+
+
Shares
डा. राजीव झाका अनुभव :

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

१३ वर्षीया बालिका मस्तिष्क ट्युमरको रक्तश्रावले दृष्टिविहीन थिइन् । ‘शल्यक्रियापछि दृष्टि फर्कियो, त्यो सबैभन्दा ठूलो चमत्कार थियो ।

मनिषा थापा मनिषा थापा
२०८२ कात्तिक २० गते ९:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्यूरोसर्जन डा. राजीव झाले तीन दशकमा हजारौं बिरामीका कथा देखेका छन् र जीवन-मृत्युबीचको अनुभव कागजमा उतार्ने सोच राखेका छन्।
  • डा. झाको दिन बिहान साढे पाँच बजे सुरु हुन्छ र उनी अस्पतालमा १३-१४ घण्टा बिताउँछन्, जसले उनलाई स्वस्थ जीवनशैली पालना गर्न कठिन बनाएको छ।
  • अपरेशन सुरु गर्नुअघि डा. झाले पाँच मिनेट हात धुँदै मौन प्रार्थना गर्छन् र विज्ञानले बुझ्न नसकेको अदृश्य शक्तिमा विश्वास राख्छन्।

काठमाडौं । अस्पतालमा चिकित्सकले खुसी र दुःख एकैदिन देख्छन् । यसो भनौं, जीवन र मृत्युको सिमारेखाबीच चिकित्सक काम गरिरहेका हुन्छन् । यही सीमामा, हरेक दिन न्यूरोसर्जन डा. राजीव झा जीवनका लयहरूसँग खेलिरहेका हुन्छन् ।

तीन दशकको यात्रामा उनले हजारौं परिवारका कथा देखेका छन् । तर, सबै खुसीका होइनन् । अनलाइनखबरसँगको बसाइमा उनी गफिँदै भन्छन्, ‘मैले अस्पतालमा दैनिक देख्ने यो जीवन-मृत्युबीचको तरङ्गलाई समेटेर कागजमा उतारौं जस्तो लाग्छ । चिकित्सकले जति यो नजारासँग नजिकिने मौका सायद कमैले पाउलान् ।’

टेलिभिजनका समाचार, सामाजिक सञ्जालको रंगीन संसारभन्दा बढी उनलाई बिरामीहरूको कथा प्रेरक लाग्छ ।

डा. राजीव भन्छन्, ‘म कहिलेकाहीँ सोच्छु । जीवन उपन्यासभन्दा रोचक छ । हरेक बिरामीको अवस्थाले एक नयाँ अध्याय लेख्छ । अस्पतालमा देखिएको हाँसो, रोदन, विछोडको पीडा, शय्यामा लडिरहेको बिरामीको आशा । सबैको प्रत्यक्षदर्शी म । यी सबै अनुभव एक किताबमा लेखूँ । सायद, कुनै दिन लेख्छुहोला,’ उनी भावुक सुनिए ।

डा.राजीव झा ।

उनीसँग हामीले उनको जीवनको अन्तरंग कुराकानीलाई समेट्ने प्रयास गर्‍यौं । उनलाई सोध्यौं, ‘चिकित्सकले हामीलाई स्वस्थ रहने टिप्स दिनुहुन्छ । हजुरलाई त स्वास्थ्यबारे सबै थाहा छ । तपाईंको जीवनशैली त फिट होला नि ? जवाफ सोचे भन्दा विल्कुल विपरीत थियो । उनी भन्छन्, ‘डाक्टरले जे भन्छन्, त्यो गर्नुहोस् । तर डाक्टरले जे गर्छ, त्यो नगर्नुहोस् ।’

