+
+
Shares
विचार :

जल्नुभन्दा बोल्नू छोरीहरू

सहाराले लड्दै गरेको यो लडाइँ कुनै सम्पत्तिको लागि होइन । यो त आत्मसम्मानको लडाइँ हो । उनले पाएको शारीरिक र मानसिक पीडाको क्षतिपूर्तिको लागि हो ।

देवकी विष्ट देवकी विष्ट
२०८२ कात्तिक २० गते १५:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहारा नामकी महिलाले १४ वर्षदेखि परिवारसँगको मुद्दामा सर्वोच्च अदालतसम्म लडाइँ गरिरहेकी छिन् र न्याय पाउन संघर्षरत छिन्।
  • धनगढी नापी कार्यालयमा सर्वोच्च अदालतको निर्णय लागू नगरी फाइल रोकिएको र सरकारी कर्मचारीहरूले ढिलाइ गरिरहेको उजुरी आएको छ।
  • समाजमा महिलामाथि हुने हिंसा र विभेदका विरुद्ध सहारा, नितु, एलिना र कलाजस्ता महिलाले आवाज उठाइरहेकी छन्।

प्रिय साथी ! तिमी मलाई माफ गरिदेऊ । तिमीलाई जानकारी नगराइकन लेख्दैछु । तिमीसँग अझै पनि सहने क्षमता छ । किनभने तिमी साहसको प्रतीक हौ । कहिल्यै नहार्ने छोरी हौ । सबै छोरी तिमी जस्तै हुँदैनन् । म तिम्रो साथी भएर पनि केही गर्न सकिनँ ।

कहींकतै केही लेखौं भने त्यसको प्रतिशोधले तिमीलाई दुःख अझै बढ्ला कि भन्ने पीर । कहीं केही लेखौं भने तिम्रो प्रक्रिया लम्बिएला भन्ने डर । तिमीले जुन वकिलसँग भेट भन्यौ, सुगालाई पढाए झैं त्यही गरें । अब मेरो सहने सीमा नाघ्यो ।

न मेरो पहुँच छ, न त पावर । मात्र तिम्रो साथीसँग कलम छ । मसँग इमानदारिता छ । जे देखेर नदेखे झैं गर्न सक्दिनँ । त्यसैले जे मैले देखें, सुनें; आँखा चिम्लिन सक्दिनँ । कान बन्द गर्न सकिनँ । अब मेरो कलम चल्यो ।

उनको कथा लेख्ने हो भने एउटा पुस्तक नै बन्छ । एउटा नारीप्रधान फिल्म बन्छ । तर उनी आफ्नो संघर्षको कथा भन्न चाहन्नन् । न त लेख्न चाहन्छिन् । उनी समुद्र झैं शान्त भएर लडिरहेको अब १४ वर्ष पुग्दैछ । उनी अर्थात् सहारा (नाम परिवर्तन) । दुःख दिने परिवारसँग १४ वर्षदेखि केस लडिरहेकी छिन् ।

कतै कोही छोरी मानिसले आत्महत्या गर्दा मन झसङ्ग हुन्थ्यो । तिमीलाई फोन गर्थें । तिमीले पीडामा कति चाडपर्व छोड्यौं । कति हाँस्न, रमाउन छोड्यौं । म मूकदर्शक बनें । तिमी आफ्नो सहारा आफैं बन्यौं । त्यसैले मैले तिमीलाई सहारा भन्दैछु । सहाराले लड्दै गरेको यो लडाइँ कुनै सम्पत्तिको लागि होइन । यो त आत्मसम्मानको लडाइँ हो । उनले पाएको शारीरिक र मानसिक पीडाको क्षतिपूर्तिको लागि हो ।

उनी भन्छिन्, ‘मलाई अंश छुट्याउँदा पनि यति दुःख दिएको छ कि न राख्न मिल्ने, न बेच्न मिल्ने, तर म छोड्दिनँ, पछि दान गर्नेछु ।’ उनले मेरो आत्मसम्मान र मेरो आमाबुबालाई दिएको गालीको क्षतिपूर्ति हो । शायद त्यो मानिसले कहिल्यै चुकाउन सक्दैन तर त्यसै छोड्दिनँ ।

