+

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

२०८२ असार  २ गते १२:३५ २०८२ असार २ गते १२:३५

अझै पनि ग्रामीण भेगमा छारे रोग लाग्यो भने धामी झाक्रीलाई देखाउने गरिन्छ । जबकि, यो ट्युमर हुनसक्ने मुख्य लक्षणमा पर्छ ।

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पहिलो राष्ट्रिय ब्रेन ट्युमर तथ्यांक सार्वजनिक भएको छ, जसले रोगको अवस्था र प्रभाव देखाएको छ।
  • राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जनचेतना, उपचार र अनुसन्धानमा काम गरिरहेको छ।
  • वीर अस्पताल नेपालको राष्ट्रिय रेफरल केन्द्र हो, जसले विश्वस्तरीय उपचार र प्रविधि प्रयोग गरी ब्रेन ट्युमरको उपचार गरिरहेको छ।

वीरमा अस्पतालमा ब्रेन ट्युमर केन्द्र स्थापना हुँदै गर्दा नेपालमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक छिटोभन्दा छिटो सार्वजनिक गर्ने घोषणा गरिएको थियो । दुई वर्ष नबित्दै सो घोषणा लागू भएको छ ।

नेपालमा ब्रेन ट्युमर सम्बन्धी पहिलो राष्ट्रिय तथ्यांक हालै सार्वजनिक भएको छ, जसले यो रोगको गम्भीरता र बढ्दो प्रभावलाई उजागर गरेको छ ।

स्वास्थ्य मन्त्रालयको मातहतमा वीर अस्पतालमा दुई वर्षअघि स्थापना भएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले देशभरको न्युरो सेन्टरसँग सहकार्य गरी तथ्यांक संकलन र विश्लेषण गरेको हो ।

यसै सन्दर्भमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष तथा वीर अस्पतालको न्युरो सर्जरी विभागीय प्रमुख प्रा.डा. राजीव झासँग अनलाइनखबरका लागि मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले हालै नेपालको पहिलो ब्रेन ट्युमर तथ्यांक सार्वजनिक गरेको छ, यो उपलब्धि नेपालका लागि कस्तो महत्व राख्छ ?

नेपालको पहिलो ब्रेन ट्युमर तथ्यांक सार्वजनिक गर्नु हाम्रा लागि ऐतिहासिक उपलब्धि हो । दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको मातहतमा वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गर्दा हामीले तीन मुख्य उद्देश्य राखेका थियौं । यसबारे जनचेतना फैलाउने, बिरामीलाई विश्वस्तरीय उपचार प्रदान गर्ने र नेपालमा ब्रेन ट्युमरको अवस्था बुझ्न अनुसन्धान गर्ने ।

हामीसँग ब्रेन ट्युमरको राष्ट्रिय तथ्यांक थिएन । हामी अन्तर्राष्ट्रिय तथ्यांकमा निर्भर थियौं, जुन हाम्रो सन्दर्भमा पूर्ण थिएन । त्यसैले, केन्द्रले अध्ययन हुनुपर्छ भनेर लक्ष्य राख्यो।

हाम्रो केन्द्रले नेपालभरको न्यूरो केस आउने अस्पतालबाट प्राप्त संकलन र विश्लेषणको आधारमा सार्वजनिक भएको नयाँ तथ्यांकले नेपालमा ब्रेन ट्युमरको वास्तविक अवस्था देखाएको छ ।

यसले वार्षिक २४०० देखि २६०० नयाँ बिरामी थपिने र प्रत्येक एक लाख जनसंख्यामा १२ जनालाई यो रोग लाग्ने देखाएको छ । यो हाम्रो पहिलेको अनुमानको तुलनामा झन्डै दोब्बर हो ।

ब्रेन ट्युमर बिरामीको संख्या अपेक्षाभन्दा धेरै हुनुको कारण के पाउनु भयो ?

