+
+
Shares

बालुवाटार वार्ताको अन्तर्य : तोडियो संवादहीनता, सुरु भयो नोकझोक

जेनजी आन्दोलनपछि नै पहिलोपटक भएको यो वार्तालाई चासोपूर्वक हेरिएको थियो । सौहार्द बनाउने कोसिस हुँदाहुँदै पनि बीचमा नोकझोक चल्यो । एक जेनजीले त मुखै खोलेर भने- एमालेको बुद्धि कहिले आउँछ ?

रघुनाथ बजगाईं कौशल काफ्ले रघुनाथ बजगाईं, कौशल काफ्ले
२०८२ कात्तिक १३ गते ०:१२

१२ कात्तिक, काठमाडौं । अन्तरिम सरकार गठन भएको झण्डै दुई महिनापछि बुधबार पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरू छलफलमा बसे । यसलाई सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जगदिश खरेलले ‘संवादनहीनताको अवस्था तोडिएको’ भनेका छन् ।

प्रधानमन्त्रीले आह्वान गरेका यो त्रिपक्षीय छलफलमा जेनजी र उक्त आन्दोलनबाट विस्थापित भएका तत्कालीन सरकार सञ्चालक दल नेपाली कांग्रेस र नेकपा एमालेसहितका प्रतिनिधि थिए ।

बुधबारको छलफलले संवादहीनतामात्रै तोडेन, सहभागीहरूका अनुसार, मन बाझिनेगरी सवालजवाफ पनि भएको छ ।

त्रिपक्षीय छलफल कस्तो रह्यो त ! हामीले केही जेनजी, दलका प्रतिनिधि र सरकारी अधिकारीहरूसँग बालुवाटार बैठकको अन्तर्य खोतलेका छौं ।

बैठकको सुरुमा सञ्चारमन्त्री खरेलले भने, ‘चुनावको वातावरण बनाउन त्रिपक्षीय छलफल राखिएको हो । सरकार चुनाव गराउनेतिर केन्द्रित छ ।’

छोटो अभिव्यक्ति दिएर उनले शान्ति सुरक्षाको विषयमा बोल्न गृहमन्त्री ओमप्रकाश अर्याललाई समय दिए । गृहमन्त्री अर्यालले ‘थप हिंसा नहोस्’ भन्नेमा आफूहरू सतर्क रहेको जानकारी बैठक हललाई गराए ।

‘दलहरू र जेनजी एकै ठाउँमा उभिन थालेका छौं । यो राम्रो कुरा हो’ गृहमन्त्री अर्यालले बैठकमा भने, ‘सुशासन पनि हाम्रो म्यान्डेड हो । चुनाव हुनैपर्छ र चुनावको मिति सार्न सकिँदैन ।’

जेनजीको माग सम्बोधन गर्नका लागि समेत चुनाव चाहिने उनको भनाइ थियो । ‘जनमत संग्रह वा संविधान संशोधनका लागि संसद चाहिन्छ । यसका लागि चुनाव चाहिन्छ । चुनाव गर्छौं,’ गृहमन्त्रीले आफ्ना कुरा राखे ।

त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीले ‘विचारको आदानप्रदान गरौं’ भनेर त्रिपक्षीय छलफल राखेको जानकारी गराइन् । ‘जति छलफल गर्‍यो त्यति राम्रो हुन्छ र सही निष्कर्ष निष्कन्छ’, बैठकको सुरुवातमै उनले भनेकी थिइन् । उपस्थित सबैलाई छलफलको बाटो खुलाउँदै निर्धक्क कुराकानी राख्न उनले आग्रह गरिन् ।

जेनजीकै कुरा बाझिए

सरकारका तर्फबाट फ्लोर खुला भएपछि सुरुमा जेनजी प्रतिनिधिहरूलाई बोल्न समय दिइयो । छलफलमा जेनजी प्रतिनिधि बनेर मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, अभिशेष श्रेष्ठ, रेहनराज डंगोल, अमित खनाल,  रिजन रानामगर र सागर ढकाल पुगेका थिए ।