यो आँटिली छोरीको सामाजिक मुद्दा हो । यदि उनी हारिन् र झुकिन् भने यो समाजमा कहिल्यै छोरीले जित्ने छैनन् । यदि सफल भइन् भने यो समाजको लागि उदाहरणकी पात्र बन्नेछिन् । सहाराले केस लड्दा–लड्दै कति सरकारी कर्मचारीहरूले पैसा खाए । यहाँ नाम लेख्दा, अदालतमा परिवारले गरेका बेइज्जती दृश्यको उल्लेख गर्दा, उनले रुँदारुँदा थाकेर अदालतको परिसरमा बसेर बगेका आँसुको हिसाब राख्दा पनि यो लेख लामो हुन्छ ।

जिल्लादेखि उच्च हुँदै सर्वोच्च अदालतसम्म १४ वर्ष धाउँदा धाउँदै तामिल चाँडो राखिदिनु, पूर्णपाठ दिनु, किन केस सारेको भन्दाभन्दै कति दक्षिणा चढाउँदै हिंडिन्, उनलाई मात्रै थाहा छ । यति नगरे, उनले अनुरोध नगरे अहिले पनि सुनुवाइ हुँदैनथ्यो होला ।

उनले न्याय खोजिरहेको परिवारले सहाराको आमालाई दिएको गाली यहाँ उल्लेख गर्दा नैतिकताले मिल्दैन । शुरुदेखि उनको जीवनका घटना यहाँ उल्लेख गर्दा तपाइँलाई पढ्न फुर्सद हुँदैनहोला । त्यसैले तत्कालका दृश्यहरू उल्लेख गर्न चाहन्छु ।

दृश्य–१

२३ असोज २०८२ मा सुदूरपश्चिमको धनगढी नापी शाखा पुग्यौं । नापी शाखा १०२ नं कोठाका अमिन सर दशैंको लागि घर गएका रहेछन् । त्यही कोठाका चश्मा लगाएका अर्को कर्मचारी सरलाई कहिले आउनुहुन्छ अमिन सर भनेर सोध्यौं ? फलानो नामको फाइल कहाँ छ सर ? बरु अरूलाई दिन मिल्छ कि भनेर सोध्दा उनको एउटा बोली साह्रैै महँगो छ भने झैं व्यवहार गरे ।

बोलेनन् । मैले भनें, ‘बोल्दा पनि पैसा लाग्ला झैं गर्नुहुन्छ ?’

पछि झर्किएर बोले, ‘के थाहा कहाँ राखे ? उनी अफिस आएका छैनन् ।’

यति नै बोले । हामी बाहिर निस्कियौं । अब के गर्ने भयो ! सर्वोच्चबाट निर्णय भएर आएको धेरै भयो । पूर्णपाठ पनि आयो । अमिनले अंशको जग्गा नापेर छुट्याएको हो । यति गरेर कागजी काम नापीले छुट्याउन किन डराएको ? नापीको हाकिमले कुरा बुझ्छन् कि भनेर मेरो सहारा र म माथि गयौं ।

‘सर समस्या यो छ । यति लामो समयदेखि नापीमा फाइल रोकेको छ । सर्वोच्च अदालत भन्दा अरू कोही ठूलो छ भने हामी सोध्छौं किन रोकेको ?’

सहाराले निन्याउरो अनुहारले निर्णय लागू गर्न किन ढिलाइ भनेर हाकिमलाई प्रश्न गरिन् । कोठा नं १ का हाकिमले भने ‘के हो बुझ्छु । रोक्नै त मिल्दैन ।’ फाइलको नाम सोधे ? सहाराले विस्तृतमा भनिन् । मैले पनि सहाराको अनुमति लिएर बोलें, अनुरोधपूर्ण भाषामा ।

‘सर समस्या यो छ । यति लामो समयदेखि नापीमा फाइल रोकेको छ । सर्वोच्च अदालत भन्दा अरू कोही ठूलो छ भने हामी सोध्छौं किन रोकेको ?’

