+

एरसमसले काठमान्डु गोर्खाजबाटै खेल्ने

२०८२ कात्तिक  १२ गते १५:०५ २०८२ कात्तिक १२ गते १५:०५
एरसमसले काठमान्डु गोर्खाजबाटै खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नामिबियाका कप्तान जेर्हाड एरसमसले लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।
  • एरसमसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।
  • काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा एरसमसलाई भित्राएको हो । यसअघि दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो भास्कोनेसेलोसलाई पनि लिइसकेको छ ।

१२ कात्तिक, काठमाडौं । नामिबियाका कप्तान जेर्हाड एरसमसले लगातार दोस्रो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन् ।

काठमाडौंले बुधबार एरसमसलाई अनुबन्ध गरेको घोषणा गरेको हो । काठमान्डु गोर्खाजको टोलीसँग उनी यसअघि नै परिचित छन् ।

एनपीएलको पहिलो संस्करणमा काठमान्डु गोर्खाजको उपकप्तानको भुमिकामा रहेका उनले ७ खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए ।

‘गत सिजन इरसमसले काठमान्डु गोर्खाजबाट उत्कृष्ट खेलेका थिए, यो वर्ष उनले अझ राम्रो खेल्ने छ भन्ने विश्वास लिएका छौं । उ राम्रो लिडर पनि हो, त्यसले पनि हाम्रो टिमलाई फाइदा पुगेको थियो । मैदान भित्र खेलाडीलाई उसले निकै एक्टिभ बनाएर राख्छ । एरसमस एसोसिएट क्रिकेटको उत्कृष्ट अलराउन्डर र उत्कृष्ट फिल्डर हुन्, उनी जस्ता खेलाडीलाई राखेर टिम बनाउदा प्रभावकारी हुने अपेक्षा राखेको छु,’ काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाहीले भने ।

एरसमसले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका आएका छन् । एरसमसले २०२३ र २०२४ मा आईसीसी पुरुष एसोसिएट क्रिकेटर अफ द इयर पुरस्कार जितेका थिए ।

वर्ष २०२४ को पुरुष एसोसिएट क्रिकेटर अफ द इयर हुनेक्रममा इरसमसले २०२३ मा कीर्तिपुरमा नेपालविरुद्धै विश्व क्रिकेट लिग २ का खेलमा २८ रन खर्चेर ५ विकेट लिएका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङ प्रदर्शन पनि हो ।

त्यस्तै उनले सो वर्ष चार अर्धशतक पनि प्रहार गरेका थिए, जसमा वेस्ट इन्डिजमा भएको ट्वान्टी–२० विश्वकपमा स्कटल्यान्डविरुद्ध ३१ बलमा ५२ रन बनाएका थिए । इरसमसले वर्ष २०२४ मा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुल १८ विकेट लिएका थिए ।

३० वर्षे एरसमसले नामिबियाबाट ६३ खेलमा ३८.२१ को औषतमा २ शतक र १७ अर्धशतकका साथ २१७८ एकदिवसीय अन्तर्राष्ट्रिय रन र ७७ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ शतक र १३ अर्धशतकका साथ १२४ माथिको स्ट्राइक रेटमा १८३३ रन बनाइसकेका छन् ।

उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट यूएईको आईएल टी–२० पनि खेल्दै आएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले दोस्रो विदेशी खेलाडीको रुपमा एरसमसलाई भित्राएको हो । यसअघि नै गोर्खाजले दक्षिण अफ्रिकामा जन्मिएका र हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका रिकार्डो भास्कोनेसेलोसलाई लिइसकेको छ ।

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय