News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सकले भाइटीकाको दिन अस्पतालको शल्यकक्षमा दुई बिरामीको जीवन रक्षा गरे।
भाइटीका, दिदीबहिनी र दाजुभाइ बीचको सबैभन्दा आत्मीय पर्व हो । यस दिन हरेक दाजुभाइका लागि वर्षकै सबैभन्दा उत्कृष्ट र ममतामय बिहानी हुने गर्छ भन्दा फरक पर्दैन होला । दिदीबहिनीको हातमा लगाइने रप्तरंगी टीका, मखमली र सयपत्रीको माला भाइटीको विशेषता हो ।
तिहारको सबैभन्दा महत्त्वपूर्ण पक्ष पनि यही हो । तर हामी चिकित्सकको जीवनमा कहिलेकाहीँ यस्तो दिन पनि आउँछ, जब त्यो सुगन्ध बेटाडिनको गन्धले ढाक्छ, त्यो रङ शल्यकक्षको हरियो पर्दामा हराउँछ । यसपालिको भाइटीका पनि यस्तै रह्यो । यो उज्यालो पर्वको बिहानी अस्पतालको शल्यकक्षभित्र बित्यो ।
रातको फोन
तिहार सुरु भएको तेस्रो दिन भइसकेको थियो । घरमा उज्यालो, देउसीभैलोको रौनक, छोरा पनि साथीहरूसँग देउसीको समूहमा रमाइरहेको थियो । साच्चै नै आनन्दमय तिहार थियो ।
साँझ ढिलो सुतियो । चिकित्सकको निद्रा सधैं अधुरो हुन्छ, त्यो कहिल्यै निश्चित हुँदैन । रातको करिब दुई बजेतिर फोनको घण्टीले निद्रा भङ्ग गर्यो । अस्पतालबाट फोन थियो । ‘डाक्टर साब, पहिला म्याओमेक्टोमी गरिएकी बिरामी आइपुगेकी छिन्, पेट दुखेको छ अनि अलिअलि पानी पनि जादैछ’ उताबाट आवाज आयो ।
थकित शरीर एकछिन सोच्यो- भाइटीकाको अघिल्लो रात हो, बिहान बहिनीको घर जानुपर्ने छ । तर अर्को आवाज भित्रबाट आयो- तर यी आमाको पीडा सार्न सकिँदैन नि ।
त्यो क्षणमा म बुझ्दै थिएँ- जागिर र जिम्मेवारी फरक कुरा हुन् । जागिर छोड्न सकिन्छ, तर जिम्मेवारी त्याग्न सकिँदैन । सायद अरू चिकित्सक र स्वास्थ्यकर्मीलाई नि यस्तो भएको हुन सक्छ ।
अस्पताल पुग्दा नर्सहरूले रिपोर्ट संकलन गरिसकेका थिए । अन्य आवश्यक परीक्षणका लागि नमुना पठाइसकिएको थियो । पहिलो केस- म्याओमेक्टोमी भइसकेकी महिला, कार्तिक 7 मा शल्यक्रिया गर्ने योजना थियो, तर अघिल्लो रात (५ गते ) नै पेट दुखेकाले आएकी रहिछिन् ।
दोस्रो केस पनि राति नै आएकी थिइन् । उनको पहिलो गर्भ थियो । ३७ हप्ता पुगेको, अचानक व्यथा सुरु भएर आएकी थिइन् ।
मातृत्वका यी क्षणहरू कसैको तालिकामा पर्दैनन् । न त यो घडीको समयसँग मेल खान्छ, न पर्वसँग । प्रकृतिले त्यसको ताल आफैँ निर्धारण गर्छ । रातभरि टीमले दुवै बिरामीको र गर्भको बच्चाको धड्कनको चाललाई निगरानी गर्यौँ । कुनै बेलामा बच्चाको मुटुको धड्कन बढ्थ्यो, कुनैबेला घट्थ्यो । त्यो स्पन्दन, त्यो ताल जीवन र मृत्युको सिमानामा नाचिरहेको जस्तो लाग्थ्यो । सबै परिक्षणको रिपोर्ट आउन र रगतको जोहो गर्न समय लाग्यो । बिहानको करिब ६:३० बज्यो ।
