+

रोबिन सिंह लुम्बिनी लायन्सको मेन्टर नियुक्त

२०८२ कात्तिक  २० गते ११:०६ २०८२ कात्तिक २० गते ११:०६
रोबिन सिंह लुम्बिनी लायन्सको मेन्टर नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ।
  • ६२ वर्षीय रोबिन सिंहले आईपीएल, क्यारेबियन प्रिमियर लिग र युएई राष्ट्रिय टिमको प्रशिक्षण गरिसकेका छन्।
  • लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जि सीले रोबिन सिंहको नेतृत्वले टिम बलियो हुने र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

काठमाडौं । लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ । लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो ।

६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन् । यस्तै रोबिन सिंहले युएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन् ।

खेलाडी जीवनबाट सन्यास लिएपछि सिंहले सुरुमा भारतको यू-१९ टिमको प्रशिक्षक बनेका थिए । सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए । त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने । त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे ।

त्यसपछि सन् २००८ मा सुरु भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए । सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे । त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए । उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए ।

रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने । उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी२० विश्वकप खेलेको थियो ।

सन् २०२३ देखि सुरु भएको इन्टरनेसनल लिग टी२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए । अर्को सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए ।

यस्तै खेलाडी हुँदा अलराउण्डर रहेका उनले भारतका लागि एक टेष्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टेष्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए । यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजार भन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए ।

दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमन र उनको अनुभवले लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनमा राम्रो नतिजा ल्याउने विश्वास छ ।

लुम्बिनी लायन्सका टिमका अध्यक्ष इश्वर जि सी भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण रोबिन सिंहलाई लुम्बिनीमा ल्याउनु हाम्रो लागि मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनको लागि पनि एउटा अवसर हो । उनले आफ्नो शानदार क्रिकेट करियरमा सिकेका अनुभव र रणनीतिहरूले नेपाली क्रिकेटका खेलाडीहरूलाई प्रेरित गर्नेछन् साथै लुम्बिनी लायन्स अत्यन्त भाग्यशाली मान्दछ कि उहाँ जस्तो विश्वस्तरीय खेलाडी तथा प्रशिक्षकले हाम्रो टिमको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँको नेतृत्व र योगदानले हाम्रो टिम एकदमै बलियो बन्दैछ र यसले पक्कै पनि हाम्रो लक्ष्यलाई सफलताको उचाईमा पुर्‍याउनेछ ।’

रोविन सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्दा खुशी व्यक्त गरेका छन् साथै उनी टिममा युवा प्रतिभावान खेलाडीहरु आफ्नो अनुभव बाँड्न उत्सहित छन् ।
‘नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा हुन पाउँदा म अत्यन्त खुशी छु । नेपालमा क्रिकेट तीव्र गतिमा वृद्धि हुँदैछ र म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्दै जित्ने संस्कृतिको निर्माणका लागि योगदान दिन उत्सुक छु । लायन्समा ठूलो सम्भावना छ । हामी सँगै यस सिजनलाई हाम्रा समर्थकहरू र नेपाली क्रिकेटका लागि साँच्चिकै अविस्मरणीय बनाउन चाहन्छौं ।’ रोबिन सिंहले भने ।

लुम्बिनी लायन्सको मार्कीका नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल छन् । यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिनेछ ।

लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय