News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायी दुर्गा प्रसाईंले ७ मंसिरबाट राष्ट्रव्यापी राजावादी आन्दोलन सुरु गर्ने घोषणा गर्नुभएको छ।
- प्रसाईंलाई मानवअधिकार आयोगले बुधबार कार्यालयमै बोलाएको थियो र उहाँले त्यसलाई सम्मानको रुपमा लिनुभएको छ।
- भारतीय पक्षले प्रसाईंलाई दिल्ली जान रोक्न आग्रह गरेको र उहाँले व्यक्तिगत कारणले यात्रा रद्द गर्नुभएको छ।
१३ कात्तिक, काठमाडौं। व्यवसायी दुर्गा प्रसाईलाई ७ मंसिरको क्यालेन्डर मितिसँग हल्का समस्या छ । दुई वर्षअघि मंसिर ७ मा उनले काठमाडौं केन्द्रित विशाल आन्दोलन चर्काउने घोषणा गरेथे। त्यसबेला प्रतिपक्षमा रहेको एमालेको युवासंघले उनीसँगै मिति जुधाएर प्रदर्शन घोषणा गरिदियो ।
एमाले अध्यक्ष केपी ओली स्वयंले त्यसदिन घरमा बस्ने कार्यकर्ता कि त अङ्गभङ्ग घाइते भएर, कि त शारीरिक अपाङ्गतावश मात्रै घरमा बस्न सक्ने भन्दै प्रसाईविरुद्ध उत्रिन अपिल गरेका थिए । त्यस बेला प्रधानमन्त्री थिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
संयोग कस्तो पर्यो भने यिनै प्रसाई थिए, कुनै बेला माओवादी कार्यकर्ता । ठिमीस्थित आफ्नो घरमा प्रचण्ड र ओलीलाई चरेसको थालमा मार्सी भात खुवाएर उनले ०७४ सालमा वाम गठबन्धन गराए । ०७५ मा पार्टी एकतापछि नेकपा नै बन्यो ।
०७७ मा ओली प्रचण्ड छुटिँदा प्रसाई आफ्ना ‘हजुरबा’ ओलीको कित्तातिर पुगे । सौराहा महाधिवेशनलगत्तैको केन्द्रीय कमिटी बैठकमार्फत् एमाले केन्द्रीय सदस्य नै बने । यति बेला उनी न ओलीतिर छन्, न प्रचण्डतिर । उनी बरु राजावादी कित्तातिर छन् ।

प्रसाईं आफूलाई ‘विवादित व्यवसायी’ भनेर चिनाइएको मन पराउँदैनन् । उनका नजरमा धेरै व्यवसायी विवादित छन् । तर आफ्नो मात्रै नाममा विवादित व्यवसायी शब्द जोडिएर आयो भन्नेमा उनी गुनासो गर्छन् ।
प्रसाई आफ्नो नामका अघिल्तिर राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक भनी बोलाएको रुचाउँछन् । संयोजक प्रसाईंलाई राष्ट्रिय मानवअधिकार आयोगले बुधबार कार्यालयमै डाक्यो, जसलाई उनले सानोतिनो सम्मानकै रुपमा लिए ।
‘जंगीअड्डाले डाक्नु, नेताहरूले खोज्नु, मानवअधिकार आयोगले बोलाउनु आफैंमा उपलब्धि होइन र ?’ प्रसाईंले निकटस्थ र उपस्थिति सहभागीसामू बुधबार प्रश्न सोधेका थिए ।

अनि आफैं उत्तर दिएका थिए, ‘पक्कै हो । किनभने अब हाम्रो नेतृत्वमा राष्ट्रव्यापी आन्दोलन हुँदैछ । र त्यो ७ मंसिरमा हामी सुरु गर्दैछौं । सबैथोक त्यो दिन ठप्प हुन्छ । कोही बाहिर निस्के त्यसको जिम्मेवार हामी हुँदैनौं ।’
७ मंसिरको मितिसँग अभियान संयोजक प्रसाईंलाई एलर्जी हुने खास कारण चाहिँ फेरिएको उनको राजनीतिक झण्डा हो । ७ मंसिर त्यही मिति हो, जुन मितिमा ६२ सालमा तत्कालीन सात दल र सशस्त्र द्वन्द्व चलाइरहेको माओवादीबीच भारतको नयाँदिल्लीमा बाह्रबुँदे समझदारी भएको थियो ।
