+
+
Shares

तरकारीको भाउ ५०० प्रतिशतसम्म वृद्धि, किन बढिरहेछ निरन्तर ?

असोजमा पनि अविरल वर्षाले महँगाएको तरकारीको भाउ घट्न नसकेका बेला अहिले फेरि वर्षा भइरहँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा परेको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ कात्तिक १३ गते २२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा वर्षा र मौसमी चक्रले तरकारीको आपूर्ति कम हुँदा चार महिनामा तरकारीको भाउ झन्डै ५ सय प्रतिशतसम्म बढेको छ।
  • कालीमाटी तरकारी बजारका अनुसार अहिले खुद्रामा कुनै पनि तरकारी १ सय रुपैयाँभन्दा कममा किन्न पाइँदैन र व्यापारीले मनपरी भाउ बढाएको बताइएको छ।
  • कालीमाटी तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिउँदे तरकारी बजारमा आएपछि भाउ घट्ने अपेक्षा रहेको बताए।

१३ कात्तिक, काठमाडौं । बजारमा हरियो तरकारीको भाउ निरन्तर उकालो लागिरहेको छ । यो समय सिजनका तरकारी भित्रिएर भाउ घट्नुपर्ने बेला हो । तर, काठमाडौं उपत्यकाका उपभोक्ता भने दिनहुँ तरकारीमा महँगो  तिर्न बाध्य छन् ।

थोक (होलसेल) मै भाउ बढेको तरकारी खुद्रामा छोइनसक्नु छ । असोजमा पनि अविरल वर्षाले महँगाएको तरकारीको भाउ घट्न नसकेका बेला अहिले फेरि वर्षा भइरहँदा त्यसको असर उपभोक्ताको भान्सामा प्रत्यक्ष परेको छ ।

व्यापारीले हिजो बुधबारदेखि परेको पानीलाई बहाना बनाएर फेरि तरकारीको भाउ मनपरी बढाएका छन् ।

बिहीबार बिहान काठमाडौं नयाँ बानेश्वरकी सुजता भट्ट तरकारी पसलमा आलु किन्न भाउ सोध्दै थिइन् । पसलेले आलुको भाउ किलोको १ सय रुपैयाँ बताए ।

फेरि उनले घिउसिमीको भाउ सोधिन् । जवाफ आयो, ‘किलोको १ सय ७० रुपैयाँ ।’

‘एक साताअघि त ५० रुपैयाँमा लगेको हो आलु, आजै सय रुपैयाँ पुगिसक्यो ?,’ उनले पसलेलाई भनिन्, ‘पसलेको पनि मनपरी छ, जसलाई जति मन लाग्छ त्यति नै भने भयो ।’

पसलेले होलसेलमै तरकारीको भाउ बढेकाले खुद्रामा पनि बढाउनुपरेको तर्क गरे ।

‘अहिले फेरि वर्षा सुरु भएकाले बजारमा पर्याप्त मात्रामा हरियो तरकारी आएको छैन,’ ती पसलेले भने, ‘आएका तरकारी अधिकांशको होलसेलमै भाउ बढेको छ, हामीले घाटा खाएर बेच्न सकिँदैन ।’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले साउनदेखि नै अधिकांश तरकारीको भाउ होलसेलमा नै उल्लेख्य वृद्धि भएको देखाउँछ ।

कालीमाटी तरकारी बजारका अनुसार चार महिना अवधिमै तरकारीको भाउ झन्डै ५ सय प्रतिशतसम्म वृद्धि भएको छ । खुद्रामा भने कुनै पनि तरकारी १ सय रुपैयाँभन्दा कममा किन्न पाइँदैन । खुद्रामा व्यापारीको आफ्नै मनोमानी छ ।

अहिले पनि खुद्रामा तने बोडी प्रतिकिलो १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म किनबेच भइरहेको छ । यस्तै घिउसिमी पनि किलोको १ सय २० देखि १ सय ६० रुपैयाँसम्म बेचेको पाइएको छ । तिते करेला, लौका, फर्सीसमेत किलोको १ सय रुपैयाँमाथि नै खुद्रा व्यापारीले बेचिरहेका छन् ।

कुन तरकारीको भाउ कति ?

१ साउनदेखि १३ कात्तिकसम्म आइपुग्दा तने बोडीको भाउ मात्रै ४ सय ९२ प्रतिशतसम्म बढेको छ । कालीमाटी बजारकै तथ्यांकले यस अवधिमा तिते करेलाकै भाउ ४ सय १४ प्रतिशत बढेको देखाउँछ ।

१ साउनमा किलोको १९ रुपैयाँमा किनबेच भएको तने बोडीको होलसेल भाउ १३ कात्तिकमा आइपुग्दा १ सय १२ रुपैयाँ पुगेको छ । यस्तै तिते करेला प्रतिकिलो १७ बाट बढेर ८७ रुपैयाँमा किनबेच भइरहेको छ । यी दुवै तरकारीको भाउ ४ सयदेखि ५ सय प्रतिशतसम्म बढेको देखिन्छ ।

लौकाकै मूल्यमा पनि उच्च वृद्धि भएको छ । १ साउनमा किलोको २१ रुपैयाँमा कारोबार भएको लौका १३ कात्तिकसम्म आइपुग्दा २ सय १९ प्रतिशतले बढेर ६७ रुपैयाँ पुगेको छ । यस्तै हरियो फर्सी (लाम्चो) को भाउ पनि २ सय ५७ प्रतिशत बढेको छ । भिन्डीको भाउ २ सय १६ प्रतिशत बढेको छ ।