अरूलाई सात घण्टा सुत्न, स्वस्थ खानेकुरा खान र तनावमुक्त रहन सल्लाह दिने उनी स्वयं दिनमा १४ घण्टा अस्पतालमै बिताउन पर्ने सुनाउँछन्। ‘हामीलाई थाहा छ, स्वस्थ शरीरका लागि खानपान, मनोरञ्जन, सुताइको निश्चित तालिका हुन्छ । तर, चाहँदा पनि हामीलाई त्यसका लागि समय निस्किरहेको हुँदैन । पेशाले गर्दा सोही अनुसार ढाल्दा बिरामीलाई प्राथमिता दिन भ्याइरहेका हुँदैनौं’ डा. झा भन्छन् ।

उज्यालोसँगै अस्पतालको  दौड

डा. राजीवको दिन बिहान साढे पाँच बजेबाट सुरु हुन्छ । बिहानको हल्का उज्यालोले झ्याल छुन नपाउँदै उनी उठिसक्छन् ।

यति व्यस्त जीवनमा पनि एउटा सानो खुसीको क्षण उनका दुई कुकुरले दिन्छन् ।

‘बिहान बेडमै हाम फालेर मलाई सुम्सुमाएर, हात चाटेर उठाउँछन् । त्यो नै मेरो प्राकृतिक आलर्म हो’ उनी हाँस्दै भन्छन् । रसियामा एमबीबीएस पढ्दा माइनस ३५ डिग्रीको चिसोमा पनि उनले बिरालो पालेका थिए । अहिलेका दुई कुकुर बिरामीले उपहार दिएका हुन् । ‘कुकुर हुर्काउन बच्चा हुर्काए जत्तिकै मेहेनत लाग्छ’ उनी भन्छन्, ‘तर म तिनलाई ‘गिफ्ट’ होइन, ‘माया’ ठान्छु ।’

एक पटक उनकी दिदीले हाँस्दै भनेकी थिइन्, ‘हात्ती उपहारमा दिए पनि ल्याउने हो ?’ राजीवले पनि हाँस्दै जवाफ दिए, ‘मायाको उपहार अस्वीकार गर्न सकिँदैन ।’

हल्का व्यायामपछि ७ बजेतिर उनी नर्भिक अस्पताल पुगिसकेका हुन्छन् । त्यसपछि वीर अस्पतालको बाटो, जहाँ उनको अर्को संसार सुरु हुन्छ । ‘तेह्र–चौध घण्टा अस्पतालमै बित्छ, ’उनी मुस्कुराउँदै भन्छन्, ‘दशैं–तिहारमा पनि आराम हुँदैन । फोन त राति दुई–तीन बजे पनि बज्छ- कसैको ज्यानसँग जोडिएको खबर लिएर।’

श्रीमती डा. कुमकुम पनि चिकित्सक भएकाले, दुवैको निद्रा र आराम एउटै तालमा हराउँछ । ‘अब त फोन बज्दा पनि डिस्टर्भले निद्रा नहराउने भईसक्यो । यो हाम्रो बानी भइसकेको छ, ’उनी भन्छन् ।

उपहार, जसले कथा बोल्छन्

डा. राजीवको अफिस र घर दुवै गिफ्टले भरिएका छन्, चिउरा, घिउ, चित्र, मूर्तिदेखि हस्तकला र किताबसम्म । ‘यी साधारण वस्तु होइनन्, यी जीवनका सम्झना हुन्, ’उनी भन्छन् ।

एक कलाकारले ब्रेन सर्जरी गरिएको थियो । ती कलाकारले हात चलाउन सकेपछि एक चित्र बनाएर डा.राजीवलाई उपहार दिए । त्यो चित्र आफूलाई निकै अनमोल लागेको उनी सुनाउँछन् । ‘क्यानाभसमा महिलाहरूको आकृति छ । उनको उपचार पछिको पहिलो चित्र थियो, जुन मलाई उपहार दिनुभयो । मलाई त्यो देख्दा हरेकपटक कम्पन आउँछ ।’

यी उपहारहरू हेर्दा उनलाई बिरामीहरूसँगको बन्धन याद आउँछ । ‘हरेक कोठामा एक–एक आत्माको उपस्थिति हुन्छ जस्तो लाग्छ । ती मप्रति देखाइएको विश्वास र प्रेमका प्रतीक हुन्’ उनी भन्छन् ।

