
News Summary
Generated by OK AI. Editorially reviewed.- इजरायली संस्था सायब्राले भदौ २३ र २४ गतेको जेनजी विद्रोहबारे ३४ प्रतिशत अनलाइन संवाद नक्कली एकाउन्ट र एआई सामग्रीबाट प्रभावित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
- नेपालमा डिजिटल साक्षरता कमजोर हुँदा अधिकांश प्रयोगकर्ताले समाचार स्रोत नहेरी हेडलाइन मात्र पढेर प्रतिक्रिया जनाउँछन् र फेक न्यूजको सजिलै सिकार बन्ने गरेका छन्।
- फेक न्यूजबाट बच्न स्रोत जाँच्ने, हेडलाइनभन्दा अघि समाचार पढ्ने, फोटोको प्रामाणिकता हेर्ने, फ्याक्ट चेक गर्ने र डिजिटल साक्षरतामा लगानी गर्नुपर्ने विज्ञहरूले बताएका छन्।
२८ असोज, काठमाडौं । फेक न्यूज कसरी चिन्ने ? यो प्रश्नको धेरै सामना गरेका युवा नोआ हरारीले एउटा प्रसङ्गमा भनेका छन्, ‘फेक न्यूज त्यो हो जुन फेक न्यूज जस्तो लाग्दैन ।’
उनले भनेका छन्- नक्कली समाचारहरू प्रायः यथार्थजस्तै र हाम्रो विश्वाससँग मेल खाने गरी बनाइएका हुन्छन् ।
त्यसो त हरारीका अनुसार सत्यको युग कहिल्यै थिएन । मानवहरू सधैं मिथक र काल्पनिक कथाहरूमा विश्वास गर्दै आइरहेका हुन्छन् । जस्तो कि धर्म, राष्ट्र, पैसा ।
गलत सूचना किन छिटो फैलन्छ र बढी मानिसलाई प्रभावित गर्छ ? उत्तर पनि स्वाभाविक छ- यो मानिसहरूको पूर्वाग्रह र विश्व दृष्टिकोणमा ‘फिट’ हुन्छ । यदि यो स्पष्ट रूपमा ‘नक्कली’ देखिन्थ्यो भने यसले कसैलाई पनि झुक्याउँदैनथ्यो ।
त्यसैले संसारभरी भन्ने गरिन्छ- भ्रमित समाचारले जो कोहीलाई पनि झुक्याउन सक्छ। पूर्वाग्रह नराखी सत्य/तथ्य बुझेर धारणा बनाउने गर्नुपर्छ । कसैको गलत धन्दाको सिकार हामी हुनु हुँदैन।
हरारीले जोड दिएजस्तै मानिसहरू सत्य खोज्न भन्दा सुविधा/सजिलो र समूह निष्ठालाई प्राथमिकता दिन्छन्। यसबाट बच्न, मानिसहरूले खर्चै गरेर भए पनि गुणस्तरीय जानकारी खोज्नुपर्छ । त्यस्तो जानकारी जसले उनीहरूको एटेन्सन/ध्यान बेच्दैन ।
यसो गरे मात्र पूर्वाग्रहहरू र भावनाहरूको आधारमा निर्णय गरिंदैन र दुष्प्रचारको हतियार बनिँदैन ।
डिजिटल युद्धभूमिको रिपोर्ट
इजरायली संस्था सायब्राको हालै सार्वजनिक प्रतिवेदन अनुसार, भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबारे अनलाइन फैलिएको संवादको करिब ३४ प्रतिशत हिस्सा नक्कली एकाउन्टहरू र एआईले बनाएको सामग्रीबाट प्रभावित भएको थियो।
हरेक तीनवटा एकाउन्टमध्ये एउटा शंकास्पद वा नक्कली पाइएको थियो।
यी एकाउन्टहरूले सरकार विरोधी ह्यासट्यागलाई ठूलो बनाउँदै वास्तविक प्रयोगकर्तासँग मिसिएर कथ्यलाई अतिवादी दिशातर्फ मोड्ने प्रयास गरेका प्रतिवेदनमा उल्लेख छ ।
त्यो अवधिमा १४ लाखभन्दा बढी अन्तर्क्रियामध्ये १ लाख ६४ हजार नक्कली खाताबाट भएको थियो। ती सामग्री ३२ करोडभन्दा बढी मानिसको स्क्रिनमा पुगेको अनुमान गरिएको छ।
नक्कली प्रोफाइलहरूले अनलाइन संवाद/बहसको दिशा नै मोडेको उक्त प्रतिवेदनले संकेत गरेको छ । त्यसैले जानकारहरू भन्छन्, ‘फेक सामग्री उत्पादन तथा प्रसारण यस्तो गम्भीर गल्ती हो जसले लोकतान्त्रिक बहसमै हस्तक्षेप गर्छ ।’
यही कारणले फेक न्यूज सामान्य गल्ती होइन, यो लोकतान्त्रिक बहसमा हस्तक्षेप हो।
जो जतिबेला पनि हुनसक्छ सिकार
अमेरिकामा कार्यरत पत्रकार किशोर पन्थीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रोपोगाण्डाका नायकहरू नै प्रोपोगाण्डाका सिकार हुनेछन् !’
उनले केही दिनअघि यस्तै सामग्री शेयर गरेका थिए । ‘झुटभन्दा खतरनाक अर्धसत्य हुन्छ तर, अझ खतरनाक त्यो अर्धसत्य हो भनेर थाहा नपाउनु हो। हामी प्रायः त्यही खतरनाक अर्धसत्यमा बाँचिरहन्छौँ।’
उनी थप्छन्, ‘यो अर्धसत्य हो भन्ने थाहा पाएरै अर्धसत्यमा बाँच्नु ठीकै हो। तर थाहा नपाएर बाँच्नु खतरनाक हो। किनभने अर्धसत्य हो भन्ने थाहा नपाउँदा त्यसलाई नै शाश्वत सत्य ठान्ने खतरा हुन्छ ।
पन्थीको विचारमा, अर्धसत्य हो भन्ने थाहा पाइयो भने कुनै बेला सत्य र राम्रा लागेका कुरा पछि असत्य र नराम्रा लाग्दा पनि त्यसलाई स्वीकार गर्न सहज हुन्छ।
त्यसैले सामाजिक सञ्जाललाई दुई धारे तरबार समेत भनिन्छ । यसलाई राम्ररी चलाउन जान्दा उपयोगी हुन्छ भने चलाउन नजान्दा दुर्घटना ।
सचेतनाका प्रयासहरू
जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा जेनजी आन्दोलनका अगुवाहरूले भाइरल कन्टेन्ट नपत्याउन आह्वान गरिरहेका छन्।
केही दिनअघिसम्म जस्तोसुकै पोस्ट वा भिडियोबारे तत्काल धारणा बनाउने, शेयर गर्ने र बहस गर्ने यही पुस्ता अचानक तथ्य, प्रमाण र तर्क खोज्न थालेको देखिन्छ।
सत्ता नै हल्लाउन सक्ने सामाजिक सञ्जाल ‘फेक न्यूज फ्याक्ट्री’ मा बदलिँदा व्यहोर्नुपर्ने भौतिक, आर्थिक, मानसिक लगायतका क्षति र पीडा भोग्न थालेसँगै अब नयाँ पुस्ता बिस्तारै गलत सूचनाविरुद्ध लड्न आह्वान गर्न थालेका छन् ।
जेनजी आन्दोलनपछि यसको विपक्षमा रहेका शक्तिहरूले सामाजिक सञ्जालमा जेनजी अगुवाहरूलाई निसाना बनाइरहेका छन् । योसँगै पीडित बनेका जेनजी अगुवाहरू फेक सूचनाको फन्दामा नपर्न आह्वान गर्न थालेका हुन् ।
जस्तै, युवा पुस्तामाझ लोकप्रिय रहेको रुटिन अफ नेपाल बन्दले २४ गते नै ‘यस्तो अवस्थामा धेरै फेक न्युजहरू फैलिन्छन् । केही कुरा शेयर गर्नुअघि बुझेर ट्रस्टेड सोर्सबाट मात्र शेयर गर्नुहोला’ लेखेको थियो ।
अनि नेपाली युट्युब सिनेमा सक्रिय प्रोजेक्ट कुराका संस्थापक सरोज कार्कीले ‘गलत सूचना फैलाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूको सामग्री सोसल मिडियाहरूमा आउनेछन् । आउन पनि थालिसके होलान् । तपाईहरू त्यस्ता कुरालाई क्रस चेक गर्नु होला’ सहित पोस्ट केही समयअघि गरेका थिए । फेसबुकमा मात्रै त्यो पोस्ट ६६१ पटक शेयर गरिएको छ ।
त्यस्तै केही दिनअघि मात्रै जेनजी अगुवा रक्षा बम र युजनराज भण्डारीको हस्ताक्षर किर्ते गरियो । जेनजीहरूको निर्णयमा भनेर गरिएको किर्ते हस्ताक्षर पछि उनीहरूले एउटा भिडियो बनाएर त्यसको खण्डन गरेका थिए ।
के हो फेक न्यूज ?
सामान्यतः फेक न्यूज भन्नाले जानाजानी गलत सूचना उत्पादन गर्ने र फैलाउने गतिविधिलाई जनाइन्छ।
सामान्यतया फेक न्यूज दुई प्रकारका हुन्छन्- मिसइनफर्मेसन (गलत जानकारी तर अज्ञानतावश फैलाइने) र डिसइनफर्मेसन (जानाजानी, नियोजित रूपमा झूटो सूचना उत्पादन गर्ने र फैलाउने) ।
आम सञ्चारका विज्ञहरूका अनुसार फेक न्यूजले कुनै पनि घटनाको वास्तविकता तोडमोड गरी मान्छेलाई भावनात्मक रूपमा प्रभावित पार्ने उद्देश्य राख्छ। यो केवल ‘गलत सूचना’ मात्र होइन- एक किसिमको हतियार हो।
नेपाली अडियन्स किन बढी सिकार बन्छन् ?
