+
+
Shares

रवि र छविको मुद्दामा सुनुवाइ स्थगित

छविलाल जोशी निवेदकका तर्फबाट सुनुवाइ स्थगित गरिपाउँ भन्ने निवेदन परेपछि लगाउ (पालो)मा परेको रवि लामिछानेको सुनुवाइ पनि एकसाथ स्थगित भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी मुद्दाको सुनुवाइ उच्च अदालत तुल्सीपुरमा आज पनि स्थगित भएको छ।
  • उच्च अदालतले रवि लामिछाने र छविलाल जोशीको बिगो रकम बुझाई मुद्दा लड्न फाइल पेश गर्न आदेश दिएको थियो।
  • लामिछाने र जोशी दुवै पुर्पक्षका लागि थुनामा छन्, लामिछानेलाई ललितपुर नख्खु कारागार र जोशीलाई भैरहवा कारागारमा राखिएको छ।

१३ कात्तिक ,बुटवल । सहकारी ठगी र संगठीत अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइआज पनि स्थगित भएको छ ।

उनीहरू दुवैको मुद्दा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलाशमा सुनुवाइ हुने कार्यसूची अदालतले प्रकाशित गरेको थियो ।

तर तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविललाल जोशी निवेदकका तर्फबाट आजको सुनुवाइ स्थगित गरिपाउं भन्ने निवेदन परेकाले सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी रामबहादुर कुंवरले बताए ।

‘अब अर्को बिहीबार साप्ताहिक पेशी पर्छ, रवि र छवि दुवै निवेदकका तर्फबाट स्थगितको निवेदन नपरे सुनुवाइ हुन्छ’–कुँवरले भने ।

यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रवि सँगै छविलाल जोशीको पनि फाइल पेश गर्न आदेश दिएको थियो ।

यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेश गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेश गरेका थिए ।

तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?