
नेपालको राजनीतिमा स्थापित दलहरूको परम्परागत शैली र संरचनालाई चुनौती दिन भन्दै गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) निर्वाचन आयोगमा दर्ता भएको छ। बिहीबार औपचारिक रूपमा दर्ता भएको यो दलको नेतृत्व गरेका छन्, समाजशास्त्री समेत रहेका उद्यमी दिनेश प्रसाईंले । उनले पार्टीलाई केवल एउटा अर्को दल नभई संरचनागत र वैचारिक सुधारको संवाहक बनाउने दाबी गरेका छन् ।
प्रसाईंका अनुसार, नेपाली समाजमा विद्यमान पार्टीतन्त्र मार्फत राज्यका स्रोतमाथि कब्जा र वर्षौंसम्म एउटै नेतृत्व रहँदा देशको लोकतन्त्र गतिशील हुनसकेको छैन । यसलाई बदल्न गलोपाले पदाधिकारी राजकीय जिम्मेवारीमा नजाने, १६ वर्षपछि पार्टी सदस्यता नै नवीकरण नगर्ने र एक व्यक्ति बढीमा दुई कार्यकाल मात्र रहने अनिवार्य व्यवस्था गरेको प्रसाईं बताउँछन् । सुशासन र उद्यमशीलतालाई मूल आधार बनाउने भन्दै पार्टीले कालो धन्दा र उद्यमशीलतालाई छुट्याउने गरी काम गर्ने उनले बताए ।
गतिशील मध्यमार्गी बाटो हिंड्ने बताउने उनै प्रसाईंसँग अनलाइनखबरका सुदर्शन खतिवडाले गरेको संवादः
राजनीतिक दल र कार्यकर्ताको भिड भएको देशमा तपाईंहरूले नयाँ पार्टी दर्ता गर्नुभएछ, खास उद्देश्य के हो ?
नेपालमा पार्टीहरू थुप्रै छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १२४ पार्टी दर्ता भइसकेका छन् । यो भिडमा पुरानो राजनीतिक संस्कार–संस्कृतिलाई बदल्छौं भन्ने हाम्रो दाबी हो ।
त्यस्तै, केही स्थापित हुनुपर्ने एजेन्डाहरू स्थापित भएनन् किनभने हाम्रो समाजमा जुन परिवर्तन भइरहेको, मान्छेका आकांक्षा छन्, त्यसलाई सम्बोधन गर्न सकिएन । त्यहाँनेर ठूलो ग्याप देखेर नेपाली समाजको एउटा आवश्यकता नै ठानेर हामीले पार्टी खोलेका हौं ।
दलहरूको भिडमा नयाँ गर्ने, राम्रो गर्ने भन्ने नियत त सबैले बोक्न पाए तर त्यहाँसम्म पुग्न साधन पनि सही हुनुपर्ने होला । तपाईंहरूले अरूभन्दा फरक खास के गर्दै हुनुहुन्छ ?
सबैभन्दा पहिले त हामी एजेन्डाकै कुरा गर्छौँ। हाम्रा एजेन्डा र हामीले राखेको उद्देश्य धेरै पार्टीहरूसँग मिल्छ जस्तो लाग्छ, किनकि हाम्रो मुख्य उद्देश्य भनेको ‘समृद्धि, समता र स्वाभिमान‘ हो। यो धेरै पार्टीसँग मिल्छ पनि, जुन राष्ट्रिय सहमतिका लागि राम्रो कुरा हो। लोकतन्त्रमा पनि हाम्रो एजेन्डा मिल्यो। तर राजनीतिक संस्कार जसरी बस्यो, यसमा लोकतन्त्र गतिशील भएन भन्ने हाम्रो निष्कर्ष छ ।
लोकतन्त्रलाई गतिशील कसरी बनाउने त?