यस्तै ब्रोकाउली १ साउनमा प्रतिकिलो ६० रुपैयाँमा किनबेच भएकामा अहिले १ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

१ साउनमा हरियो फर्सीको भाउ २१ रुपैयाँ थियो । अहिले ७५ रुपैयाँ कायम छ । चिचिन्डो साउनमा किलोको २५ रुपैयाँमा किनबेच भएकामा आजसम्म आइपुग्दा १ सय २५ प्रतिशतले बढेर ५६ रुपैयाँ पुगेको छ । ४ महिना अवधिमा ब्रोकाउलीको भाउ १ सय ५७ प्रतिशत बढेको छ ।

यस्तै आलुको भाउ पनि ८० देखि ६८ प्रतिशतसम्म बढेको छ । साउनमा प्रतिकिलो ४३ रुपैयाँ रहेको रातो आलु १३ कात्तिकमा ८० प्रतिशतले बढेर  ७८ रुपैयाँ पुगेको छ ।

यस्तै ४ महिना अवधिमा भने प्याजको भाउ १८ प्रतिशत घटेको छ । १ साउनमा किलोको ४७ रुपैयाँमा किनबेच भएको प्याज १३ कात्तिकमा ३९ रुपैयाँमा झरेको छ । भटमासकोसाको भाउ पनि किलोको १ सय १० बाट घटेर ८५ रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

स्कुसको भाउ प्रतिकिलो ६१ प्रतिशतले घट्दा रायो साग ३२ प्रतिशत र तोरी साग ३३ प्रतिशतले घटेको छ ।

भाउ त्यति बढेको छैन : कालीमाटी तरकारी बजार

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भने तरकारीमा हाल मूल्यवृद्धि त्यति धेरै नभएको दाबी गरे । केही तरकारीमा भने मूल्य घटेको पनि उनले बताए ।

कालीमाटी तरकारी बजार

‘अहिले वर्षायामको तरकारीको सिजन सकिएको र हिउँदे तरकारी बजारमा पूर्णरूपमा आइनसकेकाले बजारमा ग्यापको अवस्था छ,’ उनले भने,  ‘बजारमा तरकारी कम भित्रिएको भाउ घट्न नसकेको हो ।’

हिउँदे तरकारी आएपछि भाउ घट्ने अपेक्षा

कालीमाटी तरकारी बजारका सूचना अधिकारी श्रेष्ठले धानबाली काट्ने काममा किसानहरू व्यस्त रहेकाले हिउँदे तरकारी उत्पादन बजारमा आउन केही समय लाग्ने बताए ।

‘धान काटिसकेपछि हिउँदे तरकारी उत्पादन बढेर बजार आउन थालेपछि भाउ घट्ने अपेक्षा छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘करिब डेढ साता वा दुई साताभित्र आउने र त्यसपछि बजारमा तरकारीको भाउ सामान्यीकरण हुन्छ ।’

श्रेष्ठले बजारमा थोरै मात्रामा नयाँ आलु भित्रिएको हुँदा मूल्य बढेको बताए । पहिले बजारमा आउने रातो आलु (मकवानपुरतर्फ) को सिजन सकिएको र अहिले नयाँ आलु बजारमा आइरहेको उनको भनाइ छ ।

‘नयाँ आलुको सिजन भर्खरै सुरु भएकाले र बजारमा यसको आगमन कम हुँदा भाउ केही बढेको हो,’ उनले भने, ‘आगामी सातादेखि नयाँ आलुको भाउ पनि घट्ने अपेक्षा छ ।’

उनका अनुसार मौसमी चक्र, प्राकृतिक प्रकोप र बजारमा तरकारी आपूर्तिको कमी नै यसको मुख्य कारण हो । उनले हिउँदे तरकारी बजारमा पर्याप्त मात्रामा आएपछि मात्र मूल्यमा केही स्थिरता आउने सक्ने बताए ।

वर्षाले भाउ बढायो

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ अध्यक्ष भरतप्रसाद खतिवडाले पछिल्लो समय आएको वर्षाका कारण बजारमा तरकारीको आपूर्तिमा कमी आएकाले भाउ बढेको दाबी गरे ।

‘पानी परेकाले बाटोघाटोको अवस्था पनि असहज बनेको र यसले गर्दा होलसेलमा तरकारीको व्यापार समेत कम भएको छ,’ उनले थपे ।

 

यस अतिरिक्त किसानहरू धान काट्ने काममा व्यस्त भएकाले तरकारी टिप्न पर्याप्त ध्यान दिन नपाउँदा पनि बजारमा तरकारी आउन कम भएको उनको भनाइ छ ।

तरकारी आयातको अवस्था

कालीमाटी तरकारी बजारमा बिहीबार हरियो तरकारी मात्रै १ लाख ४७ हजार ६ सय ५० किलो आयात भएको तथ्यांकले देखाउँछ । यस्तै हिजो बुधबार ३ लाख ७७ हजार ७ सय ९ किलो आयात भएको थियो ।

मंगलबार पनि हरियो तरकारी मात्रै ३ लाख ५३ हजार ९६ किलो आयात भएको थियो । सोमबार पनि ३ लाख ८४ हजार ३ सय २५ किलो तरकारी आयात भएको थियो ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?