उनीहरूले पालैपालो आफ्ना कुरा राखे ।

अभिशेष श्रेष्ठ, रक्षा बम र जेम्स कार्कीले चुनाव चाहिएको र चुनाव गर्नुपर्ने तर चुनाव चुनाव भनेर मात्र नहुने धारणा राखे । आफूहरूको आन्दोलनको मुख्य माग सुशासन भएकोले सरकारले भ्रष्टाचारविरुद्धको कारबाही समेत अगाडि बढाउनुपर्ने आग्रह उनको थियो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्न उनले आग्रह पनि गरे । ‘सिस्टम र संविधान चाहिन्छ । यो राखेरै गर्ने हो,’ उनको भनाइ थियो ।

रक्षा बमले ‘भदौ २३ को म्यान्डेड नभुलौं’ भनिन् ।

जेम्स कार्कीले पनि चुनाव हुनुपर्नेमा समर्थन जनाउँदै दलहरूसँगको संवाद फलदायी हुने विश्वास व्यक्त गरे । छलफलमा युवा पुस्ता रहनुपर्ने आग्रह पनि गर्दै उनले भने, ‘हजुरबाहरूका कुरा मान्न सकिँदैन । दाई र अंकलहरूसँग छलफल गर्न सकिन्छ ।’

तर, जब मिराज ढुंगानाले कुरा राखे त्यसपपछि जेनजीकै कुरा बाझिन थाले । ढुंगानाले आफूहरूका सात बुँदे माग रहेको स्मरण गरे ।

ढुंगानाले त्रिपक्षीय छलफलमा राखेका मागहरू हुन्– प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विदेशमा रहेकालाई मताधिकार, सरकारको स्थायीत्व, प्रदेश सभा भंग, जेनजी आन्दोलनलाई राजनीतिक जनआन्दोलन घोषित हुनुपर्ने, सहीद र घाइतेको सही व्यवस्थापन गर्नुपर्ने तथा २३ र २४ भदौको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने ।

यी माग पूरा हुनुपर्ने अन्यथा वातावरण सहज हुन नसक्ने भनेर उनी नरम शैली र गरम शब्दका साथ प्रस्तुत भए ।

‘के भनेर चुनावमा जाने ?,’ उनको प्रश्न छ, ‘सिधै निर्वाचनमा जान सकिँदैन, हाम्रा सात वटा मुद्दा छन् ती पूरा हुनुपर्छ ।’

ढुंगानाले कडिकडाउ रुपमा चुनावमा जाने वातावरण नरहेको बताएपछि जेनजीकै प्रतिनिधिहरूबाट प्रतिवाद भयो ।

मिरजपछि बोलेका उपार्जुन चाम्लिङले भने, ‘केही साथीहरूले चुनावमा जान सकिँदैन भन्नुभयो, त्यो हाम्रो साझा कुरा होइन । हामी भन्छौं– चुनाव, चुनाव, चुनाव ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका विषयमा पनि चाम्लिङ बोले ।

‘मिरजजीले कुरा उठाएपछि भरे जेनजीले प्रत्यक्ष कार्यकारीको माग राख्यो भनेर समाचार आउला, त्यो भयो भने ७६ जना शहीदको पाप लाग्छ,’ चाम्लिङले भनेका छन् ।

बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै चाम्लिङले अन्यले बोलेको विषयमा मतियार म हुँदिन भनेको सुनाए । चाम्लिङले भनेका छन्, ‘म मिरजजी पछि बोल्दा दलहरूलाई भ्रम नहोस् भनेर जेनजीहरूले बोल्ने क्रममा नै खण्डन गरेँ । पछि राप्रपाले व्यवस्था फाल्ने कुरा गर्दा पनि खण्डन गरेँ ।’

खेमराज साउँदले मिरजको अभिव्यक्ति उपरको चाम्लिङको खण्डनमा समर्थन जनाए । साउँदले भनेका छन्, ‘मिरजजीको कुरा जेनजीकै तर्फबाट खण्डन भयो ।’