यहाँ त एउटै नेता, एउटै एजेन्डा, एउटै राजनीतिक संस्कृति वर्षौँसम्म रह्यो । तर समाज त परिवर्तन भइरहेको हुन्छ। समाज परिवर्तनले ल्याएका आकांक्षा, समस्या र सम्भावनालाई प्रतिनिधित्व गर्न राजनीतिक नेतृत्व नै समयसमयमा परिवर्तन हुनुपर्यो नि ! त्यसलाई प्रतिनिधित्व गर्न नयाँ नेतृत्वहरू आउनुपर्यो। यसलाई हामीले पार्टीको संरचनामा फरक हिसाबले व्यवस्था गरेका छौँ।
प्राविधिक हिसाबले अहिले दर्ता गरे पनि यसमा काम गरेको दुई वर्षजति भइसक्यो । विगत ६ महिना त घनीभूत ढंगले नै बहस गरेका थियौँ। हाम्रो खास योजना २०८४ को चुनावलाई लक्षित गरेर माघमा मात्र दर्ता गर्ने थियो। छलफल गर्दा के निष्कर्ष निकाल्यौँ भने, हाम्रो राजनीतिक दलको जुन परम्परागत संरचना छ, त्यो परिवर्तन गर्नुपर्छ। त्यसअनुसार, हाम्रा दुई-तीनवटा प्रावधान अरू पार्टीभन्दा फरक छन्।
ती के-के हुन्?
पहिलो, हाम्रो सात सदस्यीय पदाधिकारीको समूह हुन्छ। हामीले पदाधिकारीहरूलाई चुनावमा भाग लिन नपाउने व्यवस्था गरेका छौँ। चुनावमा भाग लिन नपाएपछि मन्त्री वा प्रधानमन्त्री हुन पाउँदैनौँ। यसको मतलब- राजनीतिक मुद्दा र एजेन्डाहरू स्थिर हुनुपर्यो। हाम्रोमा पार्टीको काम भनेको पहिले पार्टी कब्जा गर्ने, त्यसकै आधारमा राज्य कब्जा गर्ने, अनि राज्यका स्रोतहरू कब्जा गर्ने र त्यसलाई दोहन गर्ने । अहिलेसम्म यस्तै देखियो ।
हाम्रो पार्टीमा पदाधिकारी (मुख्य मान्छे) हरूले पार्टी राम्रोसँग चलाउने, एजेन्डामा आधारित बनाउने र मन्त्री/प्रधानमन्त्री/सांसद हुनेहरूलाई नीतिगत सहयोग गर्ने हुन्छ। यो एउटा फरक पाटो हो।
दोस्रो, हामीले राजनीतिलाई मुख्य पेसा बनाउने परम्परा रोक्न खोजेका छौँ। नेपालमा ‘मेरो मुख्य पेसा राजनीति हो‘ भन्ने चलन छ, जसले मानिसहरू जिन्दगीभर राजनीति गर्छन्। त्यसले समाजमा उत्पादन कसले गर्ने त ? तपाईंले अरू काम के गर्नुहुन्छ त राजनीतिक कामबाट बचेको समय ? विदेशमा त राजनीतिमा आउनुअघि र आइसकेपछि पनि अरू काम गर्ने चलन छ।
त्यसैले, हाम्रोमा सक्रिय सदस्यता १६ वर्षपछि नवीकरण हुँदैन। सक्रिय सदस्य नभइसकेपछि तपाईं कुनै पनि कमिटीमा बस्न पाउनुहुन्न, चुनाव पनि लड्न पाउनुहुन्न। यसले अनिवार्य रूपमा नेतृत्व परिवर्तन ल्याउँछ।
तेस्रो, कुनै पनि पदमा दुई पटकभन्दा बढी दोहोर्याउन नपाउने भन्ने छ। यसको उद्देश्य राजनीतिक परिवर्तन होस् भन्ने हो। यी लगायतका हाम्रा धेरै प्रावधान छन् जसले राजनीतिक संस्कृतिलाई केही हदसम्म परिवर्तन गर्छ भन्ने विश्वास छ।
तपाईंले राजनीतिक संस्कृतिको कुरा गर्नुभयो। यो कतै न कतै राजनीतिक नैतिकतासँग जोडिन्छ। राजनीतिक नैतिकता भनेको नीति र विधिको सर्वोच्चता होला । तपाईंले विधिका कुरा गर्नुभयो, विचार र नीतिका हिसाबले पार्टी कहाँ रहन्छ ?