१९ वर्षअघिको शाही शासनकालमा सात दल र विद्रोही माओवादीले गणतन्त्रको बाटो फुकाउँदै बाह्रबुँदे सहमति गरेको मिति भएकाले ७ मंसिरबाटै राजतन्त्र फर्काउने अभियान थाल्नुपर्ने प्रसाईंको मत छ । सहमति हुँदैगर्दा उनी स्वयम् माओवादी कित्तामा थिए ।
त्यसैले दुर्गा प्रसाईंलाई दुई वर्षअघिसम्म यो मितिले कुनै फरक पारेन । किनभने उनी क्रमशः माओवादी तथा एमाले भएका थिए । बाह्रबुँदे सहमतिमा माओवादी अध्यक्ष प्रचण्ड र तत्कालीन एमाले महासचिव माधव नेपालसहित अरु नेताको हस्ताक्षर छ ।
विदेशी भूमिमा सहमति गरेको भनेर नेपाली नेताहरु आलोचित हुने गर्छन् । तत्कालीन ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा आतंकवादी घोषित माओवादीलाई नेपाली भूमिमा हस्ताक्षर गराउन नसकिएकाले बाध्यतावश सुरक्षित भूगोल रोजिएको नेताहरूको तर्क छ ।
र राजावादी कित्तामा पुगेका प्रसाईंले उक्त ७ मंसिर, जसले नेपालमा शाही शासन फाल्दै गणतन्त्रको यात्रा सफल पारेको भन्दै अब त्यही मितिबाट थालिने आन्दोलनबाट राजा फर्काउने उद्घोष गरेका छन् । बुधबार मानवअधिकार आयोगबाट निस्किँदा उनले त्यही दाबी दोहोर्याए ।
आयुक्तहरुसँगको छलफलबारे बताउँदै प्रसाईले भने, ‘तपाईंको आन्दोलन के हो कसो हो ? चैत १५ गते र भदौ २४ जस्तो हुन्छ कि हुँदैन ? उहाँहरूले सोध्नुभयो। मैले हाम्रो आन्दोलन त्यो खालको होइन भनें ।’
वैदेशिक रोजगारीमा जाँदा मृत्युवरण गर्नुपर्ने, लघुवित्तको मानसिक यातनाले आत्महत्या गर्नुपर्ने जस्ता मानवअधिकारको विषय हो कि होइन भन्दा आयोगले त्यसमा ऐक्यबद्धता जनाएको प्रसाईंको दाबी छ ।
तर प्रसाईको आक्रामक शैलीका कारण शान्तिपूर्ण भनिने प्रदर्शनसमेत भड्किन सक्ने सरोकारवालाहरूको चिन्ता छ । उनको आगामी प्रदर्शन विगतमाझैं हिंसात्मक हुनसक्ने त्रास समाजमा फैलँदो छ ।
गत १५ चैतमा राजावादीहरुको प्रदर्शनमा प्रसाईले भिड उक्साएको अभियोग खेपेका मात्रै थिएनन्, लामो हिरासत नै बसेका थिए ।

आन्दोलनको बारेमा खासै मानसिकता नबनाई बसेका प्रसाईंले जेनजी विद्रोहका बेला सक्रिय हुने चाहना राखेका थिए । तर युवाहरुले यसमा सामेल नहुन घरैमा गएर आग्रह गरे ।
काठमाडौैं मेयर बालेनले त प्रसाईंलक्षित कटाक्ष र कडा टिप्पणी नै गरेका थिए, जसप्रति प्रसाईं अझैसम्म क्रुद्ध देखिन्छन् । उनले पछिल्ला अभिव्यक्ति बालेनविरुद्ध लक्षित गरिरहेका छन् । पछिल्लो जेनजी परिवर्तनलाई पश्चिमा केन्द्रित सत्ताविप्लव भन्दै उनले नेपालीको सरकार गठन हुनुपर्ने दाबी गरेका छन् ।
प्रसाईलाई भारतीय संस्थापन निकटहरुले धाप दिएको बुझाई नेपाली वृत्तमा छ । तर भारतीय सत्तानिकट व्यक्तिहरु, अनि काठमाडौंस्थित दुतावासले भने त्यस्तो दाबीलाई खण्डित गर्दै आएको छ ।
पछिल्लोपटक जेनजी आन्दोलनपछि काठमाण्डौबाट दिल्ली जान लागेका प्रसाईंलाई भारतीयले डिपोर्ट गरिदिने चेतावनी दिएपछि अन्तिम समयमा यात्रा रोक्नुपरेको पाइएको छ ।
उनी सेप्टेम्बर १७ तारिख अर्थात् असोज १ गते बुधबार अपरान्ह साढे २ बजेको एयर इन्डियाको उडानबाट प्रसाई दिल्ली जाने तयारीमा थिए ।