बरु साउदले सहमत हुन बाँकी रहेका विषयहरूमा बृहत छलफल गर्न सकिने प्रस्ताव राखे । उनले भनेका छन्, ‘हामी संविधानको रक्षामा छौं । प्रत्यक्ष कार्यकारीको बारेमा प्रयाप्त बहस गरौं ।’

जेनजीको तर्फबाट त्रिपक्षीय छलफलमा पुगेका सागर ढकालले भने नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास स्मरण गरे ।

‘आगामी फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको ७५ वर्ष पूरा हुँदैछ । यसका लागि पूराना राजनीतिक दललाई धन्यवाद दिनुपर्छ,’ उनले भनेका छन्, ‘अहिले पनि कतिपय प्रजातान्त्रिक अभ्यासमा आलटाल छ । अब पनि  आलटाल गर्ने छुट हामीलाई छैन ।’

ढकालले जेनजी आन्दोलनको आधिकारिताको विषय पनि उठाए । ‘आन्दोलनको आधिकारिता खोइ ? तीन दिनभित्र सम्झौता गरौं,’ ढकालको प्रस्ताव थियो ।

बैठकपछि ढकालले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको समेत बताएका छन् । ‘जेनजीसँग सहमति पनि हुन बाँकी छ  । केही दिनमा राष्ट्रपतिसँग औपचारिक सम्झौता हुनुपर्‍यो । त्यसमा हामीले विभिन्न कुरा राखेका छौं संविधान सुधार लगायतका मागहरू,’ ढकालले पत्रकारहरूसँग भने ।

अर्थात्, ढकालले जेनजीको तर्फबाट फिनिसिङ अभिव्यक्ति दिए । ढकाल तिनै पात्र हुन जो ४ मंसिर २०७९ को चुनावमा डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका थिए ।

सरकार र जेनजीको प्रशंसा

जेनजीले एकसरो कुरा राखिसकेपछि दलका प्रतिनिधिहरूलाई बोल्न दिइयो । सुरुमै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिपक्षीय छलफल राखेकोमा सरकारलाई धन्यवाद दिए । ‘जेनजीसँग संवाद आवश्यक थियो । यो निरन्तर होस्,’ थापाले सुझाए ।

आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको स्मरण गर्दै उनले धेरै विषय त्यहीँबाट आउने बताए । तथापि, चुनावप्रति आफ्नो पार्टी प्रतिबद्ध र कटिबद्ध रहेको सुनाए । थापाले भनेका छन्, ‘कांग्रेस निर्वाचनमा जान्छ ।’

प्रतिनिधि सभा विघटन संवैधानिक हो कि असंवैधानिक हो भन्ने बहस चलिराखेको उल्लेख गर्दै उनले भनेका छन्, ‘विघटन असंवैधानिक त हो । तर, संविधानको कम क्षतिमा यो भएको छ । चुनावको मिति तोकिएको छ । हामी चुनावमा भाग लिन्छौं ।’

बरु सरकारले लुटिएका हतियारको खोजी गर्नुपर्ने र चुनावमा शान्ति सुरक्षा सबल बनाउन सरकारले ख्याल गर्नुपर्नेमा जोड दिए ।

चुनाव गर्नका लागि अन्य व्यवहारिक विषय समेत रहेको स्मरण गरे । ‘अहिलेसम्म फागुनमा हिमाली क्षेत्रमा चुनाव भएको छैन । यो ख्याल गरौं,’ उनले भने ।

यसका अलावा निर्वाचन आयोगको नेतृत्वको विषय र साधनस्रोतको विषयमा सरकार चनाखो हुन आवश्यक रहेको सुझाए । उनले भनेका छन्, ‘निर्वाचन आयोगको मुल नेतृत्वको कुरा (खाली) छ । साथै चुनावमा आवश्यक साधनस्रोतबारे सरकारले सोचोस् ।’

