News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरूले मलेसियामा व्यापार सम्झौताको फ्रेमवर्कमा सहमति जनाएका छन्।
- ट्रम्प र सीबीच दक्षिण कोरियामा हुने भेटमा अमेरिकी किसानका उत्पादन खरिद र फेन्टानिल संकट समाधान विषयमा छलफल हुने छ।
- दुवै देशले नोभेम्बर १ देखि लागू हुने नयाँ कर र निर्यात नियन्त्रणका कारण व्यापार युद्ध नबढोस् भनेर वार्तामा सहमति खोजेका छन्।
९ असोज काठमाडौं । अमेरिका र चीनका शीर्ष आर्थिक अधिकारीहरू व्यापार सम्झौताको फ्रेमवर्क (ढाँचा)मा सहमत भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग चाडैं दक्षिण कोरियामा हुने भेटमा व्यापार सम्झौता टुंगो लाग्नेमा उनीहरू विश्वस्त देखिन्छन् ।
अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले मलेसियाको क्वालालम्पुरमा भइरहेको आसियान शिखर सम्मेलनका क्रममा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र प्रमुख व्यापार वार्ताकार ली चेङगाङसँग प्रत्यक्ष वार्ता गरेका हुन् ।
दुई देशका उच्च अधिकारीबीच गत मे देखि सुरु भएको यो पाँचौ वार्ता हो । ट्रम्प र सी बीच हुने वार्ताअघि दुई देशका उच्चाधिकारी बीच भएको यो वार्तालाई निकै महत्त्वका साथ हेरिएको थियो ।
बेसन्टले पत्रकारहरूसँग भने, ‘हामीले नेताहरूले बिहीबार छलफल गर्न सक्ने सफल ढाँचा तयार गरेका छौं ।’
अमेरिकी टेलिभिजन एनबीसीको मीट द प्रेस कार्यक्रममा बोल्दै उनले भने, ‘उक्त सम्झौताले चीनका दुर्लभ खनिज र म्याग्नेटमा लागू गरिएको नयाँ निर्यात नियन्त्रणलाई स्थगित गर्ने र ट्रम्पले धम्की दिएका १०० प्रतिशत अमेरिकी करलाई टार्ने अपेक्षा गरिएको छ ।’
उनका अनुसार ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापार र अमेरिकी फेन्टानिल सङ्कट समाधान जस्ता विषयमा पनि छलफल हुने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
फेन्टानिल वा अन्य ओपियोइड संकट भन्नाले अत्यधिक ओपियोइड औषधि र लागूपदार्थको दुरुपयोगका कारण व्यापक लत, स्वास्थ्य समस्या र मृत्युदर बढेको अवस्था हो । यही फेन्टानिल संकटका कारण अमेरिकाले चीनका सामानमाथि २० प्रतिशत कर लगाएको थियो ।
चिनियाँ उपप्रधानमन्त्री लीले भने, ‘दुवै पक्षबीच प्रारम्भिक सहमति भएको छ र अब हामी आ–आफ्नो आन्तरिक स्वीकृति प्रक्रियामा प्रवेश गर्नेछौं ।’
‘अमेरिकाको धारणा कडा छ,’ चिनियाँ उपप्रधानमन्त्री लीले भने, ‘तर हामीले गहिरा र रचनात्मक छलफल गर्दै समस्याका समाधान खोज्ने प्रयास गरेका छौं ।’
पाँच दिने एशिया भ्रमणको पहिलो चरणका रूपमा राष्ट्रपति ट्रम्प आइतबार मलेसिया पुगेका छन् । भ्रमणको अन्तिम दिन अक्टोबर ३० मा दक्षिण कोरियामा ट्रम्पले चिनियाँ समकक्षी सीसँग प्रत्यक्ष भेटवार्ता गर्ने तालिका छ ।
