+
+
Shares

वैज्ञानिकको खुलासा, मानिसले नाक र मुखबाट मात्र हैन मलद्वारबाट समेत श्वास फेर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:४३
Photo Credit : Representational/Getty

हामीले नाक र मुखबाट श्वास फेर्छौं । यो हामी सबैलाई थाहा भएको कुरा हो । तर जापानी वैज्ञानिकहरूले भने मानिसले नाक र मुखमात्र होइन मलद्वारबाट समेत मानिसले श्वास लिने तथ्यको खुलासा गरेका छन् ।

मजाक जस्तै लाग्ने यो विषय वास्तवमा कुनै हल्का कुरा होइन, गम्भीरु वैज्ञानिक खोज हो ।

हालै भएको एक चिकित्सा परीक्षणबाट मानिसमा श्वास प्रश्वासको नयाँ अंग फेला परेको मात्र होइन मलद्वारबाट अक्सिजन लिने कुरा सुरक्षित प्रक्रिया रहेको तथ्य पनि वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।

यदि यो क्लिनिकल ट्रायल आम रुपमा प्रयोगमा आएमा श्वासनली बन्द हुने रोगबाट ग्रसित मानिसका लागि उपचारको वैकल्पिक बाटो खुल्ने अपेक्षा वैज्ञानिकहरूको छ ।

मलद्वारबाट श्वास फेर्ने यो प्रक्रियाको नाम इन्टरर्नल भेन्टिलेसन हो । यसमा एउटा विशेष खालको तरल पदार्थ मलद्वारमा हालिन्छ । उक्त तरल पदार्थको नाम परफ्लोरोकार्बन हो ।

सो तरल पदार्थमा निकै धेरै अक्सिजन भरिएको हुन्छ । त्यसमा भएको अक्सिजन आन्द्रा तथा पेटका भित्ताहरूबाट छिरेर रक्तनलीमार्फत रगतसम्मै पुग्ने विश्वास वैज्ञानिकहरूको छ । यसबाट बिरामीलाई नाक वा मुखबाट श्वास लिने आवश्यकता पर्दैन ।

यो प्रविधि त्यस्ता बिरामीका लागि फाइदाजनक हुन्छ जसको श्वासनली दम वा चोटपटक लगायतका कारणले गर्दा बन्द भएको हुन्छ ।

यद्यपि यो अवधारणा नौलो भने होइन । जनावरमा यो प्रक्रिया पहिलेदेखि नै प्रयोग हुँदै आएकोछ ।

सुँगुर, मुसा, कछुवा तथा केही माछाहरु सरीरमा समस्या उत्पन्न हुँदा मलद्वारबाटै श्वास फेर्न सक्दछन् ।

तर मानिसमा पनि यो विज्ञानले काम गर्छ भन्ने खोज जापानी वैज्ञानिकले हालैमात्र गरेका हुन् । यसका लागि उनीहरूले इग नोबेल पुरस्कार पनि पाएका छन् । स्मरण रहोस् हँसिमजाक जस्ता लाग्ने गम्भीर खालका खोज अनुसन्धानलाई इग नोबेल पुरस्कार दिने गरिन्छ ।

चिकित्सा ट्रायलमा के भयो ?

जापानमा गरिएको उक्त ट्रायल पहिलो मानव ट्रायल थियो, जसलाई केवल सुरक्षा जाँचका लागि मात्र गरिएको थियो । यसको प्रभावकारिताको परीक्षण अझै बाँकी नै छ ।

जापानमा २७ जना स्वस्थ पुरुषलाई यसका लागि छानियो । उनीहरूलाई एउटा तरल पदार्थ दिइयो, जसमा अक्सिजन थिएन ।

हरेक व्यक्तिले २५ मिलिलिटर देखि १५ सय मिलिलिटर सम्म तरल पदार्थ आफ्नो मलद्वारभित्र राख्नु थियो । र, ६० मिनेटसम्म त्यसलाई त्यहीँ भित्रै थामिराख्नु पर्दथ्यो ।

त्यसको नतिजा सकारात्मक आयो । कुनै पनि गम्भीर साइड इफेक्ट देखिएन । १५ सय मिलिलिटर तरल पदार्थ मलद्वारमा हाल्नेमा चाहिँ पेट फुल्ने, हल्का दुखाइ तथा असहज महसुस हुने समस्या देखियो । अन्य सबैको अवस्था सामान्य थियो र रक्तचाप, मुटुको गतिजस्ता सबै संकेतहरू सामान्य रहे । केवल ७ जना व्यक्तिलाई मात्र ६० मिनेटसम्म मलद्वारभित्र तरल पदार्थ राख्न केही कठिनाइ भयो, बाँकी सबैले मज्जाले सहन गर्न सके ।

शोधकर्ता मध्येका एक ओशाका विश्वविद्यालयका बायोमेडिकल वैज्ञानिक टाकानोरी टेकेबेका अनुसार पहिलोपटक मानिसमा यस्तो परीक्षण गरी तथ्यांक निकालिएको हो । यसको नतिजाले केवल प्रक्रियाको सुरक्षा मात्र दर्शाउँछ, प्रभावकारिताको होइन । तर यसले के पुष्टि गरेको छ भने मानिसले मलद्वारबाट श्वास फेर्नका लागि तरल पदार्थ भर्दा पनि सहन गर्न सक्दछ । अब अघिल्लो कदम चाहिँ उक्त तरल पदार्थमा अक्सिजन राख्ने र त्यसलाई आन्द्रा र पेट हुँदै रगतसम्म पुर्‍याउनु हो ।

शोधकर्ताहरूले अक्सिजनयुक्त तरल प्रयोग गरेर अर्को प्रयोग गर्ने तयारी गरेका छन् । यसबाट कति मात्रामा र कति बेरसम्म मलद्वारमा अक्सिजनयुक्त तरल हाल्दा रगतको अक्सिजन लेभलमा सुधार आउँछ भन्ने हेरिने छ । यो ट्रायल बिरामी मानिसमा हुनेछ, जसलाई अक्सिजन दिनुपर्ने अवस्था छ ।

स्मरण रहोस् विश्वमा करोडौँ मानिस श्वास प्रश्वासजन्य रोगबाट पीडित छन् । कोभिड जस्ता महामारीमा लाखौँ मानिसलाई भेन्टिलेटरको आवश्यकता पर्‍यो । यदि मलद्वारबाट अक्सिजन दिने यो तरिकाले काम गरेमा श्वासप्रश्वास रोगीका लागि यो वरदान सावित हुनेछ ।

यो जापानी शोध मेड नामक जर्नलमा प्रकाशित भएको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?