+
+
Shares

पर्वतमा धानबालीमा फड्के कीराको संक्रमण, कृषक चिन्तित   

रासस रासस
२०८२ असोज २६ गते १५:४८

२६ असोज, पर्वत । जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ ।

धान फलेर पाक्ने बेलामा फड्के कीराको सङ्क्रमण बढेपछि कृषक चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार कृषि प्राविधिकको स्थलगत अनुगमनका क्रममा ती क्षेत्रमा कीराको आक्रमणका कारण धानबालीमा व्यापक क्षति पुगेको पाइएको छ ।

फड्के कीराको बयस्क र बच्चा दुवै चरणले धानको पातको फेदबाट रस चुस्ने हुँदा बोटका पात पहेँलो हुने, फोस्रा दाना लाग्ने र उत्पादनमा उल्लेख्य गिरावट आउने खतरा रहेको केन्द्रले जनाएको छ । अत्यधिक आक्रमण भएका क्षेत्रमा धानका बोट नै सुक्ने अवस्थासमेत देखिएको छ । त्यसलाई ‘होपर बर्न’ समस्या रहेको बुझिने केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख पर्शुराम अधिकारीले पैँयु गाउँपालिकाअन्तर्गतका केही वडामा फड्के कीराको संक्रमण फैलिरहेको बताए । उनले सङ्क्रमण नियन्त्रणका लागि अनुगमन र प्राविधिकको रिपोर्टका आधारमा विषादी सिफारिस गरिएको बताए ।

उनका अनुसार, उच्च आद्रता, खेतमा स्थायी पानी जम्ने अवस्था, असमान रोपाइँ समय, अत्यधिक नाइट्रोजनयुक्त मलको प्रयोग र कीटनाशक विषादीको अनियन्त्रित प्रयोग कीराको वृद्धि हुने प्रमुख कारण रहेका छन् । यस्ता कीराले धानमा लाग्ने भाइरसजन्य रोग सार्ने माध्यमको काम पनि गर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अधिकारीले बताए ।

संक्रमण न्यूनीकरणका लागि रोपाइँ एउटै समयमा सम्पन्न गर्ने, खेतमा हावापानीको उचित व्यवस्था मिलाउने, युरिया मलको सन्तुलित प्रयोग गर्नुपर्ने, अनावश्यक रूपमा विषादी प्रयोग नगर्ने, मित्र कीटको संरक्षण गर्ने र गुणस्तरयुक्त विषादीको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

अधिकारीका अनुसार, कृषकलाई आवश्यक जानकारी दिन प्राविधिक परिचालन गरिएको छ । साथै, संक्रमण रोकथामका लागि खेतको नियमित अवलोकन र कीट व्यवस्थापनमा विशेष सतर्कता अपनाउन सुझाव दिइएको केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रले कीराको सङ्ख्या बढी देखिएका क्षेत्रमा विषादी प्रयोग गर्दा धानको बोटको फेदमा पुग्नेगरी छर्कन आग्रह गरेको छ ।
पर्वतका अन्य क्षेत्रमा पनि यस्तै समस्या देखिनसक्ने भएकाले सावधानी अपनाउन कृषक र स्थानीय तहलाई जानकारी गराइएको छ । रोग निदानका लागि कृषकलाई तीन पटकसम्म खेतमा पानी एक हप्ता राखी त्यसपछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुक्खा राख्नेगरी सिँचाइको व्यवस्था गर्न सुझाव दिइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?