‘सर तपाइँ जस्तो समझदार मान्छेले बुझ्नुहुन्छ । एउटा युवतीले यति लामो समयदेखि एउटै मुद्दामा झुण्डिरहँदा कति पीडा हुन्छ ? समाजबाट सरकारी अड्डा धाउँदा–धाउँदा कति वचन सुन्नुपर्छ । अदालतको निर्णय लागू गरिदिनुस् मात्रै भनेको हो ।’

हाकिमले सहारालाई हेर्दै भने, ‘हो मैले बुझें । अब दशैं पछि आउनुस् । तपाईंको जागिर छ भने अरूले आउँदा नि हुन्छ, काम भइहाल्छ ।’ हामी धन्यवाद सर भनेर ढुक्क भएर निस्कियौं।

दृश्य–२

कात्तिक १२ गते म काठमाडौं कामविशेषले आइसकेकी थिएँ । मैले उनीसँगै जान नपाउँदा आत्मग्लानि भइरहेको थियो । धनगढीमा मालपोत कार्यालय र नापी कार्यालय सँगसँगै छ । एक महिना भन्दा बढी भइसकेको मालपोतबाट निर्णय लागू गर्नु भनेर पत्र नापीमा पठाएको । नापीले कहिले के, कहिले के भनेर टारिरहेको थियो।

यति भनिरहँदा फेरि १२ गते नापी पुगिन् सहारा । १०२ नम्बर कोठाको अमिन सर (सहाराको फाइल भएका कर्मचारी) आइपुग्नुभएछ । फेरि भोलि आउनु भनेर घर पठाएछन् । केही बोलेमा फेरि काम नहोला भनेर सहारा फर्किन् । भोलि अर्थात् १३ गते पुगिन् ।

अब हुँदैन भन्ने कुरा भयो । हाकिमले हस्ताक्षर गरेनन् । भित्र कुरा गर्दा हाकिम डराए, विपक्षी आएर झगडा गर्छन् कि भनेर । विपक्षी भन्नाले स्वार पक्ष आएर झगडा गरेमा ? आन्तरिक बहस भएछ।

अमिनले जग्गा नापेर फाइनल गरिसक्यो, सर्वोच्चबाट फाइनल भएर आइसक्यो । अब अड्कियो फाइल नापीमा ! नापीका हाकिमलाई समस्या हुन्छ रे ! कस्तो न्याय ? सर्वोच्च भन्दा ठूलो नापीका हाकिम ? त्यसपछि मैले फोन गरें । सरकहाँ कुरा मिलेन । सर्वोच्चबाट फाइनल भएर पूर्णपाठ आइसकेको, अमिनले नापीसकेको जग्गा कहाँ आएर रोकियो ? १ नम्बर कोठाका हाकिमले भन्नुभयो ‘निर्णय स्पष्ट छैन ।’

मैले भने सर स्पष्ट नभए यत्रो महिना किन भनेनन् ? हेर्नुस् म्याडम म पत्र लेखेर पुनः मालपोतमा पठाउँछु । मालपोतले स्पष्ट पारिदिए यहाँ बन्छ । अनुरोध स्वरमा भनें सर म पेशाले पत्रकार पनि हो । हामी पनि हावामा बोल्दैनौं होला ।

सर्वोच्च भन्दा ठूलो तपाईलाई विपक्ष लाग्यो भने अब के भन्ने ? अनुरोध गरें । सर किन यस्तो ? तर मालपोत अब जे भन्छ, त्यही हुन्छ । सहारालाई फोन गरें । अब मलाई दुःख दिन मात्रै यो षडयन्त्र भइरहेको छ । मलाई थकाउनको लागि हो । तर म थाक्दिनँ । अब मालपोतले फेरि अदालत पठाउँछ । फेरि सर्वोच्च जान्छ ।

‘सर्वोच्चबाट फाइनल भएर आइसक्यो । अब अड्कियो फाइल नापीमा ! नापीका हाकिमलाई समस्या हुन्छ रे ! कस्तो न्याय ? सर्वोच्च भन्दा ठूलो नापीका हाकिम ?’