तथापि, यी प्राविधिक कुरा भएको उल्लेख गर्दै उनले थपे, ‘मुख्य कुरा पोलिटिकल कमिटमेन्ट हुनुपर्छ । केही दलको यो छैन । हामी प्रष्ट छौं । अरु पनि प्रष्ट हुनुपर्छ ।’

सुरुमा त्रिपक्षीय छलफल राखेकोमा सरकारलाई धन्यवाद दिएका महामन्त्री थापाले कुरा टुंग्याउँदै गर्दा जेनजीहरूलाई धन्यवाद दिए, ‘निर्वाचन र संविधानको पक्षमा उभिएकोमा यहाँहरूलाई धन्यवाद ।’

आगामी दिनमा जेनजी आन्दोलनलाई के भनेर सम्बोधन गर्न सकिन्छ भनेर सबैको राय पनि मागे । ‘२०६२/६३ सालको जनआन्दोलनपछि लोकतन्त्र गणतन्त्र भन्यौं । जेनजी आन्दोलनपछि अब के भन्छौं ?’

कांग्रेसका महामन्त्री थापापछि माओवादीका नेता वर्षमान पुन बोले । संक्षिप्त कुरा राखेका उनले भनेका छन्, ‘व्यवस्था परिवर्तन गर्‍यौं । अब रुपान्तरण आवश्यक छ यो हामीले गरेका छौं ।’

जेनजीले उठाएका मागहरू आफ्नो पार्टीले उठाउँदै आएको एजेन्डा एकै भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागिकाम गर्दा गर्दै सत्ताच्यूत हुन परेको गुनासो उनको थियो । ‘निर्वाचन गर्नुपर्छ । निर्वाचनमा जाने निर्णय हामीले गरिसकेका छौं,’ पुनले भने, ‘सबै दललाई आग्रह गर्छौं– निर्वाचनमा जाऔं । निर्वाचनपछाडि संविधान संशोधनबारे सोचौं ।’

एमाले बोलेपछि प्रतिवाद

दलहरू बोल्नेक्रम चलिरहेकै थियो । जब एमालेका महेश बर्तौला बोले तब त्रिपक्षीय छलफलको वातावरण केही गरम बन्न पुग्यो ।

बर्तौलाले सुरुमै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे, ‘यो त्रिपक्षीय छलफल होइन । सरकार र जेनजी एउटै हो । दलहरू हुँदा दुई पक्षीय भयो ।’

अन्तरिम सरकार असंवैधानिक भएको उल्लेख गर्दै उनले अराजनीतिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको तर्क गर्न थाले ।

सरकारले एकातिर चुनाव गराउने भनिरहेको र अर्कोतिर त्यसअनुसारको व्यवहार नगरेको टिप्पणी गरे । कतिपय मन्त्रीको अभिव्यक्तिले समेत सरकार निर्वाचनको वातावरण बनाउन लागिरहेको छैन भन्ने देखिएको भन्दै बर्तौलाले थप कटाक्ष गरे ।

‘आजकै गृहमन्त्रीको अभिव्यक्ति हेरौं, त्यसले निर्वाचनको वातावरण बनाउँछ  ? शान्ति सुरक्षाको कुरा हुन्छ ?,’ बर्तौला रुखो सुनिन थाले ।

संसद् पुनस्थापना गर्ने, संविधान संशोधन गरेर जेनजीका माग पूरा गर्ने अनि अर्ली इलेक्सनमा जानुपर्ने उनको तर्क थियो । सोही क्रममा उनले संसद् विघटनको विषय उप्काए ।

बोल्ने क्रममा बर्तौलाले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै भने, ‘हजुरले संसद विघटनको मुद्दा हेर्नुभएको …’

बर्तौलाले वाक्य टुंग्याउन नपाउँदै कार्कीले प्रतिवाद गरिन्, ‘मैले संसद् विघटनको मुद्दा हेरेको छैन ।’