हामीले भनेका छौँ– समृद्धि, समता र स्वाभिमान हाम्रा मुख्य उद्देश्य हुन्। तर त्यो प्राप्त गर्नका लागि विधि पनि त सही हुनुपर्यो नि ! संक्षिप्तमा भन्दा, तीनवटा पक्ष महत्त्वपूर्ण देखेका छौँ । एउटा सुशासन, अर्को उद्यमशिलता र तेस्रो समता। यसको अर्थ- सरकार चुस्त हुनुपर्यो। सरकार र सरकारी संयन्त्रप्रति आम नागरिकको विश्वास हुनुपर्यो। सेवा प्रवाह राम्रो हुनुपर्यो, त्यो कामकाजी हुनुपर्यो र भ्रष्टाचार हुनुभएन। हामी जस्तो गरिब देशका गरिब नागरिकले तिरेको कर दुरुपयोग भइरहेको छ ।
हाम्रो देशमा लोकतन्त्रभन्दा पनि पार्टीतन्त्र हाबी भयो। राज्यका हरेक निकाय, ठूला निकाय मात्र होइन, टोल सुधार समितिसम्म, ग्रास रुट तहसम्मै राज्यको स्रोतमाथि कब्जा गर्ने किसिमको पार्टीतन्त्र वा संरचना बन्यो। यो सुशासन होइन । हाम्रा संस्थाहरू बलियो हुनुपर्यो। राज्य संयन्त्रहरू (अख्तियार, प्रहरी, मन्त्रालय, विभाग र संवैधानिक आयोगहरू) बलियो हुनुपर्यो। यो नभई कुनै पनि देशले प्रगति गरेको छैन।
दोस्रो, उद्यमशिलतालाई तीन मुख्य मापदण्डमध्ये एक बनाएका छौँ। किनभने, धनी भन्ने सिङ्गापुर, स्विट्जरल्यान्ड, जापान, ताइवान, दक्षिण कोरिया लगायतका देशहरू उद्यमशिलताको विकास नगरी अगाडि बढेका होइनन् । पहिले स्टेट लेड डेभलपमेन्टको जुन सामाजिक मोडल थियो, त्यो पूर्ण रूपमा असफल भयो।
जस्तै, चीनमा कम्युनिस्ट व्यवस्था भए पनि पछिल्लो समयमा उनीहरूले निजी उद्यमशिलता विकास गरेका छन्। नेपालमा कस्तो भयो भने, गरिबीका मुद्दाहरू उठाउने, गरिबको नाममा बोल्ने, तर देशलाई धनी कसरी बनाउने भन्नेबारे नसोच्ने । गरिबी बाँड्ने मात्रै कुरा भयो । धन सिर्जना र पूँजी निर्माणमा त्यति ध्यान दिइएन । यसलाई प्रधान एजेन्डा बनाएर लगिएन ।
त्यो नगरेसम्म, तपाईंले जतिसुकै समाजवादी भए पनि, शिक्षा र स्वास्थ्य निःशुल्क दिन्छु भने पनि, कर आधार नै कमजोर भएको गरिब देशले न रोजगारी सिर्जना गर्नसक्छ, न त शिक्षा र स्वास्थ्य जस्ता सेवाहरू डेलिभर गर्नसक्छ।
तर, उद्यमशिलता भन्नासाथ ‘यो व्यापारीहरूको पार्टी हो‘ भन्ने नलागोस्। किनभने, उद्यमशिलता भनेको त्यो हो, जसले कानुन मान्छ, जोखिम लिन्छ, समाजलाई योगदान गर्छ, रोजगारी सिर्जना गर्छ, कर तिर्छ र चुस्त किसिमले सेवा तथा वस्तुहरू उपलब्ध गराउँछ।
यहाँ उद्यमशील हुन्छु र समाजमा मेरो प्रतिष्ठा हुन्छ भन्ने वातावरण किन भएन भने, सुशासनको अभावमा उद्यमीहरूले पनि राजनीतिक संरक्षण लिनुपर्ने, त्यो लिँदालिँदै उनीहरूको बदनाम हुने र स्वच्छ प्रतिस्पर्धा नहुने अवस्था आयो। यो उद्यमीहरूको प्रतिष्ठाका लागि पनि राम्रो भएन। त्यसैले, उद्यमशिलता र कालो धन्दा (गैरकानुनी व्यापार) लाई छुट्ट्याउनु पर्छ।
तपाईंहरूले एजेन्डामा समृद्धि र सँगसँगै समता पनि भन्नुभएको छ। यो सुन्दा पार्टी वैचारिक रूपमा मध्य-वामपन्थी जस्तो देखिन्छ। पार्टीको आइडियोलोजी कस्तो रहन्छ ?