मलाई अझै एक वर्ष दुःख दिन्छन् । यत्रो समय मेरो गइसक्यो । अब म आफैं पत्र लगेर जान्छु भनिन् र फोन राखिन् । १३ गते दिनभर सहारा नापीमै रहिन् । पछि १ नम्बरका हाकिमसा’व आक्रोशित भए सहारासँग । तपाईलाई थाहा छ । जे गर्नुहुन्छ गर्नु । सीडीओसँग भन्नु भनेछन् ।

नियम अनुसार पुनः मालपोतमा पत्र लगेर गइन् । मालपोतले पहिला हुन्छ भनेर नापीमा पठाएको पत्र अब अदालत पठायो । सहारा आफैं अदालत पत्र बोकेर गइन् । अदालतमा अमिन परीक्षाले गर्दा विदामा रहेछन् ।

उनी फेरि हारेको मुहार लिएर फर्किन् तर आफ्नो घरमा कसैलाई देखाउँदिनन् । उनलाई सोध्ने आँट पनि कसैले गर्दैन । किनभने उनलाई आफ्नैले कहिल्यै सहयोग गरेनन् । उनले म्यासेज पठाइन् । ती हरेक शब्दमा चिच्याहट सुनिरहेकी थिएँ । वेदना थियो ।

मलाई हरेक आफूमा बितेको हरेक कुरा भनिरहेकी थिइन् । उनी मलाई फोन गर्दिनन् । किनभने उनी भावुक भएर आँशु बगेको थाहा हुन्छ । उनको चिच्याहट थाहा हुन्छ । कहिले उनीमाथि भएको कुराको उनले म्यासेजद्वारा भन्छिन् । उनी समुद्र हुन् । सकारात्मक सोचकी धनी । कहिल्यै कसैको नराम्रो चिताइनन् । तर पनि उनको जीवनमा एकपछि अर्को घटनात्मक दृश्य आइरहे ।

भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । सहाराले पनि आफ्नो ज्यान बल्लबल्ल जोगाइन् । केही दिनपछि उनको फोन आयो, देवकी धनगढीको नापी र मालपोत के भयो ? तिमीलाई थाहा छ ? उनले भनिन् ‘बल्ल बल्ल मुद्दा किनारा लागिरहेको थियो । अब भएको फाइल पनि जल्यो । खै मेरो जीवनमा किन यस्तो हुन्छ ?’

म पनि उत्तरविहीन भएँ । बुझ्छु है भनें । फोनबाट बुझ्न सकिने अवस्था थिएन। कसैले केही भन्ने कसैले केही भन्ने । धनगढी पुग्ने अवसर मिल्यो । बुझ्दा फाइल सबै सुरक्षित छन् । केही गाडीमा मात्रै आगो लगाएको रहेछ । यो खबर मैले सहारालाई सुनाएँ । खुशी भइन् । अनि उनी र म नापी शाखा पुगेका थियौं तेस्रो दिन अर्थात् असोज २३ गते ।

सहारालाई पनि कतिपय पटक आत्महत्या गर्ने अवस्था नआएको होइन । उनी पढेलेखेकी थिइन् । उनले जीवनमा सकारात्मक इख लिइन् । आज जुन स्थानमा उनी छिन्, उनी सफल छोरी हुन् । तर उनको आत्मसम्मानको लडाइँमा उनलाई इन्स्पेक्टर महिला प्रहरी, सरकारी कर्मचारीले दिएका वचनहरू कहिल्यै बिर्सन नसकिने छन् । शायद त्यही भएर होला धेरै छोरीहरूले केही गर्नुभन्दा अगाडि आत्महत्याको बाटो रोज्ने !

भर्खरैको घटना हेरौं– बाबुल गिरी र नितु पौडेलको । आठ वर्षसम्मको रिलेसनसिप भनेको छोरी मानिसकोे लागि सबैथोक हो । बाबुल गिरीले पनि नितुलाई मायालु पारामा ‘बुढी’ नै भनेर बोलाउने रहेछन् ।

सिन्दुर नहाले पनि हिन्दू संस्कारमा श्रीमान्–श्रीमती भन्दा कम थिएन । जब नितुले परिवार र समाजको कुरा सहन नसकेर विवाह गर्नुपर्छ, कहिलेसम्म अवैधानिक बस्ने भनेर दबाब दिएकी थिइन्; जुन अस्वाभाविक थिएन तर बाबुलले प्रस्ताव अस्वीकार गरेपछि जिउँदै आत्मदाह गरिन् ।

जिउँदै शरीरमा आगो लगाउनु अझै ठूलो हिम्मत चाहिन्छ । त्यो आगो केही थिएन । जुन उनको मनमा बलिरहेको थियो । उनी मरेपछि सबैले सामाजिक सञ्जालमा बिचरा भनेर बाबुल गिरीलाई गाली पनि गरेका छन् । तर जीवित छँदा थाहा भएका उनका सहकर्मी कसैले केही सल्लाह दिएनन् ।

बाबुललाई सम्बन्धलाई वैधानिकता दिनुपर्छ वा नितुलाई मानसिक सल्लाह दिएको भए यो घटना हुने थिएन कि ? अहिले नितुले जसरी ज्यान गुमाइन्, शायद सामाजिक सञ्जालमा विकृत मानसिकता बोकेका विकृत केही पुरुषहरूले पनि गायिका एलिना चौहानले आत्महत्या गरेको हेर्न चाहन्थे होला । त्यही भएर त अहिले पनि विष्णुबाट सम्बन्धविच्छेद भइसक्दा पनि त्यही कुरालाई सार्वजनिक स्थान, कार्यक्रम, सामाजिक सञ्जालदेखि मिडियामा उचालिरहेका हुन्छन्।

उनले हिंसा र नराम्रो व्यवहारको विरुद्ध बोल्दा गाली गर्न छोडेका छैनन् । जे पर्छ यिनैलाई पर्छ भन्ने भनाइ कमेन्ट गर्छन् । कला लम्साल र एलिनाले आफूमा भएको विभेद, हिंसाको बारेमा बोल्दा भेडा मानसिकता बोकेकाहरू किन यो बुझ्दैनन् । जो धेरै व्यावसायिक कामले हिंड्छन्, घुम्छन् समस्या उसैलाई पर्छ । उसले आफूलाई चित्त नबुुझेको समस्या परेको विषयमा नबोले कसले बोलिदिन्छ !

अझै पनि हाम्रो समाजमा महिलाले आफूमा परेको हिंसाको विरुद्ध बोल्दा, आफ्नो अधिकारको लडाइँ लड्दा कहीं न कहीं पुगेर उसलाई चरित्रहीन र ह्या त्यो केटी नै त्यस्तै हो भन्ने आरोप लगाइन्छ । छोरीले खुलेर हाँस्यो कि फस्यो भनिन्छ ।

अझै पनि हाम्रो समाजमा महिलाले आफूमा परेको हिंसाको विरुद्ध बोल्दा, आफ्नो अधिकारको लडाइँ लड्दा कहीं न कहीं पुगेर उसलाई चरित्रहीन र ह्या त्यो केटी नै त्यस्तै हो भन्ने आरोप लगाइन्छ । छोरीले खुलेर हाँस्यो कि फस्यो भनिन्छ ।

फरक यत्ति छ । पढे–लेखेका र मिडियालाई हतियार बनाएर महिलालाई हिलो छ्याप्ने तरिका फरक छ । सुनाउने तरिका मात्रै फरक हो । शायद सती प्रथा महिलामा यस्तै हिलो नछ्यापियोस् भनेर बनाएको थियो कि ? आगोमा जल्यो स्वाहाः ।

महिला हिंसा – Online Khabar

आफ्नो छोरीलाई पनि सती प्रथाका लागि मञ्जुरी दिने र बुहारीलाई तिम्रो श्रीमान्सँगै सती जाऊ भन्ने १०५ वर्ष अगाडि र अहिलेको डिजिटल वार चलिरहेको बेलाको सोच एउटै हो त ? अहिले पनि सती नगए पनि बाध्य पारेर नाममा सती जाने अवस्था सिर्जना गरिरहेकै छन् ।

सम्बन्धविच्छेद भएकी महिला, श्रीमान्‌को मृत्यु पछि रातो लगाउने महिलालाई हेर्ने ती गिद्दे नजर आफ्नै तरिकाले एक्टिभ छन् । आफूमाथि भएको विभेद र दुर्व्यवहार बारेमा बोलेमा त ओहो सकियो !

सहारा, नितु, एलिना र कला त यो समाजका उदाहरणीय पात्र हुन् । समय र अवस्थाले बाध्य पारेर नबोल्ने अझै धेरै छोरी छन् । अब ती छोरीहरूले जल्नु भन्दा यो समाजमा सहारा, एलिना र कला झैं बोल्नू ।

(बिष्ट मल्टिमिडिया जर्नालिस्ट/डकुमेन्ट्री फिल्म मेकर हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?