अप्रेसन र अदृश्य शक्ति

‘न्यूरोसर्जरी मिलिमिटरको खेल हो । एक गल्तीले जीवन बर्बाद हुन सक्छ, ’उनी भन्छन्, ‘त्यसैले प्रत्येक मिनेट हाम्रा लागि पनि परीक्षाको घडी बन्छ ।’

अप्रेसन सुरु गर्नुअघि उनी पाँच मिनेट हात धुँदै मौन प्रार्थना गर्छन् । ‘म विज्ञानले पुष्टि गरेको क्षेत्रमा काम गर्छु, तर भगवानप्रति मेरो आस्था र विश्वास छ । विज्ञानले १० प्रतिशत कुरा बुझ्छ, बाँकी ९० प्रतिशत अदृश्य रहस्य हो । त्यो शक्तिलाई चमत्कार गरिदिन म हात धुँदै प्रार्थना गर्छु’ डा. झा सुनाउँछन् ।

अप्रेसन सुरु गर्नुअघि उनी पाँच मिनेट हात धुँदै मौन प्रार्थना गर्छन् । ‘म विज्ञानले पुष्टि गरेको क्षेत्रमा काम गर्छु, तर भगवानप्रति मेरो आस्था र विश्वास छ । विज्ञानले १० प्रतिशत कुरा बुझ्छ, बाँकी ९० प्रतिशत अदृश्य रहस्य हो । त्यो शक्तिलाई चमत्कार गरिदिन म हात धुँदै प्रार्थना गर्छु’ डा. झा सुनाउँछन् ।

त्यो विश्वासले प्रत्येक कठिन क्षणमा शान्त रहन मद्दत गर्ने उनी बताउँछन् ।

‘कहिलेकाहीँ यस्तो बिरामी बाँच्छ, जसलाई सबैले गुमिसकेका ठान्छन् । आश हराउँछ । अनि कहिले सामान्य लाग्ने केसमा अनपेक्षित जटिलता आउँछ । म यसलाई ‘दैवी तत्व’ भन्छु ।’

बिरामीसँगको पारिवारिक सम्बन्ध

डा. राजीवका लागि बिरामीहरू केवल ‘केस’ होइनन् । उनीहरू परिवार हुन् ।

एक २४ वर्षीया युवती, जसको टाउकोमा चार वर्षको उमेरमा पानी जमेको थियो । अप्रेसनपछि ज्यान बच्यो, तर दृष्टि गुम्यो । ‘उनी मलाई देख्न सक्दिनन्, तर कल्पनामा मेरो अनुहार बनाएकी छिन् । हरेक वर्ष फलोअपमा आउँछिन् र मेरो हात समाउँछिन् । त्यो नै उनको खुसी हो । उनको लगाव देख्दा म पनि हर्षित हुन्छु, ’उनी सुनाउँछन् ।

अर्को यस्तै घट्ना छ, १३ वर्षीया बालिका मस्तिष्क ट्युमरको रक्तश्रावले दृष्टिविहीन थिइन् । ‘शल्यक्रियापछि ४८ घण्टामा दृष्टि फर्कियो । त्यो क्षण मेरो जीवनकै सबैभन्दा ठूलो चमत्कार थियो’ उनी भन्छन् ।

‘छ महिनासम्म कोमामा रहेका बिरामीको परिवारसँग यस्तो सम्बन्ध बाँधिन्छ, ती मेरा आफन्तजस्तै बन्छन् । यही मानवीय नाता मेरो पेशाको आत्मा हो’ उनको अनुभव छ ।

तनाव र ध्यानको लय

बिरामीलाई सिटी स्क्यानमा रोग नदेख्दा जति हल्का महसुस हुन्छ । त्यति चिकित्सकलाई पनि हुने उनी बताउँछन् । ‘१० घण्टाको शल्यक्रियापछि बिरामी नउठेसम्म निद्रा लाग्दैन । सिटी स्क्यान सफा देखेपछि मात्रै हामीलाई पनि राहत हुन्छ । फरक यति हो, हामी देखाउँदैनौं’ उनी भन्छन्।

२० हजारभन्दा बढी अप्रेसनपछि पनि उनको जोश उस्तै छ ।

घरमा के गर्छन् ?