आइडियोलोजी दुई तरिकाले बन्छ । एउटा, हाम्रा आदर्शहरू र अर्को, हाम्रो व्यावहारिक यथार्थ । विचारधारा यी दुईको सम्झौता हो। यसबीचमा हामीले संवाद गर्नुपर्छ । देशको आवश्यकता के हो ? मेरो व्यक्तिगत बुझाइ एकदम लिबरिटेरियन अर्थात् स्वच्छन्दावादी पनि हुनसक्छ । तर देशलाई के उपयोगी हुन्छ भनेर एजेन्डा अगाडि लैजानुपर्छ ।
हामीले ‘गतिशील मध्यमार्ग‘ लाई अबलम्वन गर्छौं भनेका छौं । यसको अर्थ, राजनीतिक रूपमा उदारवादले स्थापित गरेका स्वतन्त्रता र कानुनी राज्यका कुराहरू लगायत निजी उद्यमशिलता उदारवादलाई ग्रहण गर्छौँ। तर हामी नवउदारवाद वा अति स्वच्छन्दतावाद पनि होइनौं। जस्तै: नेपालको सन्दर्भमा शिक्षा र स्वास्थ्यको कुरामा राज्यले सहयोग गर्नुपर्छ। हामीले उद्यमशिलता त भन्यौँ, तर मसँग पैसा छैन, विचार भने एकदम राम्रो छ भने राज्यले सपोर्ट गर्नुपर्यो नि ! त्यो गरेन भने त असमानताको खाडल बढेर जाने भयो।
यो वृद्धि र वितरणलाई सँगसँगै लिएर जाने भन्ने कुरा व्यावहारिक हिसाबले कतै न कतै विरोधाभासपूर्ण हुने सम्भावना त रहला नि ?
टी.एच. मार्सल भन्ने एकजना प्रोफेसरले सन् १९४९ मा बेलायतमा ‘पूँजीवाद र नागरिकता‘ भन्ने लेख लेखे। उनले यो विरोधाभास हुन्छ, तर यसमा सम्झौता गर्यो भने मात्र अगाडि जान्छौँ भने । त्यसपछि ‘कल्याणकारी राज्य‘ बेलायतमा सुरुवात भयो। यो बिर्सनु हुँदैन । यो अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित र परीक्षण भएको कुरा हो। सम्झौता भएन भने समाज टिक्दैन।
सबै कुरा भाले र पोथीमा हेर्नुहुँदैन । नेपाल भाले कि पोथी भनेर सोध्ने प्रश्न नै गलत हुन्छ ।
त्यसैले, हामी गतिशील मध्यमार्ग अपनाउँछौँ। यो ‘दायाँ कि बायाँ‘ मध्ये एउटा हुनैपर्छ भनेर ब्ल्याक एन्ड ह्वाइटमा विभाजित हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो लगभग डेढसय वर्ष यताको विमर्श हो, जसलाई हाम्रो हिनताबोधका कारण स्वीकारेका थियौं, अब हामी स्वीकार्दैनौँ। किनभने, गौतम बुद्धले २६ सय वर्षअघि नै मध्यमार्ग भन्नुभएको हो । यो २६०० वर्षसम्म टिकेको छ । जसको आधार राम्रो छ। त्यसैले, हाम्रो दृष्टिकोणमा यो ठ्याक्कै विरोधाभाषी हुन्न। हामीले सम्झौता गरेरै लानुपर्छ।
नयाँ पार्टी बनाउन किन जेनजी आन्दोलनपछिको समय रोज्नुभयो ?
हामीले दुई वर्षअघि एक-डेढ सयजना विज्ञहरू (शिक्षा, स्वास्थ्य, पर्यटन, जलविद्युत, कृषि आदि क्षेत्रका) सँग धेरै अगाडिदेखि नै छलफल गरेर, अनुसन्धान गरेर, अन्तर्क्रिया गरेका थियौं । जस्तै, हामीले अहिले जुन सफ्टवेयर सार्वजनिक गर्दैछौँ, त्यो बनाउन नै एक वर्षजति लागेको छ। प्रमाणपत्र लिएपछि मात्र वेबसाइट सार्वजनिक गर्न पाइन्छ, कानुनी हिसाबले। त्यो त एक महिनामा अचानक विकास हुने कुरा पनि भएन। त्यसैले, मान्छेहरूले त्यस्तो सोच्नु स्वाभाविकै होला, तर यथार्थ त्यस्तो होइन।
पार्टी दर्ता गर्नुभयो। आउँदो चुनावमा भाग लिने योजना र तयारी छ ?
हो, छ। निर्वाचन आयोगसँग परामर्श गर्दा ‘प्राविधिक रूपले चाँडो दर्ता गरिहाल्नुस्, आन्तरिक कुराहरू मिलाउँदै गर्नुहोला‘ भन्नुभयो। सनाखत गर्न पनि समय लाग्छ भनेको हुनाले अलिकति हतार गरेर नै दर्ता गर्यौँ ।
नयाँ पुस्तालाई समावेश गर्ने र उनीहरूका एजेन्डालाई सम्बोधन गर्ने कुरामा कत्तिको ध्यान दिनुभएको छ ?
अवश्य पनि, नयाँ पुस्तालाई समावेश नगरी हुँदैन। हाम्रो चुनावी नारा छ- ‘हरेक पुस्ताको जिम्मेवारी: नवयुवाका लागि दिगो रोजगारी‘। यो जेनजीको मात्र कुरा भएन, यो त मेरो, बुवाको, हजुरबुवाको पनि कुरा थियो र नातिसम्म रहन्छ । सुशासन भएन, राम्रोसँग उद्यमशिलता भएन र समतामूलक समाजका लागि केही काम गरेनौँ भने समाजमा रोजगारी सिर्जना हुँदैन। यो त प्राथमिक जिम्मेवारी होइन र ? राज्यसँग नागरिकहरूको एउटा करार हुन्छ, त्यसको आधारमा देश चल्ने हो।
राज्यले सबै धुत्ने मात्रै, दिने केही छैन भने कसरी टिक्छ ? मान्छेले विद्रोह गर्दैन त ? यो फाउन्डेसनल (आधारभूत) कुरा हो नि ! त्यो (करार) अन्तर्गत सुरक्षा, न्याय र रोजगारी त दिनुपर्यो नि ! अमेरिकामा हरेक महिना ‘जब्स् रिपोर्ट‘ निस्किन्छ, तर नेपालमा कुनै पनि पार्टीले अहिलेसम्म निकालेको थाहा छैन। राजनीति एकदम बुझेको भन्नुहुन्छ तर, केका लागि राजनीति गर्दैछु भन्ने नै थाहा छैन। नेपालमा त १९९७ सालदेखि हरेक १०/१२ वर्षमा राजनीतिक रूपले (कहिले अलि हिंस्रक, कहिले शान्तिपूर्ण हिसाबले) आन्दोलनहरू भइरहेका छन्।
त्यो राजनीतिक परिवर्तनका लागि मात्रै थिएन, समाजमा आर्थिक कठिनाइहरू भएपछि त्यसले राजनीतिक स्वरूप ग्रहण गर्ने हो । त्यस्तो परिवर्तन हरेक १०/१२ वर्षमा किन भइरहेको छ भने, हामीले संरचनागत कुराहरूमा केही कामै गरेनौँ। समाजको जति माग छ, त्यो अनुसार काम नगरेपछि यस्तो भयो।
संरचनागत रूपमा केही काम नगर्ने हो भने त खराब नजिर बस्ने भयो । अहिलेको पुस्ताले अगाडिको पुस्तामाथि आक्रमण (हामीले बुझ्दा आगजनी, कुटपिट आदि) गरे। तर जेनजी वा हामी नै नेतृत्वमा आयौँ र काम गर्न सकेनौँ भने जेनेरेसन अल्फाले पनि त जलाउने भयो। जेन बिटाले जेन अल्फाको सरकार भए पनि जलाउने भयो। भनेपछि यहाँ छोराछोरी पुस्ताले बा-आमा पुस्तालाई सधैँ जलाएर बस्ने भए। त्यसैले, हामी धेरै गम्भीर हुनुपर्छ ।
भनेपछि, यो गतिशील लोकतान्त्रिक पार्टीले यो गोलचक्करबाट देशलाई बाहिर निकाल्छ भन्ने विश्वास छ ?
कोसिस गर्छौँ। हामी त्यही उद्देश्यका लागि आएका हौं ।
प्रतिक्रिया 4