+
+
Shares

कोभिडले बदल्यो शुक्रकिट, जन्मिने सन्तानमा दीर्घकालीन असरको चेतावनी

मुसामा गरिएको एक नयाँ अध्ययन अनुसार कोभिड संक्रमणले भाले मुसाको शुक्रकिटलाई बदलिदिन्छ । जसका कारण उसको नयाँ सन्तानमा एन्जाइटी बढ्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १९:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोभिड-१९ संक्रमणले भाले मुसाको शुक्रकिटमा परिवर्तन गरी नयाँ सन्तानमा चिन्ता बढ्ने अध्ययन मेलवर्नस्थित फ्लोरी इन्स्टिच्यूटले गरेको छ।
  • संक्रमित भाले मुसाका बच्चामा चिन्तायुक्त व्यवहार देखिएको र मस्तिष्कको हिप्पोक्याम्पस भागका जीनमा परिवर्तन आएको छ।
  • शोधकर्ताले भनेका छन्, "यो अध्ययनले कोभिड महामारीको असर आगामी पुस्तामा पनि पर्नसक्ने देखाएको छ।"

काठमाडौं। कोभिड-१९ महामारीले विश्वभर ठूलो आर्थिक तथा मानवीय क्षति पूरायो । कोरोनाका कारण लाखौँ मानिसको मृत्यु भयो । कोरोना भाइरसले केवल मानिसको ज्यानमात्रै लिएन, शुक्रकिटमा पनि गम्भीर असर पूराउने तथ्य फेला परेको छ ।

मुसामा गरिएको एक नयाँ अध्ययन अनुसार कोभिड संक्रमणले भाले मुसाको शुक्रकिटलाई बदलिदिन्छ । जसका कारण उसको नयाँ सन्तानमा एन्जाइटी बढ्दछ ।

यो महामारी लामो समयसम्म चल्दाको परिणाम हुनसक्छ जसले आगामी पुस्तालाई प्रभावित गर्नेछ ।

अष्ट्रेलियाको मेलवर्नस्थित फ्लोरी इन्स्टिच्यूट अफ न्युरो साइन्स एण्ड मेन्टल हेल्थका वैज्ञानिकहले यो नयाँ खोज गरेका हुन् । यस सम्बन्धी शोधपत्र अक्टोबर १२ मा नेचर कम्युनिकेसन जर्नलमा छापिएको छ ।

कसरी गरियो मुसामा परीक्षण ?

शोधकर्ताका अनुसार सुरुमा भाले मुसालाई कोभिड भाइरसबाट संक्रमति पारियो। त्यसपछि उक्त संक्रमित भाले मुसालाई स्वस्थ पोथी मुसासँग भेट गराइयो । अनि ती मुसाको संसर्गबाट पैदा भएको बच्चाहरुको स्वास्थ्य तथा व्यवहार जाँचियो ।

शोधकर्ता एलिजाबेथ क्लेमेनका अनुसार संक्रमित पिताका बच्चाहरुमा चिन्तायुक्त व्यवहार बढि देखियो, जबकि स्वस्थ पिताका बच्चामा चाहीँ त्यस्तो व्यवहार देखिएन ।

संक्रमित भाले मुसाका सबै बच्चाहरुमा त्यस्तो प्रभाव देखिएको थियो । अझ पोथी बच्चाको मस्तिष्कको हिप्पोक्याम्पस नामक भागका कतिपय जिनको गतिविधिमै परिवर्तन आयो । मस्तिष्कको सो भागले भावनाहरुलाई नियन्त्रण गर्दछ ।

वैज्ञानिक क्यारोलिना गुबर्टका अनुसार उक्त बदलाव एपिजेनेटिक इन्हेरिटेन्स (वंशाणुगत तर डिएनमा परिवर्तन विनाको) तथा मस्तिष्कको विकासमा हुने गडबडीबाट उत्पन्न हुनसक्छ, जसले चिन्तामा वृद्धि गर्दछ ।

दीर्घकालीन असरको चेतावनी

यो यस्तो खालको पहिलो अध्ययन हो जसले कोभिड संक्रमित पिताबाट जन्मिएका बच्चाहरुमा दीर्घकालीन असर पर्नसक्ने देखाउँछ । कोभिड भाइरसले पिताको शुक्रकिटको आरएनएमा परिवर्तन ल्याइदिन्छ, जसले मस्तिष्कको विकाससँग सम्बन्धित जीनलाई नियन्त्रण गर्दछ ।

प्रमुख शोधकर्ता एन्थनी हेननका अनुसार यो अध्ययनले कोभिड महामारीको असर आगामी पुस्तानहरुमा समेत पर्नसक्ने देखाएको छ ।

यद्यपि यो अध्ययन मुसामा गरिएको हो, र मानिसमा थप अध्ययन गर्न बाँकी नै छ । तथापि यदि यो मानिसमा पनि लागू भएको खण्डमा विश्वभरका लाखौँ बच्चा र उनीहरुका परिवार यसबाट प्रभावित हुने हेनन बताउँछिन् । उनका अनुसार यो सार्वजनिक स्वास्थ्यका लागि ठूलो खतरा हो ।

स्मरण रहोस् सन् २०२० मा सुरुवात भएको कोभिड महामारीबाट विश्वमा ७० लाख भन्दा धेरै मानिसको मृत्यु भएको थियो । महामारीले मानसिक स्वास्थ्यलाई पनि नराम्रोसँग प्रभावित गर्यो । यसबाट युवावर्ग सबैभन्दा धेरै पीडित भए । किनकि लकडाउनले उनीहरुको सामाजिक जिवन खोस्यो ।

सन् २०२३ मा नेचर ह्युमर बिहेवियर जर्नलमा १५ देशका ४० वटा शोधहरुको समीक्षा गरिएको थियो । जस अनुसार कोभिडका बेला भएको विद्यालय बन्दबाट बालबालिकाको पढाईमा परेको असर अझैपनि कायमै छ । बालबालिकाहरुको त्यो खाडल पूर्ति गर्न सकेका छैनन् ।

प्छिल्लो अध्ययनले कोभिड केवल तत्कालीन क्षति मात्र नभई यसले पुस्तौँ सम्मलाई प्रभावित गर्नसक्ने देखाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?