यो नतिजाले न्युरो टोली नै चकित थियौं । सुरुमा हामीलाई नेपालमा ब्रेन ट्युमरका बिरामी कमै होलान् जस्तो लागेको थियो ।

यो उच्च संख्याको पछाडि धेरै कारण छन्। पहिलो, नेपालमा न्युरोलोजिस्ट र न्युरोसर्जनको संख्या बढेको छ, र उनीहरू दुर्गम क्षेत्रमा पनि पुगेका छन् ।

दोस्रो, सिटी स्क्यान र एमआरआई जस्ता प्रविधिहरू धेरै अस्पतालमा उपलब्ध छन् । तेस्रो, जनचेतनाको वृद्धिले मानिसहरू लक्षण देखिनासाथ अस्पताल पुग्न थालेका छन् ।
विश्वव्यापी रूपमा पनि ब्रेन ट्युमरका केसहरू बढिरहेका छन् । अमेरिका, युरोप र अन्य एसियाली देशहरूमा यस्तै देखिन्छ ।

पहिला यो रोग वृद्धमा देखिन्थ्यो । अन्तर्रराष्ट्रिय क्षेत्रमा पनि वृद्धमा बढी ब्रेन ट्युमर पाइन्छ । तर, नेपालमा भएको अध्ययनले यहाँ युवामा बढी देखियो । विशेष गरी ४० देखि ५० वर्ष उमेर समूहमा बढी देखिएको छ, जुन विश्वव्यापी प्रवृत्ति (वृद्ध उमेरमा बढी) भन्दा फरक छ । हाम्रोमा वृद्धमा नदेखिनुको कारण सायद गरिबी,

जनचेतनाको कमी र ग्रामीण क्षेत्रका वृद्धहरू अस्पताल नपुग्दा यस्तो नतिजा देखिएको हो कि, भन्न सकिन्छ ।

ब्रेन ट्युमर कस्तो खालको समस्या ? यो किन यति गम्भीर छ ?

ब्रेन ट्युमर भनेको मस्तिष्कमा कोषिकाहरूको असामान्य र अनियन्त्रित वृद्धि हो । मस्तिष्कको तौल पुरुषमा करिब १५00 र महिलामा १३00 हुन्छ, तर यसको काममा कुनै फरक हुँदैन ।

यो मस्तिष्कले घेरिएको हुन्छ, जसले यसलाई संरक्षण गर्छ, तर ठाउँ सीमित हुन्छ । जब ट्युमर बढ्छ, यसले स्वस्थ मस्तिष्कको भागलाई दबाउँछ, जसले टाउको दुख्ने (विशेष गरी बिहान), बेहोस हुने, आँखा वा कानको समस्या, प्यारालाइसिस वा हर्मोनल असन्तुलन जस्तै- महिलामा महिनावारी अनियमित हुने, बच्चा नहुने, जस्ता लक्षणहरू निम्त्याउछ ।

रोगको गम्भीरता ट्युमरको स्थान, आकार र प्रकारमा निर्भर हुन्छ । १ सेन्टिमिटरको ट्युमरले कम लक्षण देखाउँछ, तर ४ सेन्टिमिटरको ट्युमरले गम्भीर समस्या ल्याउँछ । धेरै बिरामी ढिलो आउँछन्, जब रोग जटिल भइसकेको हुन्छ ।

जनचेतनाको कमी, आर्थिक अभाव र स्वास्थ्य सेवामा पहुँच नहुनु यसका कारण हुन् । अझै पनि ग्रामीण भेगमा छारे रोग लाग्यो भने धामी झाक्रीलाई देखाउने गरिन्छ । जबकि, यो ट्युमर हुनसक्ने मुख्य लक्षणमा पर्छ । गरिबीले गर्दा समस्या भइहाले पनि अस्पतालसम्म नपुग्ने देखिन्छ ।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सन् २०२३ मा स्थापना भएको थियो । यसका उद्देश्य र उपलब्धिहरू के–के हुन् ?

मस्तिष्कबारे जनचेतना फैलाउने, लक्षणहरू चाँडो पहिचान गरेर अस्पताल पुग्न प्रोत्साहन गर्ने, उपचार सर्वसुलभ बनाउने, विश्वस्तरीय उपचार प्रदान गर्ने, सबैको पहुँचमा उपचार पुर्‍याउने र समस्या न्युनिकरण गर्ने उद्देश्य हो ।

हामी हरेक वर्ष अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसमा प्रभातफेरी, सेमिनार र अन्य कार्यक्रमहरू आयोजना गर्छौं ।

वीर अस्पतालमा नेभिगेसन सिस्टम, इन्ट्रा–अपरेटिभ सीटी, एमआरआई र ट्युमर रिमुभल मेसिन जस्ता अत्याधुनिक प्रविधिहरू उपलब्ध छन्, जसले शल्यक्रियालाई सुरक्षित र प्रभावकारी बनाउँछ ।

