
२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध गलत र भ्रम छर्ने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सामाजिक सञ्जाल र मिडियाहरूमा आफूविरुद्ध गलत प्रचार भइरहेको बताए ।
पार्टी निर्माण, पुनर्गठन, रुपान्तर, शुद्धीकरण लगायतका सन्दर्भमा विगत दुई वर्षदेखि पार्टीभित्र र विभिन्न तहमा आफूले बहस चलाएको उनले बताए ।
नयाँ युगमा पार्टी कसरी निर्माण गर्ने र नयाँ पुस्तामा नेतृत्व कसरी हस्तान्तरण गर्ने लगायत विषयहरू राखेकै कारण ती बहसलाई डाइभर्ट गर्न आफूविरुद्ध भ्रामक र दुष्प्रचार भइरहेको उनको भनाइ छ ।
अ विशेष गरी अहिले हिजो आज एउटा प्रचार भइराख्या छ कि मैले कुनै अर्को व्यक्तिको नाममा फेरि अर्को पार्टी बनाइरहेको छु भनेर प्रचार गरिएको छ। यो भ्रमपूर्ण एउटा समाचार हो।
जेन्जी आन्दोलनपछि परम्परागत ढंगले पार्टी अघि बढ्न नसक्ने भएकोले नयाँ ढंगले पार्टी निर्माण गर्नु पर्ने भन्दै उनले नयाँ जगमा पार्टी उठाउनका लागि बहस गरिरहेको र गरिरहने उनले बताए ।
उनले भने, ‘नयाँ ढंगले पार्टी निर्माण गर्नुपर्छ भन्ने बहस गर्दा फलानाको नेतृत्वमा पार्टी बनाउन लाग्यो, यो गरियो भनेर पार्टी भित्रकै साथीहर”ले अनावश्यक प्रचार गर्ने, भ्रम हाल्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । त्यसको म खण्डन गर्न चाहन्छु ।’
उनले अगाडि भने, ‘पार्टी त नयाँ बनाउनै पर्छ । नयाँ ढंगले जानै पर्छ । कि जेएनजी आन्दोलनले हामीलाई एउटा स्पष्ट मार्ग निर्देशन गरिसकेको छ । चुनौती खडा गरिसकेको छ । आन्दोलनले कुन ट्रयाकमा जानुपर्छ भन्नेबारेमा स्पष्ट गरिसकेको छ । त्यसलाई स्वीकार गरेर जाने, अहिलेसम्म भएका कमी कमजोरी आत्मालोचना गरेर जानुपर्छ ।’
जेनजी आन्दोलनको ग्राउन्ड तयार गर्ने काम सरकार, राजनीतिक दल, राजनीतिक दलका नेतृत्वले गरेको उनको तर्क छ ।
मेरो सम्पत्ति न्यूयोर्कमा छैन
शर्माले आफ्नो सम्पत्ति न्यूयोर्कमा रहेको भनेर गलत प्रचार गरिएको बताए ।
उनले भने, ‘मेरो सम्पत्ति न्यूयोर्कमा छ । ग्यास स्टेसनहरू छन् भनेर जनतालाई भ्रमित गर्ने काम गरिएको छ । यो दुष्प्रचार हो । मैले पार्टीभित्र पनि र संसद्बाट पनि यो विषयमा धेरै पटक उठाएको छु ।’
२०४६ साल पछिका ओहदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं सत्यतथ्य सार्वजनिक गरौं भनेर संसद् र पार्टीभित्रै आफैंले कुरा उठाएको उनले स्मरण गरे ।
आफूविरुण दुष्प्रचार गरेर राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको उनको भनाइ छ ।
छोरा-छोरी स्वदेशमै छन्
नेता शर्माले आफ्ना छोराछोरी अमेरिकामा रहेको भनेर गलत प्रचार गरेको बताएका छन् ।
उनले अगाडि भने, ‘मेरा छोरा-छोरी विदेशमा छन् भनेर प्रचार गरिराखेको अवस्था छ । मेरा छोराछोरी यही देशमा छन् । एउटा छोरा एउटा छोरी छ। यही देशमा छन् । यहीँ श्रम गरिरहेका छन् ।’
बाहिर छोराछोरी राख्नेहरूले आफ्नो कमीकमजोरी ढाकछोप गर्नलाई यस्तो प्रचारबाजी गरेको उनले बताए ।
आफूले सम्हालेको मन्त्रालयमा राम्रै काम गरेँ
नेता शर्माले आफूले तीन चार वटा मन्त्रालयमा काम गर्ने अवसर पाएको भन्दै ती मन्त्रालयहरूमा राम्रै काम गरेको दाबी गरे ।
शान्ति मन्त्रालय, ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय चार वटा मन्त्रालयमा ३७ महिना काम गर्ने अवसर मिलेको भन्दै उनले ती मन्त्रालयहरूमा राम्रै काम गरेको बताए ।
लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेँ
उर्जा मन्त्री हुँदा आफूले लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
उनले भने, ‘मैले दृढ संकल्प नगरेको भए लोडसेडिङ सम्भव थिएन, त्यो कुरा इतिहास साक्षी छ । मेरो नेतृत्वमा मेरा सहयोगी साथीहरू पनि हुनुहुन्थ्यो घिसिङ जी लगायत अरूले पनि साथ दिनुभयो ।’
आफू गृहमन्त्री हुँदा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।
देशमा मुर्छित अवस्थामा छ
नेता शर्माले मुलुक अहिले संवैधानिक रूपमा मुर्छित अवस्थामा रहेको बताए ।
उनले भने, ‘हाम्रो राष्ट्रियता एकदमै गम्भीर जोखिममा छ । अहिलेको अन्तरिम सरकारले निर्वाचनको घोषणा गरेको छ । दलहरूले निर्वाचन होइन, पुनर्स्थापनाका कुरा गरिरहेका छन्। अन्तरविरोधका कुरा भइरहेका छन्। यतिबेला हाम्रो राष्ट्र र राष्ट्रियतालाई जोगाउनका लागि सबै राष्ट्रवादी देशभक्त शक्तिहरू एकताबद्ध भएर जानुपर्ने आजको आवश्यकता हो ।’
जेनजीले विद्रोहका एजेण्डाहरूलाई स्वीकार नगर्ने हो भने देश कसरी बनाउन सकिन्छ भन्ने प्रश्न गर्दै उनले भने, ‘तिनलाई स्वीकार गर्नु पर्छ । ती एजेन्डालाई कार्यान्वयन गर्नका लागि अब एउटा वैधानिकताको बहाली गरी सिस्टम निर्माणमा सबै लाग्नु पर्छ ।’
राष्ट्रको रक्षाका लागि पार्टीभन्दा माथि उठेर राष्ट्रका लागि योगदान गर्ने बेला आएको उनले बताए ।
२३ भदौको आन्दोलन शान्तिपूर्ण भए पनि २४ भदौमा आइपुग्दा घुसपैठका कारण देशले ठूलो क्षति भोग्नु परेको उनले बताए ।
जेनजीका नयाँ एजेण्डा र नयाँ सपनाविरुद्ध आज फेरि यथास्थितिमा बसेर राजनीतिक दलका नेताहरूले विभिन्न गतिविधि सञ्चालन गर्नुलाई दुखद् भएको उनको भनाइ छ ।
सरकारले एउटा आयोग नै बनाएर २०४६ सालपछिका ओहदामा बसेका सबैमाथि छानबिन गर्न उनले माग गरे । उनले भने,’त्यसबाट मात्रै सत्यतथ्य कुरा स्पष्ट हुन्छ । एउटा पारदर्शिताको आधार तयार हुन्छ । एउटा नयाँ युग सुरु हुन्छ । त्यो कुरामा म सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
अनावश्यक भ्रमहरू सिर्जना गरेर विषयलाई विषयान्तर गर्ने र फेरि आफ्नो दुनो सोज्याउने प्रवृत्ति हानिकारक भएको उनले बताए ।
प्रतिक्रिया 4