News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानमा ३४ प्रतिशत जनसंख्या मानसिक रोगबाट पीडित रहेको र गत वर्ष करिब १,००० आत्महत्याका घटना दर्ता भएका थिए।
- महिलाहरू घरेलु झगडा र सामाजिक पहिचान नपाएको कारण डिप्रेसनको सिकार भएका छन् भने युवाहरूमा लागूपदार्थको दुरुपयोग मानसिक स्वास्थ्य बिग्रिनुको मुख्य कारण छ।
- पाकिस्तानमा २४ करोड जनसंख्याका लागि जम्मा ९० जना मात्र मनोचिकित्सक रहेका छन् र विश्व स्वास्थ्य मापदण्डअनुसार यो संख्या निकै कम छ।
१६ कात्तिक, काठमाडौं । पाकिस्तानमा महिलाहरू घरेलु झगडा र समाजमा पहिचान नपाएको कारणले डिप्रेसनको सिकार भइरहेका छन् । युवाहरूबीच भने लागूपदार्थको दुरुपयोग मानसिक स्वास्थ्य बिग्रिनुको ठूलो कारणका रूपमा देखा परेको छ ।
हालै मानसिक स्वास्थ्यसम्बन्धी आयोजित एक सम्मेलनले देशको मानसिक स्वास्थ्यको गम्भीर अवस्था उजागर गरेको छ ।
आंकडाहरू अनुसार पाकिस्तानको ३४ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मानसिक रोगबाट पीडित छ । गत वर्ष देशमा करिब १,००० आत्महत्याका घटना दर्ता भएका थिए ।
यी तथ्यांक कराँचीमा आयोजित २६औँ अन्तर्राष्ट्रिय मानसिक रोग सम्मेलनका क्रममा सार्वजनिक गरिएका हुन् । सम्मेलनमा आर्थिक कठिनाइ, सामाजिक दबाब र पटक–पटक आउने प्राकृतिक विपत्तिहरूले मानसिक स्वास्थ्य अझ बिग्रिएको निष्कर्ष निकालिएको थियो ।
सम्मेलनमा प्रस्तुत तथ्यांकका आधारमा वैज्ञानिक समितिका अध्यक्ष प्रोफेसर मुहम्मद इकबाल अफरीदीले ‘द एक्सप्रेस ट्रिब्यून’सँग भने, ‘यी तथ्यहरूले प्रत्येक तीनजनामध्ये एक पाकिस्तानी मानसिक स्वास्थ्य समस्यासँग जुधिरहेको देखाउँछ । डिप्रेसन र एङ्जायटी अहिले सामान्यजस्तै बनेका छन् ।’
महिलाहरूको सन्दर्भमा विशेषज्ञहरूले बताएअनुसार, घरेलु विवाद, सामाजिक पहिचान नपाउनु, सीमित सशक्तीकरण र समाजको दबाबका कारण महिलाहरू निरन्तर डर र चिन्तामा बस्छन् । यसले उनीहरूमा भावनात्मक तनाव (इमोशनल स्ट्रेस) बढाएको छ ।
त्यस्तै, युवाहरूमा लागूपदार्थको प्रयोग बिग्रँदो मानसिक स्वास्थ्यको मुख्य कारणका रूपमा देखिएको छ । साथै, विपत्तिहरू र हिंसात्मक घटनाहरूले मनोवैज्ञानिक आघात (साइकोलोजिकल ट्रमा) झनै बढाइरहेका छन् ।
विशेषज्ञहरूको भनाइमा, बारम्बार आउने बाढी र भूकम्प जस्ता प्राकृतिक विपद्हरूसँगै आतंकवादका घटनाहरूले पनि जनसङ्ख्यामा नकारात्मक प्रभाव पारेका छन् । ती विपद्मा आफ्नो घर गुमाएका हजारौं परिवार अझै पनि मानसिक आघात (ट्रमा) र अनिश्चिततासँग जुधिरहेका छन् ।
पाकिस्तानको निरन्तर आर्थिक अस्थिरता र सुरक्षा चुनौतीहरूले नागरिकहरू, विशेषगरी युवा पुस्तामा मानसिक तनाव अझ बढाइदिएको छ। उनीहरू आफ्नो भविष्यप्रति तीव्र निराश महसुस गरिरहेका छन् ।
बढ्दो संकटका बाबजुद पाकिस्तानमा मानसिक स्वास्थ्य सेवाका प्रदायकहरू अत्यन्तै कम छन् । हाल देशको २४ करोडभन्दा बढी जनसंख्याका लागि जम्मा ९० जना मात्र मनोचिकित्सक छन्, जबकि विश्व स्वास्थ्य मापदण्डअनुसार प्रत्येक १० हजार जनामा कम्तीमा एक जना हुनुपर्ने हुन्छ । तर पाकिस्तानमा हाल ५ लाख ५० हजार जनामा एक जना मात्र मनोचिकित्सक रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
सम्मेलनमा सहभागी विज्ञहरूले पाकिस्तानको करिब १० प्रतिशत जनसंख्या नशाको लतमा रहेको बताएका छन् । मानसिक तनाव तथा उपचारविहीन मनोवैज्ञानिक रोगका कारण गत वर्ष करिब १,००० जनाले आत्महत्या गरेका थिए ।
एनडीटीभीबाट
प्रतिक्रिया 4