सन् १५१८ मा फ्रान्सको स्ट्रासबर्ग सहरमा एउटा अचम्मको घटना भयो । उक्त घटनालाई डान्सिङ प्लेगको नामले चिनिन्छ ।
सहरमा एक दिन फ्राउ ट्रोफिया नामकी महिला अचानक सडकमा गएर नाच्न थालिन्। उनी सडकमै लगातार धेरै दिनसम्म नाचिरहिन् । त्यसपछि विस्तारै सयौं मानिसहरू उनको पछि लागेर सडकमा गएर नाच्न थाले । त्यसरी नाचिरहँदा उनीहरूका खुट्टा रगताम्मे भए, शरीर गल्यो । तर, पनि उनीहरुले नाच रोकेनन् । लगातार करिब ४० दिनसम्म उनीहरू सकडमा नाचिरहे। त्यति लामो समय नाच्दै-नाच्दै कतिपयले त ज्यान नै गुमाए ।
अहिलेसम्म पनि फ्रान्सको त्यो घटना कलाकार र लेखकहरूको लागि आकर्षणको विषय बनेको छ। यसै घटनाबाट प्रभावित भएर धेरै किताब, कथा र एल्बम बनेका छन्।
सन् २०२२ मा १३ मे २०२२ मा आएको Florence प्लस The Machine ब्याण्डको Dance Fever नामक एल्बम निकै चर्चित भयो। त्यस्तै मिलवुड हार्ग्रेवले लेखेको The Dance Tree शीर्षकको उपन्यास पनि यहीँ घटनाबाट प्रेरित छ।
किन भयो यस्तो घटना ?

सयौं मानिसहरू सडकमा ४० दिनसम्म मरुन्जेल नाचेको उक्त घटनालाई त्यस समय धेरै मानिसले भगवानको श्राप वा खराब आत्माको प्रभाव भएको दाबी गरे ।
कतिपयले त्यसरी नाच्ने मानिसलाई चर्चमा लैजाने तथा रातो जुत्ता र क्रस दिने काम गरेभने कतिपयले झन् बढी नचाउनका लागि बाजागाजा समेत बजाइदिए ।
नचिरहेका ती मानिसलाई शान्त पार्नका लागि गरिएका कुनै पनि उपायको प्रभाव देखिएन ।
पछि प्रसिद्ध चिकित्सक पैरासेल्ससले त्यो दैवी कारण नभई मानसिक रोग भएको ठहर गरे । उनका अनुसार मानिसको कल्पना शक्ति यति बलियो हुन्छ कि रोगझैं एक सहरबाट अर्को सहरसम्म फैलन सक्छ । पछि धेरैले यसलाई मानसिक महामारी अर्थात् मास हिस्टेरिया भएको ठहर गरे ।
तर, डान्सिङ प्लेगको वास्तविक कारण अझै रहस्यमै छ। केहीले यसलाई विषाक्त खानाको असर (फुड प्वाइजनिङ) भनेका छन् भने कोहीले सामूहिक मानसिक रोग भनेका छन् ।
अचम्मको कुरा के भने त्यो नाच्ने प्रकोप अचानक सुरु भयो, हरेक उमेरका मानिसलाई असर गर्यो र फेरि रहस्यमय तरिकाले आफैं समाप्त पनि भयो।
त्यसबेला स्वीस डाक्टर पेरासेल्ससले लेखे अनुसार सुरुमा एकजना महिला ट्राउ ट्रोफियाले आफ्ना पतिलाई लज्जित बनाउनका लागि नाच्न सुरु गरेकी थिइन् । तर, पछि उनकै सिको गर्दै सयौं महिला, पुरुष तथा हरेक उमेर समूहका मानिसहरु सडकमा झुम्मिएर नाच्न थाल्ने र कतिका लागि त्यहीँ नाच नै आत्मघाती सावित हुनु अनौठो छ ।
सम्भावित कारण: फुड प्वाइजनिङ

डान्सिङ प्लेगको कारणबारे सबैभन्दा ठूलो सिद्धान्त भनेको विषालु रोटीको सिद्धान्त नै हो । त्यतिबेला मानिसहरूले एर्गोट नामको ढुसी लागेको रोटी खाएका थिए भन्ने अनुमान छ ।
एर्गोटले मानिसमा अनौठो मतिभ्रम सिर्जना गर्दछ जसबाट मानिसहरुले गलत चिज देख्न थाल्छन्, शरीरमा झट्का लाग्न थाल्छ र पटक पटक अनियन्त्रित हर्कत गर्न थाल्दछन् ।
उक्त असर एलएसडी नामक लागुऔषध जस्तै हुन्छ । सहरका मानिसहरुले एर्गोट ढुसी भएको रोटी खाएका हुनाले नै त्यो ढुसीमा भएको विषले मानिसहरु अधीर भएर नाच्न थालेको दाबी यस सिद्धान्तमा गरिन्छ ।
यो सिद्धान्तमा गरिएको दाबीमा बल पुग्नुका केही कारण छन् । त्यतिबेला उक्त सहरका मानिसहरूले रोटी धेरै खाने गर्थे। साथै एर्गोटका लक्षण डान्सिङ प्लेगसँग मिल्दोजुल्दो थिए। युरोपका विभिन्न ठाउँमा यस्तै घटना भएको छ, जसलाई एर्गोट लागेको रोटीसँग जोडीएको पाइन्छ ।
प्रतिक्रिया 4