
News Summary
Generated by OK AI. Editorially reviewed.- नीर शाहले २०१० असोज २६ मा जन्मेर नेपाली सिनेमामा निर्देशक, अभिनेता, निर्माता र गीतकारको रूपमा योगदान दिएका छन्।
- उनले २०३७ सालमा आफ्नै लगानीमा 'बासुदेव' फिल्म बनाए, जसले नेपाली सिनेमामा नयाँ इतिहास बनायो।
- नीर शाह नेपाल टेलिभिजनका संस्थापक अध्यक्ष हुन् र नयाँ प्रतिभा प्रोत्साहनमा सक्रिय छन्।
नेपाली सिनेमाको इतिहास कहाँबाट सुरु हुन्छ ? कसरी सुरु हुन्छ ? खोतल्दै जाँदा ठोक्किन पुग्ने एउटा पात्र हुन्, नीर शाह ।
नेपाली सिनेमामा उनी कहाँ छैनन् ? निर्देशकको रूपमा, चरित्र अभिनेताको रूपमा, निर्माताको रूपमा । अनेक आयममा उनी छन् । टेलिफिल्म, विज्ञापन, सिनेमा, रेडियो, टेलिभिजन सर्बत्र छाएका छन् । उनले के गरेनन् ? गीत लेखेनन् कि ? नाटक खेलेनन् कि ? स्क्रिप्ट लेखेनन् कि ?
नीर शाह कलाकार मात्र होइनन्, नेपाली कला–सिनेमाका खुला पाठशाला पनि हुन् ।
गह्रौं ज्यान, उस्तै आवाज । परिपक्क कला चेत, माझिएको अभिनय । दशकौंको अनुभवले खारिएका उनी नेपाली सिनेमाको एक युग हुन् । अनि प्रेरणा पनि । सिनेवृत्तमा उनलाई श्रद्धापूर्वक बोलाउने नाम हो, नीर राजा । ‘अभिनयको भीष्म पितामह’ त्यसै भनिएको होइन ।
कला–अभिनयका एक अविश्राम धावक । जसले सयौं सिनेमामा अभिनय गरे । थुप्रै फिल्म निर्माण, निर्देशन गरे । त्यसमध्ये कतिले नेपाली सिनेमामा नयाँ इतिहास नै बनायो । चानचुन समय होइन, आधा दशक । यही अवधि उनी कला–अभिनयमा सक्रिय छन् ।
आज उनै नीर शाहले आफ्नो ७२ औं जन्मदिन मनाउँदैछन् । वि.सं. २०१० असोज २६ गते जन्मिएका हुन् उनी, बुबा देवेन्द्रविक्रम र आमा बोधकुमारी शाहको कोखबाट।
विजय स्मारक स्कुलबाट विद्यालय तहको पढाइ सकेर उनी दार्जीलिङ गए । सेन्ट जोसेफ कलेजमा पढे । दार्जीलिङमा छँदा नै उनी कला साहित्यमा लागिसकेका थिए । त्यहाँ उनी नाटकमा अभिनय गर्थे । ‘स्मृतिको पर्खालभित्र’, मुटुको व्यथा’ जस्ता नाटक त्यसबेला चर्चित थियो । यही बिन्दुबाट नै उनले अभिनय यात्रा सुरु गरे ।
२०३७ सालमा उनले आफ्नै लगानी र निर्देशनमा सिनेमा बनाए, बासुदेव । जतिबेला सिनेमाको बजार सानो थियो र लगानी उठाउने जोखिम ठूलो थियो । त्यहीबेला उनले आफूसँग भएको पैसा खर्चिएर बासुदेव बनाए । यो फिल्म मात्र थिएन, कीर्तिमान पनि थियो ।
आख्यानकार डा. ध्रुवचन्द्र गौतम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको दुई फरक कृति यही सिनेमाले समेटिदियो । डा. गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’बाट फिल्मको कथा निर्माण गरियो भने देवकोटाको कविताबाट गीत । ‘कुन मन्दिरमा जान्छौं यात्री’ गीत यही फिल्ममा समावेश गरिएको हो ।
त्यसबेला उनीसँग साढे तीन लाख रूपैयाँ थियो । र, त्यही लगानीबाट फिल्म बन्छ भन्ने अनुमान गरिएको थियो । तर, फिल्म बनाउँदै जाँदा १४ लाख रूपैयाँ खर्च भयो । रमाइलो कुरा त के भने, यस फिल्मका लागि त्यसबेला नीर शाहले उद्योगपति विनोद चौधरीलाई अपुग पैसा लगानी गराएका थिए ।
