
२८ असोज, काठमाडौं । दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ ।
निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ ।
दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ । कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था हुनुपर्छ । यी विवरणसहित निवेदन दिएपछि निर्वाचन आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात समेत बुझाउनुपर्ने भनिएको छ ।
यही व्यवस्था अनुसार निवेदन दिएका तीन वटै दलसँग आयोगले थप कागजात मागेको हो ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई विधानको व्यवस्थाबारे स्पष्ट हुनुपर्ने भनेर थप कागजात मागिएको छ । नागरिक पार्टी र उज्यालो नेपालसँग पाँच सय जनाको हस्ताक्षर नपुगेको भनेर विवरण माग गरिएको हो ।
उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय जनाको हस्ताक्षर नपुगेको र हस्ताक्षर गरेकाहरूले सनाखत गर्नुपर्ने भनिएको जानकारी दिइन् । उनले भनेकी छन्, ‘पाँच सय जनाको सनाखत हुनुपर्छ भनेर आएको छ । हामी त्यसको तयारी गर्दैछौं ।’
जनमत पार्टी फुटेर दर्ता हुन पुगेको जनस्वराज पार्टीको प्रक्रिया भने अगाडि बढेको छ ।
प्रतिक्रिया 4