त्यो बीचमा स्क्रब सिस्टरले मुस्कुराउँदै भनिन्, ‘डा. साब, मेरो भाइ पनि बिहान टीका लगाउन घरमै पर्खिरहेको होला । तर यो सर्जिकल कपडा नै दिदीको आँचल हो भनेर चित्त बुझाएको होला नि?’ उनको त्यो सरल वाक्यमा अस्पतालको सम्पूर्ण भाव थियो- कर्तव्यमा पनि माया हुन्छ, सेवा नै सबैभन्दा ठूलो सम्बन्ध हो ।
भाइटीकाको बिहान- शल्यकक्षभित्र
बिहानको उज्यालो नबढ्दै सर्जरी सुरु भयो । पहिलो केसमा पाठेघर फुट्ने जोखिम, दोस्रो केसमा बच्चाले दिशा गरिसकेको र बच्चाको धड्कनको चालमा अनियमितता भएकाले शल्यक्रिया गर्नुपरेको थियो ।
एनेस्थेसिया सहयोगी कुमार दाइले पनि भने, ‘डा. साब, मेरो दमक जानुपर्ने थियो, बहिनीले आज टीका लगाउने भनी पर्खिएकी छे ।’ उनको आँखामा म जहिल्यै एक किसिमको सन्तोष देख्थें, कहिल्यै नहतारिने अनि शान्त । तर आज अलि हतारमा देखाए । बहिनी दमकमा पर्खिरहेकी थिइन् अनि आफू चाहिँ शल्यकक्षमा कसैको जीवन बचाउने जिम्मेवारीमा थिए ।
स्क्रब सिस्टर प्रियंकाको मनमा पनि हतार थियो, तर हात स्थिर । नर्सहरूले तयारी गर्दैगर्दा म मनमनै सोच्थें- ‘यी सबैको परिवारमा पनि त भाइटीका हुनेछ, तर उनीहरूले त्यो घरको टीका छाडेर सेवाको टीका लगाइरहेका छन् ।’
सर्जरी अघि मैले बाहिरतिर हेरेँ, अस्पतालको झ्यालबाट बिहानको उज्यालो भित्र पस्दै थियो । त्यो उज्यालो, त्यो समय, त्यो नै भाइटीकाको शुभक्षण जस्तो लाग्यो ।
बिहान ८ बजेसम्ममा दुवै शल्यक्रिया सकियो ।पहिलो- आमाको बच्चा सुरक्षित, अनि दोस्रोको बच्चाले पनि पहिलो सास लिँदै करायो । त्यो रुवाई, त्यो आवाज-त्यो नै हाम्रो भाइटीका थियो । त्यो आवाजले मलाई बाल्यकालमा मितज्यूको घरमा दिदीहरूको हातको टीका सम्झायो- भाइ, तिमी हाँस्यौ भने मेरो पूजा पूरा हुन्छ । त्यो शब्द फेरि मनमा गुञ्जियो । र म थाकेको शरीर लिएर मुस्कुराएँ । फेरि दिदीहरूलाई सम्झें, यस पछि निम्तो गरेको पनि सम्झें ।
बहिनीको फोन र मनको भाव
शल्यकक्षबाट बाहिर निस्किँदै गर्दा मोबाइल बज्यो । बहिनीको नम्बर थियो । मामाकी छोरी, नर्सिङ विषयमा मास्टर्स गरेकी, विराटनगर नै बस्छिन् । उनको घरमा टीका लगाउने पूर्व योजना थियो ।
‘दाजु, अहिले कता हुनुहुन्छ ? आउने बेला भएन ?’ उनले प्रश्न गरिन् ।
मैले हाँस्दै भनें, ‘बहिनी, आज म दुई आमा र दुई नवजात शिशुहरूसँगै छु । अब बिस्तारै आउछु ।’
बहिनी केहीबेर मौन भइन्, अनि बिस्तारै भनिन्, ‘तपाईँले जोगाएका ती आमाहरू पनि कसैका दिदीबहिनी हुन्, ती बच्चाहरू पनि त तपाईंका बहिनीहरू हुन्, त्यो नै तपाईंको टीका हो ।’
त्यो उत्तरले मेरो आँखामा न्यानो रस ल्यायो । त्यो क्षणमा लाग्यो- दाजु–बहिनीको सम्बन्ध केवल रगतको होइन, ममताको पनि हो । र त्यो ममता जहाँ छ, त्यहाँ पर्व छुट्दैनन्, केवल रूप बदलिन्छ ।
