News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा उद्योग र निजी सम्पत्तिमा भएको लुटपाट र आगजनीमा संलग्नलाई कारबाही माग गरेको छ।
- महासंघले दोषीविरुद्ध जाहेरी नलिइएको र कारबाहीमा उदासिनता देखिएको गुनासो आएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
- महासंघले निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिको लागि सुरक्षा समितिमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्न र सरकारसँग समन्वय आवश्यक रहेको बताएको छ।
१० कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजी आन्दोलनका क्रममा घुसपैठ भई उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड तथा आगजनी गर्नेलाई कारबाही अगाडि बढाउन माग गरेको छ ।
ती घटनामा संलग्नहरूको जाहेरी नै नलिएको भनी सदस्यहरूबाट गुनासो आइरहेको महासंघले जनाएको छ । यसले समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साहित हुने उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
महासंघले यी घटनाले निजी क्षेत्रको मनोबल कमजोर पार्ने मात्र नभई आर्थिक क्रियाकलापमै नकारात्मक असर पुर्याएको जनाएको छ । ‘घटनाका दोषीविरुद्धका जाहेरी दर्ता नलिने र कारबाहीमा उदासिनता देखिएको सदस्य व्यवसायीबाट जानकारी प्राप्त भइरहेकाले यस्तो अवस्था कायम रहे दण्डहिनता बढ्न गइ लगानीको वातावरणलाई गम्भीर चुनौती दिने देखिन्छ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसले रोजगारी सिर्जना, राजस्व संकलन, लगानी प्रवद्र्धन र समग्र अर्थतन्त्रमा नै दिर्घकालीन असर पार्ने छ ।’
यस्तै निजी क्षेत्रको सुरक्षा प्रत्याभूतिका लागि केन्द्र र जिल्लास्तरीय सुरक्षा समितिहरूमा महासंघको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित जिल्ला, नगर, उद्योग वाणिज्य संघका अध्यक्ष एवम् प्रतिनिधिको सहभागिताका लागि पनि आग्रह गरेको छ ।
यसबारे औपचारिक आग्रह गर्दैै महासंघले गृहमन्त्रालयमा पत्राचार समेत गरिसकेको छ । सबै तहमा सरकार र निजी क्षेत्रको समन्वय जरुरत रहने महासंघले जनाएको छ । मुख्यगरी जिल्लास्तरीय सुरक्षा योजना, जोखिम मूल्यांकन र आकस्मिक निर्णय प्रक्रियामा पनि व्यावसायिक समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न महासंघले आग्रह गरेको छ ।
आइतबार महासंघका पदाधिकारी, स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सम्मिलित छलफलमा महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले शान्ति सुरक्षा नभइ स्थायित्व नहुने, स्थायित्व नभइ उद्यम व्यवसाय सञ्चालन हुन नसक्ने र उद्यम व्यवसाय सञ्चालन नहुँदा अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न हुने हुँदा व्यवसायीको शान्ति सुरक्षा अपरिहार्य शर्त भएको बताए ।
उनले दण्डहीनता अन्त्य गरी भविष्यमा पनि उद्यम व्यवसायीमाथि आक्रमण नहुने सुनिश्चितता गरिनुपर्ने बताए । समाजमा थप अन्यौल र अनिश्चितताको वातावरण बन्न नदिन र दण्डहिनताको अन्त्यका लागि दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए ।
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक गतिविधिलाई दिगो रूपमा अगाडि बढाउन, लगानीको वातावरण विश्वसनीय बनाउन तथा निजी क्षेत्र आत्मविश्वासपूर्वक क्रियाशील रहन सक्ने अवस्था सिर्जना सरकारको सक्रियता अपेक्षा गरिएको बताए । उनले अहिलेको अवस्थामा शान्ति सुरक्षा कायम गरी स्थायित्वतर्फ लैजान र उद्योगी व्यवसायीको मनोबल उठाउनेतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको बताए ।
छलफलका क्रममा देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण हिस्सा राख्ने निजी क्षेत्रमाथिको आक्रमणले उद्यमी व्यवसायी निरुत्साहित भएको भन्दै यस अवस्थामा उद्यमी व्यवसायीले निर्वाध रुपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सम्पूर्ण सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराइएको थियो ।
छलफलमा उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य सहित स्थायी समिति तथा समिति/फोरमका सभापतिहरू सहभागी थिए ।
प्रतिक्रिया 4