News Summary
Generated by OK AI. Editorially reviewed.- लाइटहाउस समुद्री किनार वा चट्टानमा बनाइएको टावर हो जसले जहाजलाई राति वा खराब मौसममा बाटो देखाउँछ र खतराबाट बचाउँछ।
 - लाइटहाउस किपरहरूले चौबीसै घण्टा बत्तीको निगरानी, उपकरण मर्मत र मौसम अभिलेख राख्ने काम गर्छन्, तर जागिर जोखिमपूर्ण र एक्लोपनपूर्ण हुन्छ।
 - हाल आधुनिक जीपीएस प्रणालीले लाइटहाउसको भूमिकामा कमी ल्याए पनि चरम मौसममा यसको महत्त्व यथावत छ र धेरै लाइटहाउस स्वचालित भइसकेका छन्।
 
तपाईंको दिमागमा के के आउँछ ? फिल्म, गीत, चित्र, नाटक, जागिर ? यो शब्दावली समुद्रसँग जोडिन्छ । तर, नेपालमा समुद्र छैन । अनि यो शब्द नेपाली समाजमा यस्तै यस्तै माध्यमबाट भित्रिएका हुन् ।
लाइटहाउसबारे गजबका फिल्महरू बनेका छन् । गीतहरू लेखिएका छन् । चित्रहरू कोरिएका छन् । कथनहरू पनि यसबारे थुप्रै भेटिन्छन् । राम्रो तलब पाइने जागिर, त्रासदी समय आदि ।
के हो त यो लाइटहाउस ?
समुद्री किनार वा समुद्रभित्रका जोखिमपूर्ण चट्टानहरूमा निर्माण गरिएको एक अग्लो टावरको संरचना नै लाइट हाउस हो । टाढाको दूरीबाट देखिने चम्किलो प्रकाश अथवा बत्ती राखिने हुँदा यसलाई लाइट हाउस भनिएकोमा शंका छैन ।
यसको मुख्य उद्देश्य समुद्री यात्रा गरिरहेका जहाजहरूलाई रातको समय वा खराब मौसममा बाटो देखाउनु, खतरनाक क्षेत्रहरूबाट टाढा राख्नु र नजिकैको सुरक्षित बन्दरगाहको जानकारी दिनु हो ।
इजिप्टको अलेक्जान्ड्रियामा रहेको फारोसको लाइटहाउस, जुन विश्वको सात आश्चर्य मध्ये एक मानिन्छ, तेस्रो शताब्दी ईसापूर्वमा बनाइएको थियो । त्यसयता, लाइटहाउसहरू समुद्री नेभिगेसनको अभिन्न अंग बने । यी टावरहरूले तूफानी रातमा समुद्रमा हराएका जहाजहरूलाई किनारा देखाउँछन्, चट्टान र खतरनाक क्षेत्रबाट बचाउँछन् । तर, लाइटहाउसमा काम गर्नेहरूको जीवन सधैं चुनौतीपूर्ण रह्यो।
लाइटहाउसमा काम गर्नु जोखिमपूर्ण मानिन्छ, र यो कुरा इतिहास र आधुनिक समय दुवैमा सत्य छ । पहिले, जब लाइटहाउसहरूमा मैनबत्ती वा तेलको बत्ती प्रयोग हुन्थ्यो, लाइटहाउस किपरहरूले रातभर बत्ती बलिरहोस् भनेर निगरानी गर्नुपर्थ्यो। तूफान र खराब मौसममा, उनीहरूले उपकरण मर्मत गर्न र बत्तीको ज्योति जीवित राख्न जोखिम मोल्नुपर्थ्यो ।

समुद्रको किनारमा, कहिलेकाहीँ पहाड वा चट्टानमा बनेका लाइटहाउसहरूमा पुग्न र त्यहाँ बस्नु आफैंमा खतरनाक थियो । उदाहरणका लागि, स्कटल्याण्डको बेल रक लाइटहाउसमा किपरहरूले महिनौंसम्म एक्लै बस्नुपर्थ्यो, जहाँ खाद्य र पानीको आपूर्ति सीमित हुन्थ्यो।
हाल आधुनिक जीपीएस प्रणालीले यसको परम्परागत भूमिकालाई केही हदसम्म घटाए पनि चरम मौसमी अवस्थामा र नेभिगेसन प्रणालीमा गडबडी आउँदा लाइटहाउसको महत्त्व यथावत रहन्छ ।
यसको इतिहास पनि मानव सभ्यताको समुद्री यात्राजत्तिकै पुरानो छ । प्राचीन कालमा नाविकहरूलाई बाटो देखाउन तटवर्ती क्षेत्रहरूमा आगो बाल्ने चलन थियो । त्यसैको परिवर्तित स्वरुपमा लाइटहाउस बनेको बताइन्छ ।

