
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.गोविन्द पोखरेलले मंसिरमा नियमित महाधिवेशन गर्न सकिने बताएका छन् । मंसिर मसान्तसम्म १५ औं महाधिवेशन गर्दा वडादेखि केन्द्रसम्म जेन-जेड युवालाई समेत पार्टीका संरचनामा सहभागी हुने उनले बताए ।
समयको मागलाई यो वा त्यो बहानामा टार्न नमिल्ने बताउँदै पोखरेलले नियमित महाधिवशेन गर्न सकिने विधि कार्यतालिका सहित नेतृत्वलाई सुझाव दिएका छन् । सदस्यता व्यवस्था समितिमा सदस्यहरु थप्न उनले सुझाव दिएका छन् ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समिति चार सदस्यीय छ । पोखरेलले भने, ‘क्रियाशील सदस्यको प्रक्रिया चाँडो टुंग्याउन अहिलेको क्रियाशील सदस्यवारे गठन गरेको समितिमा थप १५ जना राखौं । र, सबैलाई प्रदेश अनुसार जिम्मा दिऔ ।’
केन्द्रीय समिति बैठकबाट १४औं महाधिवेशनका सबै क्रियाशीलको नवीकरण भएको निर्णय लिन सकिने विकल्प रहेको उनले सुनाए । कात्तिक १० देखि २० गतेसम्म प्रत्येक वडामा कम्तिमा १०० जना पुग्ने गरी वा धेरै भएका ठाउँमा २० प्रतिशत थप्ने गरी अनलाइन गर्न सकिने उनले बताए । कात्तिकको १२ देखि १५ गतेसम्म नयाँ क्रियाशील अभियान र पुराना छुट नवीकरण गर्न परिपत्र गर्न पोखरेलले सुझाएका छन् ।
कात्तिकको २० गतेदेखि मसान्तसम्म क्रयाशील सदस्यको विवाद जिल्ला प्रदेश र केन्द्रको समितिले समन्वय गरी निर्णय टुंगो लगाउन पोखरेलले सुझाव दिए । मंसिर २५ मा महाधिवशेनको उद्घाटन गरी २७ गते प्रदेश र केन्द्रको एकै दिन निर्वाचन गराउन सकिने उनले बताए । पोखरेल भन्छन्,‘महाधिवेशन प्रतिनिधिलाई काठमाडौं नआउने गरी प्रदेशमा मत खसाल्ने वातावरण बनाऔ ।’
प्रतिक्रिया 4