तर, भारतीय पक्षले त्यसैको बिहान उनलाई जसरी पनि रोक्नुपर्ने भन्दै ‘अनुरोध’ पठाएको थियो ।
उनको उडान टिकटको प्रतिलिपिसमेत पठाउँदै भारतीय पक्षले उनलाई संवेदनशील अवस्थामा दिल्ली जान नेपालले रोक्नुपर्ने बताएको थियो ।
‘यदि तपाइहरुले रोक्नुभएन भने हामीले उनलाई दिल्ली एयरपोर्टबाटै फिर्ता पठाइदिनुपर्ने हुन्छ, त्यसो गर्दा दुवै देशलाई राम्रो हुँदैन’ भारतीय पक्षको आग्रह थियो–‘त्यसैले तपाइहरुले यहिँ रोकिदिनुपर्यो ।’
भारतीय अनुरोध परराष्ट्र हुँदै गृह मन्त्रालय पुग्यो । तर, गृहका अधिकारीले उनलाई नेपालले बिदेश जान प्रतिबन्ध लगाउने कुनै मनासिव कानुनी आधार नभएको हुँदै बिना आधार रोक्न अप्ठेरो हुने राय दिए ।
भर्खरै पदमा आएका गृहमन्त्री ओमप्रकाश अर्यालले पनि कानुनले मिल्छ भने रोक्ने हो नत्र कसरी रोक्ने भनी प्रतिप्रश्न गरेका थिए । गृह प्रशासन भने प्रसाईंका गतिविधिप्रति निगरानी राखिरहेको छ । उनको विगतमा मुद्दासमेत अझैं यथावत् रहेकाले अनुसन्धानपछि फेरि अभियोजन गर्न सकिने सरकारी भनाइ छ ।
यति हुँदाहुँदै पनि नेपाली अधिकारीहरुले प्रसाईंको यात्रा रोक्ने अवस्था नभएको जनाउ दिएपछि भारतीय पक्षले नै उनी डिपोर्ट हुनसक्ने जोखिमबारे प्रसाई नजिकका मानिसलाई जानकारी दिएको थियो ।
त्यसपछि प्रसाईं स्वयम् अन्तिम समयमा यात्रा रद्द गरेका थिए । उनी भने भारतले भनेर होइन, आफ्नै व्यक्तिगत कारणवश उक्त भ्रमण रोकिएको दाबी गर्छन् ।
अनौपचारिक कुराकानीका क्रममा प्रसाईंले आफू काठमाडौं विमानस्थल हुँदै भारत जाने तयारीमा रहेको भन्ने सूचनाको खण्डन गरेका छन् । उनले आफू भारत जाँदा काठमाडौं नभई अन्य रुटहरु प्रयोग गर्न थालेको बताए ।
प्रसाईंले अनलाइनखबरसँग कुरा गर्दै पासपोर्ट छुटेका कारण आफू काठमाडौंबाट नगई बागडोग्राबाट गएको बताए । ‘व्यस्तताका कारण पासपोर्ट कता परेछ, पछि म बागडोग्राबाट दुईपल्ट दिल्ली गइसकें,’ प्रसाईंले भने, ‘तर त्यो मेरो घाँटीको फलोअपका लागि मेदान्त अस्पताल जानलाई हो । अरु कुरा नजोडौं ।’
यद्यपि विगतमा थुप्रै नेपाली नेताले स्वास्थ्य उपचार देखाउँदै दिल्लमिा राजनीतिक खुसामद गर्ने गरेको अनुभव छ । त्यसैलाई देखाउँदै प्रसाईंको दिल्लीगमनलाई भारतीय धाप पाएर हिन्दूराष्ट्र स्थापना गर्ने उनको चाहनासँग जोडियो ।
प्रसाईले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने, धर्मनिरपेक्षता खारेज हुनुपर्ने माग गरेका छ्न । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यसअघि नै एक विशाल सभा आयोजना गरी नागरिक अभिनन्दन समेत गराइसकेका छन् ।
मानअवधकिार आयोगका प्रवक्ता टीकाराम पोखरेलले प्रसाईंसग आगामी प्रदर्शन शान्तिपूर्ण हुनुपर्ने, हिंसा हुन नहुने भन्दै सचेत गराइएको बताए ।
‘आन्दोलन हिंसात्मक हुनुहुँदैन भन्नेमा दुर्गा प्रसाईजीलाई सचेत गरायौं । सुरक्षा निकायसँग पनि छलफल गर्ने तयारीमा छौं,’ उनले भने ।
प्रतिक्रिया 4