News Summary
Generated by OK AI. Editorially reviewed.- मनास्लु क्षेत्रमा पहिरोमा पुरिएर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा अझै बेपत्ता छिन्।
 - पाङबारी हिमाल चढ्ने क्रममा फसेका दुई इटालियन नागरिक ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षका एलेस्यान्ड्रो गपुटो सम्पर्कविहीन छन्।
 - पहिरोले गोरखाको पाङसिङमा चार घरमा क्षति पुर्याएको छ र ५०–६० वटा कुखुरा बगाएको छ।
 
१७ कात्तिक, गोरखा । केही दिनअघिको वर्षा र हिमपातका कारण मनास्लु क्षेत्र पुगेका पर्यटकहरुले निकै सास्ती भोग्नुपर्यो ।
पदयात्राका क्रममा पहिरोमा पुरिएर चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभा अझै बेपत्ता छिन् । सामागाउँबाट फर्कंदै गर्दा गत शुक्रबार चुमनुव्री गाउँपालिका–३ न्याकफेदीमा माथिबाट ढुंगासहित खसेको लेदो पहिरोमा उनी पुरिएकी हुन् ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना उनको खोजी कार्यमा खटिएका छन् । ‘इन्स्पेक्टर अनिल श्रेष्ठको नेतृत्वमा हाम्रो टोली खोजी कार्यमा जुटेको छ,’ प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले भने, ‘पहिरो पन्छाउने काम भइरहेको छ ।’ तटीय क्षेत्रमा पनि खोजी जारी राखिएको उनले बताए ।
यता, पाङबारी हिमाल चढ्ने क्रममा हिमपातमा फसेका दुई इटालियन नागरिक अझै सम्पर्कमा आएका छैनन् । ६७ वर्षीय स्टेफानो फारोनाटो र ३७ वर्षका एलेस्यान्ड्रो गपुटो सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘उनीहरूसँगै थप एक जना इटालियन नागरिक र तीन जना नेपाली गएका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘बाँकीको उद्धार भयो तर ती दुई विदेशी भेटिएका छैनन् ।’
यही १२ कात्तिकमा फसेका उनीहरू अहिलेसम्म सम्पर्कमा नरहेको उनले जानकारी दिए । ‘शुक्रबारसम्म सम्पर्क भइरहेको ट्रेकिङ एजेन्सीले भनेको थियो, तर त्यस दिनदेखि सम्पर्क पनि टुटेको भन्ने छ,’ श्रेष्ठले भने ।
घोडा लिएर स्थानीय उद्धारमा खटिए पनि फेला पार्न नसकेको उनले जानकारी दिए । पाङबारी हिमाल चढ्ने क्रममा मौसम बिग्रिएपछि उनीहरू क्याम्प बनाएर बसेका थिए । अन्य साथीहरू तल झरे पनि उनीहरू भने त्यही क्याम्पमा बसेका थिए ।
उनीहरूको उद्धार तथा खोजी कार्यका लागि काठमाडौंबाट पर्वतीय खोज तथा उद्धार टोली खटिएको छ । तीन जनाको टोली हेलीमार्फत साम्दो पुगेको एसपी भरतबहादुर विकले बताए ।
‘कैलाश एयरको हेलीबाट उनीहरू साम्दो पुगेका छन्,’ उनले भने, ‘त्यहाँबाट पैदल हिँडेर खोजी कार्यमा लाग्छन् ।’ खोजी कार्यको सहजताका लागि स्थानीयले बाटोसमेत निर्माण गरिरहेको उनले जानकारी दिए । उक्त हिमाल ६ हजार ८८७ मिटर उचाइमा छ ।
त्यस्तै, चुमनुव्री गाउँपालिका–५ बुरको पहिरोमा माथिबाट खसेको ढुंगा लागेर मनास्लु क्षेत्र पुगेका एक स्वदेशी पर्यटक गम्भीर घाइते भएका थिए ।

सामागाउँबाट फर्कने क्रममा गत बुधबार ढुंगा लागेर घाइते भएका काठमाडौं टोखा नगरपालिका–६ का ४४ वर्षीय मिनुइन्द्र लम्सालको तीन दिनपछि हेलिबाट उद्धार गरिएको थियो । मौसमका कारण हेली उड्न नसकेपछि पटक पटकको उद्धार प्रयास असफल भएको थियो ।
‘उद्धारका लागि हामीले केन्द्रसम्म आवश्यक पहल गरिरहेका थियौं, तर मौसमका कारण हेली उड्न सकेको थिएन,’ एसपी विकले भने, ‘शनिबार पोखराबाट सिम्रिक एयरको हेली उडान गरेर उद्धार गर्न सफल भयौं ।’ मौसम खुलिनसकेका कारण हेली धार्केमा ल्यान्ड गरेको र घाइतेलाई त्यहाँबाट एम्बुलेन्समार्फत ग्रान्डी अस्पताल पुर्याइएको उनले जानकारी दिए ।
अलपत्र पर्यटकको धमाधम उद्धार
मनास्लु क्षेत्रमा अलपत्र परेका पर्यटकको अहिले धमाधम उद्धार भइरहेको छ । मौसम खुलेसँगै हेलिमार्फत उद्धार भइरहेको एसपी विकले बताए ।
‘हिजोदेखि हेलीमार्फत अलपत्र पर्यटकको उद्धार भइरहेको छ । आज पनि निरन्तर फ्लाइटहरू भइरहेका छन्,’ उनले भने । उनका अनुसार नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले पनि अलपत्र पर्यटकको उद्धार गरिरहेका छन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार कात्तिक २ देखि १६ गतेसम्म २ हजार ५३४ जना पर्यटक मनास्लु क्षेत्र प्रवेश गरेका थिए । उनीहरूमध्ये करिब दुई हजार जनाको उद्धार भइसकेको बताइएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोले चार घरमा क्षति
वर्षाका कारण लेदोसहितको पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका चार घर मा क्षति पुर्याएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पाङसिङका जुकबहादुर गुरुङ, सर्किनी गुरुङ, धन्डुक गुरुङ र कमला गुरुङको घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार लेदोसहितको पहिरो घरभित्र पसेका कारण पशुचौपाया र अन्य घरायसी सामग्रीहरू बगाएको छ । हाल उनीहरू पाङसिङमै अन्य आफन्तको घरमा शरण लिएर बसेका छन् ।
पहिरोले पाङसिङका देवेन्द्र गुरुङको कुखुरा फर्म बगाएको छ । फर्मसँगै त्यहाँ रहेका ५०–६० वटा कुखुरा पनि बगाएको पीडितको गुनासो छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4