News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले हातको चोटबाट चाँडो निको भएर भारतविरुद्धको आगामी टी–२० सिरिजमा खेल्न सक्ने विश्वास जनाएका छन्।
- म्याक्सवेलले गत हप्तामात्र दाँया हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए र चार हप्ताभित्र खेलमा फर्किन सक्ने सम्भावना रहेको बताए।
- अस्ट्रेलियाले अक्टोबर २९ र ३१ का खेलका लागि म्याक्सवेललाई समावेश नगरेको छ तर नोभेम्बर २, ६ र ८ का खेलका लागि फिट हुने आशा व्यक्त गरेका छन्।
२७ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले हातको चोटबाट चाँडो निको भएर भारतविरुद्धको आगामी टी–२० सिरिजमा खेल्न सक्ने विश्वास जनाएका छन्।
म्याक्सवेलले गत हप्तामात्र आफ्नो दाँया हातको नाडी भाँचिएपछि शल्यक्रिया गरेका थिए। उनलाई यो चोट न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजअघि नेट अभ्यासमा बलिङ गर्ने क्रममा मिचेल ओवेनको शटले हिर्काउँदा लागेको हो।
चोटपछि उनी तुरुन्त घर फर्किएर विशेषज्ञसँग सल्लाह गरे र उपचार प्रक्रिया छिटो पार्न शल्यक्रिया गर्ने निर्णय लिए। यसले चार हप्ताभित्र खेलमा फर्किन सक्ने सम्भावना बनाएको उनले बताए।
म्याक्सवेललाई अस्ट्रेलियाले अक्टोबर २९ र ३१ मा हुने पहिलो दुई खेलका लागि टोलीमा समावेश गरेको छैन। तर उनले नोभेम्बर २ (होबार्ट), नोभेम्बर ६ (गोल्ड कोस्ट) र नोभेम्बर ८ (ब्रिसबेन) मा हुने अन्तिम तीन खेलका लागि फिट हुने आशा व्यक्त गरेका छन्।
‘शल्यक्रिया नगरेको भए म पुरै सिरिज गुमाउने थिएँ’ म्याक्सवेलले भने, ‘शल्यक्रियाले मलाई थोरै भए पनि आशा दिएको छ। यदि भारत सिरिज गुमाएँ भने पनि म बिग ब्यासका लागि तयार हुनेछु।’
उनले केही दिनअघि हातको प्लास्टर हटाएको र अहिले प्लास्टिकको हल्का स्प्लिन्ट लगाएको बताए। चिकित्सकको सुझावअनुसार उनले बिस्तारै हात चलाउन थालिसकेका छन्।
म्याक्सवेलका अनुसार सिरिजमा चाँडो फर्कनु जोखिमपूर्ण छैन, मुख्य कुरा हातको पीडा नियन्त्रण गर्नु हो। उनले भने, ‘अब यो केवल दुखाइ कति सहन सक्छु भन्नेमा निर्भर गर्छ।’
म्याक्सवेलले यसअघि पनि अनौठा चोटहरू व्यहोरेका छन्- एकपटक जन्मदिन पार्टीमा खुट्टा भाँचिएको र अर्कोपटक गोल्फ कार्टबाट लडेपछि टाउकोमा चोट लागेको थियो।
‘यो पनि दुर्भाग्य नै हो’ उनले भने, ‘तर अब म बलिया हिटरहरू जस्तै मिच ओवेन, मार्कस स्टोइनिस, टिम डेभिड र क्याम ग्रीनलाई नेटमा बलिङ गर्नबाट टाढा रहनेछु।’
न्यूजिल्यान्डविरुद्धको सिरिज गुमाउनु आफूका लागि निराशाजनक भएको उनले बताए। उनले गत अगस्तमा दक्षिण अफ्रिकाविरुद्ध ३६ बलमा ६२ रन नटआउट बनाएर अस्ट्रेलियालाई जिताएका थिए।
त्यस्तै, सेप्टेम्बरमा उनले भिक्टोरियाका लागि घरेलु वनडे कपमा ८२ बलमा १०७ रन प्रहार गरेका थिए।
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4