+
+
Shares

माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते ९:५४
सामान लैजाँदै वाईसीएल नेताहरु ।

२७ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं कार्यालयले विभिन्न स्थानबाट संकलन गरेका मोनिटर, सीपीयु, प्रिन्टर, फ्यान, इन्भर्टर, माओत्सेतुङका दुईवटा शालिक, झोला लगायतका सामान आइतबार माओवादी केन्द्रलाई फिर्ता दिएको हो ।

माओवादी केन्द्रले केन्द्रीय कार्यालयबाट लुटिएका सामान खोजी गर्न मातहतका कमिटीहरुलाई सर्कुलर समेत गरेको थियो । प्रहरीले पनि लुटपाटका भएका सामान फिर्ता गर्न सार्वजनिक आह्वान गरेको थियो । त्यसपछि बानेश्वर प्रहरी कार्यालयमा केही सामान फिर्ता भएका थिए भने केही सामान प्रहरीले नै फेला पारेको थियो । ती सामानहरु बानेश्वर प्रहरीले जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइदिएको थियो ।

आइतबार माओवादी केन्द्रीय कार्यालयको आधिकारिक पत्र लिएर माओवादी कार्यकर्ताहरु सामान लिन जिल्ला प्रहरी परिसर पुगेका थिए ।

प्रहरीबाट सामान बुझेका वाईसीएलका नेता दीपक न्यौपानेले भने, ‘हामीले हाम्रो हो भनेर चिनिने जति सामान ल्याएका छौं । त्यसमा ३ थान मोनिटर, ५ थान सीपीयु, १६ थान मजदुर संगठनको लोगो अंकित झोला अनि इन्भर्टर, फ्यान, एउटा प्रिन्टर लगायतका सामान छन् ।’

उनले आफ्ना सामान सुरक्षित राखिदिएको र फिर्ता ल्याउन सहयोग गरेको भन्दै प्रहरीप्रति आभार प्रकट पनि गरे ।

स्रोतका अनुसार माओवादी केन्द्रले चोरी भएका सामान खोज्न सर्कुलर गरेपछि परिचालित भएका कार्यकर्ताहरुले काठमाडौंकै निम्न वर्गीय व्यक्तिको बसोबास रहेको बस्तीहरुमा केही सामान फेला परेका थिए । ती बस्ती खुलाउन नचाहेका एक कार्यकर्ताले भने, ‘हामी निम्न वर्गकै लागि लड्ने पार्टीका चोरीका सामान तिनै बस्तीहरुमा फेला पर्दा अत्यन्त दु:ख लाग्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?