सेवाको उज्यालो
बिहानको त्यो घाम जब अस्पतालको झ्यालबाट भित्र पस्दै थियो, मैले बिस्तारै महसुस गरेँ- मात्र म एक्लो होइन, आज देशभरका सयौं चिकित्सक, स्वास्थ्यकर्मीहरू पनि यस्तै उज्यालोभित्र काम गर्दै होलान् । कुनै प्रसूति गृहमा बच्चा जन्मिँदै होला, कुनै आकस्मिक कक्षमा घाइतेको उपचार भइरहेछ होला । कुनै डायलिसिस सेन्टरमा बिरामीले जीवनको आशा बोकेका होलान् । हामी सबै एउटै निःशब्द पर्वमा सहभागी छौ, जहाँ पूजाको थालीमा दियो होइन, सेवाको दीप बालिएको छ ।
भाइटीकाजस्तो दिनमा पनि कुनै अस्पतालले सेवा बन्द गरेको हुँदैन । कुनै चिकित्सकले ‘आज पर्व छ, काम गर्न सक्दिन’ भनेर बिरामी फर्काएको हुँदैन । हो, केही नियमित सेवाहरू प्रभावित हुन्छन् । तर आकस्मिक कक्ष कहिल्यै बन्द हुँदैन, प्रसूति वार्ड कहिल्यै निदाउँदैन, अनि सर्जरी टेबल कहिल्यै खाली हुँदैन ।
अझ खास कुरा के भने- यस्तो परिस्थितिमा पनि कतै शुल्क बढाइएको हुँदैन । न चिकित्सकहरूले आफ्नो पारिश्रमिक बढाएका हुन्छन् । न अस्पतालले कुनै अतिरिक्त सुविधा थपेका छन् । बरू सबैले आफ्ना परिवारको समय, आफ्ना बालबालिकाको टीका, आफ्नो निजी पर्वको उज्यालो छोडेर मानिसको जीवन उज्यालो बनाउन समय दिएका हुन्छन् । त्यो निःस्वार्थ त्याग अनि अदृश्य ममता, त्यो नै हाम्रो पेशाको वास्तविक पर्व हो ।
भाइटीकाको अर्थ फेरिएको बिहान
घर फर्किँदा छोरीले ढोका खोलेर मुस्कुइ । ‘बाबा, अब हामी टीका लगाउँछौ है’ उनले हिजोदेखि नै भाइका लागि फूलको माला, उपहार र अन्य सामग्रीहरूको जोहो गरेकी थिइन् । त्यही बेला कोसेली बोकेर उनका मामा आइपुग्नुभयो । हाम्रोमा दाजुभाइ नै दिदिबहिनीको घर जाने परम्परा छ । पहिला मामा र आमाले टीका लगाए अनि दिदी र भाइले । उनीहरूले टीका लगाउँदा, मेरो मनमा बिहानको शल्यकक्ष फेरि घुम्यो । त्यो बेटाडिनको गन्ध, बच्चाको पहिलो रुवाइ, आमाको खुसीको आँसु र सहकर्मीहरूको मुस्कान । त्यसपछि म बहिनीको घर जाने तयारीमा लागें । बहिनीको बसाइ विराटनगर नै भएकाले सजिलो थियो ।
बहिनीको घरमा ज्वाइँ, भान्जाभान्जीहरू पर्खेर बसेका थिए । म पुग्नेबितिकै टीका सुरु भयो । टीका लगाइसके पछि मैले बहिनीको निधारमा टीका लगाउदै भनेँ, ‘बहिनी, आज तिमीले मलाई दोस्रो टीका लगायौ । पहिलो टीका त बिहानै लगाइसकेको थिएँ । त्यो सेवाको टीका थियो, जसमा दुई आमाको खुसी थियो ।’
बहिनीले केही बेर मलाई हेरी रहिन् । सायद बुझ्दै थिइन्, कसैको जीवन जोगाउनु पनि एक किसिमको पूजा हो । कसैको पीडा कम गर्नु पनि भाइटीकाको मर्म हो ।
प्रतिक्रिया 4