फिल्ममा विनोद चौधरीले १२ लाख रुपैयाँ लगानी गरेको बताएका छन्, जुन त्यसबेलाको निकै ठूलो रकम थियो । ‘यति पैसाले काठमाडौंमा ५–६ रोपनी जग्गा नै आउथ्यो’ एकपटक फेसबुकमा चौधरीले लेखेका छन्, ‘त्यो फिल्मले पैसा त खासै कमाएन तर पैसाभन्दा फिल्मले दिएको आत्मसन्तुष्टि छुटै छ।’
त्यसपछि पनि नीर शाहले यस्तै फिल्महरू निर्माण/निर्देशन गरे, जुन आफैँमा इतिहास बन्यो । जस्तो कि, सेतोबाघ, प्रेमपिण्ड, वसन्ती, राजमति । यी फिल्ममध्ये सेतोबाघ, प्रेमपिण्ड, वसन्ती ऐतिहासिक कथामा आधारित थियो भने राजमति नेपाल भाषाको पहिलो चलचित्र थियो।
यस्तै फ्रान्सेली निर्देशक एरिक भ्यालीसँगको सहकार्यमा उनले निर्माण गरेको फिल्म ‘क्याराभान’ ओस्कार अवार्डको मूख्य विधातर्फ अन्तिम पाँचमा मनोनित भएको थियो ।
फिल्म निर्माण, निर्देशनसँगै उनी अभिनयमा पनि पोख्त मानिन्छन्।
३०० बढी फिल्ममा उनको अभिनय देख्न सकिन्छ । उनले २०२४ मा ‘परिवर्तन’ चलचित्रबाट सिने क्षेत्रमा प्रवेश गरेका थिए । ‘कुसुमे रुमाल’, ‘प्रेमपिण्ड’, ‘नाता रगतको’, ‘ढुकढुकी’, ‘मुनामदन’, ‘किस्मत’, ‘सानो संसार’, ‘बादलपारी’, ‘गौंथली’ जस्ता फिल्महरूमा उनका अभिनयका दृश्यहरू अझै दर्शकको मनमा ताजा छन् । निर्देशकको रूपमा उनले ‘बासुदेव’, ‘पच्चीस वसन्त’, ‘वसन्ती’, ‘राजमती’, ‘सेतो बाघ’ लगायतका फिल्ममार्फत नेपाली चलचित्रलाई गुणस्तरीय र व्यावसायिक रूपमा नयाँ उचाइमा पुर्याए।
उनी केवल अभिनेता वा निर्देशक मात्र नभई गीतकारको रूपमा पनि अमूल्य योगदान दिएका छन् । उनले रचेका गीतहरू जस्तै ‘पर्खिबसें आउला भनी’, ‘छोरी मलाई भागी-भागी नसताऊ’, ‘गहिराइमा डुब्दै नडुब’, ‘प्यारी वसन्ती’ आज पनि संगीतप्रेमीको मनमा बस्न सफल छन् । उनका गीतहरू भावनात्मक गहिराइ र जीवनप्रतिको संवेदनशील दृष्टिकोणले भरिपूर्ण छन् ।
उनको व्यक्तित्व पनि कलाकारितासँग मेल खाने गरी विशिष्ट छ । राजपरिवारसँग सम्बन्ध भए पनि उनले कहिल्यै आफ्नो सम्बन्धको फाइदा उठाएनन् । सडकदेखि महलसम्मको व्यवहार समान रह्यो । उनको स्थिरता, सरल स्वभाव र सबैलाई सहयोग गर्ने मनले उनी सबैको प्रिय बने । उनीसँग काम गरेका सहकर्मीहरूले सधै भन्ने गर्छन् ‘नीर शाहसँग काम गर्दा सम्मान र आत्मविश्वास सँगै मिल्थ्यो ।’
नेपाल टेलिभिजनको संस्थापक अध्यक्षका रूपमा पनि उनको योगदान अतुलनीय छ । सीमित स्रोत र चुनौतीका बाबजुद उनी नयाँ कार्यक्रम र सिर्जनात्मक प्रयोगमा लगातार लागिरहे । उनका विचार र नेतृत्वले टेलिभिजनलाई घर–घरमा पुर्याउन सहयोग गर्यो र यस माध्यमलाई नेपाली समाजमा स्थापित गर्यो।
शाह जहिले पनि नयाँ प्रतिभा र सिर्जनालाई प्रोत्साहन गर्न तत्पर देखिन्छन् । उनी सधैं विश्वास गर्छन् कि कलाकारिता केवल आफ्ना लागि मात्र होइन, अरूलाई अवसर दिन र नयाँ प्रतिभालाई अघि बढाउन प्रयोग गर्नुपर्छ । यही दृष्टिकोणले नेपाली चलचित्रमा धेरै नयाँ कलाकार र निर्माता आफ्नो पहिचान बनाउन सक्षम भएका छन् ।
प्रतिक्रिया 4