नेपाल दूरसञ्चार प्राधिकरणको एक तथ्यांक अनुसार, इन्टरनेट प्रयोगकर्ता संख्या तीव्र गतिमा बढिरहेको छ तर सोही अनुपातमा मिडिया साक्षरता बढेको छैन।
यसको अर्थ नेपालमा डिजिटल साक्षरता पनि कमजोर हुनु हो । त्यसमाथि अधिकांश प्रयोगकर्ताले समाचारको स्रोत हेर्दैनन् र हेडलाइन मात्र पढेर प्रतिक्रिया जनाउँछन्।
तेस्रो विश्वका अधिकांश देशहरूमा डिजिटल साक्षरतामा लगानी गर्नेभन्दा बढी कानुनी कारबाही गर्ने अभ्यास बढी देखिने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
यस्तोमा, धेरैजसो प्रयोगकर्ता सामाजिक सञ्जालमा भेटिने सबै सूचनालाई समाचार ठान्छन् । फलतः उनीहरू भावनात्मक र भ्रामक सामग्रीबाट सजिलै प्रभावित हुन्छन् । धारणा बनाउँछन् र निर्णय लिन्छन् ।
नेपालमा राजनीतिक ध्रुवीकरण, सामाजिक अन्याय, वैदेशिक रोजगारजस्ता संवेदनशील विषयहरू फेक न्यूजका लागि सबैभन्दा सजिला निसाना बन्ने गरेको विज्ञहरू बताउँछन्।
कसरी चिन्न सकिन्छ फेक न्यूज ?
केही कुराहरूमा ध्यान दिने हो भने सञ्जालमा फैलिने फेक न्यूज सजिलै थाहा पाउन सकिन्छ । तीमध्ये केही तरिका तल चर्चा गरिएको छ:
स्रोत जाँच्ने: विश्वसनीय मिडिया वा आधिकारिक वेबसाइटबाट आएको हो कि होइन?
हेडलाइनभन्दा अघि समाचार पढ्ने: केवल आकर्षक वा आक्रोशपूर्ण हेडलाइन फेक न्यूजको पहिलो संकेत हुन सक्छ।
फोटो वा भिडियोको प्रामाणिकता हेर्ने: धेरै फेक न्यूज पुरानो वा सन्दर्भविहीन फोटो प्रयोग गर्छ।
फ्याक्ट चेक गर्ने: फ्याक्ट चेक गर्ने प्लेटफर्म वा स्वतन्त्र मिडियाको सहयोग लिन सकिन्छ।
भावनात्मक ट्रिगरहरू चिन्ने: ‘अब त सहन सकिन्न’, ‘सबै भ्रष्ट छन्’ जस्ता अत्यधिक भावनात्मक शब्दावली फेक न्यूजको सामान्य रणनीति हो।
फेक न्यूजबाट बच्न के गर्ने ?
अब फेक न्यूज चिनिसकेपछि यसबाट त बच्न झनै सजिलो छ । त्यसका तरिकाहरू यस्ता छन्:
- सामाजिक सञ्जालमा देखिने/भेटिने हरेक पोस्टलाई ‘सत्य’ नठान्ने।
- शेयर गर्नु अघि तथ्य जाँच गर्ने।
- अनलाइन बहसमा अत्यधिक भावनात्मक प्रतिक्रिया नदिने।
- डिजिटल साक्षरतामा लगानी गर्ने
- राज्य र मिडिया संस्थाले प्रभावकारी फ्याक्ट चेकिङ मेकानिजम बनाउने।
- आफूले थाहा पाएको मिथ्या सूचनाबारे प्रमाण सहित अन्यलाई जानकारी दिने ।
यद्यपि, फेक न्यूजको सबैभन्दा ठूलो शिकार आम नागरिक नै बन्छन् । किनकि उनीहरूले झूटो सूचनाको आधारमा धारणा बनाउँछन् र बहस बिगार्छन् ।
फेक न्यूजले समाजमा ‘असत्य’लाई ‘सत्य’ झैं देखाउने क्षमता राख्छ । हाम्रो समाजमा कथन नै छ नि हजार पटक झुटलाई सत्य भन्दा झुट नै सत्य बन्न जान्छ । तर यसको प्रतिरोध पनि हामीले नै गर्न सक्छौं– प्रश्न गरेर, प्रमाण खोजेर, र जिम्मेवार नागरिक बनेर।
फेक न्यूजको नियति यति डर लाग्दो छ कि, जबसम्म हामी आफैं पीडित बन्दैनौं, यसको गम्भीरता बुझिँदैन । तर त्यो क्षण नआओस् ।
प्रतिक्रिया 4