ईसापूर्व तेस्रो शताब्दीमा इजिप्टको अलेक्जेन्ड्रियामा निर्माण गरिएको फारोसलाई सबैभन्दा प्रसिद्ध र पुरानो लाइटहाउसमध्ये एक मानिन्छ, जसलाई प्राचीन विश्वका सात आश्चर्यहरूमध्ये एकको रूपमा पनि चिनिन्छ । त्यसयता मध्ययुग हुँदै १८औँ र १९औँ शताब्दीमा आइपुग्दा प्रविधिमा आएको क्रान्तिले लाइटहाउसको निर्माण र कार्यशैलीमा ठूलो परिवर्तन ल्याएको देखिन्छ ।
विशेषगरी सन् १८२२ मा फ्रेन्च भौतिकशास्त्री अगस्टिन-जीन फ्रनेलले आविष्कार गरेको फ्रनेल लेन्सले बत्तीको प्रकाशलाई धेरै टाढासम्म र अझ प्रभावकारी रूपमा पुर्याउन सहयोग गर्यो । जसले गर्दा समुद्री यात्रा धेरै सुरक्षित बन्यो ।
यसै लाइटहाउसलाई व्यवस्थित गर्न अथवा यसमा काम गर्ने व्यक्तिहरूलाई लाइटहाउस किपर भनिन्छ । उनीहरूको काम चौबीसै घण्टा बत्तीको निगरानी गर्नु, लेन्स, उपकरणहरूको सरसफाइ तथा मर्मतसम्भार गर्नु र मौसम तथा समुद्री अवस्थाको अभिलेख राख्नु हो ।
लाइटहाउसमाथि बनेको फिल्महरूमा उनै किपसरहरूको कथा प्राय: देखाइएको छ । जुन वास्तविक जीवनभन्दा बढी आख्यान छ । अहिले बजारमा उनीहरूलाई धेरै तलब दिइने तर पनि आकर्षण कम हुने हल्ला छ ।
एक हिसाबले लाइटहाउस किपरको जागिरमा धेरै तलब दिइने कारणहरू जायज छन् । सर्वप्रथम त लाइटहाउसहरू प्रायः समुद्रको बीचमा वा अति नै विकट अथवा एक्लो स्थानहरूमा हुन्छन्, जहाँको जीवन जोखिमपूर्ण र कठोर हुन्छ ।
उनीहरूको एउटै सानो लापरबाहीले पनि ठूलो समुद्री दुर्घटना निम्त्याउन सक्ने भएकोले उनीहरूको जिम्मेवारीको बोझ अत्यधिक हुन्छ । यी कारणहरूले गर्दा उनीहरूको पारिश्रमिक तुलनात्मक रूपमा उच्च हुन्छ ।

यद्यपि कतिपय अवस्थामा यो जागिरको तलबलाई लिएर भ्रामक सूचनाहरू पनि फैलाइएका छन् । जस्तो, हालै मात्र फ्रान्स सरकारले प्रतिवर्ष १२ लाख डलर तलब दिने भनेर प्रचार गरिएको थियो जुन भ्रामक भएको एएफपी फ्याक्ट चेकको निष्कर्ष छ ।
खासमा लाइटहाउस किपरहरूको तबल सामान्य नै हुन्छ । तर, देश र अनुभवअनुसार तलब स्केल फरक पर्छ । सामाजिक सञ्जालमा भनिए जस्तो लाखौं लाख तलब हुने दावी भने धेरै जस्तो मिथ्या नै हुन् ।
त्यस्तै तलब ठिकठाक भए पनि धेरै मानिसहरू यो जागिर गर्न नचाहने कुरा भने केही हदसम्म सत्य हो । यसको मुख्य कारण भनेको अति एक्लोपन हो । किनकि किपरहरू महिनौँसम्म आफ्ना परिवार, साथीभाइ र समाजबाट पूर्णरूपमा विच्छेद भएर बस्नुपर्छ ।
सामाजिक वियोग र मानसिक एक्लोपन नै यो जागिरको सबैभन्दा ठूलो चुनौती हो । विकट स्थानमा आधारभूत स्वास्थ्य सेवा र सुविधाको अभाव, साथै आँधीबेहरी जस्ता चरम खतरनाक मौसमी अवस्थासँग जुध्नुपर्ने बाध्यताले पनि यो जागिरलाई कम आकर्षक बनाएको छ।
यद्यपि आजको प्रविधिको युगमा धेरैजसो लाइटहाउसहरू स्वचालित भइसकेका छन्, जसले गर्दा किपरको आवश्यकता पनि घट्दै गएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4