व्यस्त तालिकाबीच पनि उनी परिवार र रुचिहरूलाई सन्तुलनमा राख्छन् । ‘घरमा ५० भन्दा बढी माछा छन् । हरियाली बगैँचा र माछामा बुबाको धेरै सौख छ । हामीले पनि यसमा निरन्तरता दिएका छौँ’ डा.झा भन्छन्, ‘माछा हेर्दा मात्र पनि मलाई आनन्दको अनुभव गर्छु ।’

शनिबार एक बजेदेखि घर सफाइ, बेडसिट मिलाउने र बगैँचा हेरचाहमा व्यस्त हुन्छन् । अर्को सौख उनी संगीतमा पनि डुब्छन् । नारायण गोपालदेखि ज्याज र रकसम्म उनको रोजाइमा पर्छ।

‘बिहान भजन, गाडीमा हिँड्दा, बाटोमा र राति सुनिरहेको हुन्छु । कहिलेकाहीँ म आफैं गुनगुनाउँछ । संगीत मेरो मनको औषधि हो’ उत्ससाहित हुँदै उनी सुनाउँछन् ।

खानामा ठूलो सौख छैन, डा. झाको । दालभात र थकाली सेट उनलाई मनपर्छ । तर, कुकले पकाएको भन्दा पनि श्रीमतीले पकाएको स्वादिलो लाग्ने उनी बताउँछन् । ‘म आफैँ पनि खाना मिठो बनाउछु । घरमा भ्याएको समयमा पकाउँछु । जसरी बिरामीको उपाचार गर्छु, त्यस्तै फाइन पकाउँछु, पनि’ उनी सुनाउछन् ।

उनी क्रिकेटको पनि सौखिन हुन् । उनी भारतीय क्रिकेटर विराट कोहलीका फ्यान हुन् । ‘म यस्तो फ्यान हो, उसको परिवारसम्मको जानकारी सोसल मिडियाबाट हेर्ने गर्छु । क्रिकेट म्याचहरू प्राय छुटाउँदिन’ उनी सुनाउँछन् ।

गर्वका क्षण 

डा. झालाई प्रश्न सोधेका थियौं, सबैभन्दा गर्वको क्षण के हो ?

जवाफ यस्तो थियो, उनको ।

‘शल्यक्रिया गर्दा कस्तो हुन्छ भनेर बुबाले एकपटक सोध्नुभयो । मैले उहाँलाई शल्यक्रिया कक्ष लगें । अप्रेसन थिएटरको झ्यालबाट मैले सर्जरी गर्दै गरेको हेर्नुभयो । ७५ वर्षका बुबाको आँखामा गर्वको चमक थियो । त्यो पल मेरो सम्पूर्ण यात्राको सार हो’ उनी भन्छन् ।

डा. राजीवका लागि चिकित्सा केबल पेशा होइन, जीवन दर्शन हो । ‘डाक्टर बन्नु मेरो भाग्य हो’ उनी भन्छन्, ‘तर मलाई लाग्छ, हाम्रो हातमा स्केलपल मात्रै हुन्छ, जीवन र मृत्युको निर्णय भने भगवानको हातमा छ।’

उनको बुझाइ छ- बिरामीको शरीर मात्रै होइन, मन र परिवारसँग पनि जोडिन सक्नुपर्छ । डाक्टरको धर्म भनेको उपचार मात्र होइन । आशा जगाउनु हो । त्यो आशाले नै हो न्यूरोसर्जन डा. राजीव झालाई जति नै खटिए पनि हरेक बिहान फेरि फ्रेस बनाएर उठाउँछ । अनि अस्पतालमा काम गर्ने ऊर्जा दिन्छ ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?