अनुसन्धान र राष्ट्रिय तथ्यांक संकलन गर्ने पनि उद्देश्यमै पर्छ । जुन हालैको तथ्यांक हाम्रो अनुसन्धानको परिणाम हो ।

हामीले वेबसाइटमार्फत जानकारी उपलब्ध गराउँछौं, जहाँ बिरामीले परामर्श लिन सक्छन् । देशभरका न्यूरोसर्जरी केन्द्रहरूसँग समन्वय गरेर बिरामीको रेकर्ड राख्छौं, जसले उपचारको गुणस्तर सुधार र नीति निर्माणमा सहयोग गर्छ ।

यसरी बिरामीको तथ्यांकको लेखाजोखा राख्दा उपचारमा कत्तिको सहज हुँदो रहेछ ?

यी काम सबैले गर्छन् । तर, यो कामको रेकर्ड राखिएन भने कामको औचित्य रहँदैन । यसको उपचार पहिला पनि नभएको होइन, भइरहेको थियो ।

रेकर्ड हुन थालेदेखि कुन उमेरको बिरामीमा कस्तो समस्या छ, उपचार कसरी गर्दा ठिक हुन्छ, उपचार पछिको नतिजा के छ, कुन चाहिँ उपचारमा के पुगेको छैन ? यसले उपचारमा सहज बनाएको छ । यो क्रममा अपुग भएको कुरा, कमी कमजोरी देखाएर सुधार्ने बाटो दिएको छ ।

वीरमा शल्यक्रियाका लागि महिनौं कुर्नुपरेको पनि देखियो । यस्तोमा अहिले यो महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क त्यसमा पनि ४८ घण्टाभित्र गर्ने सक्ने घोषणा गर्नुभएको छ । यो कसरी सम्भव छ ?

यो हाम्रो जनचेतना अभियान र सुलभ उपचारको प्रतिवद्धताको हिस्सा हो । पहिले शल्यक्रियाका लागि एक वर्षसम्म पर्खनुपर्थ्यो । तर हामीले यो अवधि एक हप्तामा झारेका छौं।

यो महिना हामीले सेवा दोब्बर बनाएर साताको ५ दिन १० वटा टेबलबाट शल्यक्रिया गर्नेछौं । अहिले यो सेवा थपिएको छ । यसअघि ४ दिन मात्र ५ वटा टेबलबाट शल्यक्रिया सेवा दिइँदै आएका थियौं । यो महिना हामी ४८ घण्टाभित्र शल्यक्रिया गर्ने लक्ष्यमा छौं ।

यो सजिलो छैन । तर, हाम्रो टोली समर्पित छ । हामीले सबै स्वास्थ्यकर्मी, चिकित्सकहरूलाई अतिरिक्त समय दिन अनुरोध गरेका छौं । यो महिना शल्यक्रिया, बेड चार्ज र खानपान निःशुल्क छ । यो पहलले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई राहत दिन्छ र बेलैमा उपचार खोज्न प्रोत्साहन गर्छ ।

गतवर्ष वीर अस्पतालमा सञ्चालनमा आएको नेशनल ब्रेन ट्युमर सेन्टरले ब्रेन ट्युमरका बिरामीका लागि एकीकृत, छिटो र अत्याधुनिक प्रविधियुक्त उपचार प्रदान गरिरहेको छ ।
यो उपचार गर्दा अन्य समस्याका बिरामीलाई पनि उत्तिकै हामीले समय दिइरहका हुन्छौं ।

वीर अस्पताल नेपालको राष्ट्रिय रेफरल सेन्टर हो । ब्रेन ट्युमर उपचारमा यसको भूमिका कसरी विकसित भएको छ ?

