसाधारणमा गहनाको रुपमा बिक्री वितरण गर्छन्।

बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।

साथै विश्व राजनीतिक परिवेशले सुन लागत नै बढेको हुँदा पनि मूल्य निरन्तर उकालो लागेको हो ।

दिपावली नजिकिएसँगै सुनको माग झनै बढ्ने भएपछि केन्द्रीय बैंकले आयात कोटा बढाएको हो । पछिल्लो समयमा वाणिज्य बैंकहरुले पनि सुन आयात नगरेको अवस्था छ । असोज २० गतेसम्ममा बैंकहरुसँग ३२ किला मात्रै सुन बक्यौता रहेको बैंकहरू बताउँछन ।

नेपाल बैंकर्स संघका अनुसार बुधबार मात्रै सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ । त्यसैगरी लक्ष्मी सनराइज बैंकले शुक्रबार सोही परिमाणमा सुन आयात गर्ने संघले जनाएको छ।

लगानीकर्ताका लागि तुलनात्मक रुपमा सुनको लगानी सुरक्षित हुने भएकाले पनि माग बढेको सुन चाँदी व्यवसायीहरू बताउने गरेका छन् ।

त्यसैगरी केन्द्रीय बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्‍याएको हो ।

केन्द्रीय बैंकका अनुसार नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिन्छ ।

यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी आएको रेमिट्यान्स प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?