News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध जनाएको छ।
- संघले मलेसियाको निर्णयले नेपाली व्यवसायीहरूमा सिन्डिकेट स्थापना गर्ने र एकाधिकार बजार बनाउने स्पष्ट संकेत भएको बताएको छ।
- संघका अध्यक्ष भुवन गुरूङले सिन्डिकेट लागू गर्न खोजे संघले उठिवास लगाउने र मलेसिया सधैंका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिएका छन्।
१४ कात्तिक, काठमाडौं । मलेसिया सरकारले म्यानपावर व्यवसायीका लागि तोकेको १० वटा मापदण्डविरुद्ध व्यवसायीहरूले विरोध जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पत्रकार सम्मेलन गर्दै नेपाली म्यानपावर व्यवसायीहरूकै विरुद्ध केही सीमित व्यवसायी लागेर यस्तो खालको मापदण्ड तय गरिएको भन्दै विरोध जनाएको हो ।
नेपालले ति मापदण्डहरू कुनै पनि हालतमा लागू गर्न नहुने संघले अडान लिएको छ । मलेसियनको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डसहितको पत्रबारे संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
उक्त पत्रअनुसार सीमित व्यवसायीहरूलाई मात्र मलेसिया रोजगारीमा काम गर्न अनुमति दिने गरी मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने प्रयास भइरहेको संघको दाबी छ । मलेसियन सरकारको उक्त निर्णय र प्रस्तावले नेपाललगायत स्रोत मुलुकहरूमा सिन्डिकेट स्थापना गर्ने र केही सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने/गराउने स्पष्ट संकेत दिएको संघले जनाएको हो । यसले निष्पक्ष र स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारीका अवसरलाई कुल्चेर पेशा व्यवसाय गर्न पाउने मौलिक अधिकार तथा नेपालको संविधान र कानुनले बन्देज गरेको एकाधिकार बजार बनाउने संघका महासचिव महेश कुमार बस्नेतले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारबाट इजाजत प्राप्त व्यवसायीहरू कानुनी प्रक्रिया, सरकारी नीतिहरू र पारदर्शी अभ्यासमार्फत वैदेशिक रोजगार क्षेत्रमा संलग्न रहेको विज्ञप्तिमा उल्लेख छ ।
केही सीमित व्यवसायी वा गैरव्यवसायीलाई मात्र फाइदा पुर्याउने र एकाधिकार बजार बनाएर नेपाली श्रमिकलाई आर्थिक भार थप्ने षड्यन्त्रले सम्पूर्ण व्यवसायीहरूमा स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने व्यावसायिक अधिकार, श्रमिकको श्रम अधिकार र नेपाल सरकारको श्रम नीतिलाई कमजोर बनाउने संघको ठहर छ ।
यस्ता सिन्डिकेट प्रवृत्तिहरूको संघले घोर विरोध गर्दै आइरहेको र सम्पूर्ण व्यवसायीहरूलाई यस्ता कार्यका विरुद्ध एकजुट हुन आह्वान समेत गरेको छ ।
संघका अध्यक्ष भुवन गुरूङले विभिन्न बहाना गर्दै अघि बढ्न खोजे मलेसिया सधंैका लागि बन्द गर्न बाध्य हुने चेतावनी दिए । मापदण्डको नाममा सिन्डिकेट लगाउन खोजिएको बताउँदै आफूहरूलाई सडकमा आउन बाध्य नपार्न समेत अनुरोध गरे ।
‘जो जो सिण्डिकेट लागू गर्न अघि सर्नुभएको छ । अहिले जुन जुन अवस्थामा रहेको छ । त्यहीं अवस्थाबाट पछि हट्नुहोस् । सिन्डिकेटको पक्षमा लागिरहे संघले उठिवास लगाउँछ,’ अध्यक्ष गुरूङले भने ।
एकाधिकार गर्नु भनेको श्रमिकको श्रम शोषण गर्नु समेत भएको बताए । सिन्डिकेट विरुद्धको विरोधको सुरुवात भइसकेको बताउँदै जवरजस्ती लागु गर्न खोजे भयानक दुर्घटना हुने चेतावनी दिए । नेपाल सरकारले इजाजतपत्र दिने तर, मलेसियाले मापदण्ड तोक्ने कार्य गलत भएको बताए ।
प्रतिक्रिया 4