वीर अस्पताल १९६० को दशकदेखि न्यूरोसर्जरीमा अग्रणी छ, जुन डा. गोङ्गोल र डा. उपेन्द्र देवकोटाले सुरु गर्नुभयो । त्यो बेला सेवा सीमित थिए । त्यतिबेला हप्तामा ३–४ शल्यक्रिया हुन्थे । अहिले हामी दैनिक ७–८ शल्यक्रिया गर्छौं ।

यो वृद्धि हाम्रो क्षमता—अधिक अपरेटिंग रुम, उन्नत प्रविधि, र दक्ष टोलीको परिणाम हो ।

देशभरबाट जटिल र ठूला ट्युमरका बिरामीहरू यहाँ रेफर हुन्छन् । स्वास्थ्य बीमाले शल्यक्रियालाई सुलभ बनाएको छ । र, यो महिनाको निःशुल्क सेवा पनि दिएका छौँ ।
विश्वस्तरीय मापदण्डमा हामी पछाडि छैनौं । यदि अन्तर्राष्ट्रिय सफलता दर ९५ प्रतिशत छ भने, हामी ९२–९३ प्रतिशतमा छौं, जुन सरकारी अस्पतालका लागि उल्लेखनीय छ।

यी प्रगतिहरू हुँदाहुँदै पनि सरकारी अस्पताल भनेर त्यति विश्वास गरिदैँन, यसको कारण के हुनसक्छ ?

निजी र सरकारीमा काम गर्ने उस्तै चिकित्सक हुन । काम गर्ने तरिका त्यही हो । सरकारीमा सीमितता छ । यहाँ बिरामीको संख्या थेग्न नसक्ने हुन्छ । जनशक्ति कम छ । वीर अस्पतालमा हरेक बिरामीलाई आवश्यक पर्ने जति आईसीयू बेड छैन । चाहिने जति नर्स दिन सकिएको छैन ।

एमआरआईका लागि ३–४ हप्ता पर्खनुपर्छ, जसले बिरामीलाई निजी अस्पतालतिर धकेल्छ । कतिपय उपचारबाट वञ्चित हुन्छन् । व्यवस्थापनका समस्याहरू-जस्तै तालिका र स्रोत व्यवस्थापन पनि सुधार गर्नुपर्छ । तर, हामी समाधानमा काम गरिरहेका छौं, जस्तै थप अपरेटिङ रुम र टेलिमेडिसिनहरू सुधार गर्ने प्रयास भइरहेका छन् ।

यसमा चुनौतीहरू आउँछन् । तर, धेरै छन्, विशेष गरी ग्रामीण र दुर्गम क्षेत्रमा । धेरै बिरामी गरिबी, शिक्षाको कमी र यातायात अभावले अस्पताल पुग्न सक्दैनन् ।
उनीहरू लक्षणलाई सामान्य ठान्छन्, जसले निदानमा ढिलाइ हुन्छ ।

केन्द्रले आफ्नो पहुँच र प्रभाव कसरी विस्तार गर्ने योजना बनाएको छ ?

हामी नेपालको सबै न्यूरोसर्जरी केन्द्रमात्र नभएर युके, अष्ट्रेलिया, युरोप, र भारत सँग अनुसन्धान र प्रविधि आदानप्रदानका लागि सहकार्य गर्दैछौं । हाम्रो वेबसाइटमार्फत बिरामीले हामीसँग सिधै सम्पर्क गर्न सक्छन्। हामी सबै अस्पताललाई ब्रेन ट्युमरका केसहरू दर्ता गर्न प्रोत्साहन गर्छौं ।

जनचेतना अभियानलाई स्कूल, कलेज र समुदायमा विस्तार गर्ने योजना छ । टेलिमेडिसिन र मोबाइल हेल्थ क्याम्पमार्फत दुर्गम क्षेत्रमा सेवा पुर्‍याउँछौं । यदि अस्पताल प्रशासनले दुईवटा थप अपरेटिङ रुम दियो भने अबको केही वर्षमा बिरामीले कुनुपर्ने बाध्यता हामीले पूर्णरूपमा हटाउन सकिन्छ ।

डा. राजीव झा ब्रेन ट्युमर मस्तष्क वीर अस्पताल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

‘मस्तिष्क ट्युमरको विश्वस्तरीय उपचार सेवा वीरमै छ’ (भिडियो)

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

मधुमेह र मोटोपनले कमजोर हुन्छ मांसपेशी, बलियो बनाउने १० उपाय

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

छालाको उपचारमा गलत अभ्यास, निम्तिँदै गम्भीर स्वास्थ्य समस्या

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

हिँड्दा डिप्रेसन र चिन्ता कम हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

लम्पी स्किन रोग लागेका राँगाभैंसीको मासु खाए के हुन्छ ?

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन

स्टेज ४ स्तन क्यान्सर हुँदैमा मरिहालिन्छ भन्ने हुँदैन