बर्तौलाले यो विषयमा ‘हजुरले सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएको छ’ भनेर काउन्टर जवाफ दिए ।

अनि बर्तौलाले न्यायाधीशले अवकाशपछि अन्य जिम्मेवारी नलिने प्रबन्ध रहेको पनि बताए ।

त्यसपछि फेरि प्रधानमन्त्री कार्कीले बर्तौलाको कुरा काटिन् ।

‘न्यायाधीशले चुनाव लड्न पाउँछ कि पाउँदैन ?’ प्रधानमन्त्री कार्कीले प्रतिप्रश्न गरिन् । भारतमा न्यायाधीशले चुनाव लड्न पाउने भन्दै उनले नेपालमा पाउँछ कि पाउँदैन भनेर प्रतिप्रश्न गरिन् ।

त्यतिबेला कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा बोले, ‘यहाँले मलाई भन्नुभएको होला …’

कानुनमन्त्री समेत सवालवाफमा आउन खोजेपछि प्रधानमन्त्री कार्कीले नै रोकिन्, ‘पछि बोेल्नुहोला ।’

फेरि पनि बर्तौलाले आफूहरू चुनावको विपक्षमा नरहेको तर, अहिलेको सही निकास प्रतिनिधि सभा पुनर्स्थापना गरेर जानु नै उचित रहेको विषय राखे ।

बर्तौलाको अभिव्यक्तिमा उनी बोलिसकेपछि जेनजीका प्रतिनिधिहरूले पनि प्रतिवाद गरे ।

‘म केही राख्छु’ भन्दै उपार्जुन चाम्लिङ उठे । ‘म यहाँ सरहरूलाई भन्न चाहन्छु– दुई दुई पटक संसद् विघटन गर्ने पार्टीको नाम के थियो रे ! मैले बिर्सें,’ चाम्लिङले सिधै प्रतिवाद गरे ।

त्यसपछि रक्षा बमले पनि प्रश्न गरिन्, ‘एमाले साँच्चै नसुध्रिने नै हो ? एमालेको बुद्धि नआउने र नसच्चिने नै हो ?’

एमालेलाई जेनजीको जवाफ भन्दै उनले थपिन्, ‘संसद् पुनर्स्थापना सम्भव छैन ।’

त्रिपक्षीय छलफलको नोकझोक कस्तो थियो भन्ने अन्तिममा प्रधानमन्त्री कार्कीले राखेको विषयले समेत झल्काउँछ ।

‘म रहरले आएको होइन । म बाध्य भएँ र पीएम भएँ,’ उनले भनेकी छन्, ‘देशलाई परेको बेलामा केही नगर्ने ! भनेपछि म पीएम भएकी हुँ । यहीँ छन् जेनजीहरू मेरो घरमा आएर प्रधानमन्त्री हुनुपर्छ भनेपछि भएकी हुँ ।’

सरकारको कामको विषयमा आलोचना हुन थालेको भनेर उनी कड्किइन् । ‘३५ वर्ष नगरेको काम हामीले एक महिनामा कसरी गर्नू ?’

कतिपयले सरकारसँग विदेशीको सम्बन्ध रहेको भनेर गर्ने गरेको आलोचनामा पनि प्रधानमन्त्री कार्कीले गुनासो राखिन्, ‘विदेशीको कुरा आउँछन् । मैलै एउटा राजदूत पनि भेटेको छैन । पीएम कार्यालयमा जसलाई सोधे पनि हुन्छ ।’

जाँदाजाँदै उनले आगामी फागुन २१ गते चुनाव गराउने दृढता व्यक्त गरेकी छन्, ‘म लडाकु हुँ । मेरो हजुरआमा पनि लडाकु थिइन् । म चुनाव गराउँछु ।’

साथै सर्वपक्षीय छलफलले निरन्तरता पाउने पनि उनको सन्देश छ, ‘आजको छलफल सुरुवात हो । नियमित छलफल गर्दै गरौंला । सबै आउनुभयो ल धन्यवाद ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?