News Summary
Generated by OK AI. Editorially reviewed.- यो कविता प्रेम र स्वतन्त्रताको भावनालाई प्रकृतिका विभिन्न रूपहरूमा तुलना गरी व्यक्त गरेको छ।
तिमी कपासझैँ हलुका हुनु र
डुल्नू-
जहाँ मनपर्छ तिमीलाई
त्यो हरियो घासे मैदानमा, लहलहाउँदो धानका बालीमा र झाङ्गिएका बुट्यानहरूमा
रत्तिभर नहिच्किचाउनु जानलाई आफूले राज गरिरहेकै रुखको डालीबाट टाढा
फुक्काफाल बतासझैँ बनिरहनू
चुम्दै हिँड्नू-
सुन्दर लागेका फूलका पत्रहरू नहिच्किचाउनु बदल्न आफू हिँडेको बाटो
तिमी सुगन्ध भएर बस्नू
टाँस्सिएर-
कुनै सुन्दर स्त्रीको वस्त्रमा,
उसको रुमाल वा कपालमा
प्रकाशको किरण बनेर
फिजिनू परपरसम्म-
क्षितिजसम्म पुग्नु र सुस्तरी बेर्नु अङ्गालोमा
ठुस्किएकी हिमचुलीलाई
पार्नु रातै प्रणयमा
जुन बनेर हेरी बस्नू
टल्किएका ताराको झुण्ड
हेर्नू, भिन्न–भिन्न कोण र दूरीबाट
नहिच्किचाउनु सर्न सगरबाट सगरसम्म
तर डुल्दा
तिमी बोकी हिँड्नू-
मेरो तस्बिर मनभरि
चुम्दा महसुस गर्नू-
केवल मेरा अधर,
देख्नू- हरेक कायाभित्र मेरै छाया।
आफूमा समाहित गरेर बहनू
मेरो सुगन्ध,
फिजाउनू मेरो असिम प्रेम
निस्सीम धरती र आकाशभरि
यसरी-
जुनी जुनी, जुग जुगसम्म,
जगतमा मलाई मात्र देख्नु
यदि खेल्नु नै छ प्रेमको खेल भने पनि-
मस्तिष्क र मुटुभरि मलाई मात्र राखेर खेल्नू।
प्रतिक्रिया 4