मलेसियामा दुई देशका अधिकारीहरूको वार्तापछि ट्रम्पले सकारात्मक प्रतिक्रिया जनाउँदै भने, ‘म ठान्दछु हामी चीनसँग सम्झौतामा पुग्नेछौं ।’
व्यापार युद्धमा अस्थायी युद्धविराम
दुवै देशले आगामी नोभेम्बर १ देखि लागू हुने सम्भावित नयाँ १०० प्रतिशत अमेरिकी कर र चीनका निर्यात नियन्त्रणका कारण व्यापार युद्ध अझै नबढोस् भनेर सम्झौताको बिन्दु खोजिरहेका छन् ।
अमेरिका र चीनले यसअघि एकअर्काका सामानमाथि लगाइएका सयौँ प्रतिशत करहरू फिर्ता लिँदै मे महिनामा ‘व्यापार युद्धविराम’ गरेका थिए। जसको अवधि आउँदो नोभेम्बर १० मा सकिँदैछ ।
वार्तामा दुवै पक्षले व्यापार विस्तार, युद्धविरामको अवधि थप्ने, फेन्टानिल समस्या, अमेरिकी बन्दरगाह प्रवेश शुल्क, दुर्लभ खनिज, टिकटक र अन्य विषयमा छलफल गरेका थिए ।
लीले वार्तालाई ‘खुला र इमानदार’ भनेका छन् भने बेसन्टले ‘महत्त्वपूर्ण र ठोस वार्ता’ भनेर व्याख्या गरेका छन् ।
बेसन्टका अनुसार व्यापार युद्धविराम अवधि अझै बढाउन सकिनेछ । यद्यपि अन्तिम निर्णय राष्ट्रपति ट्रम्पकै हातमा हुनेछ ।
ट्रम्प–सी भेटका मुख्य विषयहरू
ह्वाइट हाउसले ट्रम्प–सीबीचको उच्चस्तरीय भेट आधिकारिक रूपमा घोषणा गरे पनि बेइजिङले अझै त्यसको पुष्टि गरेको छैन ।
ट्रम्पले आसियान सम्मेलनका क्रममा चीन र अमेरिकामा दुबै देशमा बैठक हुन सक्ने संकेत दिएका छन् ।
‘हामीले भेट्ने सहमति गरेका छौं, चीनमा र अमेरिकामा, वा वासिङ्टन वा मार–ए–लागोमा,’ उनले भने ।
ट्रम्पका अनुसार सीसँगको भेटमा अमेरिकी सोयाबिन खरिद, ताइवान सम्बन्धी अमेरिकी चिन्ता, र हङकङका मिडिया व्यवसायी जिमी लाइको रिहाइ जस्ता विषय वार्ताको प्राथमिकतामा हुनेछन् ।
प्रजातन्त्रप्रति पक्षधरता लिने एप्पल डेली पत्रिकाका संस्थापक हुन् जिमी लाइ । पत्रिका बन्दपछि उनी हङकङमा थुनामा छन् ।
ट्रम्पले युक्रेन युद्ध रोक्न चीनसँग रूससम्बन्धी अमेरिकी कूटनीतिक प्रयासहरूमा पनि सहयोग माग्ने बताएका छन् ।
अमेरिका र चीनबीचको अस्थायी व्यापार शान्ति पछिल्ला हप्ताहरूमा फेरि तनावग्रस्त बनेको छ ।
मे महिनामा जेनेभामा भएको पहिलो व्यापार वार्तापछि भएको सम्झौताले दुवै पक्षले कर घटाए पनि पछिल्लो चरणमा एकअर्काविरुद्ध पुन: नयाँ प्रतिबन्ध, निर्यात नियन्त्रण र प्रतिकारात्मक धम्कीहरू दिएका छन् ।
दक्षिण कोरियामा हुने ट्रम्प–सी वार्तालाई चीनको दुर्लभ खनिज निर्यातमाथिको नियन्त्रणसँग जोडेर हेरेका छन् । चीनले दुर्लभ खनिज निर्यातमा नियन्त्रण बढाएपछि विश्व बजारमा आपूर्ति संकट सिर्जना गरेको छ ।
त्यसैको प्रतिवादमा अमेरिकी प्रशासनले चीनतर्फ हुने सफ्टवेयर निर्यात रोक्ने बताएको थियो । ल्यापटपदेखि जेनइन्जिनसम्ममा प्रयोग हुने अमेरिकी सफ्टवेयर रोक्ने चेतावनीपछि चीनले पनि उच्च तहको वार्ताबाटै समस्या समाधान गर्नतर्फ जोड दिएको देखिन्छ ।
प्रतिक्रिया 4